शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा विद्युतीय शवदाह गृह विवादबारे स्थानीय भन्छन् - मनपरि मान्दैनौं

शनिबार, १३ मङ्सिर २०७७, १९ : २४
शनिबार, १३ मङ्सिर २०७७

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० को निर्माणाधीन विद्युतीय शवदाह गृह विवाद थप पेचिलो बन्दै गएको छ । वातावरणीय प्रभाव मुल्यांकन बिना नै निर्माण अघि बढाएको भन्दै स्थानीयले निर्माणमा असन्तुष्टि जनाउँदै आएका छन् ।

आफूहरुको स्वीकृति बिना नै मनपरि रुपमा निर्माण थालेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । मानव स्वास्थ्यदेखि प्राकृतिक सम्पदामा नै खलल पु¥याउने भन्दै उच्च अदालत पोखरा पुगेका थिए । गत साउनमा उच्चले काम अघि बढाउने अन्तरिम आदेश दिएपछि स्थानीय मुुद्दा बोकेर सर्वोच्चमै पुगेका हुन् । 

राज्यले कानुनी राज्यको मर्यादा पालना नगरेको भन्दै स्थानीयले गुनासो पोखेका छन् । सरकारी सम्पति हो भन्दैमा मनपरि गर्न नपाइने उनीहरुको भनाई छ ।  
शवदाह गृह निर्माणको जिम्मा पाएका निकाय स्थानीयको कुरा बुझ्ने पक्षमा नै नरहेको उनीहरुको जिकिर छ । शवदाह गृह निर्माणको लागि बौद्ध अघौं सदनन मुनिको बाटो नै नक्साबाट गायब बनाएको समेत स्थानीयको आरोप छ ।

शवदाह गृह बनाउनको लागि बन क्षेत्रको नक्सा नै फेरिएको भन्दै उनीहरुले गुनासो पोखेका छन् ।

पोखरा १० बुद्धचोकका स्थानीय समेत रहेका वातावरण विद् कृष्ण केसीले पोखराको मध्ये भागमा रहेको बन सम्पदा टुक्राउन खोजेको भन्दै आपत्ति प्रकट गरें । पोखराको मुटुमा रहेको बन टुक्रिएर खिइदै जाने अवस्था आएको बताउँदै उनले अन्य जंगलको हालत झनै दयनीय बन्दै गई रहेको जिकिर गरे । ‘शान्तिवन बैरागी बनको निरन्तरता हो । टुक्रिदै खिइदै अब शान्तिबनै मासिने क्रममा छ । पोखराको मुटुमा रहेको बन टुक्रिएर यो हालत छ भने अरुको हालत के होला !’ उनले भने ।

वि.सं. ०३२ सालमा नापी कार्यालयमा कायम भए अनुसार नै बनको क्षेत्रफल फिर्ता आउनुपर्ने उनको माग छ । वनको क्षेत्रफल अन्यत्रै गए त्यसको कारण दिनुपर्ने नत्र वनकै क्षेत्रफलमा फिर्ता आउनुपर्ने उनको भनाई छ । ‘अन्यत्रै गाभिएको छ भने कारण चाहियो । नत्र फिर्ता आउन पर्छ । पोखरा महानगरको अत्यन्तै सुन्दर गहनाको रुपमा विकास गर्ने । सुन्दर बाटिका बनाइनुपर्ने ठाउँलाई यसरी टुक्राइनु हुँदेन,’ उनले भने, ‘यो त्यो को लागि भन्दा सबैको लागि हो यो वन । वनलाई जसरी भए पनि जोगाउनुपर्छ ।’ 

जुनकुनै हालतमा पनि वन मास्न नहुने उनको भनाई छ । त्यसको लािग स्थानीय एकजुट भएर लाग्नुपर्ने उनले बताए । ‘जसरी भए पनि संरक्षणको लागि एक भएर जानुपर्छ । स्थानीयको चित्त बुझाउनैपर्छ । यो शान्ति वनमा शवदाह गृह होइन, सुन्दर गहनाको रुपमा विकास गर्नुपर्छ,’ उनले भने । 

स्थानीयको मनशाय बुझ्न सरोकारवाला निकायले गहन परामर्श लिएर सोधिखोजि गर्नुपर्ने उनको भनाई छ । नत्र, वन साझा दुखान्त कथा हुने उनले बताए । ‘सार्वजनिक सम्पदामा ठुला नीजि बंगला बन्ने । सार्वजनिक सम्पत्ति सकिएर जाने कदापि हुनु हुँदैन, सार्वजनिक सम्पति जोगाउन सबै तत्पर छौं,’ उनले भने । 

शान्तिवन बचाउ समितिका अध्यक्ष खुसीमान गुरुङले स्मार्ट सिटीको खिल्ली उठाउँदै सहरको बिचमा शवदाह गृह बनाउन लागिएको भन्दै गुनासो पोखे । वन मासेर शवदाह गृह बनाउन कुनै पनि हालतमा नदिइने उनले बताँए । ‘यहाँबाट वन मासेर बेलि ब्रिज राख्ने, वन छिचोलेर नयाँ बजार लैजाने योजना रैछ । यस्तो गर्दा करिब  सय मिटर क्षेत्रफलको रुख काटिने रैछ,’ उनले भने, ‘३ सय मिटर त के १ इन्च पनि काट्न दिन्नौं ।’ करौडोको सम्पतिलाई शक्तिको दुरुपयोग गर्दै मसानघाटमा परिणत गर्न खोजिएको भन्दै उनले गुनासो पोखे । 

आफूहरु कुनै पनि हालतमा शवदाह गृह विरोधी नभएको उनको स्पष्टिकरण छ । वनको विच भागमा शवदाह गृह बनाउननु भन्दा उचित ठाउँमा बनाउनुपर्ने आफूहरुको माग रहेको उनको भनाई छ । यस्तो जात्रा देखाएर सिटी कुनै पनि हालतमा स्मार्ट बन्न नसक्ने उनको जिकिर छ । 

बुद्धचोक वातावरण सुधार समितिकी अध्यक्ष सम्झना अधिकारीले प्राकृतिक सम्पदा मास्न रातारात डोजर लगाएपछि डकुमेन्ट जम्मा पारेर उच्च अदालत, पोखरा महानगर हुँदै केन्द्र सम्म पुगेको बताइन् । ‘यति गर्दा पनि कतै अझै हाम्रो कुरा सुनिएन । सरकारी बजेट सरकारी वन भनेर मनपरि गर्न खोजेको होला,’ उनले भनिन्, ‘यो कुनै पनि हालतमा मान्य छैन ।’

उनले आफूहरु शवदाह गृह निर्माणको विरोधी नभएको दोहो¥याइन् । शहरको बिचमा बनाउनु भन्दा एउटा उपयुक्त स्थानमा बनाइनुपर्ने आफूहरुको माग रहेको उनको भनाई छ । ‘सहरको बिचमा एउटा भए पनि जंगल बनाएर राखौं भन्ने हो  वातावरणीय मुंल्याकन छैन । सरकारी निकायले जे गरे नि हुने । कुनै पनि काम नियमसंगत छैन,’ उनले भनिन्, ‘राज्यले गर्ने काम हामीले गरेका छौं । राष्ट्रको सम्पति जोगाउन हामी लाग्नुपर्ने हो र !’

विवाद थप पेचिलो बन्न थालेपछि पोखरा महानगरले सहजीकरण समिति नै बनाएको छ । वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा महानगरले सहजीकरण समिति बनाएको हो । समितिले स्थानीयको राय लिएर अघि बढ्न सहजिकरण गर्ने छ । 

१८ करोड लागत स्टिमेट गरिएको शवदाह गृह निर्माणको लागि सहरिविकास मन्त्रालयले सिल टेन्डर आह्वान गर्दा ४ कम्पनीको सिल टेन्डर हालेको थिए । टेन्डर हालेका कम्पनीमध्ये सिनर्जी बिल्डर्स प्रा.लि.ले ठेक्का पाएको छ । १४ करोड ४१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेका यो योजना । गत साल भदौ २४ गते ठेक्का सम्झौता भए पनि निर्माणको काम भने अघि बढ्न सकेको छैन । 

बुद्ध चोक वातावरण सुधार समितिका अध्यक्ष सम्झनादेवी अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित बौद्ध अघौं सदनका अध्यक्ष र ११ सरकारी निकायको विरुद्धमा उच्चमा मुद्दा दर्ता गराएकी थिइन्  । 

उच्चले दुवै पक्षलाई साउन १६ गते छलफलमा डाँकेर छलफलपछि काम अघि बढाउने अनुमति दिएको थियो । उच्चको निर्णयले विवाद साम्य हुन नसकेपछि विवाद सर्वोच्चमै पुगेको छ । २०७८ भित्रमा शवदाहको निर्माण सक्नुपर्ने छ । शवदाह निर्माणको लागि  ०७५÷७६ मा सहरि विकास मन्त्रालयले बजेट विनियोजन गरेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप