शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इरानलाई फेरि अर्को धक्काः आणविक बमका पिताको हत्या

शुक्रबार, १२ मङ्सिर २०७७, २३ : २९
शुक्रबार, १२ मङ्सिर २०७७

एजेन्सी । ईरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको छ । इरानको राजधानी तेहरान नजिकैको सहर अबसार्डमा वैज्ञानिक मोहसिनमाथि अज्ञात समूहबाट आक्रमण भएको थियो । सो आक्रमणमा परेर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको इरानको रक्षा मन्त्रालय पुष्टि गरेको छ ।

इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले उनको हत्याको निन्दा गरेका छन् । उनले सो हत्याकाण्डलाई ‘राज्य प्रायोजित आतंकवादी घटना’ को संज्ञा दिएका छन् । पश्चिमी देशहरुका खुफिया एजेन्सीहरु ईरानको गोप्य परमाणु हतियार कार्यक्रमका पछाडि मोहसिन फाख्रिजादेशको हात रहेको विश्वास गर्छन् । विदेशी कुटनीतिज्ञहरुले उनलाई ‘ईरानी आणविक बमका पिता’ मान्दै आएका थिए । यद्यपि, ईरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ । 

यसअघि सन् २०१० र २०१२ मा पनि ईरानका ४ जना आणविक वैज्ञानिकहरुको हत्या भएको थियो । इरानले सो हत्या प्रकरणमा इजरायलको हात रहेको दाबी गर्दै आएको थियो । शुक्रबार ईरानको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गदैै भनेको छः ‘सशस्त्र आतंककारीहरुले रक्षा विभागको अनुसन्धान तथा नविनता विभाग प्रमुख मोहसिन फाख्रिजादेह चढेको कारलाई निशाना बनाएका छन् । सोही क्रममा आतंकवादीहरु र फाख्रीजादेहका अंगरक्षकबीच झडप भयो । सोही क्रममा उनी निकै गम्भिर घाइते भए र स्थानीय अस्पताल लगियो । दूर्भाग्य उनलाई बचाउने चिकित्सकहरुको टोलीका सबै प्रयासहरु असफल भए ।’

इरानी समाचार एजेन्सी फार्सका अनुसार प्रत्यक्षदर्शीहरुले सुरुमा ठूलो विस्फोटको आवाज सुनेका थिए, त्यसपछि मेसिनगनबाट फायरिङ गरेको आवाज सुनेका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार झडपमा ३–४ जना आक्रमणकारीहरु पनि मारिएका छन् । ईरानका विदेशमन्त्री जवाद जरिफले घटनालगत्तै ट्वीट गरेर भनेका छन्ः ‘ आतंकवादीहरुले आज ईरानका एक प्रमुख वैज्ञानिकको हत्या गरेका छन् । यो अमानवीय काममा इजराइलको गम्भिर हात भएको हुनसक्ने संकेत देखिएका छन् ।’ त्यस्तै ईरानी सेनाको इस्लामिक क्रान्तिकारी गार्ड (आरआईजीसी) ले आफ्नो वैज्ञानिकको हत्याको वदला लिएरै छाड्ने चेतावनी दिएको छ ।

को हुन् मोहसिन फखरीजादेह ? 

मोहसिन ईरानका मुख्य परमाणु वैज्ञानिक थिए । उनी ईस्लामिक क्रान्तिकारी गार्ड (आईआरजीसी)का बरिष्ठ अधिकारी पनि हुन् । पश्चिमी मुलुकका सुरक्षा विशेषज्ञहरुले उनलाई ईरानका निकै शक्तिशाली कमाण्डर देख्ने गर्दथे । ईरानको परमाणु हतियार कार्यक्रममा उनको प्रमुख भूमिका थियो । इजरायलले सन् २०१८ मा ईरानका केही खुफिया दस्तावेज (कागजात) प्रप्ता गरेको दावी गरेको थियो । जसमा मोहसिनको नेतृत्वमा ईरानको आणविक हतियार कार्यक्रम सुरु गरेको दाबी गरिएको छ ।

सन् २०१५ मा न्युयोर्क टाइम्सले मोहसिनलाई जो.रोबर्ट ओपनहेमरसँग तुलना गरेको थियो । ओपनहेमर त्यस्ता वैज्ञानिक थिए, जसले म्यानहट्टन प्रोजेक्टको अगुवाई गरेका थिए । उनले दोश्रो विश्वयुद्धको दौडानमा पहिलो आणविक बम बनाएका थिए । यद्यपि, अहिलेसम्म इजरायलले ईरानी वैज्ञानिकको हत्याका बारेमा कुनै प्रतिक्रिया दिएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप