शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब कोरोना संक्रमितले भाडामा भेन्टिलेटर पाउने

आइतबार, १४ मङ्सिर २०७७, १८ : ४१
आइतबार, १४ मङ्सिर २०७७

पोखरा । पोखरामा भेन्टिलेटर नपाएर कोरोना संक्रमित बिरामीले मर्नुपर्ने छैन । अब कोरोना संक्रमित बिरामीले भाडामै भेन्टिलेटर पाउने भएका छन् । नेपाल भेन्टिलेटर सर्भिस कास्कीले आइतबार पत्रकार सम्मेलन गरी संक्रमित बिरामीका लागि भाडामै भेन्टिलेटर उपलब्ध गराउने बताएको हो ।

माग अनुसार सरकारी, सामुदायिक र निजी अस्पतालमा उपचाररत बिरामीका लागि भेन्टिलेटर उपलब्ध गराउने भेन्टिलेटर सर्भिस कास्कीले जनाएको छ । ‘जता माग छ, त्यतै पठाउने हो । माग अनुसार दिइने छ,’ समितिका सदस्य रामकृष्ण ज्ञवालीले भने । 

उनका अनुसार पहिलो चरणमा संस्थाले ४ वटा भेन्टिलेटर र हाइफ्लोज नोजल क्यानेलाबाट बिरामीलाई अक्सिजनको मात्रा प्रवाह गर्नेछ । आवश्यकता अनुसार सरकारी अस्पतालले १ हजार, सामुदायिकले २ हजार र निजी अस्पतालले ३ हजार सर्भिस चार्ज प्रतिदिन तिरेर भेन्टिलेटर प्रयोग गर्न पाउने छन् ।

यसैगरी, क्यानेला बापत सरकारी अस्पतालले ३ सय, सामुदायिकले ५ सय र नीजिले ७ सय रुपैयाँ तिर्नुपर्ने छ । समितिका अध्यक्ष विश्वशंकर पालिखेले महामारी फैलिएमा भयावह अवस्था आउने देखेर आफूहरुले पूर्वतयारी थालेको बताए । ‘चार महिना अघि नै यसबारे हामीले सोचेका थियौँ, हामी धेरै ठाउँमा धायौँ । मुख्यमन्त्रीकहाँ गयौँ, उहाँले पनि हुन्छ भन्नुभयो, मेयर साबले पनि हुन्छ भनेर आश्वासन दिनुभयो,’ उनले भने, ‘तर, सहयोग कतैबाट जुटेन । उहाँहरुको पनि आफ्नै पोलिसी होला, हामी आलोचना गर्न चाहन्नौँ ।’

पैसाले पनि जीवन किन्न नसकिने अवस्था आएको भन्दै उनले गुनासो पोखे । अहिले पहिलो चरणमा ल्याएका भेन्टिलेटर मेडि प्लस हस्पिटलमा राखिएको छ ।सुरुआत गर्न पहिला आर्थिक पाटो नै चाहिने उनले बताए । उनले जीवन रक्षाको लागि इच्छुकले नेपाल भेन्टिलेटर सर्भिस काठमाडांैमा रहेको खातामा पैसा जम्मा गर्न सकिने पनि जानकारी दिए ।

समितिका सदस्यसमेत रहेका डाक्टर सरोज पोखरेलले कोरोना संक्रमितको लागि अपनाइएका विभिन्न उपचार पद्धतिमध्ये अक्सिजन महत्वपूर्ण रहेको बताए । ८० प्रतिशतमा लक्षण नदेखिने समस्या आएको उनले सुनाए ।
४ वटा भेन्टिलेटरले मात्रै नथेग्ने भएकाले थप १४ वटा भेन्टिलेटर आगामी दुई साताभित्र ल्याउने तयारी भइरहेको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप