बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

'दुई पटक प्रधानमन्त्री हुँदा सीमाबारे किन मौन, कुन प्रचण्ड सक्कली ?'

शनिबार, १३ मङ्सिर २०७७, २० : ३१
शनिबार, १३ मङ्सिर २०७७

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको भूमिकामाथि प्रश्न उठाउँदै दुई पटक प्रधानमन्त्री हुँदा सीमाबारे किन नबोलेको भन्दै प्रश्न उठाएका छन् । 
 भारतसँगको सीमा विवादका सन्दर्भमा प्रचण्डको भूमिका दोहोर भएको उल्लेख गर्दै ओलीले २०७७ भदौ २६ र कात्तिक २८ गतेको दृष्टान्त प्रस्तुत गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्ये कुन चाहिँ सक्कली र कुन नक्कली हो भन्नेमा आफू कन्फ्युज्ड भएको समेत शनिबार आफ्नो प्रस्तावमा प्रचण्डलाई जवाफ दिँदै ओलीले भनेका छन् । 

ओलीले भनेकाका छन्, २०७७ भदौ २६ गते सम्पन्न स्थायी कमिटीको पाँचौ बैठकले गरेको निर्णयको बुँदा १०.५ मा यस सम्बन्धमा भनिएको छ–‘यो बैठक नेपालको नयाँ नक्सा प्रकाशन र यस प्रयोजनका लागि संविधान संशोधन सहितको ऐतिहासिक निर्णयका लागि सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’ यस निर्णयमा हस्ताक्षर गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दुई महिनापछि २०७७ कार्तिक २८ गते यस विषयमा मेरो निष्ठामाथि प्रश्न उठाउने, ‘राष्ट्रियतासँग सम्बन्धित विभिन्न विषयमा अनेक पटक फितलो देखिएको’, ‘विदेश मामला र कुटनीतिमा नेपालको स्वतन्त्र परराष्ट्र नीतिसँग मेल नखाने व्यवहार देखाउँदै... देशलाई क्षति पु¥याएको’ जस्ता आरोप लगाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्ये कुन चाहिँ सक्कली र कुन नक्कली हो, म साँच्चै नै कन्फ्युज्ड भएको छु ।’

यस सम्बन्धी मेरो एउटा सानो जिज्ञाशाको जवाफ दिनु हुन्थ्यो कि कामरेड ‘प्रचण्ड’ ? भन्दै ओलीले अगाडि भनेका छन्, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा त झण्डै साठी वर्षदेखि भारतको प्रशासनिक र कार्टोग्राफिक नियन्त्रणमै थिए । यस अवधिमा तपाईं दुई–दुई चोटी प्रधानमन्त्री बन्नुभयो । लिपुलेक र लिम्पियाधुराको नाम उच्चारण गर्न तपाईंलाई के कुराले छेकेको थियो? लौ, यी त ठूला विषय भए रे । ‘केपी ओलीले मित्र राष्ट्रहरुसँगको सम्बन्ध बिगा¥यो, हामी सपार्छौैँ’ भन्दै मलाई हटाएर २०७३ साउनमा दोस्रो पटक प्रधानमन्त्री बन्नुभएका तपाईंलाई आफू स्वयंले पहिलोचोटी प्रधानमन्त्री हुँदा कोशीमा आएको बाढीमा सहजीकरण गर्न भनेर अनुमति दिएको विराटनगरस्थित भारतीय सम्पर्क कार्यालय जस्तो मामुली विषय समाधान गर्न पनि किन गाह्रो प¥यो ?’ 

उनले अगाडि भनेका छन्, ‘हामी कुटनीतिक सम्बन्धहरुलाई कसरी अगाडि बढाउँछौँ ? सम्बन्धमा समस्या आएको बेला विभिन्न कुटनीतिक र अन्य च्यानलहरु प्रयोग गर्छौँ कि गर्दैनौँ ? नाकाबन्दी जस्तो कठिन समयमा नेपालले यसो ग¥यो कि गरेन ? विशेष अवस्थामा राष्ट्राध्यक्ष÷सरकार प्रमुखले गैर कुटनीतिक क्षेत्रका प्रतिनिधि पठाउने प्रचलन विश्व राजनीतिमा छ कि छैन ? त्यसरी  पठाइएका प्रतिनिधिलाई उनको पदीय हैसियत सोधेर भेट्ने नभेट्ने तय गरिन्छ ? मलाई निकै दुःख लाग्छ ती साथीहरुको आरोप सुन्दा, जसको विदेशी गुप्तचर पदाधिकारीहरुसँगको अपारदर्शी भेट र सम्बन्धमा एकखालको लत नै बसेको छ । अनि, जसका बारेमा जानकारहरुले अनेकौँ पुस्तक, अनुसन्धान र मन्तव्यमार्फत् खुलासा पनि गरेका छन् । कृपया यस्ता संवेदनशील विषयलाई व्यक्तिगत तुष पोख्ने माध्यम नबनाऊँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप