शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रिपल बधाई, सर !

बुधबार, १० मङ्सिर २०७७, ०२ : २६
बुधबार, १० मङ्सिर २०७७

(खगेन्द्र संग्रौलासँग चन्द्र खाकीको फोन–वार्तां)


‘ट्रिपल बधाई, सर !’

‘बधाई, त्यसमाथि ट्रिपल ?’

‘सुखद् संयोग त्यस्तै पर्नगयो त, सर ।’

‘बुझिनँ । के–के संयोग ? के–को ट्रिपल ? के–को सुखद् बधाई ?’

‘थाहा छ, मंसिर १० गते सरको जन्मदिन हो । सरलाई पचहत्तर वर्ष प्रवेशको हार्दिक बधाई । जीवनी लेखनको बधाई । र, समग्र रचना प्रकाशनको बधाई । त्यसैले ट्रिपल बधाई !’

‘(हाँस्दै) ए, कुरो त्यो पो ? पहिलो बधाई ल भैगो जसोतसो मैले मानेँ । पछिल्ला दुई बधाई मुल्तबीमा जाऊन् ।’

ए, कुरो त्यो पो ? पहिलो बधाई ल भैगो जसोतसो मैले मानेँ । पछिल्ला दुई बधाई मुल्तबीमा जाऊन् ।’

‘मुल्तबी माने थाती रहुन् भन्या हो, सर ?’

‘त्यस्तै–त्यस्तै हो । ’

‘पोहोरै जीवनी आउने त्यत्रो उद्घोष भा’थ्यो । अहिले समग्र आउने यत्रो प्रचारबाजी छ । अनि निराश लाग्ने लबजमा किन मुल्बती ?’

‘निराश लाग्ने होइन, यथार्थपरक लबज हो यो । कुनै पनि कर्म गरिभ्याएर मात्र गरेको ठहर्छ, मुखले भन्दैमा गरेको ठहर्दैन ।’

‘अनि त्यत्रो उद्घोष ? यत्रो प्रचारबाजी ? यो खालि भन्न र नगर्न भनेको हो त, सर ?’

‘कुरो त्यस्सै पनि होइन । पोहोर साच–दशजना पत्रकारलाई साछी राखेर प्रायोजक, लेखक र प्रकाशकले जीवनीको उद्घोष गरेकै हुन् । सार्वजनिक हुने मितिधरी किटान गर्‍या’थे— गत बैशाख १ गते । यसबीच कोरोना महाव्याधिले धक्का दियो । र, यस्ता थुप्रो उद्घोष विस्मृतप्रायः हुनपुगे ।’

‘कोरोनाको बहानामा यो त्यत्तिकै फासफुस  भ’को हो त, सर ?’

‘हो, किनभने आउँछ भन्या बेलाँ यो आएन, कहिले आउँछ त्यो भन्या छैन । होइन, किनभने गर्छु भन्नेले मैले हात उठाएँ भन्या छैन ।’

‘कुरो यसो हो, चन्द्रजी । जसको जीवनी लेखिन्छ, ऊ त केवल जीवनीको कथ्य हो, कर्ता होइन । कथ्य स्वयंले कर्म गर्दैन । तसर्थ तपाईंको प्रश्नको उत्तर कथ्यले दिन सक्दैन । रोटी पाक्न ताप्के ताप्नुपर्छ, बिँडले ताहुरमाहुर गरेर के नापिन्छ ?’

‘लेख्ने काम त भइराख्या होला नि, सर ।’

‘त्यो लेखाउने, लेख्ने र छाप्नेले जान्ने कुरा हो ।’

‘जीवनी लेखिने सरको, सरलाई नै थाहा नहुने ? कुरो पनि !’

‘कुरो यसो हो, चन्द्रजी । जसको जीवनी लेखिन्छ, ऊ त केवल जीवनीको कथ्य हो, कर्ता होइन । कथ्य स्वयंले कर्म गर्दैन । तसर्थ तपाईँको प्रश्नको उत्तर कथ्यले दिन सक्दैन । रोटी पाक्न ताप्के ताप्नुपर्छ, बिँडले ताहुरमाहुर गरेर के नापिन्छ ?’

‘खै, सरको कुरो बुझियो भनूँ कि बुझिएन भनूँ । अलमल भो ।’

‘कुचक्री कोरोनाका कारण कर्म नै अलमलमा छ त कुरो छ्याङ्ग बुझियोस् कसरी ?’

‘समग्र रचना प्रकाशनको कुरो त कुरैमात्र नहोला नि, सर ?’

‘कुराले साकार रुप नलिउन्जेल कुरो कुरैको औतारमा रहन्छ । मेलम्चीबाट पानी ल्याउने कथाको कुरो सम्झनोस् । कुरो सुरु भएको तीन दसक भयो । अस्ति दुईवटा गेट भत्काएर पाखैपाखा बग्दै पानी झन्डै हाम्रा कलधारामा नआएको ! गोर्खे अग्रसरता, हुटहुटी, कार्य–दक्षता, कार्यगति एवं विलम्ब परिणतिको विशिष्ट उदाहरण यो हो । आखिर मेलम्चीको पानी त एक न एक दिन आउने नै भयो भने जीवनी किन नआउने ? समग्र रचना प्रकाशन किन नहुने ?’

कुराले साकार रुप नलिउन्जेल कुरो कुरैको औतारमा रहन्छ । मेलम्चीबाट पानी ल्याउने कथाको कुरो सम्झनोस् । कुरो सुरु भएको तीन दसक भयो । अस्ति दुईवटा गेट भत्काएर पाखैपाखा बग्दै पानी झन्डै हाम्रा कलधारामा नआएको ! गोर्खे अग्रसरता, हुटहुटी, कार्य–दक्षता, कार्यगति एवं विलम्ब परिणतिको विशिष्ट उदाहरण यो हो ।

‘यो त घोर निराश कुरा भो, सर !’

‘यसो सुन्दा सतहमा कुरो निराशजस्तो लाग्ला । तर निराशाको पत्रभित्र देश, काल, परिस्थति सापेक्ष आशा मनग्गे छ । समय असीमित छ । यो असीमित समयमा ढिलोचाँडो जे पनि हुन्छ । जीवनी पनि हुन्छ, समग्र पनि हुन्छ ।’

‘वर्ष दिनभित्र समग्र रचना छाप्न केही तरुण कविहरु धम्मरधुस लाग्या सुनिन्छ त, सर ।’

‘सत्य हो, चन्द्रजी, लाग्या छन् । नयाँ प्रकाशनको नाम छ— बेला पब्लिकेसन्स । प्रकाशनका तरुण कविहरुमा केही चीज प्रचूर मात्रामा छ भने त्यो आकांक्षा र उमङ्ग हो । बाँकी सबै कुराको दुःख छ । वित्तीय बन्दोबस्तको दुःख छ । प्रकाशन अनुभवको दुःख छ । बजार व्यवस्थापन कलाको दुःख छ । अझ त्यसमाथि कोरोना माहामारीले गर्दा पाठकगणमा पठन जिज्ञासा र क्रयशक्तिको क्षय भएको असहज अवस्था छ । अनि ?’

‘यसको मतलब समग्र रचना प्रकाशन नहुने भो, हैन्त सर ?’

‘नहुने भो मैले कहाँ भन्या छु ? प्रकाशन भएपछि बल्ल ‘ए यो भयो’ भनेर बुझ्नुपर्छ ।’

‘सरको कुरो बुझ्नै गाह्रो !’

‘मान्छेका सबै पौरख र सिद्धिको वीज, भ्रूण वा प्रस्थान विन्दु आखिर आकांक्षा र उमङ्ग त हो । जहाँ आकांक्षा छ, त्यहाँ कर्म गर्ने चेष्टा हुन्छ । जहाँ उमङ्ग छ, त्यहाँ कर्मले गति लिन्छ । कर्मको नित्य गतिले मान्छेलाई छिटोढिलो ताकेको फल हात लगाउँछ ।’

‘सरको हकमा यो छिटोढिलो भन्या कहिले हो ?’

‘भय र अनिश्चय कुचक्री कोरोनाकालका अत्यासलाग्दा लक्षण हुन् । समाजका सबै कार्य–व्यापार भय र अनिश्चयको भुमरीमा परेका छन् । यस्तोमा कसैको जीवनी र समग्र रचनाले साकार रुप लिने समय कसरी निश्चित होस् ?’

‘भय र अनिश्चय कुचक्री कोरोनाकालका अत्यासलाग्दा लक्षण हुन् । समाजका सबै कार्य–व्यापार भय र अनिश्चयको भुमरीमा परेका छन् । यस्तोमा कसैको जीवनी र समग्र रचनाले साकार रुप लिने समय कसरी निश्चित होस् ?’

‘म फेरि जन्मदिनतिरै फर्केँ, सर ।’

‘आज्ञा होस् ।’

‘जन्मदिनबारे सरको अनुभूति, धारणा, विचार....?’

‘म जुन समय, भूगोल र संस्कृतिमा हुर्केँ, त्यहाँ जन्मदिन मान्ने चलन थिएन । त्यहाँ त जन्मदिनको केवल गणीतीय अर्थमात्र थियो । जस्तो कि फलानो आज चौहत्तर पुगेर पचहत्तर लाग्यो ।’

‘उसोभए जन्मदिनमा तपाईँलाई उत्सवी आनन्दको अनुभूति कत्ति नि हुन्न त, सर ?’

‘अहँ, हुँदैन । मैले झेलेको संस्कृतिमा जन्मदिन न कुनै उत्सव थियो न उत्सवी आनन्दको मुहान । त्यसैले मेरो संस्कारजन्य मानसमा जन्मदिन न उल्लास भएर आउँछ, न आनन्द लिएर आउँछ ।’

‘तपाईँको दृष्टिमा जन्मदिन आखिर हो चैँ के त ?’

‘मेरालागि जन्मदिन दुई थोक हो । यो म एक वर्ष बढी बाँच्न पाएँ भन्ने हर्षको द्योतक हो । र, यो म एक वर्षले मृत्युको नजिक पुगेँ भन्ने बिस्मात‍्को सूचक हो । जन्मदिनको अर्थ मेरा लागि द्वन्द्वात्मक छ ।’

‘मेरा लागि यो दुई थोक हो । यो म एक वर्ष बढी बाँच्न पाएँ भन्ने हर्षको द्योतक हो । र, यो म एक वर्षले मृत्युको नजिक पुगेँ भन्ने बिस्मात‍्को सूचक हो । जन्मदिनको अर्थ मेरा लागि द्वन्द्वात्मक छ ।’

‘जन्मदिनको बधाई दिने शुभचिन्तक जनलाई सरको प्रत्युत्तर के हुन्छ ?’

‘प्रायः केही हुँदैन ।’

‘शुभकामनाको ओइरो लागिरहन्छ, सरचाहिँ चपचाप ?’

‘हो, यन्त्रवत्ररुपले अभिव्यक्त हुने अपवादजन्य धन्यवाद सिवाय म चुपचाप !’

‘जे होस्, यो सदैव–शुभचिन्तकको सरलाई ट्रिपल बधाई ! सरलाई अझै स्वस्थ, सक्रिय र सिर्जनशील दीर्घ जीवनले साथ देओस् !’

‘धन्यवाद, चन्द्रजी !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप