कविता : रङ्ग
- भुवन रोका ‘मित्रजी’
संसारमा भएजती सबै रङ्गहरु
पालैपालो घोलेर
शरीरभरि पोत्न मन छ
अनि
अनुभव गर्न मन छ
कुन रङ्गले प्रेमको भाषा सिकाउँछ ?
मलाई यति चाहिँ थाहा छ
एउटा रङ्गले क्रान्ति गर्छ
अनि
अर्काे रङ्गले दमन गर्छ
तर थाहा छैन
कस्तो रङ्गले क्रान्ति गर्छ
र
कस्तो रङ्गले दमन गर्छ
त्यसैले
नियालिरहेछु
रङ्गीन चलचित्रका रङ्गहीन दृश्यहरु
पढिरहेछु
रङ्गहीन कितावका रङ्गीन इतिहास
कालो रङ्गको लामो सङ्घर्ष
सेतो रङ्गको लामो स्वतन्त्रता सङ्ग्राम
अनि
बगिरहेको रातो रङ्ग
भुगोलको एउटा कुनामा देख्छु
आफन्तको वियोगमा
बिना नुनको खल्लो आँसु चुहाउँदै
रोइरहेको छ सेतो रङ्ग
भूगोलको अर्को कुनामा
उत्सव र उल्लासमा
मिलनको मीठो धुन गाउँदै र नाच्दै
हाँसिरहेको छ सेतै रङ्ग
त्यसैले
कसरी हुनसक्छ शान्तिको प्रतीक
त्यो सेतो रङ्गको परेवारु
जति सुन्दर लाग्छ
भिरभरि फुलेका
ती राता रङ्गका लालीगुराँस
त्यति नै हिंस्रक लाग्छ
कसैको प्रहारबाट
शरीरभरि पोतिएको
त्यो रातै रङ्गको रगत
अब
रातो रङ्गले कसरी गर्छ
समाज रूपान्तरणको क्रान्ति ?
हेरिरहुँ लाग्छ
त्यो निलो रङ्गको आकास
कति सिर्जनात्मक हात
जसले बनाए
निलो रङ्गको समुन्द्र
र
खन्याए निलै रङ्गको पानी
हेर्नै मन लाग्दैन
र
कैले हेर्न पनि नपरोस्
त्यो निलो रङ्गको डाम
जुन
पुरुषार्थले बनाएको हुन्छ
नारीको शरीरभरि
अब
निलो रङ्ग स्वर्ग हो कि नर्क ?
हरियो रङ्गको सुन्दर प्रकृति
जसले दिएको छ
एक सर्को सास
एक मुठ्ठी गाँस
तर
बोकेर लग्यो मेरो हजुरबालाई
त्यही हरियो रङ्गको बासले
कहिल्यै नफर्किने गरी
होइन यो हरियो रङ्ग
जीवनको लागि हो कि,
मृत्युका लागि हो ?
छन त छन् रङ्गहरु
थरिथरिका बजारमा
तर
कुन रङ्ग दलेका छन्
भ्रष्टाचारीहरुले मुहारमा
अनि
असल जस्तै बनेर
बसेका छन् सरकारमा ?
कुन रङ्ग दलेका मान्छेहरु
पस्न पाउँछन् सिंघदरबारमा ?
कतै
यी सबै रङ्गहरु
रङ्गहीन त भएका होइनन् ?
सुन्दर रङ्ग त
माटोको मात्र रहेछ
हेर्न खोज्छु
छुन खोज्छु
दल्न खोज्छु
अनि
अनुभव गर्न खोज्छु प्रेमको भाषा
तर
कतै दुर छोडिएको रहेछ
त्यो माटोको रङ्ग
खोटाङ, नेपाल
हाल : टोकियो, जापान