मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

“जति नै प्रयास गरे पनि म र मेरो टिमको विजय यात्रालाई गोल्छाजीले रोक्न सक्नु हुन्न”

मेरो उम्मेदवारी निजी क्षेत्रको शाख जोगाउनका लागि हो : वरिष्ठ उपाध्यक्षका दाबेदार चन्द्रप्रसाद ढकालसँग गरिएको चुनावी वार्ता (भिडियो सहित)
मङ्गलबार, ०९ मङ्सिर २०७७, १२ : १३
मङ्गलबार, ०९ मङ्सिर २०७७

“उत्पादनमूलक, सेवा, व्यापार, जलविद्युत्, कृषि, पर्यटन, साना तथा मझौला सबैखाले व्यवसायको सुनिश्चित प्रतिनिधित्व हाम्रो टिममा छ । यसैले हाम्रो टिमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिङ गर्नेछ ।”

निजी व्यावसायिक क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न चुनावलाई लिएर यतिखेर सिङ्गो व्यावसायिक क्षेत्र तरङ्गित छ । यही मङ्सिर १३ गते हुने महासङ्घको चुनावका लागि वरिष्ठ उपाध्यमा दुई व्यवसायी हस्ती चन्द्रप्रसाद ढकाल र किशोर प्रधान आमुन्ने सामुन्ने हुने भएपछि चुनाव थप रोचक बनेको छ । अहिले चुनावलाई नै लिएर यी दुई व्यक्तिको चर्चा शिखरमा छ । कसको पक्षमा को ? कसको कति मत ? महासङ्घको चुनावमा कसले बाजी मार्ला ? अहिले विभिन्न कोणबाट बाहिर टीकाटिप्पणी भइरहेको छ । चुनाव अगावै दुई पक्षको चुनावी मतलाई लिएर अङ्गगणित जोडघटाउ भइरहेको छ । त्यसो त ढकाल र प्रधान मात्र होइन उनीहरुले नेतृत्व गरेका दुवै प्यानको उत्तिकै रस्साकस्सी चलेको छ ।

यद्यपि हालका वरिष्ठ उपाध्यक्ष तथा ५४औँ साधारण सभा पछिका महासङ्घ अध्यक्ष शेखर गोल्छाले भने किशोर प्रधानलाई आफ्नो नैतिक समर्थन दिएका छन् । यसले पनि वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल गोल्छासँग रुष्ट बनेका छन् । तथापि चुनावको मिति नजिकिँदै गर्दा माहोल भने निकै तातिरहेको छ । यसै सेरोफेरोमा रहेर हामीले एक वरिष्ठ उपाध्यक्षका दाबेदार चन्द्रप्रसाद ढकालसँग चुनावी वार्ता गरेका छौँ । प्रस्तुत छ ढकालसँग गरिएको यो सङ्क्षित वार्ताः

नेपाल उद्योग वाणिज्य महासङ्घमा तपाईंलाई प्रतिस्पर्धी किशोर प्रधानभन्दा जुनियर भन्ने आरोप लागेको छ । तपाईंले हतार गर्नुभयो भन्ने पनि छ नि ?

उद्योग वाणिज्य महासङ्घमा को सिनियर र को जुनियर भन्ने हिसाब गर्नुभन्दा कसले कति काम गरेको छ भनेर हेर्नु उचित होला । हिजो कसले कति गर्न सक्यो, भोलि कसले कति गर्न सक्छ भन्ने प्रश्न महत्त्वपूर्ण छ र यसैका आधारमा आम मतदाता व्यवसायी साथीहरुले यसको निर्णय गर्नुहुनेछ । निश्चय पनि अग्रजहरुको सम्मान गर्नुपर्छ भने अग्रजहरुले पनि आफूभन्दा योग्यलाई अवसर दिनुपर्छ, अर्थात बाटो खोलिदिनु पर्छ । महासङ्घमा कोही पेन्सन पकाउन आएको हुँदैन ।  महासङ्घमा उहाँ पहिले प्रवेश गर्नुभयो भन्दैमा अरूले छाडिदिनुपर्छ भन्ने तर्क उचित मान्न सकिँदैन । अर्कोतर्फ उहाँभन्दा पछि आउनुभएका शेखर गोल्छाजीसँग नै उहाँ साढे तीन वर्षअघि पराजित हुनुभएको हो । अहिले गोल्छाजीकै उम्मेदवार उहाँ हो भने शेखरजीका हकमा सिनियर र जुनियर लागू नहुने र मेरो हकमा त्यसलाई इस्यु बनाइन्छ भने त्यसमा कुनै तुक देख्दिनँ । उहाँभन्दा महासङ्घका लागि मैले आफूलाई योग्य ठानेँ र मभन्दा अर्को योग्य आउँछ भने मैले पनि छाड्नुपर्छ । हैन भने खेलको नियमअनुसार हारजित जे भए पनि परिणाम स्वीकार्नुपर्छ र स्वस्थ प्रतिस्पर्धामा विश्वास राख्नुपर्छ ।

समृद्धिको यात्रामा यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन सकेको छैन । चाहिएको बेला अभिभावकको भूमिका पाउन सकिरहेको छैन । महासङ्घमा मेरो उम्मेदवारी त्यो सम्मान पाउनका लागि हो । राज्यबाट अभिभावकत्व पाउनका लागि पनि हो । हिजो अस्ति राज्यसँग लडेर त्यो भूमिका खोज्नुपर्दथ्यो, सम्मान माग्नु पर्दथ्यो । तर आज लडाइँ होइन संवाद गरेर हाम्रा हक खोज्नुपर्छ । हाम्रो सम्मान फिर्ता ल्याउनुपर्छ ।

तपाईंले महासङ्घमा १० वर्षसम्म रहेर हिजोका दिनमा निजी क्षेत्रका निमित्त गर्व गर्नलायक के उपलब्धि हासिल गर्नुभयो ?

मैले के गरेँ भनेर आफै दाबी गर्नुभन्दा मेरा अग्रजहरुबाटै मेरो मूल्याङ्कन गरिनु उपयुक्त होला । म महासङ्घ कार्यकारिणी समिति सदस्यमा पहिलो पटक चुनिँदा अध्यक्ष रहनुभएका आदरणीय सुरज वैद्यदेखि हालको कार्यकारिणी समितिमा रहेर कति उपलब्धि हासिल गर्न सकेँ, दिइएको जिम्मेवारी कति पूरा गर्न सकेँ भनेर हेर्दा प्रष्ट हुन्छ । रोजगारदाता परिषदको सभापतिका रूपमा न्यूनतम पारिश्रमिक विवादको समाधानदेखि लकडाउन अवधिको तलबमान निर्धारणमा सरकारको निर्णयभन्दा एक कदम अगाडि सरेर मजदुर प्रतिनिधिलाई ५० प्रतिशत तलबमा सहमत गराउन सकेको र यसलाई सिङ्गो निजी क्षेत्रको नेतृत्व गर्न पाएको अवसरलाई मैले उपलब्धिका रूपमा लिन्छु । दुर्गमका जिल्लानगरदेखि अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत महासङ्घको उपस्थितिका लागि अहोरात्र खटेको छु । नीति निर्माणका तहमा निजी क्षेत्रका आवाज मुखरित गरेकै छु । महासङ्घको प्रादेशिक संरचनाअनुसार स्थापना भएको प्रदेश उद्योग वाणिज्य सङ्घको पूर्वाधारको व्यवस्थालगायत जिल्ला नगरका हरेक इस्यु र जिल्लाका साथीहरुका गुनासाहरुलाई सुल्झाउने प्रयास गरेको छु । यी सबै कामको साक्षी महासङ्घका साथीहरु हुनुहुन्छ ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा तपाईंको उम्मेदवारी किन ? आफ्नो उम्मेदवारीको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ?

हामीले भनेका छौँ निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राको दरिलो खम्बा हो । तर समृद्धिको यात्रामा यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन सकेको छैन । चाहिएको बेला अभिभावकको भूमिका पाउन सकिरहेको छैन । महासङ्घमा मेरो उम्मेदवारी त्यो सम्मान पाउनका लागि हो । राज्यबाट अभिभावकत्व पाउनका लागि पनि हो । हिजो अस्ति राज्यसँग लडेर त्यो भूमिका खोज्नुपर्दथ्यो, सम्मान माग्नु पर्दथ्यो । तर आज लडाइँ होइन संवाद गरेर हाम्रा हक खोज्नुपर्छ । हाम्रो सम्मान फिर्ता ल्याउनुपर्छ । म र हाम्रो टिमले त्यसका लागि दिलो ज्यान दिए काम गर्नेछ । यसका लागि म मात्र नभई समग्रमा हाम्रो टिमले महासङ्घमा गएर काम गर्नेछ । बोलीमा नभई व्यवहारमा पनि निजी क्षेत्रको आत्मसम्मान पुनजागृत गराउन हामी महासङ्घ नेतृत्वमा पुग्नुपर्ने अवस्था छ । कोरोनाले थलिएको निजी क्षेत्र र देशको अर्थतन्त्र माथि उकास्न पनि सक्षम र सबल नेतृत्व चाहिन्छ र यसैका लागि हामी महासङ्घ नेतृत्वका लागि अघि बढेका हौँ ।

म महासङ्घमा द्विराष्ट्रिय र एसोसिएटबाटै प्रतिनिधित्व गरेको कुरामा साँचो भए पनि जिल्लानगरका साथीभाइसँग सबैभन्दा बढी भिजेको छु । म आज पनि ताप्लेजुङदेखि दार्चुलासम्मका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका साथीहरुलाई सम्बन्धित जिल्लामै गएर भेट्ने महासङ्घको एक मात्र पदाधिकारी हो भन्दा मलाई गर्व लाग्छ । बागलुङमा जन्मेको मलाई गाउँ वा जिल्ला के हो भन्ने थाहा नै छैन भन्नु हास्यास्पद आरोप वा टिप्पणी मात्र हो ।

निजी क्षेत्रलाई हेर्ने राज्य र समाजको दृष्टिकोण त त्यति सकारात्मक छैन नि ?

यसका विभिन्न कारण छन् । कतिपय अवस्थामा हाम्रा कमजोरी भए पनि समग्रमा भने निजी क्षेत्रको महत्त्व राज्य र समाजलाई बुझाउन नसकिएको अवस्थाले हो । निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको बलियो इन्जिन हो । यो इन्जिनलाई चलाउन निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ । यो कुरालाई स्थापित गरेर देखाएपछि हामीमाथिको दृष्टिकोण स्वतः बदलिनेछ । यसका लागि राज्य र निजी क्षेत्रबीच नै हातेमालो आवश्यक छ । हामीले औद्योगिक र व्यापारिक वातावरण बनाउन अझै थुप्रै काम गर्न बाँकी छ । ती के काम हुन् भनेर हामीले पहिचान गरिसकेका पनि छौँ । एजेन्डाका रूपमा अगाडि बढाएका पनि छौँ । हामी नेतृत्वमा आउनासाथ ती क्षेत्रमा काम थाल्नेछौँ । यसले सिङ्गो निजी क्षेत्रप्रतिको धारणा बदल्नेगरी काम गर्ने हाम्रो प्रयास रहनेछ ।

तपाईं एसोसिएट पृष्ठभूमिको व्यक्ति हुनुहुन्छ । बरु एउटा विषयगत सङ्घको नेतृत्व गर्नुभयो तर जिल्लानगरको समस्याप्रति त्यति जानकार हुनुहुन्न भन्ने आरोप पनि छ नि ?

म महासङ्घमा द्विराष्ट्रिय र एसोसिएटबाटै प्रतिनिधित्व गरेको कुरामा साँचो भए पनि जिल्लानगरका साथीभाइसँग सबैभन्दा बढी भिजेको छु । म आज पनि ताप्लेजुङदेखि दार्चुलासम्मका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका साथीहरुलाई सम्बन्धित जिल्लामै गएर भेट्ने महासङ्घको एक मात्र पदाधिकारी हो भन्दा मलाई गर्व लाग्छ । बागलुङमा जन्मेको मलाई गाउँ वा जिल्ला के हो भन्ने थाहा नै छैन भन्नु हास्यास्पद आरोप वा टिप्पणी मात्र हो । जिल्ला नगरका साथीहरुलाई म विश्वास दिलाउन चाहन्छु । हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागि उद्योग वाणिज्य सङ्घको सिफारिस चाहिने कुरालाई उठाउने छौँ । नगरपालिकाको व्यावसायिक करमा उद्योग वाणिज्य सङ्घलाई सहभागिता लागू गर्न पहल गर्नेछौँ । यति मात्र नभई  निम्न आय भएका उद्योग वाणिज्य सङ्घलाई कम्तीमा वार्षिक पाँच लाख रूपैयाँको आम्दानीको स्रोत जुटाउनका लागि मोडल बनाउने छौँ । उद्यमशीलता विकासको तालिम दिने,  एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई फेरि लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा रहनेछ । त्यसैगरी जिल्लाका नापतौल, अनुगमन, बैङ्किङ, राजस्व लगायतका समस्या समाधान गर्न महासङ्घसँग सीधै जोडिने गरी संयन्त्र बनाउने योजना अगाडि सारेका छौँ ।

हामीले भनेका पनि छौँ, यी कामका लागि हामी नेतृत्व मात्रै होइन्, महासङ्घको सचिवालयलाई पनि विश्वासिलो, भरपर्दो र डायनामिक बनाउँछौँ ।

कोरोना महामारीले उद्योग र व्यवसाय सबैभन्दा बढी मारमा छ । इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्था हामीले भोग्न थालेका छौँ । अझै पनि यो महामारीले कुन रूप लिने हो स्पष्ट भएको छैन । त्यही कारण यो सङ्कटसँग जुध्न पनि हामीलाई बलियो काँध चाहिएको छ ।

निर्वाचनमा तपाईंको टिम पनि छ । यो टिमको स्ट्रेन्थ के हो ? 

हाम्रो टिम अनुभवले खारिएको छ । केही गरौँ भन्ने उत्साह छ । युवा जोशदेखि दशकौँ लामो व्यावसायिक तथा चेम्बर आन्दोलनको अनुभवले भरिपूर्ण टिम छ भने मूल कुरा संविधानले सुनिश्चित गरेको समावेशिताको सिद्धान्तअनुसार निजी क्षेत्रले समावेशीकरणमा अभ्यास गर्नुपर्ने व्यावसायिक क्षेत्रगत सन्तुलन पनि हाम्रोमा छ । उत्पादनमूलक, सेवा, व्यापार, जलविद्युत्, कृषि, पर्यटन, साना–मझौलालगायत सबैखाले व्यवसायको सुनिश्चित प्रतिनिधित्व हाम्रो टिममा छ । यसैले हाम्रो टिमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिङ गर्नेछ ।

कोरोना महामारीले उद्योग व्यवसाय नै सङ्कटमा परेको अवस्था छ । यस्तो बेला निजी क्षेत्रबीच यसरी विभाजन आउनु राम्रो हो र ?

कोरोना महामारीले उद्योग र व्यवसाय सबैभन्दा बढी मारमा छ । इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्था हामीले भोग्न थालेका छौँ । अझै पनि यो महामारीले कुन रूप लिने हो स्पष्ट भएको छैन । त्यही कारण यो सङ्कटसँग जुध्न पनि हामीलाई बलियो काँध चाहिएको छ । महामारीको यो बेलामा ज्यान जोगाउने र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासङ्घको नेतृत्वले काम गर्नुपर्ने अवस्था छ । यसैले निजी क्षेत्रमा पनि एकता अपरिहार्य छ । एकताले नै बल दिने भएकाले हामी निर्वाचनअघि जुनसुकै टिममा भए पनि एकताबद्ध हुनुको विकल्प छैन । यस्तो बेला नेतृत्व भनेको सङ्कटको सारथि हो, दुःखको बेला सम्झिने आडभरोसाको केन्द्र हो । त्यसैले प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ हामी लाग्नुपर्ने अवस्था छ र नेतृत्वमा पुगेपछि मेरो प्रयास पनि यसैमा केन्द्रित रहनेछ ।

निर्वाचनमा अलि अस्वस्थ प्रतिस्पर्धा हुन थालेको जस्तो देखिन्छ नि ? के महासङ्घमा राजनीति हाबी हुन थालेको हो ?

राजनीति नै त नभनौँ तर त्यो आभास हुने गरी अहिले मविरुद्ध भावि अध्यक्ष नै हात धोएर लाग्नु भएको छ । यसले केही असहज वातावरण पक्कै बनेको छ । यसलाई मैले महासङ्घको इतिहासकै दुर्भाग्य भनेको छु । तर यसबाट म रत्तिभर विचलित छैन । महासङ्घको विधानअनुसार स्वतः अध्यक्षमा निर्वाचित भइसक्नुभएका व्यक्तिले सबैलाई मिलाएर लैजानुको साटो दूरी बढाउने हिसाबले प्रस्तुत हुँदा भोलि उहाँलाई नै काम गर्न गाह्रो पर्न सक्छ । भलै उहाँले हामीलाई साथ दिनुभएन भन्दैमा भोलिका दिनमा हामी असहयोग गर्ने छैनौँ । तर उहाँको व्यवहारले भने भोलि सबैलाई समेटेर लैजान सक्नु होला र ? भन्ने आशङ्का पैदा भएको छ । पूर्वअध्यक्षहरु मध्ये कतिपय मेरो समर्थनमा हुनुहुन्छ भने कतिपय अर्को पक्षमा हुनुहुन्छ । यसलाई मैले अन्यथा लिएको छैन । तर शेखर गोल्छाजी जसरी प्रस्तुत भइरहनुभएको छ, त्यसलाई इतिहासले अवश्य पनि कुनै दिन मूल्याङ्कन गर्नेछ । उहाँले मलाई खुलेर समर्थन गर्नुपर्दथ्यो भन्ने नभई स्वतन्त्र बसिदिनु पर्दथ्यो भन्ने मात्र मेरो धारणा हो । यद्यपि जति नै प्रयास गरे पनि म र मेरो टिमको सुनिश्चित भइसकेको विजय यात्रालाई गोल्छाजीले रोक्न सक्नुहुन्न । म यो कुरा सगर्व यहाँलाई जानकारी गराउन चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप