न्यायिक समितिमा परेका उजुरी मेलमिलापबाट मिलापत्र
व्यास नगरपालिकाको न्यायिक समितिमा परेका सर्वाधिक उजुरीलाई मेलमिलापका माध्यमबाट मिलापत्र गरिएको छ । स्थानीयवासीसँग छलफल तथा स्थलगत अनुगमन गरी अधिकांश उजुरी मेलमिलापका माध्यमबाट फछ्र्यौट गरिएको न्यायिक समितिले जनाएको छ ।
विवाद निरुपण गर्न नसकेका उजुरी जिल्ला अदालतमा पठाउन सकिने कानूनी व्यवस्था भए पनि पक्ष, विपक्ष, सँधियार, वडा प्रतिनिधि र नगपालिकाका प्राविधिकसहित फिल्ड डोर खटाई अधिकांश मिलापत्र गरिएको न्यायिक समिति संयोजक मीरा जोशीले जानकारी दिए ।
बाटो विवादपछि धेरै उजुरी माना चामलसम्बन्धी छन् । गत आर्थिक वर्षमा परेका २३ उजुरीमध्ये छ वटा बाटो विवादसम्बन्धी र माना चामलसम्बन्धी पाँच उजुरी परेको संयोजक जोशीले बताए ।
सामुदायिक, सरकारी तथा सार्वजानिक जग्गामा व्यक्तिगत प्रयोजनका लागि बाटो अतिक्रमण रोकेर संरक्षण गर्नाका साथै बाटालाई समेत निकास गरिएको छ । श्रीमान्श्रीमतीबीच झगडा भई मानाचामलका लागि परेको उजुरीमा पनि पक्ष र विपक्ष बोलाई मेलमिलापद्वारा समस्या समाधान गरिएको समितिले जनाएको छ ।
आर्थिक वर्ष ०७५÷०७६ मा जिम्मेवारी सरिआएका ११ मुद्दामध्ये सात फछ्र्र्योट गरी चार बाँकी रहेका प्रशासकीय अधिकृत रामचन्द्र हड्खलेले जानकारी दिए । उनका अनुसार ०७६÷०७७ मा दर्ता भएका २३ मध्ये १४ फछ्र्यौट भई नौ बाँकी छन् । आर्थिक वर्ष ०७७÷०७८ मा जिम्मेवारी सरिआएका मुद्दाको सङ्ख्या १३ छ ।
ठेकदारले ज्याला नदिएका जस्ता उजुरीलाई पनि मिलापत्र गराएर मजदुरलाई ज्याला दिलाइएको छ । उनले भने, “मजदुरले ज्याला नपाएका बेला मिलापत्र गराएर ज्याला दिलाउँदा न्यायिक सम्पादन भएको महसुस भएको छ ।”
कानूनी कठिनाइ आएका विषयमा सहजीकरणका लागि अधिवक्ता यज्ञ रानालाई कानूनी सल्लाहकार राखिएको सो समितिले जनाएको छ । उजुरी निरुपणलाई सहज बनाउन नगरपालिकाले छुट्टै न्यायिक सम्पादन कक्ष स्थापना गरेको छ । संयोजक जोशीसहित न्यायिक समिति कृष्णदेवी खनाल र लक्ष्मी परियार गरी तीन सदस्यीय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !