
नृसिंह नृत्य मञ्चनः लामो नाच दुई दिनमै सम्पन्न

–सुभानु आचार्य
ललितपुर । हरेक वर्ष कार्तिक शुक्लपक्ष त्रयोदशी तिथिमा मनाइँदै आएको कार्तिक नाचअन्तर्गतको आज नृसिंह अवतार नृत्य मञ्चन गरेर यस वर्षको ‘कार्तिक नृत्य’ सम्पन्न गरिएको छ । गत वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त नाच यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण शुक्रबार र आज दुई दिन मात्र प्रदर्शन गरियो ।
विष्णुपुराणमा आधारित कथानुसार हिरण्यकशपुको बध गरेपछि अप्सराहरुले नृसिंहको क्रोध शान्त्त पार्छन् । त्यसपछि नृसिंहको पूजा गरेर नृत्य समापन गरिएको समितिका सचिव विजय तण्डुकारले बताए । यसैगरी शुक्रबार कात्तिक शुक्लपक्ष द्वादशीमा वराह नृत्य प्रदर्शन गरिएको थियो । सो नाच संरक्षणका लागि यस वर्षदेखि अक्षयकोष स्थापना गरिने भएको छ । आज पनि नृत्यकला हेर्न इच्छुक व्यक्तिले विद्युतीय प्रत्यक्ष प्रसारणको सहायता लिए । सो नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ ।
विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । सो नाच विश्वकै सबैभन्दा लामो भएको जिकिर गरिएको छ । कार्तिक नाच प्रथम पटक पाँच तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन् ।
मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको जानकार बताउँछन् । राजा श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला थपेर कार्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो ।
ती विधामा सुदामा, भक्त सूरदास, माधवानर लीला, ल्यवःलाय्गु अर्थात् सुखुली तुल्यगु, च्वलेखुदाँ अर्थात् दाँखुदाँ..., कौलाखिचा, माकः सि मियेगु, खुसि छिकेगु अर्थात् जीचा, तिंखिकाँ अर्थात् छ्योँध्वग्गि, सतिवनेगु अर्थात् महामूर्ख, उषाहरण लीला, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला, दधिलीला र बौद्ध अवतार लीला रहेको समितिले जनाएको छ ।
यस वर्षको कार्तिक नाच देखाउन लामो समय तालीम दिनु नपरेकाले आर्थिक समस्या नभएको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए । उनले भने, “यस पटक हामीले १८ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धमा कोरोनाको जोखिम बढी रहने हुँदा तीबाहेक अन्य उमेर समूहका मानिसलाई कलाकारको रुपमा छनोट गर्यौं ।”
गत वर्ष १२ दिन देखाइएको नृत्यमा लगभग १५० कलाकारका साथै पाटन दरबार परिसरभर नाच हेर्ने मानिसको भीड हुने गरेको शर्माले स्मरण गरे । यस पटक कोरोना कहरका भए पनि यस पालि घरबाटै भए पनि हेरेर आनन्द लिन पाएकामा निकै खुशी लागिरहेको पाटन सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ