बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ठूला करदाता सम्मान गर्दै परिसंघले भन्यो-‘हामीले तिरेको करबाट मुलुक अघि बढेको हेर्न पाउनुपर्छ’

शुक्रबार, १२ मङ्सिर २०७७, १४ : ०१
शुक्रबार, १२ मङ्सिर २०७७

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले ठूला करदाताहरुलाई सम्मान गरेको छ । गत आइतबार नेपाल सरकार, आन्तरिक राजस्वविभागले सम्मानित गरेका करदाताहरूमध्ये नेपाल उद्योग परिसंघमा आबद्ध करदाताहरुलाई परिसंघले बधाईका साथ सम्मान गरेको हो ।  बिहिबार आयोजित कार्यक्रममा अध्यक्ष सतिशकुमार मोरले व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित हुने परिसंघ गभर्निङ्ग काउन्सिलका सदस्य तथा जाउलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाहलाई हार्दिक बधाईका साथ सम्मानपत्रले सम्मानित गरे ।  

त्यस्तै, बैंक तथा वित्तीय संस्थातर्फका उत्कृष्ट करदाता नबिल बैंक लिमिटेडका उपाध्यक्ष एवं परिसंघका उपाध्यक्ष निर्वाण चौधरी,  पर्यटन व्यवसाय मध्येबाट सबैभन्दा बढी आयकर तिरेर सम्मानित हुने तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य सुरेशलाल श्रेष्ठ, मूल्यअभिवृद्धि करतर्फ सम्मानित हुने घोराही सिमेन्ट इन्डस्ट्रीज प्रा.लि.का निर्देशक तथा परिसंघका राष्ट्रिय परिषद् सदस्य आदित्य संघाइ र विप्रेषणको कारोबार गरी सम्मानित भएको आई.एम.ई लिमिटेडका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य हेमराज ढकाललाई परिसंघले सम्मानपत्र प्रदान गरेको छ ।

सम्मानित हुने थप संस्थाहरुमा सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सूर्य नेपाल प्रा.लि र निर्यातकर्ताहरू मध्ये सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको डाबर नेपाल प्रा.लि.लाई पनि परिसंघले सम्मान गरेको छ । सम्मानित संस्था तथा व्यक्तिहरु परिसंघको गभर्निङ काउन्सिल, नेशनल काउन्सिल तथा सदस्य आबद्धताको रुपमा सम्मान गरिएको परिसंघले जनाएको छ । 

बधाई तथा सम्मानपत्र हस्तान्तरण गर्दै अध्यक्ष सतिशकुमार मोरले देशको अर्थतन्त्रमा परिसंघमा आबद्ध सदस्यहरुले उल्लेख्य योगदान गरेर सम्मानित हुनु परिसंघ र समग्र निजी क्षेत्रका लागि गौरवपूर्ण क्षणको रुपमा रहेको बताए । बढि कर तिरेर सम्मानित हुँदै गर्दा निजी क्षेत्रले बुझाएको कर तथा राजस्वको सदुपयोग भई देश विकासतर्फ लम्केको हेर्न पाउनु पर्नेमा पनि निजी क्षेत्रको अपेक्षा रहेको अध्यक्ष मोरले बताए ।

सो अवसरमा सम्मानित करदाताहरुले उद्योग व्यवसाय मैत्री वातावरण बनाउन निजी क्षेत्रको तर्फबाट परिसंघले गरेका क्रियाकलापहरुको सराहना गर्नुपर्ने बताए । नवौं राष्ट्रिय कर दिवसको अवसरमा गत आइतबार सरकारले आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी कर बुझाउने विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप