गाउँ, दसैँ र अनुभूति

person explore access_timeमंसिर १३, २०७७ chat_bubble_outline0

 

चैतमा परीक्षा सकिएलगत्तै घर जाने तयारीमा थियौँ । तर लकडाउन सुरु भएकाले घर जान पाइएन । झनझन लकडाउन लम्बिँदै गयो । स्कुल पनि खुलेन, गाडी पनि चलेनन् । घर जाने कुरा पनि हरायो । कसरी सुरक्षित रहने भन्ने कुराले नै प्राथमिकता पायो । घरबाट बाआमाले फोन गरेर “घर कहिले आउने त कान्छा ?” भन्दा मलाई घर गइहालुँ जस्तो लाग्थ्यो तर हिँडेर जान सकिँदैनथ्यो । गाडी चलेका थिएनन् ।

विश्वभरि कोरोनाको असर पर्दै गयो । मान्छे मर्दै गए । बिरामी बढ्दै गए । कोठाबाट बाहिर निस्कन पनि नसकिने अवस्था आयो । नेपालमा पनि मान्छे मर्न थाले । स्कुल बन्द भए पनि सर र म्यामहरुले अनलाइनबाट पढाउन सुरु गर्नु भयो । साथीहरुसँग प्रत्यक्ष भेटेर स्कुलमा बेन्चामा बसेर पढेको जस्तो रमाइलो नहुने अनलाइन कक्षा ।

हेर्दाहेर्दै दसैँ पनि नजिकै आयो । दसैँमा चाहिँ जसरी पनि घर जाने भन्ने सल्लाह भयो । फूलपातिको दिनलाई एउटा गाडी रिजर्भ गरेर घरैसम्म जाने भनेर कुरा भयो । ठूलो बाबाको परिवार, माइलो अङ्कलको परिवार र हामी मिलेर घर जाने भयौँ ।

फूलपातिको दिन बिहानै सात बजे हामीलाई लिन गाडी आयो । सोह्रखुट्टेबाट हामी गौरीघाटमा बस्ने ठूलोबाबालाई लिन चावहिल गयौँ । त्यहाँबाट हामी टोखा हुँदै घर नुवाकोटतिर लाग्यौँ । पहिलेपहिले त बसमा यात्रा गर्ने गरेको मलाई खासै बान्ता हुँदैनथ्यो । यो पल्ट खालि पेट भएर पनि होला बान्ता भयो । बाटोमा पानी पिउँदै, ल्वाङ मुखमा हाल्दै, खाना खान ११ बजेतिर घर नै पुग्यौँ ।

बाआमा हामीलाई देखेर साह्रै खुसी हुनुभयो । गएको दिन खासै केही काम गरिएन । घरको बगैँचामा टन्नै फलफूल फलेका थिए । दिउँसो निबुवा र भब्बुमा दही र चिनी हालेर साँधेर खायौँ ।

अस्टमीको दिन गाउँमा खसी काटे । घरमा मासु ल्याएर पकाएर खायौँ । नवमीको दिन पनि गाउँघरमा यताउता गरेर बिताएँ । घर नजिकै वनदेवी प्राथमिक स्कुल थियो तर कोरोनाको कारण बन्द थियो । २०७२ सालको भूकम्पले पुरानो भवन भत्किएपछि नयाँ भवन बनेको रहेछ । हेर्न गयौँ दिदी निर्जला र म ।

मलाई टीकाको दिन बिहानैदेखि रमाइलो लागिरहेको थियो । आमाले रातो अक्षता मुछेर टीका तयार पार्नुभयो । बाले जमरा टिपेर थालीको छेउमा राख्नु भयो । बाले सबैलाई पालोपालो टीका लगाइदिनुभायो । पहिले पहिले म सानो छँदा मलाई सबैले टीका लगाएर दक्षिाणा दिनुहुन्थ्थो तर अहिले म ठूलो भइसकेको भएर दक्षिणा लिन मानिनँ । टीका लगाएर हामीले पिङ खेल्यौँ । हरि अङ्कलले घरमै पिङ हालिदिनु भएको थियो । अङ्कलका छोराछोरी, भाइबहिनी सानै भएर पिङ खेल्न डराए । म र मेरी दिदी निर्जलाले पालैपालो पिङ खेल्यौँ । टीकाकै दिन हामी अरू मान्यजनको घरमा पनि टीका थाप्न गयौँ । कोरियामा रहनु भएको कान्छो अङ्कल माधवसँग पनि अनलाइनमा बाआमाले कुरा गर्नुभयो । मैले पनि कुरा गरेँ ।

टीकाको भोलिपल्ट घरमै बसेर बित्यो । घरमा सबै जना जम्मा भएको बेला घरखेतमा धान काट्न पाए हुन्थ्यो, गाउँमा खेताला पाइँदैन भनेर बाले भन्नुभयो ।

बाबाले गाडीलाई फोन गर्नुभयो । गाडीवाला अङ्कल पनि घर जानुभएको रहेछ । टीकाको पर्सिपल्ट मात्रै काठमाडौँ आइपुग्छु भन्नु भएछ । सल्लाहअनुसार टीकाको पर्सिपल्ट बिहानै घर मुन्तिरको खेतमा धान काट्न गयौँ ।

बाबाले गाडीलाई फोन गर्नुभयो । गाडीवाला अङ्कल पनि घर जानुभएको रहेछ । टीकाको पर्सिपल्ट मात्रै काठमाडौँ आइपुग्छु भन्नु भएछ । सल्लाहअनुसार टीकाको पर्सिपल्ट बिहानै घर मुन्तिरको खेतमा धान काट्न गयौँ । मलाई धेरै कुरा नौलो लागिरहेको थियो । खेतको छेउमा डिल बनाएको हुँदोरहेछ त्यसलाई ‘आली’ भनिँदो रहेछ । बालाई मैले धेरै कुरा सोधेँ । आलीमा भटमास रोपेको थियो ।

धान पाकेर खेत पहेँलो देखिने भएको थियो । दाँत भएको हँसियाले मैले पनि धान काटेँ । मैले दाँत भएको हँसिया भन्दा बा खुब हाँस्नुभयो र भन्नु भयो, “यसलाई करौँती भन्छन् लाटा ।”

बिहान बाआमा बाबाहरुसँगै घान काटेँ । मैले आजसम्म धान काटेको थिइनँ । एउटा हातले धानको बोटको फेदनिर समाउने र अर्को हातले करौँती समातेर तान्ने गरेर मैले धान काट्न सिकेँ । बेलाबेला हात काट्ला है भनेर बाबाले सतर्क गराइरहनुभयो ।

हामीले बिहान दिउँसै धान काट्यौँ । आमाले “अब छोरो लाठे भएछ । खेतालो लागेर पर्म लाउन सक्ने भएछ” भन्नुभयो । मैले नबुझेर के हो त्यो भनेको ? भनेर सोधेँ । “लाठे भनेर दिनभरि मेला गएर काम गर्न सक्ने छोरा मान्छेलाई भनिँदो रहेछ । ‘खेताला’ भनेको चाहिँ अरूको खेतबारीमा गएर काम गर्ने मान्छेलाई भनिँदो रहेछ । ‘पर्म’ लाउने भनेको चाहिँ पालोपालो मिलेर काम गर्ने चलन रहेछ । सबैजना मिलेर काम गर्नुलाई गाउँघरतिर ‘मेला’ भन्दा रहेछन् । बिहान काम गर्दा बिहानको मेलो । दिउँसो काम गर्दा दिउँसको मेलो हुने रहेछ ।

धान खेतको बीचबीचमा हेर्दा धानजस्तै तर अलि फरक किसिमको अन्न फल्दो रहेछ । त्यसलाई ‘सामा’ भन्दा रहेछन् । धानको फलेको झुप्पोलाई ‘बालो’ भनिँदो रहेछ । धान सुकेपछि धान झारिने रहेछ । धान झर्नुलाई ‘बिटा लगाउनु’ भनिँदो रहेछ । धानको सुकेको बोटलाई ‘पराल’ भनिँदो रहेछ । धान काटेर फर्कंदा बारी हुँदै आयौँ हामी । बारीमा रोपेको हरियो बोट कोदोको रहेछ । कोदो चाहिँ हातको औँला मुठी पार्दा हुने जस्तै गरी फल्दो रहेछ । धानको बाला भने झैँ कोदाको ‘कपनी’ हुँदो रहेछ । कोदो बोटलाई नल भनिँदो रहेछ ।

धानको सुकेको बोटलाई ‘पराल’ भनिँदो रहेछ । धान काटेर फर्कंदा बारी हुँदै आयौँ हामी । बारीमा रोपेको हरियो बोट कोदोको रहेछ । कोदो चाहिँ हातको औँला मुठी पार्दा हुने जस्तै गरी फल्दो रहेछ । धानको बाला भने झैँ कोदाको ‘कपनी’ हुँदो रहेछ । कोदो बोटलाई नल भनिँदो रहेछ ।

मैले केही घाँसका रुख र फलफूलका रुख पनि चिनेँ । कुटमिरो, काप्रो, केरा, हलुवाबेद, आँप, भुइँकटहर, रुख कटहर ।

बाबाले धेरै पल्ट भन्नुभएको र कविता पनि लेख्नुभएको लामेआँपको रुख पनि चिनेँ मैले यो पल्ट घर जाँदा ।

“काब्रोको बोटमा गुर्जोको लहरा टन्नै छ काठमाडौँ जाँदा लिएर गए पनि हुन्छ । कोरोनको औषधि हुन्छ रे” आमाले भन्नुभयो ।

यसपालिको दसैँ धेरै किसिमले रमाइलो भयो । सम्झन लायक भयो । बस्न त गाउँमै रमाइलो हुने रहेछ । एक हप्ता घर बसेपछि हामी काठमाडौँ फर्कियौँ ।

धान काटेर फर्कंदा बाटोमा आमाले एउटा गीत सिकाउनु भएको थियो –

धानको बाला कोदाको कपनी
किसानको नाति हुँ म पनि ।

इलिप्स स्कुल, कक्षा आठ, काठमाडौँ

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।