मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘नो’ भन्दाभन्दै कसरी कोकिनको कुलतमा फसे म्याराडोना ?

बिहीबार, ११ मङ्सिर २०७७, १८ : ४५
बिहीबार, ११ मङ्सिर २०७७

सन् १९८२ मा अर्जेन्टिनाबाट भर्खरै युरोप छिरेका एक युवा ड्रग्सविरुद्ध जनचेतना फैलाउँदै थिए । ‘यदि कसैले तपाईंलाई ड्रग्सको प्रस्ताव गर्‍यो भने ‘नो’ भन्नुहोस्,’ प्रवर्द्धनात्मक भिडियोमा उनले भनेका छन् । दुुग्भार्य, यस्तो सन्देश दिने युवा अर्थात डिएगो म्याराडोनालाई ‘नो’ भन्दाभन्दै नजानिदो पाराले जीवनभर ड्रग्सको छायाले पिछा गरिरह्यो । 

अर्जेन्टिनाको भिल्ला फियोरिटास्थित झुुपडबस्तीमा डिएगो म्याराडोनाको बाल्यकाल बितेको थियो । कारखानामा मजदूरी गर्ने डन डिएगोका आठ सन्तानमध्ये उनी पाँचौ थिए, दुुई छाक टार्न बाबुुले गरेको अथक संघर्ष देखेका म्याराडोना गरिबीबाट मुक्ति चाहन्थे । साँघुरो कोठामा कोचिएर सुुत्दा उनी सुविधासम्पन्न घरको सपना देख्थे । 

म्याराडोनाको छाप्रोसँगै जोडिएको छाप्रोमा बस्थ्यो, गोयो कार्रिजोको परिवार । म्याराडोनाभन्दा गोयो ९ दिनले कान्छा हुन् । बाल्यकालमा यी दुुबै धुलाम्ये मैदानका हिरो थिए । यही क्रममा अर्जेन्टिनोज जुनियर्सको युु–१० टोलीले गोयोलाई बोलायो । उनले तत्कालै प्रशिक्षक फ्रान्सिस्को कोर्नेजोलाई प्रभावित गरे । अनि केही समयपछि सोधे,‘मेरो साथी मभन्दा राम्रो खेल्छ, उसलाई ल्याउँ ?’ प्रशिक्षक सहमत भए । त्यसपछि दुुबैले एकसाथ युवा टोलीबाट खेल्न थाले, उनीहरुले खेलेका विरलैमात्र खेलमा क्लब पराजित भयो । 

म्याराडोनाले १५ र गोयोले १६ वर्षको उमेरमा अर्जेन्टिनी लिगमा डेब्यू गरे, म्याराडोनाको परिवारलाई क्लबले नै अपार्टमेन्ट उपलब्ध गरायो । प्रशिक्षक कोर्नेजोले आफ्नो आत्मकथामा लेखेका छन्, ‘गोयो र म्याराडोनाको राम्रो तालमेल थियो । उनीहरुले मिलेर गोल गथ्र्ये, अनि खुसीले मैदानमै नाच्थे । म्याराडोनासँग कसैले यति राम्रो खेलेको मैले अहिलेसम्म देखेको छैन ।’

 


तर, एकदिन अचानक गोयोको खुट्टामा चोट लाग्यो, त्यसपछि उनले कहिल्यै पहिलेजस्तो खेल्न सकेनन् । यता, म्याराडोनाको पाइला रफ्तारमा अघि बढ्यो । १९७९ मा जापानमा सम्पन्न युवा विश्वकप जितेपछि उनी ठूला क्लबहरुको नजरमा परे । सन् १९८१ मा बोका जूनियर्सले उनलाई भित्र्यायो, अर्को वर्ष म्याराडोनाले राष्ट्रिय च्याम्पियनसिप जिते, अनि युरोपेली क्लबहरुले उनीमाथि आँखा लगाए । 

१९८२ मा २१ वर्षीय म्याराडोनालाई बार्सिलोनाले विश्व कीर्तिमानी मूल्यमा किन्यो । तर, त्यहाँ विपक्षी खेलाडीले बारम्बार निशाना बनाउँदा पटक–पटक घाइते भए । नतिजा, अपेक्षा गरिएजस्तोे खेल देखाउन सकेनन् । त्यसैले १९८४ मा बार्सिलोनाले महंगो मूल्य लिएर उनलाई इटलीको नापोली क्लबमा बेच्यो । म्याराडोना पहिलोपटक नापोलीको सान पाओलो रंगशालामा सार्वजनिक हुँदा उनलाई झन्डै ८० हजार दर्शकले स्वागत गरेका थिए । इटलीका ठूला क्लब एसी मिलान, युभेन्टस् र इन्टर मिलानको प्रभूत्व तोड्ने नापोलीको लक्ष्य थियो । असम्भव नभएपनि यो अति कठिन चुुनौती अवश्य थियो । 

१९८६ को विश्वकप 
१९८६ मा मेक्सिको विश्वकपमा म्याराडोनाले अर्जेन्टिनाको कप्तानी गरे । म्याराडोनालाई विश्वको ठूलो सेलिब्रेटी बनाउने प्रतियोगिता यही हो । अर्जेन्टिना र इङल्यान्डविरुद्धको खेल यो विश्वकपको प्रमुख आर्कषण थियो, किनकी फकल्यान्ड युद्धमा सैनिकहरु आमने–सामने भएको ४ वर्षपछि खेलाडीहरु मैदानमा भिड्दै थिए ।  


त्यसदिन धेरै पत्रिकाले यो खेलबारे हेडलाइनमा लेखेका थिए,‘यो युद्ध हो ।’ अर्जेन्टिनाबाट निस्कने पत्रिकाले लेखेको  थियो,‘फकल्यान्ड युद्ध सकिएको छैन ।’  
म्याराडोनाले खेलको ५१ औँ मिनेटमा बललाई हातले गोलपोस्ट भित्र छिराए । रेफ्रीले यो दृश्य देखेनन् र उनको गोलले मान्यता पायो ।  यो गोल ‘ह्यान्ड अफ गड’ नामले विश्व चर्चित छ । यसको चार मिनेटपछि म्याराडोनाले ६ जना इंलिस खेलाडलाई  छलाएर अर्को गोल गरे, यसलाई विश्वकप इतिहासको अहिलेसम्मकै सर्वाधिक सुुन्दर गोल भनिन्छ । उक्त खेलमा इङ्ल्यान्डका गोलकिपर रहेका पिटर सिल्टन भन्छन्,‘ मानिसहरुमा रमाइलोका लागि खेल्दा पनि यस्तो गोल हान्ने चाह हुन्छ । तर, म्याराडोनाले देशका लागि विश्वकपमा यस्तो गोल गरे, उनी महान् छन् ।’

यसपछि सेमिफाइनलमा बेल्जियमविरुद्ध अर्जेन्टिना २–० ले विजयी भयो, दुुबै गोल म्याराडोनाले गरेका थिए । फाइनलमा म्याराडोनाकै उत्कृष्ट प्रदर्शनमा जर्मनीलाई हराएर अर्जेन्टिनाले उपाधि जित्यो । म्याराडोना विश्वकपकै उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा अर्जेन्टिनाले गरेका कुल ८ गोलमध्ये ५ गोल उनको थियो । बाँकी तीन गोलमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो ।

‘धर्म–फुटबल, भगवान्– म्याराडोना’
चार महिनापछि एउटा सनसनीपूर्ण समाचार बाहिरियो – नेपल्सकी एक युवतीले आफ्नो पेटमा म्याराडोनाको सन्तान रहेको दाबी गरिन् । म्याराडोनाले यस खबरलाई झूटो भने । तर, उनी तनावमा भने थिए । बढ्दो स्टारडमलाई सम्हाल्न उनलाई अफ्टेरो परिरहेको थियो । दबाब कम गर्न अल्कोहल र ड्रग्सको साहारा लिन्थे ।  म्याराडोनाले १९८४ ताका बार्सिलोनामा छँदै एकपटक ड्रग्स सेवन गरेका थिए । यतिबेला अर्कै ग्रहमा पुुगेजस्तो अनुुभव भएको उनले आत्मकथामा लेखेका छन् । यद्यपी, ड्रग्सको अम्मली बनेको नापोली आएपछि नै हो । यसमा स्थानीय माफिया कार्मियो जुलियानोको भूमिका ठूलो थियो । कार्मियो र सम्पूर्ण जुलियानोज परिवार म्याराडोनासँग निकट भइसकेको थियो । म्याराडोनाको ख्यातिको फाइदा उठाएर उनीहरु कहिलेकाँही म्याराडोनाकै गाडीमा ड्रग्स बोकेर लैजान्थे, नेपल्समा उक्त गाडीको चेकजाँच हुँदैन थियो । 

मैदानबाहिरका म्याराडोनाका विवादहरुलाई मैदानभित्रको उनको खेल–कौशलले जितेको थियो ।  ठूला क्लबहरुको वर्चश्व तोड्दै १९८७ मा म्याराडोनाले नापोलीलाई इतिहासकै पहिलो सिरिए उपाधि जिताए । यस खुसीको उपलक्ष्यमा नेपल्समा पाँचदिनसम्म पार्टी चल्यो,समर्थकहरुले उनलाई भगवान् नै मान्न थाले । कतिपय समर्थकले आफ्नो घरमा जिसस क्राइस्टको फोटोसँगै म्याराडोनाको फोटो झुन्ड्याएका हुन्थे । एकपटक, परीक्षणका क्रममा निकालिएको उनको रगतको नमूनालाई एक नर्सले चर्चमा लगेर चढाएकी थिइन् । ड्रग्सले म्याराडोनाको व्यक्तित्व सखाप पार्न लागेको हेक्का उनीहरुलाई थिएन । 
पत्रपत्रिकामा पनि म्याराडोनाका अध्याँरा पक्षले भरसक कम ठाउँ पाउथे । ‘जनताको मानसिकतामा म्याराडोना भगवान् भइसकेका थिए । अब भन्नुस्, भगवान्को विरोध गर्ने साहस कसले गर्ने ?’ नापोलीबाट म्याराडोनासँगै खेलेका सिरो फेरेराले भनेका छन् । म्याराडोनाले १९८९ मा पनि नापोलीलाई लिग उपाधि जिताए । 


ओरालो यात्रा 
१९९० को विश्वकपमा म्याराडोनाले पेनाल्टी सुुटआउटमा गोल गरेपछि इटली सेमिफाइनलमा पराजित भयो, नेपल्स रंगशालामै । यतिबेलासम्म म्याराडोना नेपल्समा हार्दैनन् भन्ने छाप समर्थकहरुमा बसिसकेको थियो, उनका केही अन्धभक्त समर्थकहरुले आफ्नै देशविरुद्धको खेलमा पनि अर्जेन्टिनाकै पक्षमा  हुटिङ गरिरहेका थिए । यो हारले विश्वकप जित्ने इटलीको सपना तुुहियो ।  नेपल्स छाडेर इटलीका अन्य शहरवासीहरुलाई  लागिसकेको थियो–‘ अब अति होइन, खति नै भइसक्यो । इटलीको प्रेस म्याराडोनामाथि एकोहोरो रुपमा खनिन थाल्यो । 

म्याराडोनाका एकपछि अर्का स्क्यान्डल लगातार बाहिर आए । रातभर यौनकर्मीसँग बसेको, नियमित प्रशिक्षणमा नगरेको, माफियासँग साँठगाँठ गरेको, कर छलेकोलगायत विषयले इटलीका अखबार भरिन थाले । म्याराडोना आजित भइसकेका थिए । उनी कहिले विपक्षी खेलाडी तथा कहिले रेफ्रीसँग विवादमा उत्रन्थे । कहिलेकाँही ड्रग्सको नसामै खेल्न आउथे । 


१९९० को क्रिसमसताका सार्वजनिक भएको एउटा अडियो टेपमा म्याराडोनाले ड्रग्स कारोबारीसँग गरेको कुराकानी रेकर्ड छ । यी र यस्तै प्रमाणहरुलाई आधार बनाएर नेपल्सस्थित अदालतले म्याराडोनाविरुद्ध अनुसन्धान थाल्यो । उनीविरुद्ध लागू पदार्थको प्रयोग र दुुर्व्यसनबारेको मुद्दा चल्यो । अदालतले फेबु्रअरी १९९१ मा १ वर्ष २ महिनाको जेल सजाय (सस्पेन्डेड अर्थात् जेल जानुु नपर्ने)  र ५ मिलियन लिरा जरिवाना सुनायो । यस घटनाको केही समयपछि नापोली र बारीबीचको खेलमा म्याराडोना मैदानमा देखिए, तर डोपिङ परीक्षणमा उनी असफल भए । यसपछि म्याराडोनामाथि नापोलीले १५ महिनासम्म प्रतिबन्ध लगायो, उनी त्यही रात सामान प्याक गरेर अर्जेन्टिना हिँडे । 

त्यहाँ पनि ड्रग्सको लतले छाडेन, दुुई सातापछि ब्युुनोर्स आयर्समा उनी आधा किलो कोकिनसहित पक्राउ परे । १५ महिनाको प्रतिबन्ध फुुकुवापछि  म्याराडोनाले एक सिजन स्पेनको सेभियाबाट खेले ।  त्यसपछि, अर्जेन्टिनाको निवेल वल्ड ब्वाईजमा आबद्ध भए । १९९४ को विश्वकपमा ग्रिसविरुद्ध गोल गरेर म्याराडोना फेरि चर्चामा तानिएका थिए, तर डोपिङ परीक्षणमा असफल भएपछि उनको गोल छायामा प¥यो । उनीमाथि यसपटक फिफाले १५ महिने प्रतिबन्ध लगायो । 


प्रतिबन्ध फुुकुवापछि म्याराडोनाले बोका जुनियर्समा दुुई सिजन बिताए, तर पहिलेजस्तो जादुु देखाउन सकेनन् ।  उनले १९९७ मा सन्यास लिए । 

सुधारको बाटो 
ड्रग्स र अल्कोहलका कारण सन् २००० तिर आइपुुग्दा उनको स्वास्थ अति खराब भइसकेको थियो । उरुग्वेको एक अस्पतालमा चेकजाँच गर्दा मुटुले ३८ प्रतिशतमात्रै काम गरेको रिपोर्ट आयो । यतिबेला अर्जेन्टिनाका अधिकांश अस्पताल उनको उपचार गर्न तयार थिएनन्, म्याराडोनाको मृत्युुको दोष आफ्नो टाउकोमा लिन उनीहरु चाहँदैन थिए ।  

यही समय क्युवाका कम्युनिष्ट नेता तथा तत्कालीन राष्ट्रपति फिडेल क्यास्ट्रोले म्याराडोनालाई उपचारका लागि आमन्त्रण गरे । ‘चे ग्वेभाराजस्तै म पनि विद्रोही हुँ । मलाई क्युवेली उपचार प्रणालीमा विश्वास छ,’ हभाना विमानस्थल पुुगेपछि म्याराडोनाले भनेका थिए । 

फिडेलले म्याराडोनाको सम्पूर्ण उपचार खर्च क्युवाले नै व्यहोर्ने घोषणा गरेका थिए । म्याराडोनालाई सुधारगृह लगिएको थियो, जहाँ उनलाई भेट्न फिडेल आफैं जान्थे । यसक्रममा दुुईबीच घनिष्ट सम्बन्ध विकास भयो । म्याराडोनाको दाहिने पाखुरामा चे ग्वेभारा र देब्रे खुुट्टामा फिडेल क्यास्ट्रोको ट्याटुु खोपाएका थिए ।

२००५ को अगस्टसम्म आइपुुग्दा म्याराडोना ड्रग्सबाट टाढा भइसकेका थिए । उनले यसपछि केही समय अर्जेन्टिनाको एक टेलिभिजनमार्फत ‘नम्बर १० सँग एक रात’ नामक कार्यक्रम सञ्चालन गरे, यस कार्यक्रममा फिडेललाई पनि अतिथी बनाएर बोलाएका थिए । मेइ २००७ सम्म आइपुुग्दा अल्कोहल पनि छाडिसकेको म्याराडोनाको दाबी थियो । 

स्वास्थ लाभपछि म्याराडोनाले २०१० को विश्वकपमा अर्जेन्टिनी टोलीको प्रशिक्षण पनि सम्हाले । यद्यपी, पछिल्ला केही वर्ष उनले फेरि मदिरा पिउन सुरु गरे । २०१८ को विश्वकपमा अर्जेन्टिना र नाइजेरिया भिड्दै गर्दा दर्शकदीर्घामा बसेर म्याराडोनाले  बियर पिएको देखिन्थ्यो । ३० अक्टुुबरमा आफ्नो ६० औं जन्मदिन मनाएपछि म्याराडोना अस्पताल भर्ना भएका थिए । त्यहाँ उनको मष्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । म्याराडोनाले अल्कोहल छाड्नुुको विकल्प नरहेको र त्यसका लागि संघर्ष गरिरहेको चिकित्सकको भनाइ थियो । 

२५ नोभेम्बर २०१६ मा फिडेल क्यास्ट्रोको निधन हुँदा म्याराडोना निकै स्तब्ध थिए । ‘फिडेलसँगको भेट मेरा लागि आकाश छोए बराबर थियो । म जीवित हुनुको एउटा कारण भगवान् र अर्को उनी हुन्,’ म्याराडोनाले भनेका थिए । 
संयोग पनि कस्तो भने त्यसको ठीक ४ वर्षपछि अर्थात  २५ नोभेम्बर २०२० मा हृदयघातका कारण म्याराडोनाको निधन भएको छ । अलविदा म्याराडोना ! 

(एजेन्सीको सहयोगमा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अन्वेषण अधिकारी
अन्वेषण अधिकारी
लेखकबाट थप