सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

एमाले प्रचार विभाग चिरनिन्द्रामा हो ?

शुक्रबार, ०६ असोज २०७४, १२ : १४
शुक्रबार, ०६ असोज २०७४

 ने.क.पा. एमाले पार्टीले विशेष महत्वका साथ केन्द्रीय स्तरको प्रचार विभाग गठन तथा परिचालन गरेको देखिन्छ । प्रचार विभागको मूलभूत आदर्श माक्र्सवाद र जबज हो । यही सिद्धान्तको मार्गदर्शन देश र जनताको हक, हित र समुन्नतिको मूल आधार हो । यसलाई कुनै पनि हालतमा तलबितल पार्न र गर्न दिनु हुँदैन । यिनैको मार्गदर्शनमा आम आधारभूत श्रमजीवी जनताको सर्वाङ्गीण हक, हित र उत्थान सम्भव छ । कम्तीमा एमाले पार्टीले उपर्युक्त सैद्धान्तिक आदर्शका उत्प्रेरणा र प्रकाशमा देश र जनताका हितमा जे जति समयमा जे जति सकेको सेवा प्रदान गरेको छ । तर अहिले यिनै सिद्धान्तमाथि चौतर्फी दुष्प्रचाररूपी प्रहार भइरहेको छ । अझ नेपाल राष्ट्रको स्वतन्त्र, अखण्ड र स्वाधीन अस्तित्व जस्ता अति संवेदनशील विषयका विरुद्ध प्रत्यक्ष र खुल्ला छापा पत्रिकाहरूमा अनवरत रूपमा प्रहार भइरहेको छ । अखण्ड, एकीकृत राष्ट्र नेपाललाई बहुराष्ट्रवादको चरम विखण्डनकारी गतिविधि खुलेआम भई रहेको छ । यस्ता संवेदनशील विषयमा एमाले प्रचार विभागले आफ्ना मातहत शक्ति र सामथ्र्यलाई परिचालित गर्न सकेको देखिन्न । यस्ता विषयमा विभागको भूमिका खासै देखिएको छैन । प्रचार विभागमा अध्यक्ष योगेश भट्टराईसहित २३ जनासम्मको नामनामेसी देखिन्छ । तर तिनमध्ये सूर्य थापा बौद्धिक वैचारिक लेखकीय व्यक्तित्व हुन् । थापाले अनेक पुस्तकाकार र फुट्कर कृतिमार्फत् लिखित वा मौखिक रूपमा प्रचार विभागको उच्च हैसियत धानेकै छन् । विष्णु रिजाल र मात्रिका तिम्सिना लेखन, सम्पादनका हैसियतले प्रचार विभागको औचित्य पुष्टि गर्न सक्षम व्यक्तित्व लाग्छन् । राजेन्द्र अर्याल श्रव्यदृश्य अर्थात् टेलिभिजन सम्बद्ध प्रचारक व्यवस्थापक व्यक्तित्व हुन् । गणेश बस्नेत प्रेस चौतारीका अध्यक्ष हुन् । प्रमोद दाहाल भने ओली प्रधानमन्त्रित्व कालमा सुनिएका र चिनिएका व्यक्तित्व हुन् ।

प्रचार विभागका अध्यक्षका टेलिभिजन अन्तर्वार्ता भने बेलाबेला सुनिन्छ । तर एमाले पार्टीको केन्द्रीय प्रचार विभागको औकात सामान्य घिसेपिटे लेखन, सामाचार सम्पादन र केही प्रचलित प्राविधिक शब्दावलीका भरमा मिडियामा चोसो पसार्नु मात्र होइन । बोलेपछि आवश्यकताअनुसार पोल्नेगरी गरी पनि बोल्नुपर्छ, लेखेपछि मित्रशक्तिको धीत मर्ने गरी र आवश्यक पर्दा उदण्ड विरोधीको मुख बन्द गर्ने गरी लेख्नुपर्छ । गोलीको जवाफ गोलीले दिए जसरी र बोलीको जवाफ उपयुक्त बोलीले फर्काउने तागत राख्नुपर्छ । राम्ररी बोल्न र लेख्न जान्ने हो भने आधा काम सकिन्छ । मुख भए मुलुक पाइन्छ भनेर पुर्खाहरूले त्यसै भनेका होइनन् । आफ्नै जाति कुरा भन्न नजान्नु र पछि पर्नु जस्तो दुर्भाग्य कहीँ हुन्छ ? ओलीको बोलीले नै आधा समस्या समाधान हुन्छ भनेर त जननेता मदन भण्डारीले उहिल्यै भन्नुभएको थियो । ओलीको विलक्षण, वाकचातुर्यपूर्ण, उक्तिवैचित्र्य युक्त, वाकवैविध्यतापूर्ण तथा रोचक घोचक अभिव्यक्ति सुनेर यही लेखक कायल भएको छ । ओलीको यस्तो विराट लोक भाषा, विम्ब, प्रतीक, दृष्टान्त, उपकथा सुन्दा र देख्दा यस लेखकलाई सकारात्मक आहारिस पनि लाग्छ ।

कुरोको चुरो एमाले प्रचार विभाग र यसका सदस्यहरूले नेपाल जस्तो बहुभाषी र बहुसंस्कृतियुक्त मुलुकमा नेपाली मात्रै होइन, अन्य भाषिक सौन्दर्य बारे जनकारी हुनु राम्रो हुन्छ तर नेपाली भाषिक प्रयोग र उपयोग गरेर आम जनतामा प्रभाविलो रूपमा पार्टीगत प्रचार सामथ्र्य राख्न लर्तरो मिहिनेतबाट सम्भव हुन सक्तैन । त्यसमा पनि अहिले नै साराका सारा देश, जनता र जनजीविका विरोधी एमालेलाई सके समाप्त पार्ने नियतका काम गरिरहेका छन् । यस्तो अवस्थामा गरेजस्तो र गरिदिनका लागि र लिखित प्रगति विवरण मात्र तयार पारेर अमुक नेताको पत्यारो हुने काम गर्नुभन्दा नगर्नु नै जाति हुन्छ । यस संस्थाको औचित्य पुष्टि गर्न उच्च स्तरको प्रखर बौद्धिक, चिन्तक, लेखक भूमिका अपरिहार्य हुन्छ । व्यक्तित्वलाई तिखार्दा तिखारिन्छ । अझै पनि समय छ, पदीय दायित्व निर्वाह गर्नै पर्ने स्थिति निर्माण गरियो भने अहिलेका विभागका सबै सदस्यहरू कलम कपी समाउन थाल्नेछन्, निधार खुम्च्याएर सोच्न र पढ्न लेख्न बाध्य हुनेछन् । नत्र अमुक लबीका नाममा पाखुरा नापेर एमालेका कुनै पनि केन्द्रीय स्तरका विभागमा मनोनित गर्ने हो भने नतिजा शून्य हुनेछ । अहिले भएको त्यही हो । मियो दरो भयो भने जस्तासुकै गोरु पनि फनफनी काममा जोतिन्छन् ।

यसको मतलब अगुवा नै अध्ययनशील, सिर्जनशील तथा पठन संस्कृतिप्रेमी हुनुपर्छ । अक्सर कमजोर र कामचोर पात्रले नै कुनै न कुनै लबीको पुच्छर समाउँछ तर त्यस्ताले लबीको नेतालाई भसाउँछ । त्यसैले एमालेका कुनै पनि नेताले ढोडको तक्माका भरमा उकालो चढ्छु भनेर नसोचे हुन्छ । ओली वा अरू नेताको लबी र निकट भनेर तिनकै उचाइ खस्काउने खतरा पनि देखिन थालेको छ । आलोचना र सुझाव भनेको मित्रजनले पनि गर्छन् । विभागका पदाधिकारी र सदस्यहरूले आजै देखि र अहिल्यैदेखि विभागीय र विषयगत मिहेनत गर्ने हो भने भोलिका दिनमा ती अवश्य प्रभावशाली प्रचारक लेखक पत्रकार व्यक्तित्व बन्नेछन् । विभागले अहिलेसम्म कति लेखक पत्रकार जन्मायो कुनै लोखाजोखा छ ? सक्षम र कुशल सञ्चारक र प्रचारक बन्न प्रभावकारी तथा ओजस्वी लिखित, मौखिक भाषा वा वाणी अपरिहार्य हुन्छ । जबज अनुसार प्रभावकारी प्रचारका लागि जननेता मदन भण्डारी तथा एमाले अध्यक्ष तथा पूर्व प्रधान मन्त्री के.पी. शर्मा ओलीजस्तो आवश्यक नरम र आवश्यक गरम तथा गर्विलो बोली हुनैर्छ । एमालेका उपाध्यक्षद्वय बामदेव गौतम, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, बिन्दा पाण्डेका अभिव्यक्तिहरू प्रचारका दृष्टिले प्रभावपूर्ण लाग्छन् । अझ प्रभावकारी लेखक दयालबहादुर शाही सशक्त अखबारी लेखक हुन् । गुणीजन एमालेमा भए दयाल जस्ता लेखकको गुणलाई चिन्नु पर्ने हो तर एमालेमा एमाले उपल्ला तहका नै पनि अत्यन्त कम नेताबाहेक अत्यधिक कन्द्रीय र स्थानीय एमाले नेताहरू बौद्धिक, सिर्जनात्मक तथा रचनात्मक उत्कृष्ट लेखक सर्जकहरूलाई सकारात्मक दृष्टिले समेत हेर्दैनन् भन्ने यही लेखकको तीतो अनुभव रहेको छ । 

एमालेमा उपर्युक्त खालका योग्य र योग्यतम गुरुहरू हुँदाहुँदै पनि चेलाहरू त्यसअनुसार हुन नसक्नु शिष्यकै गम्भीर कमजोरी हो । राम्रो लेखक बन्ने हो भने निरन्तर लेख्नु पर्छ, राम्रो वक्ता बन्ने हो भने पनि निरन्तर यसमा अभ्यास गर्नुपर्छ तर यसको जग भनेको पठनसंस्कृति हो । विराटनगरको एक कार्यक्रममा यस लेखकले मदन भण्डारीले झैँ टाउकामा कालो टोपी ढल्काउँदैमा भण्डारी भइँदैन अनि ओली हुन रातको बाह्रबजेसम्म पढ्नुपर्छ भन्दा सभामा उपस्थित त्यहाँका केन्द्रीय र स्थानीय एमालेहरू ट्वाल्ल परेका थिए । एमाले जस्तो सुसङ्गठित प्रचार विभाग र त्यसअन्तर्गतका देश व्यापी तमाम प्रचार नेटवर्कलाई एउटै सीके लालले हायल कायल पारिरहेको देखिन्छ । प्रचार, सञ्चार तथा मिडिया भनेको बहुआयामिक गहन विषय हो । यसलाई तद्नुसार नबुझ्दा विभाग र यसका मातहत अलमलिएको हो कि ? अहिले एमाले पार्टी र यसको नेतृत्वका देश, जनता र जनजीविकाका सबालका सारा सकारात्मक पक्षहरूलाई हिलाको किलोसरी देशीविदेशी प्रतिक्रियावादीले हल्लाइरहेका छन् । एमाओवादी नेता गोपाल किराँतीले भखैरै एक अनलाइन पत्रिकामा एमाले विरोधी मनोगत कुटकलुषित भँडास ठुटेकलम मार्फत् प्रवाह गरेका छन् । भर्खरै अर्का एमाओवादी नेता राम कार्कीले कम्युनिस्ट शब्द र यसको आन्दोलन सम्बद्ध विषयमा नानाभाँती भ्रम छापा पत्रिकामा पस्केका छन् । तिनमध्ये कति एमाले पार्टीभित्रै देखा परेका तर सच्याउनुपर्ने विषय पनि छन् । जस्तो कि कम्युनिस्टहरू पढ्दैनन्, त्यहाँ पठनसंस्कृति समाप्त प्रायः छ, अनि पढेलेखेकाहरूलाई पार्टीमा पूर्णतया बेवास्ता गरिन्छ । नोकरसाही जनवाद हावी छ, आदि आदि ।

तर पनि थोत्रो कम्युनिस्ट पार्टी भन्ने कुरा पनि थोत्राहरूलाई सुहाउने कुरा होला । के एमाले प्रचार विभागलाई पनि यस्तै लागेर मौन समर्थन गरेको हो त ? अनि अर्का विज्ञ प्रा. चैतन्य शर्माले पनि कम्युनिस्ट आन्दोलनप्रति आफ्नो विरक्तिभाव एक प्रमुख अखबारमा बेलिविस्तार गरेछन् । कम्तीमा आआफ्ना विचार यो विचारको बजारमा तिनले पस्किदिए तर के ती सबै विचार सही हुन् ? ती सबै खुराक मनन् योग्य छन् ? यो लेखक एमाले प्रचार विभागको दर्तावाल सदस्य नभए पनि ती भ्रमपूर्ण विचारका विपक्षमा एक शब्द पनि हालसम्म प्रकाशित नहुँदा बेचैन रह्यो । जब ती विचार बजारमा बिक्रीका लागि दोकान दोकानमा छ्यासछ्यास्ती फिँजाइएपछि तिनको सच्चाइ वा सक्कली र नक्कलीपना बारे आफूलाई गुणस्तर मापन गर्ने भन्ने निकायले बोल्नुपर्दैन ? यस विषयमा आम सचेत जनसमुदायलाई समयमै सचेत र अगाह गर्नुपर्दैन ? 

राष्ट्रको अखण्डता, स्वाधीनता र सामाजिक सद्भावको सुरक्षा र संवर्धन गर्दै देश, जनता, जनजीविकाका पक्षमा गरिएको कामको समर्थन र विपक्षमा दृढ असहमति जाहेर गर्नु एमाले प्रचार विभागको काम हो । वर्गीय समाजमा प्रचारको पनि आफ्नो आफ्नो पक्ष हुन्छ । एमालेको प्रचार विभाग भनेको आम श्रमजीवी जनताको बहुआयामिक तथा सार्वोपरि हित साधना गर्नु हो । यो काम खास सिद्धान्त, मान्यता र दृष्टिकोणबिना असम्भव हुन्छ । कतिपय सवालमा सामन्तवादी र पुँजीवादी प्रचारभन्दा भिन्न मान्यता र आदर्श एमाले प्रचार विभागको हुन्छ । एमाले प्रचार विभागको सैद्धान्तिक आदर्श माक्र्सवाद र जनताको बहुदलीय जनवाद हो । यसैका आलोकमा एमाले प्रचार विभाग क्रियाशील हुने हो । आत्मिक संस्कृतिजन्य प्रचारमा वर्ग पक्षधरता हुन्छ र यसलाई खुकुलो र फितलो बनाउनै हुन्न त सार्वजनीन र सार्वकालिक सर्वजन हितकारी भौतिक संस्कृति निवर्गीय हुन्छ, अर्थात् यसको वर्ग पक्षधरता हुँदैन ।

प्रसङ्गबस प्रचार विभाग केन्द्रित यस लेखले प्रगतिशील प्राध्यापक सङ्गठन, बुद्धिजीवी परिषद्, जनसांस्कृतिक महासङ्घ र अन्य पेसागत सङ्गठनहरू परिभाषा, पहिचान र प्रभावका दृष्टिले विशेष अर्थ राख्छन् । तर प्रायः सबैजसो सामान्य र सतही परिचयमा नै मख्ख परिरहेको देखिन्छ । केवल सङ्गठन, गठन, विगठन, पुनर्गठन, विस्तार, चियापान, अनि त्यसलाई फेसबुकमा सस्तो प्रचारका भरमा परेर बौद्धिक पहिचान पूरा हुन्छ ? दशैँ, तिहार र छट आदि चाडपर्व र संस्कृति सम्बद्ध चियापान कार्यक्रममा संस्कृति विषयक चर्चाका माध्यमबाट राजनीतिक संस्कृतिको चर्चा गनुपर्ने हो । बौद्धिक र वैचारिक नेताका विषय, प्रसङ्ग र सन्दर्भअनुसार कहिल्यै नबोलेर सदा एकसुरे र एकोहोरे पाराका पट्यार लाग्दा मन्तव्यले स्रोता सहभागी आजित भएको देखिन्छ । सांस्कृतिक चेतन्यून र शून्य भएपछि सभाका कतिपय अतिथि बुद्धिजीवी र एमाले पोलिटब्युरो सदस्यहरू साराका सारा केही कम्युनिस्ट प्राविधिक शब्दावली भट्याएर बोलीको बिट मार्छन् । बरु विभागमा र केन्द्रीय स्तरका मोर्चा सङ्गठनका नेताभन्दा तल्लो तहमा गुण गरिमायुक्त नेता र कार्यकर्ता होलान् । तर तीमध्ये धेरैजसो आफूलाई टुपीमा समातेरमाथि पुर्याउनेका अभावमा तलै थेच्चिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप