शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘७२ प्रतिशत जनतालाई सरकारले नै खोप दिने योजना’

यसरी भइरहेको छ कोरोनाविरुद्धको खोप ल्याउने तयारी : डा. झलक शर्मा गौतमसँगको अन्तरवार्ता
बिहीबार, ११ मङ्सिर २०७७, १० : ०७
बिहीबार, ११ मङ्सिर २०७७

कोरोना महाव्याधिले सारा संसारलाई व्यथित र त्रसित बनाइरहेको बेला कोरोनाभाइरसविरुद्ध निर्माण गरिएका खोपहरुले तेस्रो चरणको क्लिनिकल ट्रायल पास गर्दा विश्वभर खुशीसँगै आशाका किरण छाएको छ । दर्जनभन्दा बढी कोरोनाविरुद्धको खोपका क्लिनिकल ट्रायल जारी छ । तीमध्ये कतिपयले तेस्रो चरणको परीक्षणमा ९० प्रतिशतभन्दा माथि सफलता हासिल गरेका खबरहरु पनि आइरहेका छन् । यो स्थितिबीच नागरिकहरुको जीवनरक्षाका लागि कोरोनाविरुद्धको खोप आफ्नो देशमा भित्र्याउने ‘प्रतिस्पर्धा’ शुरु भएको छ ।

ज्ञातव्य कुरा हो, ती देशहरुले खोपमा प्राथमिकता पाउने छन्, जो आर्थिक रुपले सक्षम छन् र खोप खरिद गर्न सक्छन् । तर संक्रमितको संख्या दुई लाख बढी पुगिसेको नेपालजस्तो विपन्न देशले चाहिँ खोप कहिले र के–कसरी ल्याउन सक्ला ? कोरोनाविरुद्धको खोप सार्वजनिक प्रयोगको लागि अनुमति प्राप्त गर्ने चरणमा अघि बढिरहँदा त्यसलाई नेपालमा भित्र्याउनका सरकारले के के कुराको तयारी गरिरहेको छ ?  जस्ता सवालहरुमा केन्द्रीत रहेर स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख तथा नेपालमा खोप भिर्याउन बनाइएको कार्यदलका सदस्यसचिव समेत रहेका डाक्टर झलक शर्मा गौतमसँग रातोपाटीका लागि माया श्रेष्ठले गरेको कुराकानीको सम्पादित उतार प्रस्तुत छः

 कोरोनाविरुद्ध निर्माण भइरहेका खोपहरु नेपालमा खोप ल्याउन बनेको कार्यदलले अहिले के गरिरहेको छ ?

कोरोनाविरुद्ध निर्माण भइरहेका दर्जनभन्दा बढी खोपको अध्ययन भइरहेको छ । ती खोपहरुको तेस्रो चरणको क्लिनिकल ट्रायल चलिरहेको छ र केही खोप ९५ प्रतिशत सफल भएको नतिजाहरु सार्वजनिक भएका छन् ।

यद्यपि त्यो नै अन्तिम नतिजा भने होइन । क्लिनिकल ट्रायलमा सफल भएको प्रारम्भिक आँकडाहरु सार्वजनिक भएका ती खोपहरुका बारेमा अध्ययन भइरहेको छ । प्रारम्भिक नतिजाको आधारमा नै कुन खोप राम्रो– नराम्रो हो भन्न सकिँदैन ।

अमेरिकी कम्पनी फाइजरले जर्मन बायोएनटेकसँग मिलेर विकास गरेको खोपले ९५ प्रतिशत सफलता हात पारेको छ । अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको खोप एमआरएनए—१२७३, ९४.५ प्रतिशत र अक्सफोर्ड विश्वविद्यालयले एक्ट्राजेनेकासँग मिलेर निर्माण गरेको खोप ७० प्रतिशत प्रभावकारी भएको ती कम्पनीहरुले दाबी गरेका छन् । उता रुसी खोप स्पुतनिक–भी ९२ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ । तर हालसम्म सबैको प्रारम्भिक नतिजा आए पनि अन्तिम नतिजा सार्वजनिक भएको छैन । त्यसैले विश्वमा निर्माण भइरहेको खोपहरुको कार्यदलले गहन रुपमा अध्ययन गरिहेको छ ।  

पछिल्ला दुई सातायता क्लिनिकल ट्रायलमा रहेका केही खोपको प्रभावकारिता बढेको खबर विश्व बजारमा चर्चा भइरहँदा नेपालमा कसरी खोप भित्र्याइन्छ ?

कोरोनाभाइरस विरुद्धको खोप नेपालमा २ तरिकाबाट खोप ल्याउने तयारी भइरहेको छ  । एउटा कोभ्याक्समार्फत नेपालले खोप भित्र्याउँछ । विश्वका गरिब राष्ट्रहरुलाई खोपको समान पहुँच हुनुपर्छ भनेर विश्व स्वास्थ्य संगठन, यूनिसेफ, विश्व बैंक र गाभीसम्मिलित गठबन्धन बनेको छ । त्यसलाई कोभ्याक्स नामाकरण गरिएको हो ।

कोभ्याक्सले पूर्णरुपमा आफैँ खोप खरिद गर्न नसक्ने गरिब राष्ट्रलाई कोभिड–१९ खोपको समान वितरण गर्छ । कोभ्याक्समार्फत २० प्रतिशत खोप सहुलियत दरमा आउँछ । उक्त  खोपका लागि करिब  ६० अर्ब लाग्ने समेत अनुमान गरिएको छ । खोप खरिदको लागि चाहिने रकम जुटाउन कोष खडा गर्ने तयारीसमेत नेपाल सरकारले गरिरहेको छ ।

त्यसबाहेक, नेपाल सरकार स्वयंले खरिद गरेर खोप भित्र्याउँछ । त्यसका लागि सरकारले गत बुधबार अध्यादेशसमेत ल्याइसकेको अवस्था छ । क्लिनिकल ट्रायलमा रहेका खोपको अन्तिम नतिजा सार्वजनिक भएपछि स्वास्थ्य सुरक्षालाई ध्यानमा दिएर सरकारले खोप खरिद गर्न सक्छ ।

नेपालमा कोभ्याक्समार्फत् आउने २० प्रतिशत खोप क-कसले पाउँछन्  ? कति प्रतिशतलाई खोप दिने सरकारले तयारी गरेको छ ?

कोरोनाविरुद्धको खोप आएपछि पहिलो प्राथमिकतामा अग्रपंक्तिमा मोर्चामा खटिएका स्वास्थ्यकर्मी पर्छन् । २० प्रतिशत खोपमध्ये ३ प्रतिशत खोप फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकमीलाई दिइन्छ ।  त्यसैगरी, सामाजिक अभियन्ताहरु पनि प्राथमिकतामा पर्छन् । उमेर समूहको प्राथमिकताको आधारमा छनोट गरेर खोप दिइन्छ ।

हालसम्म कुल जनसंख्याको ७२ प्रतिशतलाई नेपाल सरकारले नै भ्याक्सिन दिने योजना बनाएको छ । यसका लागि ४८ अर्ब नेपाली रुपैयाँ लाग्ने अनुमान गरिएको छ । एक भाइल खोपलाई औसतमा १० डलरको मुल्य राखेर यो लागत अनुमान गरिएको हो । कोभ्याक्सको गठबन्धनमा नेपालसहित १ सय ७२ वटा राष्ट्र सहभागी छन् ।

त्यो भए नेपालमा खोप कहिलेसम्म आउँछ ?

कोरोनाभाइरस विरुद्धको खोप नेपालमा कहिलेसम्म ल्याउन सकिन्छ भनेर भन्न सकिँदैन । अहिले खोपको प्रारम्भिक नतिजा मात्रै आएको छ । त्यसैले अन्तिम नतिजाका लागि हामीले कुर्नुपर्छ । निर्माणको अन्तिम चरणमा पुगेका भनिएका खोपहरुले स्वीकृति पाउनै बाँकी छ । कोरोनाभाइरस विरुद्ध निर्माण गरिएको खोपले स्वीकृति पाउनेबित्तिकै नेपालमा आउँछ । संसारका धनी गरिब सबै मुलुकहरुले समान रुपमा खोप पाउनुपर्छ भनेर निर्माण गरिएको कोभ्याक्सले क्लिनिकल ट्रायलको अन्तिम चरणमा पुगेका खोपहरुको खरिदको लागि माग गरिसकेको छ । त्यसैले त्यहाँबाट सिफारिस भएका खोप हामीले पनि पाउँछौं ।

 नेपालमा खोप ल्याइएको अवस्थामा त्यसका मापदण्डअनुसार खोप भण्डारण गर्न र खोप केन्द्रसम्म पु-याउनका लागि  प्रविधि र जनशक्तिको अभाव छ भनिन्छ । कसरी व्यवस्थापन गर्नु हुन्छ ?

कोरोनाभाइरसविरुद्ध निर्माण भइरहेको खोपले अन्तिम रुप पाएर  विश्व बजारमा आएको छैन । त्यसैले खोपको निक्र्योल नभइकन हामीले अहिले नै भण्डारणको लागि  हतार गर्नु उचित हुँदैन ।  हाललाई माइनस २० डिग्री र २ देखि ८ डिग्रीमा राख्नुपर्ने खोपको भण्डारण गर्न सक्ने नेपालसँग क्षमता छ ।

२ देखि ८ डिग्रीमा राख्न मिल्ने खोपले सफलता पाएर हाम्रो देशमा आएको खण्डमा खोप सस्तो, प्रभावकारी, सहज हुन्छ । माइनस ७० डिग्रीमा राख्नुपर्ने खोपको हकमा हामीसँग तत्काल त्यसका लागि आवश्यक संरचना छैन । तर  निर्माण भइरहेका खोपले सफलता हात पारेको खण्डमा नेपालमा कुन खोप भित्र्याइन्छ , त्यहीअनुसार भण्डारणको लागि तयारी गर्छौं । अर्को कुरा, कोभ्याक्सले सबै राष्ट्रलाई अनुकल हुने गरी भण्डारण गर्न सक्ने, किन्न सक्ने, आदि गुणस्तरलाई आधार मानेर खोप छनौट गर्न सक्छ  । त्यसैले खोप भण्डारणको तयारीको सन्दर्भमा हाल निर्माण भइरहेका खोपको अन्तिम नतिजालाई कुर्नुको विकल्प छैन ।

यसको अर्थ हामीले तयारी नै गरिरहेका छैनौँ भन्ने होइन ।  हामीले भण्डारणका लागि तयार चाहिँ गरिरहेका छौं । अहिलेसम्मको योजनाअनुसार नेपालमा दिँदै आइरहेका अन्य खोप जस्तै कोभिड–१९ को खोपलाई पनि स्थानीय तथा प्रदेशिक र केन्द्रियतहका खोप केन्द्रमा पुगेर संस्थागत रुप दिइन्छ । आवश्यक परेको खण्डमा दक्ष जनशक्ति तथा प्रविधिको थप गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप