
हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ

देउखुरी । आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई प्रहरीले पक्राउ गरेको हो ।
चिर्पटको प्रहारबाट गम्भीर घाइते भएकी केशरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन गुमाएको बताइएका जीवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, नौ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजुलाई समेत घरमा सुतिरहेका अवस्थामा एक्कासि चिर्पटले टाउकामा हानी घाइते बनाएका थिए । उक्त घटनाको खबर पाउनासाथ अस्थायी प्रहरीचौकी कालाकाटेबाट खटिएको प्रहरी टोलीले जीवनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ