बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

म्याराडोनाः असाधारण खेलाडीको असाधारण अन्तिम यात्रा, हेर्नुहोस् ३१ तस्बिर

शुक्रबार, १२ मङ्सिर २०७७, १४ : ३४
शुक्रबार, १२ मङ्सिर २०७७

अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको अन्तिम संस्कार बिहिबार उनका नजिकका साथी र आफन्तको उपस्थितीमा गरियो । उनको अन्तिम बिदाईमा मुश्किलले २५ आफन्त र साथीको सहभागिता रह्यो ।

 बुधबार म्याराडोनाको निधन पछि देशको राजधानी ब्यूनस आयर्सको सडकमा भावुक प्रशंसक उर्लिए । 

म्याराडोनाको बुधबार ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भयो । उनको निधनले संसारभरीका फुटबल प्रशंसकबीच शोकका लहर छाएको छ ।

 अर्जेन्टिनामा तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
 बिहिबार म्याराडोनाको कफिनलाई अर्जेन्टिनाको झण्डा र फुटबल जर्सीले बेह्रियो जसमा १० नम्बर लेखिएको थियो । म्याराडोनाले जहिलेसम्म फुटबल खेले १० नम्बरको मात्रै जर्सी लगाए । उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि त्यहाँको राष्ट्रपति भवनमा राखिएको थियो । 
मध्यान्हसम्म उनको अन्तिम दर्शनका लागि लगभग दुई किलोमिटर लामो लाइन लागेको थियो । बढ्दो भीडलाई मध्यनजर गर्दै प्रहरीले प्यालेस बन्द गर्ने कोसिस गर्दा म्याराडोनाका भावुक प्रशंसक र प्रहरीबीच हिंस्रक झडप भयो । रिपोर्टका अनुसार समर्थकको भारी भीडलाई नियन्त्रण गर्नका लागि प्रहरीले अश्रु ग्याँस र रबर बुलेट प्रयोग गर्नुपर्यो । 
उनका एक समर्थक रबेन हर्नान्देजले समाचार एजेन्सी रोयटर्सलाई आफूहरु लाइनमा शान्तिले उभिरहेका बेला प्रहरीले आफूमाथि गोली चलाएको बताए । उनले भने, ‘यो शत प्रतिशत पागलपन थियो । म डिएगोलाई अन्तिम पटक विदाई गर्न आएको थिएँ ।’
हिंस्रक झडपबीच अन्तिम दर्शक रोकियो ।
 बीबीसीकी दक्षिण अमेरिकी संवाददाता केटी वाटसनका अनुसार प्यालेस बाहिर भारी संख्यामा म्याराडोनाका प्रशंसक आफू भित्र जाने पालोको प्रतिक्षा गर्दै उनको सम्मानमा गीत गाइरहेका थिए र नारा लगाइरहेका थिए । 
अर्कातर्फ अन्तिम दर्शन गरेर फर्किरहेका मानिसहरुमध्ये धेरैजसो रोइरहेका थिए र आफ्नालाई अँगालो हालिरहेका थिए । 
नेपोलीले खेलमा दियो म्याराडोनालाई श्रद्धाञ्जलीः
इटलीको फुटबल क्लब नेपोलीबाट म्याराडोनाले सात वर्ष खेले र यतिबेला उनले यो क्लबको भाग्य नै फेरिदियो । 
उनकै कारणले टिमले लीग टाइटल जित्न सफल भयो । बिहिबार उनका हज्जारौं प्रशंसक इटलीको नेपोली स्टेडियम पुगे । उनीहरुले ‘डिएगो–डिएगो’ को नारा लगाएर आफ्ना स्टारलाई श्रद्धाञ्जली दिए । 
लगातार दोस्रो दिन कोरोनाभाइरसका कारण लगाइएको लकडाउनको नियमलाई उल्लंघन गर्दै म्याराडोनाको सम्मानमा जुटे । 
यस्तै बिहिबार नेपोली टिम यूरोपा लीग म्याचमा क्रोएशियाली टिम रिजेकाको विरुद्ध जब मैदानमा उत्रियो तब उसका हरेक खेलाडीले डिएगो म्याराडोनालाई श्रद्धाञ्जली दिँदै हातमा कालो रङको ब्यान्ड र १० नम्बर भएको म्याराडोनाको जर्सी लगाएका थिए । टिमले म्याच २–० ले जित्यो । 
म्याराडोनाको यो महिनाको सुरुवातमा मस्तिष्कमा जमेको रगत निकाल्ने सफल शल्यक्रिया भएको थियो । 
यसका साथै रक्सीको लतबाट मुक्तिका लागि पनि उनको उपचार चलिरहेको थियो । 
बुधबार च्याम्पियन्स म्याचमा म्याराडोनाको सम्मानमा एक मिनेटको मौन राखियो । 

तस्बिरः रोयटर्स
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप