केन्द्रीय संस्करण
मेरो जीवन

‘साहित्यले मलाई मरेपछि बचाउँछ’

साथीहरूले मलाई ड्रेस म्यान भन्ने गर्छन्

person explore access_timeमंसिर १३, २०७७ chat_bubble_outline1
रातोपाटी फाइल तस्बिर

घनश्याम राजकर्णिकार नेपालमा नाम चलेका नियात्राकार हुन् । कथा, कविता हुँदै नियात्रा लेखन थालेका उनी पछिल्लो समय नियात्रामै रहेका छन् । ‘विविध विधा समेटेर ‘केही चिन्तन केही मन्थन’ नाम पुस्तक उनले २०३५ मा निकालेका थिए । धेरैले त्यो पुस्तक मनपराएपछि उनी यसमै होमिएका हुन् । उनका अहिलेसम्म दर्जनभन्दा बढी किताब प्रकाशित छन् । उनको अर्काे परिचय व्यवसायी पनि हो अर्थात, उनी कृष्ण पाउरोटीका अध्यक्षसमेत हुन् । उनका पिता कृष्णबहादुर राजकर्णिकारले स्थापना गरेको कृष्ण पाउरोटी उद्योगलाई आधुनिकीकरण गर्दै थप उचाइ दिने काम उनले गरेका हुन् । कृष्ण पाउरोटीले जीवन निर्वाह गर्न सजिलो भए पनि मरेपछि पनि बाँच्ने कामका लागि साहित्य लेखनमा लागेको बताउने राजकर्णिकारले विभिन्न सङ्घसंस्थाबाट तीन दर्जनभन्दा बढी सम्मान प्राप्त गरेका छन् । उनै घनश्याम राजकर्णिकारका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन स्तम्भ’मा उनकै शब्दमाः

मेरो खाना
सामान्य खाना मनपर्छ । ब्राउन राइसको भात मनपर्दैन । हरियो सागपात, तोफु, पनिर, काउली, धनियाँ र गोलभेँडाको अचार मनपर्छ । ब्रेकफास्टमा चिया अथवा कफीसँग मल्टिग्रेन ब्रेड, चिज, बिस्कुट, केरा आदि लिन्छु ।
दिउँसो चिया कफीसँग कुकिज, भुटेको भट्मास, बदाम, काजु, पेस्ता, ओखरलगायत एक÷दुई मुठी लिन्छु । 
पिरो, धेरै मसला र घिउ भएको परिकार, माछामासु खाँदैखान्न । अण्डा खान्छु ।

युवा अवस्थामा साथीहरुसँग रेस्टुरेन्ट गएर खान मनलाग्थ्यो, गइन्थ्यो पनि । अहिले भने परिवारसँग कहिलेकाहीँ राम्रो रेस्टुरेन्ट मात्र जान्छु । किचनको काम गर्न मनपर्छ । बिहानको ब्रेकफास्ट र दिउँसोको खाजाको लागि आफै खटिन्छु । खाना बनाउन जान्दिनँ ।

मेरो फिट्नेस
बिहान उठ्ने बित्तिकै फ्रेस भएर एक घण्टा ध्यान गर्छु । त्यसपछि प्राणायम र रामदेवको कपाल भाँती, अनुलोमविलोम, भ्रामीलगायत गर्छु । त्यसपछि २०–२५ मिनेट मर्निङवाक गर्छु ।

मेरो पोसाक
राष्ट्रिय पोसाक दौरा, सुरुवाल, कोट मलाई धेरै सुहाउँछ । यो पहिरन विशेष अवसरमा मात्र लगाउँछु । सधैँ लगाउने पोसाक कमिज, पाइन्ट र ज्वारीकोट नै हो । ज्वारीकोटलाई अहिले मोदीकोट भन्न थालिएको छ ।
तर यस्तो कोट म मोदीले भन्दा पहिलेदेखि नै लगाउँदै आएको थिए । मलाई फिक्का तथा हल्का रङका पोसाक मनपर्छ । डार्क किसिमका पोसाक मनपर्दैन । पहिरनमा ब्रान्डेड हेर्दिनँ । आफूलाई सुहाउने र चिटिक्क मिल्ने लगाउनुपर्छ । त्यसैले पनि होला साथीहरूले मलाई ड्रेस म्यान भन्ने गर्दछन् ।

मेरो अध्ययन
फुर्सदमा भयो कि लेखपढ गरिहाल्छु । रुटिङ बनाएर पढ्ने बानी छैन, सम्भव पनि हुँदैन । विशेषगरी आख्यान पढ्छु । नियात्रा आफ्नो लेखनको विषय भएकाले भेटाएसम्म यस्ता किताब पढ्छु । मेरो शैक्षिक अध्ययन अर्थशास्त्र हो । विद्यार्थी छँदा आफ्नो शैक्षिक विषयमा गहन अध्ययन गरेको हुँदा एम.ए. (अर्थशास्त्र) द्वितीय श्रेणीमा उत्तीर्ण भए ।

त्यसपछि नेपाल सरकार, उद्योग विभागबाट जर्मनीमा प्रोफेसनल एजुकेसनसम्बन्धी उच्च प्रशिक्षणको छात्रवृत्ति पाउँदा उतैतिर लागेँ ।
त्यसपछि कृष्ण पाउरोटी भण्डारको आधुनिकीकरण र विस्तृतीकरणतिर होमिएँ । साहित्यतिर लाग्दा मानसिक शान्ति पाउन थालेँ । साहित्यमा पनि मेरो केही ठोस योगदान रहेको छ । यो मेरा लागि ठूलो सौभाग्य हो । यसले मरेपछि बचाउने काम गर्छ ।

मेरो फुर्सद
व्यवसायी र लेखक भएकाले फुर्सद कहिले हुन्छ भन्न सकिन्न । तर फुर्सद मिल्यो कि केही लेखपढ गर्छु । परिवार र साथीभाइलाई समय दिन्छु ।

मेरो घुमफिर
मेरो रुचिको विषय नियात्रा हो । म नियात्राकार भएकाले घुम्नुपर्छ । म देशभन्दा बढी विदेश घुमेको छु । विदेशका २१, २२ राष्ट्र घुमेको छु । देशको भने ६, ७ वटा जिल्ला मात्र घुमेँ होला । देश घुम्न त मनलाग्छ । तर केही न केही समस्याले रोक्छ ।

मेरो खेलकुद
खेलकुदमा म शून्य छु । फुटबल खेल हेर्न वा खेल्न सबै मरिहत्ते गर्छन् । तर म मात्र एकजना यस्तो अपवाद होला जसलाई न फुटबल खेल हेर्न मनलाग्छ, न त खेल्न नै । पहिले विद्यार्थी जीवनमा भने ब्याडमिन्टन, कबड्डी, तेलकासा लगायत मनपथ्र्यो, खेल्थँे ।
 
मेरो मोबाइल
मसँग अहिले आइफोन सेभेन ब्रान्डको एउटा मोबाइल छ । छोरीले अमेरिकाबाट ४ वर्ष पहिले बुबाको मुख हेर्ने दिन पारेर उपहार पठाइदिएकी हुन् ।

मोबाइल फोनमा कुराकानी गर्न, फेसबुक हेर्न, गीत सुन्न, क्यालकुलेटर चलाउन, मेसेन्जर प्रयोग गर्न, फोटो खिच्न, प्रवचन सुन्न, समाचार हेर्न सुन्न, शब्दकोश प्रयोग गर्न, युटयुब, गुगल हेर्न, जिमेल हेर्न, फिल्म हेर्न, भाइबर चलाउन प्रयोग हुँदै आएको छ । नबिग्रिए, नहराएसम्म मोबाइल फेर्ने बानी छैन ।

मेरो टिभी 
टिभी धेरै हेर्दिनँ । टिभीमा हेर्ने भनेको समाचार, अन्तरर्वाता र बिहानको धार्मिक प्रवचन हुन् ।

मेरो चलचित्र
फिल्म हेर्छु । धेरैजसो ल्यापटपमा छोटा फिल्म हेर्छु । प्रेमकथा, सेन्टिमेन्टल कथा भएका फिल्म हेर्छु । पहिले पहिले त हलमा गएर सबै प्रकारका फिल्म हेर्थें । अहिले भने फिल्म हेर्दा बनावटी जस्तो लाग्छ ।
अहिले भने नाम चलेका केही फिल्म हलमा गएर हेर्छु । पछिल्लो समय हेरेको नेपाली फिल्म ‘आमा’ हो । यो फिल्म जयनेपाल हलमै गएर हेरेको थिएँ ।

मेरो पेसा
नेपालमा पाउरोटी भित्र्याउने मेरो बुबा कृष्णबहादुर राजकर्णिकारको बिँडो थाम्न म उहाँले स्थापना गरेको कृष्ण पाउरोटी भण्डारमै आफ्नो जीवन समर्पित गरेको छु ।
नेपालमा उद्योग व्यवसायमा लागिपरेकालाई बेवकुफ ठाने पनि म भने यसैमा लागिपरेको छु । आफ्नो पुख्र्यौली उद्योगमा लागिपर्दा नजिककै मान्छेद्वारा अनेक किसिमका भाँजो हाल्ने कर्तुत पनि भए । 
७ दशकको इतिहास बोकेको कृष्ण पाउरोटी आजको मितिसम्म अटल रूपमा डोर्याउँदैछु । पाउरोटीको अलावा बेकरीका अन्य उच्च स्तरीय उत्पादनले ग्राहकको मन तानिरहेको छु । यो व्यवसायमै म सन्तुष्ट छु । अन्य रोज्न, लाग्न मन छैन, अब लाग्दिनँ पनि ।

मेरो साहित्य
म उद्यमशील परिवारमा जन्मेको हुँदा खान, लगाउन र बस्नमा कहिल्यै दुःख भएन । तर पढ्नमा धेरै दुःख भोग्नुपर्यो । मेरा दाजुहरू पढ्नपर्दैन, पढेर हदसे हद सचिवसम्म होलास्, सचिवको तलब यति हो । व्यवसायमा आम्दानी यति हुन्छ भनेर सम्झाउथे ।

तर म पढ्न चाहन्थे । आईएमा पढ्दै प्युखामा रहेको राष्ट्रिय पुस्तकालयमा गई नेपाली साहित्यका पुस्तक अध्ययन गर्थें । त्यही पुस्तकालयले मलाई लेखनमा प्रेरित गर्यो । मैले लेख्न थालेको वि.सं. २०२१÷०२२ सालदेखि हो । त्यसबेला म कथा, कविता, एकाङ्की, आर्थिक विषयमा लेख लेख्थेँ ।

वि.सं. २०२८÷०२९ तिरबाट मैले नियात्रा लेख्न थालेँ । त्यसै बेलातिर वरिष्ठ समालोचक माधवलाल कर्माचार्यसँग मेरो चिनापर्ची भयो । मेरा नियात्राहरू उहाँले पनि पढिसक्नु भएछ । तपाईंको नियात्रा राम्रा छन् र यसैमा मात्र लाग्नु भनेर सल्लाह दिनुभयो । त्यसैबेलातिर नाट्यसम्राट बालकृष्ण समका छोरा जनार्दन सम बारेको एउटा समीक्षात्मक लेख पढ्ने मौका पाएँ । त्यसबाट थाहा पाएँ जनार्दन सम साहित्यको धेरै विधा जस्तै कविता, गीत, नाटक, कथा लेख्थे । तर राम्रो पहिचान कुनैमा छैन । अझ उनी गीत गाउँथे र अभिनय पनि गर्थे । तर राम्रो पहिचान कुनैमा भएन । यस कुराले मेरो मन छोयो ।

त्यसपछि म नियात्रा लेख्नमा दत्तचित्त भएँ । हालसम्म पनि यसमै रमाएको छु । मेरो प्रकाशित नियात्रा कृतिहरू विदेशको यात्रा स्वदेशको सम्झना (वि.सं. २०३५), देश प्रदेशको भ्रमण (वि.सं. २०४३), बौद्ध तीर्थयात्रा ः नालन्दादेखि लुम्बिनीसम्म, यात्रा अमेरिकाको माया नेपालको, यात्राको लहरीमा हिउँफूलकी रानी (२०७४) घनश्याम राजकर्णिकारका प्रतिनिधि नियात्रा लगायत हुन् । नियात्राकारको हिसाबले मैले राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मान एवं पुरस्कारसमेत पाएको छु ।

मेरो प्रेम
युवावस्थामा प्रधान थरकी एक युवतीसँग प्रेम भएको थियो । कलेज पढ्दै गर्दा थापाथलीमा अङ्ग्रेजी ट्युसन पढ्न जान्थेँ । सो क्रममा भेट हुन्थ्यो ।
हाम्रो सम्बन्ध कुराकानी, गफगाफ हुँदै यताउता घुमघाम गरी कहीँकतै चियापान गर्नेसम्ममा विकसित हुँदै गयो कताकता उनको हिँडाइ, बोलाइ, हावभावमा मलाई हिसी लाग्न थाल्यो । उनले पनि मलाई मनपराएको महसुस हुँदै थियो ।

लगत्तै हामीमा लाज र उत्सुकता प्रस्फुरण हुँदै थियो । तर हामी दुवैले भद्रताको बाक्लो सिरक ओढिरहेकाले हामीमा टुसाउन लागेको प्रेमको भावनालाई विकसित गर्न सकेनौँ । लगत्तै महिनाँैसम्म उनलाई सम्झने र सपनामा देख्ने गर्थेँ । दुई महिने ट्युसनको अवधि सकेपछि हाम्रो भेटघाट गफगाफमा कुठाराघात पर्न गयो । त्यसबेला अर्थात् वि.सं. २०१७–०१८ सालमा अहिले झैँ मोबाइल हुँदो हो त हामीमा टुसाएको प्रेम भावनालाई यथेस्ट विकसित गर्न सक्थ्यौँ होला । 

जीवन भनेको यस्तै हो । कुनै केटी चाहँदैमा जीवनसङ्गिनी हुनुपर्छ भन्ने छैन । वि.सं. २०२८ सालमा आफूले छानेर मनपराएकी मेरी श्रीमती शान्तासँग मागी विवाह गरेँ । हामीबाट पाँच सन्तान छन् । 
विवाहित सबै पाँच छोरीहरूबाट पाँच नाति र दुई नातिनी छन् । नाति–नातिनाको बालसुलभ अनुभूत गर्न पाउँदा हामी जोईपोइ दुवै आनन्दित छौँ, सन्तुष्ट छौँ ।

मेरो सपना
युवा अवस्थामा म निकै महत्त्वाकाङ्क्षी थिएँ । पिताजीको संरक्षणमा पढेँ हुर्कें । जब पिताजीको देहान्त भयो । त्यसबेलादेखि मैले आफ्नो अध्यायनका लागि ठूलो सङ्घर्ष गर्नुप¥यो । तीनजना दाजुहरू स्वयं अशिक्षित हुँदा मलाई शिक्षित हुनुबाट वञ्चित गर्न गराउन निकै अवरोध गरे । केवल आमाको सहयोग संरक्षण पाई शिक्षाका लागि र पढेलेखेको मानिस हुने सपना परिपूर्ति गर्न रातारात जाग्रम भई पढेँ लेखेँ ।

दिउँसो दाजुहरू सरह कृष्ण पाउरोटीमा खटी राति अबेरसम्म पढ्ने बानीले मेरो स्वास्थ्य कमजोर हुँदै थियो । तैपनि शिक्षित बन्ने सपना साकार गर्न लागि परेँ र आखिर अर्थशास्त्रमा दोस्रो श्रेणीमा स्नातकोत्तर हासिल गरी छाडेँ । यसरी उच्च शिक्षा प्राप्त गर्ने मेरो सपना मैले पूरा गरेँ ।

त्यसपछि नेपालमा पहिलो पटक पाउरोटी भित्र्याउने पाउरोटी उद्योगका अग्रणी पिताजी कृष्णबहादुर राजकर्णिकारको बिँडो थाम्न कम्मर कसेँ । पिताजीले सुरु गरेको व्यवसायलाई अझ फुलाई फलाई विकसित गर्ने मेरो सपना अनुरूप जर्मनीमा पाउरोटी उद्योग सम्बन्धी १० महिने तालिम लिई जर्मनीबाट अत्याधुनिक मेसिन ल्याई कृष्ण पाउरोटी भण्डारलाई वि.सं. २०३० मा आधुनिकीकरण गर्नमा प्रमुख भूमिका खेल्न सफल भएँ ।
म ७९औं वर्षमा छु । डाँडापारिको घामको अवस्थामा रहेको म आफ्नो मातृभूमि नेपालको चौतर्फी विकास भएको हेर्ने सपना रहेको छ ।

मेरो गीतसङ्गीत
म भावुक भएरै लेखक बनेको हुँ । त्यसैले मेरो जीवनमा भावनाले प्रमुख भूमिका खेल्नु स्वाभाविक हो । त्यसैले सेन्टिमेन्टल गीत धेरै सुन्छु । विशेषगरी हिन्दीमा ६०औँ, ७०औँ, ८०औँ दशकका पुराना गीत सुन्छु । पुराना नेपाली एवं नेवारी भावनामय गीतहरू खोजेर सुन्ने गर्दछु । हिन्दीमा महम्मद रफी, मुकेश, किशोर कुमार, मन्ना डे, सोनु निगम, लतामङ्गेसर, आशा भोसलेका र नेपालीमा नारायण गोपाल, प्रेमध्वज, रामकृष्ण, उदित नारायण, बच्चु कैलाश, भक्तराज आचार्य, फत्तेमान, नाति काजी, तारादेवी, ज्ञानु रानालगायतका गीत मनपर्छ ।

मेरो मापसे
पहिले मापसे गर्थें । २५ वर्षआगडि एक पटक विपस्यनामा गएको थिएँ । त्यो समयदेखि म साकाहारी भए । मापसे  पनि छोडेँ । त्यतिबेलादेखि अहिलेसम्म छोएको छैन ।

मेरो भुल 
जतिबेला मैले एसएलसी दिएको थिएँ त्यो समय छोरालाई कमर्स र छोरीलाई नर्स पढाए बिग्रिन्छ भन्ने गरिन्थ्यो । त्यसैले मैले एसएलसी पास गरेपछि आर्टस् पढेँ । त्यो मेरो भुल थियो ।
व्यवसायमा आधुनिक लेखा एकाउन्ट नजान्दा आफ्नै हिस्सेदार भतिजाले हिसाबमा तलमाथि गरेको र लेखापालहरूले बेइमानी गरेको थाहा हुँदा कमर्स नपढेकोमा थकथकी लाग्यो ।
अर्को कुरा, म मानिसलाई छिट्टै विश्वास गर्छु । यसले गर्दा धेरै पटक धोका खाएको छु । जसलाई मैले आफ्नै भुल भनेर चित्त बुझाउने गरेको छु ।

मेरो रोग
उमेरले बुढेसकाल लाग्यो । त्यसैले अलिअलि सानातिना रोग छन् । प्रोस्टेटको समस्या छ । अहिलेसम्म ठूलो रोग केही छैन । मेरो पेट पनि केही कमजोर छ ।

मेरो राशि
मेरो राशि मकर हो । ज्योतिष शास्त्रको आफ्नै महत्त्व र गरिमा होला । यसलाई सोझै नकार्ने पक्षमा म छैन । तर म भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने मानिस हुँ । जीवनमा मैले जेजति उपलब्धि गरेँ ती सबै मैले आफ्नो पौरखले गरेको हो ।
म भगवानप्रति आस्था राख्ने आस्तिक हुँ । आचरणलाई शुद्धीकरण गर्नु नै ईश्वर प्राप्त गर्ने मूल पाठ हो मेरो ।

मेरो मृत्यु
मृत्यु सत्य हो । मृत्यु कहाँ, कहिले कसरी हुन्छ । त्यो हामी भन्न सक्दैनौँ । हामीले चाहँदैमा मृत्यु यस्तो होस् भनेर हुने होइन । अन्त्यमा ‘हुने हार दैव नटार’ भनेझैँ यी सबै कुरा ईश्वरलाई नै छाड्देको छु ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Nov. 28, 2020, 5:06 p.m. Vinod tuladgar
    Delightfun personality
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.