शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भित्र भगवान, बाहिरै भए भक्तजन : १२ तस्बिरमा हेर्नुहोस् बूढानीलकण्ठको एकादशी मेला

बिहीबार, ११ मङ्सिर २०७७, १२ : ३०
बिहीबार, ११ मङ्सिर २०७७

हरेक वर्ष हरिबोधिनी एकादशीका दिन राजधानीको बूढानीलकण्ठमा लाग्ने मेला यसवर्ष कोरोना महामारीका कारण प्रभावित बनेको छ । कोरोना महामारीका कारण मन्दिर खोलिएन भने दर्शनका लागि पुगेका भक्तजनहरुले बाहिरबाटै दर्शन गरे । उनीहरुले बन्द ढोकाभित्र रहेको भगवानलाई बाहिरबाटै पूजाआजा गर्दै धार्मिक आस्था पुरा गरे ।  

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाएका छन् । जसअनुसार बिहीबार बूढानीलकण्ठ भक्तजनहरुको चहलपहल भएको हो । 


 
कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ । 
  
वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । 

चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।

 
यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशङ्खुनारायण, काठमाडौँको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचङ्गुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । 


 
यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण चार नारायणमध्ये केहीमा मात्र मेला लागेको जनाइएको छ । 
 
हरिबोधनी एकादशीका अवसरमा चार नारायण जान नसक्ने हरुबूढानीलकण्ठमा पुगेर दर्शन गर्ने गर्छन् । यहाँ दर्शन गरेमा चार नारायणमै दर्शन गरेको फल मिल्ने धार्मिक विश्वास छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप