शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कौमार्य परीक्षणपछि भर्जिन भएको थाहा भएपछि मात्रै विवाह हुन्छ’

आइतबार, १४ मङ्सिर २०७७, ०८ : १५
आइतबार, १४ मङ्सिर २०७७

बेलायतको मेडिकल क्लिनिकमा महिलाको कौमार्य परीक्षण गरिँदै आएको कुरा बीबीसी न्यूजबीट र १०० वुमनको समूहले आफ्नो अनुसन्धानमा पत्ता लगाएको छ ।

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रका अनुसार यो परीक्षण मानवाधिकारको उल्लंघन हो । यी संगठन यो परीक्षणको प्रतिबन्ध पनि चाहन्छ ।

आलोचकका अनुसार यो परीक्षण अवैज्ञानिक हो र यसले कसैको कौमार्य भंग भएको छ छैन भनेर प्रमाणित पनि गर्न सक्दैन । यो  यौन शोषणकै एउटा रुप हुनसक्ने धेरैले बताएका छन् ।

यो परीक्षणमा महिलाको यौनाङ्गको परीक्षण गरिन्छ । परीक्षणमा हायमन पूर्ण रुपमा छ कि छैन भनेर हेरिन्छ ।

बीबीसीले आफ्नो अनुसन्धानमा थुप्रै नीजि क्लिनिकले कौमार्यको मर्मतको विज्ञापन दिइरहेको र त्यस्ता क्लिनिकलाई सम्पर्क गर्दा उनीहरुले १५० देखि ३०० पाउन्डबीच तथाकथित ‘कौमार्य परीक्षण’ को प्रस्ताव दिए ।

जबरजस्ती गराइयो विवाहः

बीबीसीले यस्ता २१ क्लिनिकको खोजी गरे र १६ क्लिनिकमा सोधपुछ गर्यो । यीमध्ये सातले कौमार्य परीक्षण गर्ने पुष्टि गरे भने अन्य क्लिनिकले स्पष्ट रुपमा यस्तो बताउन सकेनन् ।

यी सबै क्लिनिकले त्यहाँ हायमन मर्मतको शल्यक्रिया हुने  र यसका  लागि ५ सय देखि ३ हजार पाउन्डसम्म खर्च हुने बताए ।

बेलायतको नेशनल हेल्थ सर्भिसको आँकडा अनुसार पछिल्लो पाँच वर्षमा ६९ हायमन मर्मत शल्यक्रिया भएको छ ।

न्यूजबिटले यस्तै एक महिलाबारे सुनेको थियो जसलाई कर्मा निरवाना नामको एक च्यारिटी संस्थाले मद्दत गरेको थियो ।

यो संस्थाले इज्जतका लागि गरिएको शोषण र जबरजस्ती गराइएको विवाहबाट पीडितको मद्दत गर्छ ।

ती महिलाले भनिन्, ‘मेरो आमाबुवाले मेरो असाध्यै मानसिक शोषण गर्दथे र आफ्नो मर्जीले मेरो विवाह गराउन चाहन्थे ।’

‘मसँग भाग्ने विकल्प नै थिएन’

‘एक दिन हाम्रो समाजका एक वृद्धाले मलाई मेरा साथीहरुसँग बाहिर देखे र मेरी आमालाई तीमध्ये एउटा केटा मेरो प्रेमी हो भनेर कुरा लगाइदिए । त्यसपछि मबारे असाध्यै अफवाह फैलन थाल्यो ।’

त्यसपछि ती महिलाका आमा–बुवाले उनको कौमार्य परीक्षणको कुरा गरे ।

उनले भनिन्, ‘मेरा आमा बुवा र मेरो विवाहको कुरा चलिरहेको परिवारका सदस्य सबैले सबैभन्दा पहिले मेरो कौमार्य परीक्षण गराउनुपर्ने बताए । परीक्षणमा म भर्जिन भए मात्रै मेरो विवाह हुन सक्थ्यो ।’

‘म असाध्यै आत्तिएकी थिएँ । मैले यसको अर्थ पनि बुझ्न सकिरहेकी थिइनँ । त्यसैले मैले भाग्नेबाहेक अरु विकल्प नै देखिनँ ।’

प्रिया मनोटा कर्मा निरवानाको हेल्पलाइन हेर्छिन् ।

उनले भनिन्, ‘हाम्रोमा थुप्रै युवतीको फोन आउने गर्छ, जो यसका लागि चिन्तित छन् । सायद उनीहरुलाई आफ्नो परिवारले आफू सम्बन्धमा छन् वा भर्जिन छैनन् भनेर थाहा पाउँछन् भन्ने पीर छ । सायद उनको परिवार उनीहरुमाथि यो परीक्षणको लागि दबाब दिइरहेका छन् र उनीहरु नतिजाका लागि चिन्तित छन् ।

‘इज्जतका लागि शोषण र जबर्जस्ती विवाह त्यतिबेला हुन्छ जब युवतीले आफ्नो पार्टनर आफै छान्छन् वा यौन सम्बन्धमा छन् वा कुनै सम्बन्धमा छन् । हामीले यहाँ यस्ता घटना देखेका छौं जहाँ पीडितको हत्या गरिएको छ । अन्य पीडितलाई परिवार आफैंले अलग गरिदिएका छन् ।’

विश्व स्वास्थ्य संगठनका अनुसार लगभग २० देशमा कौमार्य परीक्षण हुन्छ तर यसलाई पुष्टि गर्न कुनै प्रमाण छैन ।

यस्तो यसकारण किनभने हायमन विभिन्न कारणले छिन्न हुनसक्छ  जस्तै व्यायाम वा ट्याम्पूनको प्रयोगले ।

गत वर्ष एक अमेरिकी र्याप आर्टिस्ट टिआईले उनी हरेक वर्ष आफूले छोरीको हायमनको स्थिती पत्ता लगाउनका लागि परीक्षण गर्ने गरेको बताएका थिए । उनको यस्तो बयानले हंगामा निम्त्याएको थियो ।

फेक किटः

बीबीसीले अनुसन्धान गर्दा ५० पाउन्डमा हाइमन मर्मत गर्ने किट अनलाइनमा पाइरहेको र यसको उपयोगिताले भर्जिनिटी फिर्ता हुने दाबी गरिएको थियो ।

यस्तै एउटा किट १०४ पाउन्डमा बीबीसीले खरिद पनि गर्यो जुन जर्मनीबाट आएको थियो । उक्त किटमा ६० मिलिलिटर यौनाङ्ग टाइट बनाउने जेल थियो, प्लास्टिकको ट्विजर, एउटा ब्लड क्याप्सुल र नक्कली रगत भएको तीन साना प्याकेट थिए । किट प्रयोग गर्नका लागि कुनै निर्देशन दिइएको थिएन ।

स्त्रीरोग विशेषज्ञ डाक्टर अशफाक खानलाई थुप्रै पटक कौमार्य र हायमन मर्मतका लागि अनुरोध पाउने गर्छन् ।

उनले भने, ‘मैले यो बुझ्न सकिनँ कि अहिलेसम्म बेलायतमा यो गैर कानूनी किन भएन । यसलाई गैर कानूनी बनाउनु पर्छ । ’

‘सुरुमा त यो कुरा नै गलत हो कि यदि हाइमन पूरा छैन भने यसको अर्थ महिला भर्जिन छैनन् भन्ने होइन । यो विभिन्न कारणले फाट्न सक्छ । यदि मलाई कसैले ‘यो फाटेको छ र मलाई यो बनाउनु छ, त्यसपछि यसको सर्टिफिकेट दिनुहोस्’ भन्नुहुन्छ भने यसको अर्थ यो हो कि म गलत सर्टिफिकेट दिइरहेको छु ।’

‘आफ्नो समाजलाई शिक्षित गर्नुहोस्’

डाक्टर अशफाकका अनुसार यो प्रथाविरुद्ध थप कदम उठाउन आवश्यक छ ।

उनले न्यूजबीटसँग भने, ‘खतनाको मुद्दा जसरी उठाइन्छ त्यसरी नै संसारभरीका नेताले यो समस्याबारे कुरा गरिरहेका छन् ।’

‘मेरो लागि त यो एउटा अपराध हो र हामीले आफूलाई आफूलाई एउा यस्तो प्रक्रियासँग जोडिरहेका छन् जुन नैतिक रुपले सही होइन ।’

यो वर्षको सुरुवातमा ‘मिडल इस्टर्न विमन एण्ड सोसाइटी’ ले कौमार्य परीक्षण प्रतिबन्ध गराउनका लागि अभियान चलाएका थिए ।

यसकी संस्थापक हलालेह तहेरीले भने, ‘हामी हायमन रिपेयर पनि बन्द गराउन चाहन्छन् तर यसबारे शिक्षित नगराएसम्म यसको फाइदाभन्दा बढी क्षती पुग्नेछ । यो प्रथा अहिलेसम्म पनि यसकारण चलिरहेको छ किनभने भर्जिनिटीको विषयमा अहिलेसम्म पनि मानिसको सोच निकै पिछडिएको छ । ’

‘यदि हामी आफ्नो समुदायलाई शिक्षित गर्छौं तबमात्र हामी सोच बदल्न सक्छौं । त्यसपछि हायमन रिपेयरको आवश्यकता पर्र्दैन । यो व्यापार आफसे आफ बन्द हुनेछ ।’ – बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप