बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दिबास हत्या प्रकरण : विद्यालय भर्ना भएको खुसीको खबर सुनाउन गएकी बालिका फेरि फर्किनन्

यसअघि पनि ज्यान मुद्दामा धरौटीमा रिहा भएका थिए अरुण
मङ्गलबार, ०९ मङ्सिर २०७७, २२ : ३६
मङ्गलबार, ०९ मङ्सिर २०७७

पूर्व–पश्चिम राजमार्गमा पर्ने महोत्तरीको बर्दिबास नगरपालिकामा मिश्रित समाजको बसोबास छ । पहाडी र मधेशी समूदायका मानिसहरुको उत्तिकै बाहुल्यता रहेको बर्दिवासबासीले विभिन्न पटक भएका मधेश आन्दोलनमा समेत नतोडेको धैर्यता जब मंगलबार एक बालिकाको बलात्कारपछि हत्या भएको खवर सुने–तब उनीहरुको सहनशीलताको बाँध फुट्न पुग्यो ।

उनीहरु बालिकाको शव सडकमै राखेर प्रदर्शनमा उत्रिए । आक्रोशित स्थानीयले बलात्कारीलाई फाँसी सजायको माग गर्दै प्रदर्शन मात्रै गरेनन् आरोपितको घर र पसलमा आगजनी नै गर्न पुगे । जसका कारण मंगलबार दिनभर बर्दिवासको अवस्था तनावग्रस्त बन्न पुग्यो । आक्रोशमा पूर्वपश्चिम राजगमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका स्थानीयमाथि प्रहरीले हस्तक्षेप गर्न बाध्य भयो र गोली नै चलायो । प्रहरीको गोली लागेर ३ र लाठी चार्जबाट आधा दर्जन बढी घाइते भए ।


प्रहरीको गोली लागेर स्थानीय सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएका छन् । जसमध्ये २ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

बर्जित शिक्षा र गुलाबसा सपना
बर्दिबास घटना भएको क्षेत्रका मुस्लिम समाजमा प्रायजसो महिलाहरु अध्ययन भन्दा टाढा रहन्छन् । उनीहरुमा विद्यालय शिक्षा भन्दा बढी मदर्सातर्फ रुची हुने गर्छ । अझ मुुस्लिम समाजमा छोरी चेलीका लागि शिक्षा बर्जित नै मानिन्छ  । तर  नगरपालिकाको नम्बर १४ स्थित शुभम् बस्तीका शहिद आलम आफ्नी ६ वर्षीया छोरी गुलबसा खातुनलाई विद्यालयमा पढाएर उदाहरणीय बन्न चाहन्थे समाजमा । यस्तो सपना बुनेका शहिदलाई काखकी छोरीको हत्या भएको कतिपनि विश्वास लागिरहेको छैन ।

आइतबार भर्ना सोमबार हत्या 
कोरोना महामारीले लामो समयसम्म बन्द रहेका विद्यालय भर्खरै खुल्दै थिए । भर्खरै खुलेको एक निजी विद्यालयमा ६ वर्षीया बालिका खातुनको गत आइतबार मात्रै नामाकंन (भर्ना ) गरिएको थियो । कोरोनाका कारण ढिलै भएपनि विद्यालय भर्ना गर्न पाएकोमा अभिभावक खुसी नहुने कुरै थिएन । विद्यालय भर्ना भएपछि खुसीको खबर सुनाउन बालिका नजिकै रहेकी आफ्नी फुपू सेलिना खातुनको घर पुगेकी थिइन् । 
आफू युकेजीमा विद्यालय भर्ना भएको आफूलाई सुनाएको स्मरण गर्दै उनकी फुपु सेलिनाले भनिन्, ‘विद्यालय भर्ना भएकोमा धेरै खुसी थिइन् गुलबसा । उनको पढ्ने सपना पूरा नहुँदै चकनाचुर पारिदिए पापीहरुले ।’

चकलेट किन्न गइन्, फर्केर आइनन् 
मंसिर ७ आइतवार गुलब युकेजीमा भर्ना भइन् । विद्यालय भर्ना भएकोमा उनीसहित परिवारका सदस्यमा खुसीयाली छाएको थियो । सोही जानकारी गराउन नजिकै रहेको फुपूको घर पुगेका बेला ‘सधै झैँ छेउमै रहेको अरुणको पसलमा सो दिन पनि गुलबसा चकलेट किन्न गइन्, तर फर्केर आइनन् । चकलेट किन्न पसल गएकी गुलबसा फर्केर नआएपछि उनलाई खोज्न सुरु गर्यौँ’ फुपु सेलिनाले रातोपाटीसँग घटनाको बेलिविस्तार लगाइन् । 

टोलभरका छिमेकीदेखि सवैले गुलबसालाई पहिले उनको घरमै खोज्यो, छिमेकमा खोज्यो, रातभर खोजेपनि नभेटेपछि सोमबार बुवा शहीद आलम प्रहरीमा उजुरी दिन पुगे । फुपू सेलिनाका अनुसार आरोपी अरुण कुमार साहको घरमा खोजी गर्न जाँदा सुरुमा खोज्न दिएनन्, स्थानीयवासीको दवावपछि खोजी त भयो तर उनले घरमा राखेको सीसीटिभीको फुटेज भने हेर्न दिएनन् ।


प्रहरीमा उजुरी दिएपछि प्रहरीले पनि खोज्न थाल्यो । त्यही क्रममा आरोपी अरुणकुमार साहलाई पक्राउ गर्यो । पक्राउपछि आरोपित अरुणले हत्या गरेको स्वीकार्दै बालिकालाई बोरामा राखेर माटोमा पुरेको अवस्थामा प्रहरीले फेला पारेको गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।

प्रहरीसँगको बयानमा अरुणले ‘चकलेट’ किन्न आएकी गुलबसालाई अपहरण गरेर हत्या गरी बोरामा बाँधेर शवलाई माटोमा गाडेर आफ्नो गाउँ गौशाला फर्केको बताएका छन् । उनको गौशाला र बर्दिबास दुबै ठाउँमा घर रहेको बताइएको छ । 

बालिकालाई बलात्कार गरे नगरेको भने पोष्टमार्टमपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ । यद्यपि स्थानीयवासीले भने बलात्कारपछि हत्या आशंका गरेका छन् ।

‘हत्या गरेर फ्यालेको कुरा आरोपितले आफ्नो घरपरिवारमा समेत बताएका रहेछन् । पारिवारिक स्रोतबाटै हत्याको कुरा हामीकहाँ आयो र परिवारका सदस्यले नै उसलाई प्रहरी कार्यालयमा सोमवार राति १२ बजे बुझाए,’, अनुसन्धानमा खटिएका प्रहरीको भनाइ छ । 

अरुणको आपराधिक चरित्र
६ वर्षीया बालिका गुलबसा हत्याका आरोपीत अरुणको यो पहिलो घटना होइन । यसअघि पनि ज्यान मुद्दामा धरौटीमा रिहा भइसकेका हुन् उनी । गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार आरोपित अरुण यसअघि पनि हत्या आरोपमा पक्राउ परेर अदालतबाट धरौटीमा रिहा भएका व्यक्ति हुन् ।

 ‘लकडाउनका समयमा गत २०७७ वैशाख २८ आफ्नै साथी दिलिप ठाकुरको हत्या गरेको आरोपमा उनी पक्राउ परेका थिए’, प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । 

प्रहरीका अनुसार अनुसन्धानपछि महोत्तरी जिल्ला अदालतमा मुद्दा चलाइएको थियो, तर उनी धरौटीमा रिहा भएका थिए । दिलीप र अरुण दुवै जना एकैसाथ रक्सी खाएका बेला आपसी विवादसँगै कुटाकुट भएको थियो । 

कुटाकुटका क्रममा एकअर्कामाथि ढुंगा प्रहार गर्दा अरुणले हानेको ढुंगाले दिलिपको मृत्यु भएको बताइएको छ । घटना पछि आरोपित अरुणलाई पक्राउ गरी कर्तव्य ज्यानको मुद्दा चलाइएको थियो । तर जिल्ला अदालतबाट उनी धरौटीमा रिहा भए । 

बलात्कारी हत्यारालाई फासी देँ !
बर्दिबासमा बालिका गुलाबसाको हत्या भएको खबर जानकारी पाउनासाथ रातिदेखि नै स्थानीयवासीहरु आक्रोशित बने । बिहानै आरोपित अरुणको बर्दिबास स्थित शुभम् वस्तीमा रहेको ३ तल्ले भवनमा रहेको पसल सहित आगो लगाएर जलाइदिए । 

आक्रोशित स्थानीयवासीले छोरी चेली हाम्रा इज्जत हुन् भन्दै इज्जतमाथि आघात पुर्याएको भन्दै दिनभर न्यायका लागि बर्दिबास सडक ठप्प पारे ।

बर्दिबास वडा नम्बर ५ का पवन ढकालले प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउको अभियान चलाइरहेका बेला छोरीचेलीमाथि यस्तो निन्दनीय घटना हुनु दुःखद रहेको भन्दै बलात्कारीलाई फासी दिने कानून बनाउन माग गरे ।

बर्दिबास नगरपालिकाकी कञ्चन खतिवडाले भनिन्,‘छोरी चेलीको इज्जत हाम्रो बर्दिबासको इज्जत हो, हाम्रो समाजको इज्जतमाथि खेलवाड गर्नेलाई समाजले मृत्यूदण्ड नै दिनुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप