बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल

मङ्गलबार, ०९ मङ्सिर २०७७, १६ : ४७
मङ्गलबार, ०९ मङ्सिर २०७७

धनगढी । नेपाल आयल निगमले सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन नयाँ डिपो स्थापनाको पहल गरेको छ । निगम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख चित्तरञ्जन दासले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने सरकारको नीतिअनुसार सुदूरपश्चिम प्रदेशमा नयाँ डिपो स्थापनाको पहल भएको बताए । 
 
यसका लागि कैलालीको गोदावरी नगरपालिका, स्याउले बजार नजीक रहेको शिवशक्ति महिला सामुदायिक वन क्षेत्रको जग्गाको पहिचान गरिएको जनाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट नेतृत्वको टोलीले केही दिनअघि सो जग्गाको स्थलगत रुपमा अध्ययन गरेको थियो ।  “नयाँ डिपो स्थापनाका लागि पहिचान गरिएको यो जग्गा प्राप्तिको पहल गर्न लागिएको छ”, दासले भने, “जग्गा प्राप्तिपछि ‘भर्टिकल‘ ट्याङ्कीसहितका संरचना निर्माणको प्रक्रिया शुरु गरिने छ ।”

झण्डै चार दशकअघि धनगढीको चटकपुरमा स्थापित निगमको कार्यालय परिसरमा पेट्रोलिम पदार्थको भण्डारण क्षमता घट्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा हाल दैनिक ४०० किलोलिटर डिजल र २०० किलोलिटर पेट्रोलको माग रहेको जनाइएको छ ।  सो मागका आधारमा निगमसँग तीन दिनलाई पुग्ने क्षमताको डिजलको ट्याङ्की र आधा दिनलाई पुग्ने क्षमताको पेट्रोलको ट्याङ्की मात्र छन् । माग बढ्दै जाँदा डिपोमा भण्डारण गरिने पेट्रोलियम पदार्थले धान्न नसक्दा ढुवानी गर्ने ट्याङ्करमा नै पेट्रोलियम पदार्थ भण्डारण गरिराख्नुपर्ने अवस्था छ ।

कार्यालय परिसरमा रहेको भण्डारण डिपो पछिल्ला वर्षमा मानव बस्तीले घेरिन थालेसँगै कुनै पनि समयमा जोखिम निम्तिनसक्ने खतरा पनि छ । डिपो परिसरमा पेट्रोलियम पदार्थ लिएर आउने ट्याङ्कर अड्याउने ठाउँसमेत अभाव हुँदा कार्यालय बाहिर रहेको ‘छ लेन‘ सडकका छेउमा ट्याङ्कर अड्याएर राख्नुपर्ने अवस्था छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप