बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फूलका विरुवा हेरचाह गर्ने केही टिप्सहरु

मङ्गलबार, ०९ मङ्सिर २०७७, ०६ : ३१
मङ्गलबार, ०९ मङ्सिर २०७७

फूलका विरुवा रोपेर मात्रै हुँदैन, त्यसलाई स्याहार्ने कुरा पनि जानिराख्नु उचित हुन्छ । फूलका विरुवाहरुलाई विभिन्न कीराहरु तथा ढुसीजन्य रोगहरु सताउन सक्छ । त्यसबाट बच्नका लागि केही उपायहरु अपनाउन सकिन्छ । यहाँ विरुवालाई स्वस्थ राख्नका लागि अपनाउन सकिने केही उपायहरुबारे जानकारी दिइएको छ :

नीम तेलः सामान्यतः स्वस्थ विरुवाहरुमा हप्ता दश दिनमा १ पटक छर्कनु राम्रो हुन्छ । त्यसका लागि १ लिटर पानीमा ५ एमएल जति घोलेर स्प्रे गर्ने गर्नुपर्छ । यसले विरुवामा फंगस तथा कीरा लाग्नबाट बचाउँछ ।

बुलेट र किंगहन्टरः यी दुवै कीटनाशक हुन् । विशेषत: वर्षाद्को बेलामा यी विषादी १ लिटर पानीमा २.५ एमएल घोलेर बोटविरुवामा १५ दिनमा १ पटक छर्ने गर्नुपर्छ । यसले बोटविरुवामा लागेका लार्भा, झुसिलेकीरा लगायतका कीराहरुको अतिक्रमणलाई रोक्छ ।

हेक्जाकोनाजोलः फंगल इन्फेक्सन बढी भएको अथवा कडा खालको इन्फेक्सन भएको अवस्थामा यसको प्रयोग गरिन्छ । १ लिटर पानीमा २.५–५ एमल (समस्याको अवस्था हेरेर) हेक्जाकोनाजोल घोलेर स्प्रे गर्न सकिन्छ ।

साफ (फंगिसाइट): सामान्य खालका फंगल इन्फेक्सन भएको अवस्थामा वा स्वस्थ विरुवालाई फंगल एट्याकबाट बचाउन यसको प्रयोग गरिन्छ । सामान्यतः ७–१० दिनमा १ पटक स्प्रे गर्नाले विरुवालाई फंगल इन्फेक्सनबाट बचाउँछ । १ लिटर पानीमा ३ ग्राम यो पाउडर हालेर तयार गर्न सकिन्छ ।

एनपीके: हुर्कँदै गरेको विरुवालाई एनपीके अर्थात् नाइट्रोजन, फस्फोरस र पोटासको संयुक्त मिश्रणले आवश्यक पोषण प्रदान गर्ने काम गर्छ । सामान्यतः १०–१५ दिनमा एक पटक स्प्रे गर्दा विरुवामा राम्ररी पोषण पुग्छ । पात हराभरा हुन्छ । १ लिटर पानीमा २–३ ग्राम हालेर स्प्रे गर्नु पर्छ ।

नीमतेल र झोल साबुन: विरुवामा लाइकिराहरुले सताउने गर्छ । खासगरेर कोपिला लागेको बेलामा यस्ता कीराले धेरै दु:ख दिने गर्छ । त्यस्ते अवस्थामा १ लिटर पानीमा १० एमएल नीमतेल र ५ एमएल झोलसाबुन हालेर स्प्रे गर्ने गर्दा राहत मिल्छ ।

एचबी वानजिरोवानः यसमा विरुवालाई स्वस्थ राख्ने तथा पोषणतत्वहरुका लागि हावा आपूर्ति गर्ने आयोनाइज मिनरल लगायतका माइक्रोन्यूट्रिएन्ट हुन्छ । खासगरी, विरुवामा फूल झर्ने समस्या छ भने यसको प्रयोगले फाइदा गर्छ । एचबी वानजिरोवानको १ थोपा  १ लिटर पानीमा घोलेर हप्तामा एकपटक स्प्रे गर्दा विरुवा राम्रोसँग हुर्कन पाउँछ ।

यी उपायहरु प्रयोग गर्नुअघि विरुवाको सानो भागमा प्रयोग गर्ने र २४ घण्टापछि त्यसको नतिजा हेर्ने गर्दा उचित हुन्छ । विरुवा डढेन वा ओइलाएन भने मात्रै पूरा विरुवामा प्रयोग गर्न सकिन्छ । त्यसको प्रयोग गर्दा विरुवा डढ्यो वा पातहरु ओइलायो भने मात्रा बढी भएकोले गर्दा त्यस्तो भएको हुन सक्छ । त्यस्तो अवस्थामा पानी थपेर मात्रा सन्तुलित गर्न सकिन्छ । विरुवामा कुनै पनि औषधी, विषादि, मल तथा पोषणतत्त्वहरु सुरक्षित ढंगले प्रयोग गर्नको लागि सबैभन्दा उत्तम विधि नै यही हो ।

माथि उल्लिखित झोलहरु हप्तामा एकचोटी मात्र प्रयोग गर्दा राम्रो हुन्छ । साथै, यिनीहरुको प्रयोग एकैचोटी गर्नुहुँदैन, दिन विराएर फरक फरक बारमा आवश्कयताअनुसार आलोपालो गर्न सकिन्छ । यिनीहरुको प्रयोग कि त बिहान ७ बजेअघि वा बेलुकी ४–५ वजेपछि मात्रै गर्दा राम्रो हुन्छ । यसो गर्दा घामको रापले औषधी चाँडै उडेर त्यसलाई निष्प्रभावी बनाउने सम्भावना रहँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप