शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जब आफ्नो देश बिर्सेर नेपल्सवासीले गरे म्याराडोनाको समर्थन

बिहीबार, ११ मङ्सिर २०७७, १४ : ०५
बिहीबार, ११ मङ्सिर २०७७

सन् १९९० को विश्वकप सेमिफाइनलमा जे भयो, त्यस्ता घटना दुुर्लभै हुन्छन् । यतिबेला इटलीको नेपल्स शहरस्थित स्टेडियो सान पाओलोमा आयोजक टोली अर्जेन्टिनासँग भिड्दै थियो । आयोजक र बलियो टोली हुनुका नाताले इटलीलाई विश्वकपको  दाबेदार मानिएको थियो ।

सान पाओलो इटलीको स्थानीय नापोली क्लबको रंगशाला हो, जहाँ म्याराडोनाले व्यवसाहिक फुटबल खेल्थे । म्याराडोनालाई उनका समर्थकहरु भगवानकै दर्जा दिन्थे । त्यसैले विश्वकपको सेमिफाइनल खेलको सिट्ठी बजेपछि केही अन्धभक्त समर्थकहरुले म्याराडोना मोहमा परेर आफ्नै राष्ट्रियता बिर्सिए । खेल एक–एक गोलको बराबरीमै सकिएपछि पेनाल्टी सुटआउटतर्फ धकेलियो । जहाँ, ३–३ को बराबरीको अवस्थामा इटलीका रोबर्टो डोनाडोनी र अल्डो सेरेना गोल गर्न चुके ।

अनि म्याराडोनाले गोल गर्दै अर्जेन्टिनालाई विजयी गराए । यतिबेला आफ्नो राष्ट्रियता नै भुलेर धेरै समर्थकहरु खुसीले उफ्रिएका थिए । नेपल्सवासीलाई सान पाओलो रंगशालामा म्याराडोना हार्दैनन् भन्ने विश्वास थियो । नभन्दै, त्यस्तै भयो । 

शोकमा डुुब्यो नेपल्स 
बुधबार ६० वर्षको उमेरमा म्याराडोनाको निधनको खबर बाहिरिएलगत्तै नेपल्स शहरका मेयर लुुईगी डि मागिस्ट्रिजले यस रंगशालाको नाम फेरेर डिएगो अर्मान्डो म्याराडोना रंगशाला राख्ने घोषणा ट्वीटरमार्फत गरेका छन् । उनले म्याराडोनाको सम्मानमा रंगशालाका सबै बत्तीहरु रातभर बाल्न पनि निर्देशन दिएका छन् ।

 त्यस्तै, नापोली क्लबले शोक मनाउने क्रममा ट्वीटरमा आफ्नो निलो रंगको लोगोलाई बदलेर ‘कालो’ बनाएको छ । ‘सबै हाम्रा शब्दहरुको पर्खाइमा छन्,’ क्लबले ट्वीट गरेको छ,‘तर हामीले अनुभव गरिरहेको पिडाका लागि हामी कुन शब्द प्रयोग गर्नसक्छौं ? यो रुवाबासीको समय हो ।’

रंगशाला वरपर शोक मनाउन ठूलो संख्यामा समर्थकहरु भेला भएका छन् । इटलीका खेलकुदमन्त्री (जो नेपल्सवासी हुन् ) भिन्सेन्जो स्पाडाफोराले भनेका छन्, ‘उनी च्याम्पियनभन्दा धेरै थिए । उनी पूर्ण स्टार थिए । उनले मेरो शहरवासीहरुका लागि अपराजित सपना र आशाको प्रतिनिधित्व गर्थे । आज राति नेपल्स रुनेछ ।’ 

दमितको पक्षमा 
म्याराडोना अर्जेन्टिनाको भिल्ला फियोरिटास्थित झुुपडबस्तीमा जन्मिएका थिए । उनी १९८२ मा अर्जेन्टिनाबाट स्पेनिस क्लब बार्सिलोना र त्यसको दुुई वर्षपछि इटालिन क्लब नापोलीमा आए । नापोली शहर इटलीको गरिब शहर मानिन्थ्यो, आफ्नो विगतका कारण पनि म्याराडोना गरिबका पक्षमा दिल खोलेर खडा हुन्थे । इटालियन सिरिएमा युुभेन्टस्, एसी मिलान र इन्टर मिलानको दबदबा थियो । म्याराडोनाले यस दबदबालाई चिर्दै नापोलीलाई दुुईपटक लिग जिताए । त्यहीकारण उनीसँग नापोलीको सम्बन्ध फुटबलभन्दा माथि रह्यो । म्याराडोनाले यस क्लबबाट कुल १ सय १५ गोल गरे । ‘नेपल्स पागल शहर थियो । उनीहरु मजस्तै पागल थिए । फुटबल उनीहरुको जीवन थियो,’ म्याराडोनाले यसबारे भनेका थिए,‘यहाँको अवस्थाले मलाई मेरो धरातल सम्झाइदिन्थ्यो । त्यहाँ भोड हड्ताल भइरहेको थियो र मानिसहरु रंगशालामा आफैंलाई बाँधेर बसिरहेका थिए, उनीहरुले मलाई त्यहाँ आउन भने । म कसरी उनीहरुलाई निराश पार्नसक्थेँ।’

म्याराडोना भनेका थिए,‘मैले त्यहाँ उनीहरुले सामना गर्ने बेरोजगारीलगायतका सबै समस्या बुुझेको थिएँ । उनीहरुले टिकट किन्नका लागि ठूलो त्याग गरेका हुुन्थे । कतिपयले खानाको पैसा कटाएर टिकट किन्थे ।’
‘म्याराडोना नेपल्सका व्यक्तिहरुको भगवान् हुन् । उनले इतिहास बदलिदिए,’ २००६ मा इटलीलाई विश्वकप जिताउने कप्तान फाबियो कानाभारो भन्छन्,‘हामीले सधैं पिडा पायौं । रेलिगेसनविरुद्ध लडिरह्यौं । तर, म्याराडोना छँदाका ७ सिजन हामीले दुुई लिग र एउटा युुईएफए कप जित्यौं । म म्याराडोनाका फ्यान हुँ र म्याराडोनासँगका ती वर्षहरु साँच्चै अद्भूत थिए ।’ 

सन् २०१७ मा म्याराडोनाले नेपल्सको मानार्थ नागरिकता लिएका थिए । आज पनि नेपल्सका चोक–गल्ली र धेरै घरमा म्याराडोनाको तस्विर सजिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप