शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विशङ्खुनारायण मन्दिरमा एकादशी मेला नलाग्ने

मङ्गलबार, ०९ मङ्सिर २०७७, १३ : ४२
मङ्गलबार, ०९ मङ्सिर २०७७

सुभानु आचार्य 

ललितपुर । हरेक वर्ष विशङ्खुनारायण मन्दिरमा हरिबोधनी एकादशीको दिन लाग्दै आएको एकादशी मेला यस वर्ष नलाग्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ को जोखिमका कारण यस वर्ष हरिबोधनी एकादशी दिन लाग्ने मेला पूर्ण रुपमा बन्द गरिएको छ ।

गोदावरी नगरपालिका–२ स्थित सो मन्दिरमा एकादशीको मेलामा भक्तजन बढी मात्रामा दर्शन गर्न आउने भएकाले कोभिड–१९ को उच्च जोखिमलाई मध्यनजर गरेर मेला लाग्न नदिने निर्णय गरेको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, “मन्दिर प्रवेश गर्ने ठाउँ साँघुरो रहँदा भक्तजनको भीडभाडले कोरोना फैलिने सम्भावना उच्च रहेकाले मेला लाग्न रोक लगाइएको हो ।”

नारायण दर्शन गर्न देशभरका मानिस विशङ्खु आउने हुँदा यसवर्ष कोभिडका कारण नआउन अनुरोध गरिने वडाध्यक्ष देवेन्द्रकुमार बस्नेतको भनाइ छ । मन्दिरमा अन्य दिन झै हरिबोधनी एकादशीको दिनपनि नित्य पूजा मात्र आयोजना गर्ने भएको विशङ्खुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए ।

उनले भने, “हामीले भोलि स्थानीयवासीलाई समेत मन्दिर प्रवेशमा रोक लगाउने भएका छौं । मन्दिरमा मानिसको चहलपहल देखिने वित्तिकै भीड बढ्ने हुँदा स्थानीयवासीलाई पनि दर्शन गर्न दिइने छैन । नारायण मन्दिरमा कात्तिक १ गतेदेखि मङ्सिर पूर्णिमासम्म दर्शनार्थीको घुइँचो लाग्ने गथ्र्यो ।” यस वर्ष कोरोना फैलिने ख्याल गरेर मन्दिरमा हुने दैनिक भजनकृतनमा समेत रोक लगाइएको उनको भनाइ छ । 

नेपालका चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रुपमा पुजिने गरिएको समितिका सल्लाहकार पुरुषोतम विष्टले बताए । उनले भने, “हिन्दू धर्मावलम्बीले भक्तपुरको चाँगुनारायणलाई जेठो नारायण, काठमाडौं दक्षिणकालीमा रहेका शेषनारायणलाई साइला नारायण र इचङगुनारायणलाई कान्छो नारायणका रुपमा पुज्ने गरेका छन् ।” हरेक वर्ष पुस १ गते विशङ्खुनारायण भगवानको महास्नान हुने गर्छ । महास्नानको दिन वर्षमा एक पटक मात्र भगवानको मूर्तिलाई बाहिर निकालिने चलन रहेको विष्टले जानकारी गराए ।

मुलुकमा कोरोना महामारी आउनुअघि विशङ्खुनारायण मन्दिरमा हरेक हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गथ्र्यो । यहाँ नारायणको पूजा र आरधनाका लागि टाढाटाढाबाट भक्तजन आउने गर्थे । शनिबार र सार्वजनिक बिदाका दिन पनि विशङ्खु घुम्ने, दर्शन गर्ने र वनभोज खाने मानिसको चहलपहल उत्तिकै हुन्थ्यो । हरिबोधनी अर्थात ठूलो एकादशीको दिनदेखि भगवान नारायण जलबाट उठ्ने हुँदा कात्तिक महिनाभर हिन्दू धर्मावलम्बीले चार नारायणको दर्शन गने परम्परा नेपालमा रहेको छ । 

गत वर्षको मेलामा रु ८० देखि ८२ हजार रुपैयाँ उठेको समितिले जनाएको छ । विशङ्खुनारायणथान ललितपुरको एक प्रसिद्ध तीर्थस्थल हो । यो मन्दिर जमिन सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको छ । यो मन्दिर लगनखेलबाट १० किलोमिटर टाढा पर्छ । मन्दिरमा भगवान नारायणको प्रिय बाजा नगरा बजाउने चलन छ । यहाँ केही वर्ष अघिदेखि एक महिलाले भगवानको बिहान पूजासँगै साँझ आरती गर्दा नगरा बजाउँछिन् । 

कात्तिक महिनामा दान, पुन्य गरी जाग्राम बसेर बत्ती बाल्दा श्रीवृद्धि हुने विश्वास हिन्दू धर्मावलम्बीमा रहेको छ । प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने गर्छ । यो एकादशीमा धुनवेँशी, बनेपा, धुलिखेल, मकवानपुर, हेटौंडा, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट भाडामा सवारीसाधन लिएर भत्तजन दर्शनका लागि विशङ्ख आउँथे । 

विशङ्खुनारायण मेलामा विशेष गरी उखु, खुवा, पिँडालु, बदाम, वन तरुल, सखरखण्डलगायत स्थानीय बारीमा उत्पादन भएका तरकारी अनि फलफूल खुबै बिक्री वितरण हुने गथ्र्यो । हरिशयनी एकादशीको दिनमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिन व्रत बसेर राधाकृष्णको नाममा विभिन्न पकवान बनाएर, फूल, माला, फलफूल बस्त्र र रङ्ग लगाइदिएर पूजाआरधना गर्ने चलन नेपाली समाजमा रहिआएको छ । ठूलो एकादशीको भोलिपल्ट आ–आफ्ना घरमा तुलसी रोपेका मानिसले होमयज्ञ गरेर तुलसीको उध्यापन गर्ने गर्छन् । 

भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामाकरण भएको स्थानीयवासी ८५ वर्षीय गोविन्द विष्टले जानकारी गराए । उनले भने, “यो मन्दिर बह्मा, विष्णु र महेश्वरको पालादेखि सुष्टि भएको हो ।” 

एक सय ३१ को मृत्यु

ललितपुरमा कोरोना सङ्क्रमण भएर हालसम्म १३१ व्यक्तिले ज्यान गुमाइसकेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कूल कोभिड सङ्क्रमित सङ्ख्या १२ हजार १४ पुगेको छ । यसैगरी कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या नौ हजार ९८२ पुगेको हो । जिल्लाभर सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ९०१ पुगेको कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप