‘हाम्रो देशका कम्युनिस्ट फिल्मसँग डराइरहेका छन्’
फिल्म निर्देशक मनोज पण्डितको नाम राम्रो समीक्षकका रूपमा अगाडि आउँछ । उनीले देश तथा विदेशका फिल्म हेर्ने मात्र होइन त्यसभित्रका राम्रा नराम्रा पक्षसमेत केलाउँदै आएका छन् । दासढुङ्गा, वधशाला, ग्रेटर नेपाल, छाया लगायतका फरक धारमा समाज र यथार्थसँग नजिक रहेर फिल्म निर्माण गर्दै आएका उनी नेपालमा फिल्म क्षेत्रमा एउटा क्रान्ति चाहन्छन् । नेपालमा बनेका फिल्मले स्वदेशमा दर्शक रिझाउने मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्ने खालका समेत हुनुपर्र्ने उनको धारण रहेको छ ।
समाजको ऐना, राजनीतिको विशिष्ट श्रेणीका रूपमा फिल्मलाई लिने गरेका पण्डितले संसारभरका फिल्मको अध्ययन र खोजबाट आफूले सिकेको कुरा समेटेर ‘सिनेमा मन्थन’ नामक पुस्तक ल्याएका छन् । सिनेमा मन्थन’ पुस्तक र फिल्म क्षेत्रमा यसको महत्त्वको विषयमा रातोपाटीले पण्डितसँग गरेको कुराकानीका सङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।
‘सिनेमा मन्थन’मा के छ ?
–फिल्म निर्माणका लागि आवश्यक पर्ने सबै आधारभूत सोच पुस्तकमा समेटिएको छ । फिल्मका लागि कस्तो सोच चाहिन्छ, कसरी सोचिनुपर्छ र कसरी सोच्दा फिल्म बलियो हुने आधार बन्छ भन्ने विषय पुस्तकमा छ । छोटकरीमा भन्दा फिल्मको मस्तिस्क नै ‘सिनेमा मन्थन’ हो ।
फिल्मको विषयमा पुस्तक लेख्ने सोच कसरी आयो ?
–मेरो विचारमा फिल्म निर्माण प्रक्रियामा सबैभन्दा महत्त्वपूर्ण पाटो म फिल्मका विषयमा कसरी सोच्छु, फिल्मको गहन विषयको संश्लेषण कसरी हेर्छु भन्नेको खोज नै हो । म आफैले गरेको फिल्मको विभिन्न खोज नै मेरो पुस्तक हो ।
फिल्म के हो । संसारमा धेरै फिल्म निर्माण हुन्छन् । प्रदर्शनमा आउँछन् तर ती फिल्म कसरी निर्माण भए । संसारका जति पनि शक्तिशाली फिल्म छन् ती कसरी निर्माण भए, कसरी शक्तिशाली भए भन्ने विषयको खोजी पनि हो मेरो पुस्तक । यो खोजको शृङ्खला वर्षाैंको हो । म पहिलेदेखि नै केही महत्त्वपूर्ण प्वाइन्ट भए टिपिहाल्थेँ । त्यही सङ्कलनलाई अहिले पुस्तकको रूप दिएको हो ।
त्यसो भए पुस्तकका लक्षित पठक पनि छन् ?
–फिल्म निर्माण गर्न सोच्ने बित्तिक्कै यो किताबको खाँचो हुन्छ । फिल्म बनाउने व्यक्तिको मात्र कुरो होइन त्यो हेर्ने दर्शकको पनि कुरो हो । फिल्मलाई हामीले हलसँग मात्र जोडेर हेर्नु हँुदैन । फिल्म एक किसिमको मनोविज्ञान हो । यो मनोविज्ञानमा साहित्य, राजनीति, दर्शन, ऐतिहासिक लगायत अवधारण समेत जोडिएका हुन्छन् ।
फिल्मको निष्कर्ष भन्न मिल्छ त ?
–मैले पनि फिल्मको निष्कर्षका रूपमा पुस्तकलाई लिएको छु । फिल्मलाई हामीले अहिलेसम्म मनोरञ्जनको एउटा वस्तुको रूपमा मात्र हेर्ने गरेका छौँ तर फिल्मले समाजका मानिसमा चेतनाको विकाश गर्ने र मानिसहरूलाई तत्कालिन राजनीति र समयको जानकारी गराउन भुमिका खेल्छ ।
तपार्इंको विचारमा फिल्म के हो त ?
–मेरो विचारमा फिल्म राजनीतिक हुन्छ । फिल्मले समाजको राजनीतिक चेतना कस्तो बनाउने, त्यसलाई सीमित गर्ने कि नगर्ने, खुम्च्याएर राख्ने कि बृहत् बनाउने भन्नेमा महत्त्वपूर्ण भूमिका खेल्छ । राजनीतिक दृष्टिले हेर्ने हो भने कम्युनिस्टहरूका लागि फिल्म ठूलो टुल्स हुनसक्थ्यो । तर हाम्रो देशका कम्युनिस्ट नै फिल्मसँग डराइरहेको पाइएको छ । आजको दिनमा हेर्ने हो भने देशमा कम्युनिस्ट सरकार छ । फिल्मको विषयमा अहिले सबैभन्दा बढी डराएरहेका कम्युनिस्ट नै हो । नत्र कम्युनिस्टका लागि मानिस सचेत गर्ने सबैभन्दा ठूलो साधन फिल्म हुनसक्थ्यो ।
साच्चै नै फिल्मको शक्तिसँग शासक डराएका हुन् त ?
–हो, अहिले फिल्मको शक्तिसँग साशक वर्ग डराएका छन् । मेरो पुस्तकले शासक वर्गलाई मनोविज्ञान दिने कोसिस गरेको छ । फिल्म समाजका लागि एउटा अत्यान्तै शक्तिशाली टुल्स हो । यसले चलचित्र घरका लागि मात्र केन्द्रित गर्दैन । यसले सिंहदरबार र बालुवाटारलाई समेत असर पार्न सक्छ ।
पुस्तकलाई फिल्म क्षेत्रका व्यक्तिले कसरी हेरेका छन् ?
–हाम्रो दुर्भाग्य नै त्यही हो । जसका लागि किताब सहायक हुन्छ उसको चासो रहन्न । मूल्यको कुरा गर्ने हो भने एक बोतल बियरभन्दा सस्तो छ । तर हाम्रो देशमा बरु बियरमा पैसा खर्च गरिहाल्ने गर्दछन् । पुस्तक किनेर आफ्नो क्षेत्रको विकास गर्ने विषयमा मानिसको चासो रहन्न । यो पुस्तक सबैका लागि हो । यसले कसैको अधिकार खोस्दैन । यसले कहीँ कहीँ सहयोग गर्छ नै । माथिल्लो लेबलका विभिन्न मानिसबाट पुस्तक पढेर प्रतिक्रिया आउन थालेको छ । फिल्म क्षेत्रका एक व्यक्तिले पनि यो पुस्तक पढेर सकाएको छैन । अध्ययनमा फिल्म क्षेत्र धेरै पछाडि छ ।
नेपाली फिल्म क्षेत्रमा पढ्ने संस्कृतिको विकास नभएकै हो र ?
–हो, नेपाली फिल्म क्षेत्रमा पढ्ने संस्कृतिको विकास अझै भएको छैन । फिल्म ज्ञानको उत्पादन हो । पढ्ने संस्कृति विकास भयो भने ज्ञान मिल्छ । ज्ञान भएका फिल्मकर्मी भए फिल्म उद्योग माथि जान्छ । हामी पुस्तक किन्न सक्दैनौँ । ज्ञान किन्ने कि बियर वा पहिरन किन्ने भन्यौँ भने हाम्रोमा बियर वा पहिरन रोज्ने धेरै छन् । यस्तो मनोवृत्तिले फिल्म उद्योगलाई नै घाटा पुर्याइरहेको छ ।
विशेष गरेर के कुरामा आधारित छ पुस्तक ?
–विशेषतः यो पुस्तक मानिसको मनोविज्ञानमा आधारित छ । त्यसपछि मानिसको जीवनशैलीमा पनि । मानिसले कसरी सोच्छ, कसरी अवधारण बनाउँछ भन्ने विषय पनि छ । मानिस र फिल्म बीचको विरोधाभासीसम्बन्ध, समाजमा हुने घटनाका कथा, खाली फिल्मको मात्र कुरो होइन । हरेकको जीवनको कथा हो । हरेकको पेसामा कथा छ । त्योमाथिको अध्यायनको समेत निष्कर्ष छन् ।
समय कति लाग्यो ?
समय त धेरै लागेको छ । मेरो डेढ दुई वर्षको पूरै मिहिनेत यसमा छ । कोरोनाको कहरमा गरिएको लकडाउनले मेरो खोजलाई किताबी रूप लिन सहयोग गरिदियो ।
सोचेको जस्तो भयो कि भएन पुस्तक ?
–सुरुको समयमा सोचेको भन्दा धेरै उपलब्धि भएका छन् । यो किताब लेख्नका लागि लेखेको होइन । अध्ययन गरेको कुराबाट निस्किएको र सिकेको निष्कर्ष हो । ‘राम्रो फिल्मले मान्छे नराम्रो हुन्छ भन्ने निष्कर्ष मैले यो किताबमा दिएको छु । यो संसारभरिका फिल्म मन्थन गर्दा निस्किएको अमृत पनि हो । कुनै पनि फिल्ममेकरलाई यो सिद्धान्तले निकै ठूलो हेल्प गर्छ । यो किताब मेरो लागि अहिलेसम्मकै ठूलो उपलब्धि हो । यो पुस्तकले अरूलाई मात्र होइन म आफैलाई समेत गाइड गर्छ ।
वर्तमान समाजमा पनि यसले महत्त्व राख्छ कि ?
–अहिलेको समय मानिस अलमल अवस्थामा छन् । किताब लेखेपछि मैले देखेको विषय मानिसको जीवनका धेरै उतारचढाव हुन् । अकल्पनीय तार मानिसको जीवनमा छ । यसको फिक्सन भ्यालुलाई मात्र समाजले बुझ्ने हो भने अहिलेको अधिकांश समस्याको समाधान फिल्मसँग छ । नेपालको राजनीतिमा रहिरहेको अहिले जुन समस्या छन् तिनको समाधान फिल्मसँग छ । साँच्चिकै राजनीतिज्ञले संसारका राम्रा फिल्म अध्ययन गर्ने हो भने नेपाली राजनीतिमा भएका अधिकांश समस्या हल भएर जान्छन् भन्ने मेरो बुझाइ हो ।
अहिले हामी राजनीति यस्तो हुनुहुन्न, आपसमा सङ्घर्ष गर्नुहुन्न, कसैको विरोध गर्नुहुन्न, फरक अभिमत राख्नु हुन्न भनेर आँखाबाट राजनीति हेर्छौं । त्यो नै ठूलो भुल हो । राजनीतिलाई नितान्त प्रतिस्पर्धाको आँखाबाट, मानिसका अहमहरूको आँखाबाट, स्वर्थहरूको आँखाबाट हेर्नुपर्छ । ताकि मानिको अहम, स्वार्थ, चाहना, शक्तिसँगको आवश्यकताको टकरावबाट जुन शक्तिशाली हुन्छ । त्यो अगाडि आउने हो । राजनीतिमा अहिले भइरहेको यथार्थलाई फिल्मले पुष्टि गर्छ ।
नेपाली फिल्ममा राजनीति समेटिने गरेको छ त ?
–नेपाली फिल्म साँच्चिकै राजनीतिको विषयमा अवगत छैन । नेपाली फिल्ममा जुन राजनीति समेटिने गरिएको छ । त्यो बालहठ मात्र हो । फिल्म राजनीतिक अभिव्यक्ति नै हो भन्ने दृष्टिकोण नबुझेको कारणले हामीले फिल्ममा एउटा नेता र उसको अगाडि पछाडि हिँड्ने दुई चार जना कार्यकर्ता मात्र देखाउने गरेका छौँ ।
नेपाली फिल्म क्षेत्रले राजनीतिलाई साँच्चिकै गम्भीरतापूर्वक कहिल्यै बुझेको छैन । बुझ्ने प्रयत्न पनि भएको छैन ।
फिल्म क्षेत्रका व्यक्तिमाझ कसरी पुर्याउने पुस्तक ?
–यो पुस्तक फिल्म क्षेत्रका सबैको सम्पत्ति हो । किनभने ज्ञान बिना फिल्मको उत्पादन राम्रो हुँदैन । ज्ञानको दृष्टि फराकिलो पार्न आफैले प्रयत्न गर्नुपर्छ । जसले पढ्छ उसलाई फाइदा हुन्छ । अझै हिजोको ज्ञानबाट फिल्म बनाउँछ भने अहिलेको बदलिँदो समयमा उनले आफूलाई प्रतिस्पर्धी बनाउन सक्दैन । जो व्यक्ति फिल्म क्षेत्रमा आफूलाई शक्तिशाली बनाउन चाहन्छ उसले यो खोजेर पनि पढ्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, कुनको मूल्य कति ?
-
प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन
-
भरतपुर अस्पतालमा ‘निलो रूख’
-
अमेरिकी राष्ट्रपति निर्वाचन : मतदान केन्द्रहरूमा बम बिष्फोटको धम्की
-
यसरी हुँदैछ अमेरिकी राष्ट्रपतिको चुनाव, तस्बिरहरू हेर्नुहोस्
-
ट्रम्पले फ्लोरिडाबाट गरे मतदान