शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'मलाई दिइएको ‘श्रद्धाञ्जली’ लाई ‘आयु बढ्यो’ भनेर स्वीकार गरेँ'

आफै डाक्टर बन्न खोज्दा आईसीयूमा पुगेँ : मनोज गजुरेलको कोरोना अनुभव
सोमबार, १५ मङ्सिर २०७७, १० : १९
सोमबार, १५ मङ्सिर २०७७


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दो छ । कुनबेला, को, कहाँ संक्रमित हुनपुग्छ भन्न सकिने अवस्था छैन । कोरोनाले हरेक क्षेत्रका मानिस प्रभावित छन् । कोरोना संक्रमित भएपछि कतिपय मानिस होम आइसोलेसनमै ठिक भएका छन् भने कतिले त अस्पताल पुगेर पनि ज्यान गुमाएका छन् । मृत्युको मुखबाट फर्किनेसमेत धेरै छन् । कोरोना संक्रमित भएर मृत्युको मुखमै पुगेर फर्किनेमध्येका एक हुन्– कलाकार मनोज गजुरेल ।

हास्य व्यङ्ग्यमा पनि बौद्धिकता प्रस्तुत गर्ने लोकप्रिय कलाकार गजुरेलले कोरोना जितेको केही साता भइसकेको छ । तर पनि उनी पूर्णरुपमा ठिक भइसकेका छैनन् । अहिले पनि उनी स्वास्थ्यलाभ गरिरहेका छन् । कोरोना संक्रमणबाट बच्न अचेल आफु नै डाक्टर बनेर  विभिन्न क्रियाकलाप गर्ने, औषधि सेवन गर्ने मानिस पनि छन् । त्यसरी आफुखुसी डाक्टर बन्दा भयावह अवस्था सामना गर्नुपरेको अनुभव पनि गजुरेलसँग छ । कोरोना संक्रमित भएर अस्पताल बसेपछि गजुरेलले स्वास्थ्य लाभमात्र गरेनन्, धेरै कुरा सिकेर फर्किए । प्रस्तुत छ, गजुरेलको कोरोना अनुभव र सिकाइ, उनकै शब्दमा :

अहिले ठिक छु

अहिले मेरो अवस्था एकदमै सुधारोन्मुख छ । केही शारीरिक कमजोरीबाहेक अन्य सबै ठिक छ । बिस्तारै ठिक हुँदैछु ।

यसरी स-यो 

मेरो दाइ एयरपोर्टसँग सम्बन्धित काम गर्नुहुन्छ । विदेशबाट आउने र विदेश जाने पर्यटकसँग उहाँको नियमित सम्पर्क हुन्छ । सुरुमा उहाँलाई कोरोनाको केही लक्षणसहित समस्या देखियो । उहाँ घरमै उपचार गर्छु भनेर बस्नुभयो । घरमा उपचारको प्रयास गर्दागर्दै एक सातापछि निकै गाह्रो भयो ।

उहाँलाई बोकेर गाडीमा ल्याउने, लैजानेदेखि सबै सहयोग मैले गर्नुप-यो । त्यसपछि मलाई पनि टाउको दुख्यो, ज्वरो आउन थाल्यो । शरीरका जोर्नीहरु दुख्न थाल्यो । शरीरको पछिल्लो भाग, ढाड दुख्न थाल्यो ।

यी लक्षण देखिएपछि मलाई पनि कोरोना लाग्यो कि भन्ने आशंकामा परीक्षण गराउँदा दसैँको टीकाको दिन रिपोर्ट पोजेटिभ आयो ।

त्यो दृष्यले सतायो

जब मेरो रिपोर्ट पोजेटिभ आयो, सुरुमा त डर लागेन । किनकि पोजेटिभ रिपोर्ट आउने धेरै छन्, घरमै बसेर निको भइहाल्छ भन्ने लाग्यो । अस्पताल पुग्नेको संख्या पनि संक्रमितको तुलनामा निकै न्यून छ र अस्पताल पुगेर पनि मृत्यु भएकाको संख्या झन् कम भएकाले मलाई त्यति चिन्ता थिएन ।

जब मलाई श्वास फेर्न कठिन भएर अस्पताल जानैपर्ने अवस्था आयो, त्यो समय दिमागमा एक प्रकारको त्रास भयो । सुरुसुरुमा कोरोना लागेको मानिसलाई सेतो कपडा लगाएका मानिसले, कालो प्लास्टिकमा बाँधेर गहिरो खाडलमा पुरेको दृष्य मनमा आयो र त्यो दृष्यले धेरै सतायो ।

जब, सशस्त्र प्रहरीको एपिएफ अस्पताल पुगेँ । त्यहाँका डाक्टरहरुको उपचार गर्ने शैली, कर्मचारीको सहयोग, बिरामीलाई उनीहरुले गर्ने ब्यवहारले मेरो त्रास पुरै घट्यो । उपचारको बेला त्यहाँका डाक्टर, नर्सले बिरामीलाई बिरामीजस्तो नगर्ने, बुबा, दाजु, सर भनेर सम्बोधन गर्ने बानीले पनि मानिसलाई ‘म ठिक हुन्छु’ भन्ने फिल गराउँदो रहेछ ।

 मलाई श्रद्धाञ्जली

अस्पतालमा रहँदा मेरो बारेमा बाहिर विभिन्न समाचारहरु आएछन् । ती कुनै पनि समाचारबाट म त्यहाँ सुसूचित थिइनँ वा भनौँ मलाई केही जानकारी थिएन । किनभने अस्पताल गएको दिनदेखि म फोन चलाउने स्थितिमा थिइनँ । मेरो शरीरमा पाइप झुन्ड्याइएको थियो । मोबाइल चलाउनु मेरो स्वास्थ्यको हितका लागि पनि थिएन । त्यसैले अस्पताल छँदा आफ्ना बारेमा बाहिर आएको समाचारको जानकार थिइनँ ।

जब अस्पतालबाट फर्किएँ, सबै विषयमा जानकार भएँ । मजस्तो बिरामी, मलाईभन्दा गाह्रो भएका मानिस र मृत्युको मुखमा पुगेका मानिसहरु पनि धेरै हुनुहुन्थ्यो । उहाँहरुको विषयमा केही पनि समाचार आएनछ ।

कलाकार भएको हिसावले, मिडियामा चिनिएको हिसाबले मेरो समाचार आएका होलान् तर ठूलै समाचार बनाउने इस्यु त थिएन ।

तर, म आईसीयूमा पुगेपछि के होला, कसो होला भनेर विभिन्न समाचार बनेछ । मलाई श्रद्धाञ्जलीका कुरा पनि आएछन् । ती श्रद्धाञ्जली हाम्रा पितापुर्खाले भनेझैँ ‘आयु बढ्यो’ भनेर स्वीकार गरियो ।

यस्ता छन् मेरो सिकाइ

कोरोनाको उपचारमा लागेका डाक्टर, औषधि निर्माणमा लागेका वैज्ञानिक समेत कोरोनाबाट अझै सिक्दैछन् । हामी सामान्य मानिसले ठुलो सिक्ने कुरो त होइन । तर पनि मैले केही कुरा भने सिकेँ । त्यो अरुको लागि महत्त्वपूर्ण हुने देखेर बुँदागत रुपमा भन्छु ।

१) पहिलो कुरा, हामी आईसीयू भन्नेबितिकै डराउँछौँ । जब मलाई एपिएफ अस्पतालका डाक्टरहरुले आईसीयूमा लानुभयो, मलाई पनि डर लागेको थियो । तर, बेडमा रहँदाभन्दा आईसीयूमा भर्ना भएपछि अब बाँचिन्छ भन्ने लाग्यो । आईसीयू नर्मल बेडभन्दा अझै केयर गर्ने ठाउँ रहेछ । त्यसकारण आईसीयूमा जाने बित्तिकै ‘श्रद्धाञ्जली’ लेख्नु पर्दैन ।

२) व्यक्तिगत रुपमा एपिएफ अस्पताल पुग्नु म भाग्यमानी ठान्दछु । ममात्र हैन, त्यहाँ धेरै सर्वसाधारण मानिस थिए । मजस्तो मानिस कुनै प्राइभेट अस्पतालमा पुगेको भए यो रोग १५÷२० लाखको माल हो ।

यो अस्पतालको बसाइले मलाई स्वास्थ्य सेवा भनेको कुनै व्यावसायिक विषय हुनु हुँदैन, त्यो सरकारी र सामुदायिक हुनुपर्छ, त्यो संस्थागत हुनुपर्दाे रहेछ, यसो भयो भने सर्वसाधारणले पनि राम्रो उपचार पाउँदा रहेछन् भन्ने लाग्यो ।

३) म पनि योग, ध्यान नियमित गर्ने मानिस हुँ । म बलियो छु, केही हुँदैन भनेर बस्नु मुर्खता रहेछ । जुन चिज आफ्नो हातमा छैन, त्यसबाट सुरक्षित हुने उपाय खोज्नुपर्छ । जब उपाय आफ्नो हातबाट टाढा हुन्छ, त्यस्तो बेलामा तुरुन्त डाक्टरहरुको सहयोग लिइहाल्नु पर्दाेरहेछ ।

४) सरकारले भनेको छ, सकेसम्म अस्पताल नजानुस्, गाह्रो भएपछि मात्र आउनु होला । मैले त्यही मानेका कारण थलिनुप-यो । शरीरभित्र पाइप घुसाउनु प¥यो । सुरुमा अस्पताल जान पाएको भए त्यति गाह्रो हँुदैन थियो । स्वास्थ्य क्षेत्र सेवाका लागि, गरिबका लागि बनाउनुपर्छ भन्ने लाग्यो ।

५) अस्पताल जानु पहिले हामीलाई प्रत्येक मानिसले सल्लाह दिन्छन् । उनीहरुको सल्लाह मान्नु हुँदैन रहेछ । आयुर्वेद औषधि प्रयोग गर्दा पनि आयुर्वेदाचार्यसँग सल्लाह गरेरमात्र खानुपर्ने रहेछ । सिटामोल लगायत औषधि खान पनि डाक्टरसँग सल्लाह गरेर खानुपर्दाे रहेछ । आफुखुसी गर्न थालियो भने आफैलाई असर गर्दाे रहेछ । त्यसका केही उदाहरण मसँग छन् । म आईसीयूमा जानु पर्नाको कारण नै म आफै डाक्टर बन्न खोज्दाको परिणाम हो ।

त्यो समय मेरो ढाड धेरै दुख्यो । त्यसका लागि मैले मसाजको मेसिन फुलपावरमा ढाडमा लगाए । मेसिनले फोक्सो, मुटु समेत हल्लने गरेर मसाज गरे । कोरोनाले फोक्सो कमजोर गरेको बेला त्यसले फोक्सो र छातीको बीचमा हावा भरिदिएछ । म आफै मसाजकर्ता हुन खोजेकाले त्यस्तो भएको हो । यस्तो गर्न नहुने रहेछ ।

६) हामी अस्पताल जाने स्थिति नभए पनि सक्नेले डाक्टरसँग र नसक्नेले स्वयंसेवक, नर्ससँग भए पनि कोही न कोहीसँग फोन सम्पर्कमा रहिरहनु पर्दाे रहेछ । हामीले त्यो समय उहाँहरुले दिएको सल्लाहमा चल्नुपर्दाे रहेछ । उहाँहरुले दिएको सल्लाह हामी आफैले गरेको भन्दा सहज र फलदायी हुने कुरो पनि मैले सिकेँ ।

भक्तपुरको एक निजी अस्पतालले पैसा नभएर निकालिदिएको एक आमा पनि एपिएफ अस्पतालमा आइपुगेकी थिइन् । सडकबाट उठाएर त्यहाँ ल्याइएको रहेछ । यसले सरकार जसको भए पनि स्वास्थ्य क्षेत्र निजीकरण भन्दा पनि सार्वजनिक वा सरकारी भयो भने सबै मानिसले सुविधा पाउँदा रहेछन् भन्ने अनुभव मैले गरेँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप