बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देशकै नमुना बन्ने बाटोमा छत्रदेव गाउँपालिका

सोमबार, ०८ मङ्सिर २०७७, १५ : २१
सोमबार, ०८ मङ्सिर २०७७

गुल्मी । अर्घाखाँचीको छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोखरेलले विकास र जनताका समस्या समाधानका दृष्टिले छत्रदेव गाउँपालिका अरुभन्दा अब्बल रहेको दावी गरेका छन् । विकासका दृष्टिले पनि जनताको दैनिक जीवनलाई सहज हुने गरी काम गरिरहेको उनले बताए ।

‘देशमै सबैभन्दा पहिला खरको छानामुक्त गाउँपालिका घोषणा गर्ने छत्रदेव गाउँपालिका हो,’ अध्यक्ष पोखरेलले भने, ‘काठको पोलमुक्त गाउँपालिका पनि घोषणा गरिसकेका छौं, सबै दलितको घरमा निःशुल्क सोलर बत्ती वितरण गर्ने नेपालकै पहिलो गाउँपालिका पनि हाम्रै हो भन्ने मलाई लाग्छ ।’

उनले सबै दलितहरुको घरमा विद्युतको पहुँच पुगेको पनि बत्ती नआएको बेला अरुले सोलार किनेर भए पनि काम चलाउने गरेको तर दलितहरुले सोलार किन्न नसक्ने भएका कारण चौबिसै घण्टा उज्यालो दिन एक हजार २ सय ४६ दलित समुदायको घरमा सोलार बत्ती बाँडिएको बताए ।

खानेपानीको अभाव पुरा गर्न गाउँपालिकामा ४० करोडको खानेपानी योजना पारिएको उल्लेख गर्दै उनले हालसम्म २५ सय ५२ घरधुरीमा एक घर एक धारा कार्यक्रम सम्पन्न गरिएको जनाए । गाउँपालिका सबै घरधुरीमा एक घर एक धारा पु¥याईने उनको दावी छ ।

गुल्मीको सदरमुकाम तम्घासदेखि सन्धिखर्क जोड्ने मुख्य सडक कालोपत्रे गर्नका लागि  ३६ करोडमा टेण्डर भई कालोपत्रे गर्न लागिएको उनले बताए । उनले ९ करोड लागतमा गाउँपालिकाको प्रशासनिक भवन, कर्मचारी आवासगृह निर्माण हुने क्रममा रहेको जानकारी दिए ।

कृषि प्राविधिक शिक्षाका लागि गाउँपालिकाले ६० लाख खर्चेर ४० जनालाई तीन बर्षसम्म पढाउन लागेको पनि उनले बताए । कोभिड १९ का कारण संघीय सरकारले सम्बोधन गर्न नसकेका विषयमा गाउँपालिका स्वयंले बित्तीय दायित्य लिएर पनि ९७ प्रतिशत बित्तीय प्रगति हासिल गरेर नेपाल कै नमुना गाउँपालिका बन्न सकेको उनको दावी थियो ।

भौतिक पूर्वाधार विकासमा  मात्र नभई सुशासन र  आर्थिक पारदर्शीतामा पनि छत्रकोट गाउँपालिका देशका ४ सय ६० गाउँपालिकामध्ये दोश्रो हुन नपर्ने गरी काम गरिरहेको उनले बताए ।

उल्लेखनीय कार्य गरेका छौंः उपाध्यक्ष

छत्रदेव गाउँपालिका उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठले पनि आफुहरुले कार्यभार सम्हालेदेखि उल्लेखनीय कार्य गर्दै आएको दावी गरिन् । ‘विकास निर्माणमा मात्र होइन, म न्यायिक समितिको संयोजक समेत भएकोले महिलाहरुको न्यायको क्षेत्रमा र उहाँहरुलाई आयआर्जनका कार्यक्रमहरु दिएर उद्यमशील बनाउनमा समेत उल्लेखनीय कार्य भएको छ,’ उनले भनिन् ।

उनले ५ हजार वर्ष पुरानो शक्तिपीठ उल्का छत्रदेवालयसम्म पदयात्रा गर्दै पुग्ने  बाटोको दुबैतर्फ आकर्षक रेलिङसहित सिढीको काम पनि अन्तिम चरणमा पुगेको जानकारी दिईन् ।

अवसरका रुपमा लिएको छु: प्रमुख प्रशासकीय अधिकृत 

दुई महिना अघिमात्र सरुवा भई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आएका पवन अर्यालले एउटा कर्मचारीका रुपमा मात्र नभई आफूले स्थानीय बासिन्दा भएको हैसियतले जिम्मेवारी निर्वाह गर्ने बताए । ‘मेरो यो जन्मभूमि पनि भएकोले केही चुनौती होलान्, त्यसको बावजुद् पनि राम्रा काम गरेर देखाउने अवसरको रुपमा लिएको छु,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप