शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : जसपा संसदीय दलको नेता चयनमा किचलो !

सोमबार, ०८ मङ्सिर २०७७, १३ : ०४
सोमबार, ०८ मङ्सिर २०७७

जनकपुर । जनता समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीचको एकीकरण पश्चात नवगठित जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रदेश २ संसदीय दलको नेता बन्नका लागि आन्तरिक दौडधुपसँगै विवादहरु समेत सतहमा आउन थालेको छ ।

संसदीय दलका नेता नै प्रदेशको मुख्यमन्त्री बन्ने प्रावधानका कारण जसपामा किचलो देखिएको हो । संसदीय दलका नेता चयन हुन नदिन पार्टी दर्ताको निर्वाचन आयोगले दिएको पत्र समेत सुरुमा प्रदेशसभामा दर्ता नै नगराई मुख्यमन्त्री लालबाबु राउतले लुकाएको आरोप जसपा निकट प्रदेशसभा सदस्यहरुको छ ।

जबकी पार्टी दर्ता भएको सूचना राजपत्रमा २०७७ साउन १२ गते प्रकाशित भएको थियो । त्यस्तै २०७७ साउन ३० मा नै निर्वाचन आयोगले दल दर्ताको विषयको पत्र प्रदेश सभामा पठाएको थियो । तर जसपाका नेताहरुको बीचमै संसदीय दलका नेताका लागि विवाद देखिएको र दुवै पार्टीका सचेतक सुविधा लिँदै आइरहेका छन् । जसले गर्दा सो पत्र नै दर्ता गराउन नेताहरुले आनाकानी गर्दै आइरहेका थिए भने मुख्यमन्त्री लालबाबु राउतले पनि सो पत्र नै दर्ता गराएका थिएनन् । 

तर, गत कात्तिक २७ गते प्रदेश सभामा भने पत्र दर्ता गराइएको प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए । यद्यपी अहिलेसम्म संसदीय दलको नेताको चयनका लागि कुनै प्रक्रिया भने गरिएको छैन । 
जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले दल दर्ताको विषयमा पत्र प्रदेश सभामा दर्ता गराउन तत्कालिन समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र प्रसाद यादव र राजपाका सचेतक परेमश्वर साहलाई दिएपनि सो पत्र उनीहरुको ढिलासुस्तीका कारण अन्य नेताहरुको दवावमा आएर दर्ता गराइएको थियो ।

प्रदेशसभामा दल दर्ताको पत्र दर्ता भएसंगै पनि ढिलासुस्ती भएको हो । प्रदेशसभाका निमित्त सचिव यादवले दल दर्ताको पत्र २७ गते प्रदेश सभामा दर्ता भएकोले अब सचेतकहरुले आ–आफ्नो सुविधा फिर्ता गर्नुपर्ने जानकारी दिए । उनले भने, ‘नयाँ सचेतक चयनपछि मात्रै पुनः चयन भएका सचेतकलाई सुविधा उपलब्ध गराइने छ ।

तर पार्टीमा सबै भन्दा बढी समस्या संसदीय दलका नेता चयन गर्नमा देखिएको छ । अध्यक्ष यादवको उपस्थितिमा बसेको बैठकले संसदीय दलको विधान बनाउनका लागि एक समिति गठन गरिएको थियो । तर सो समितिले कार्तिक १८ गते नै विधानको मस्यौदा अध्यक्ष यादव र ठाकुरलाई दिएपनि त्यसलाई पारित गराउन कुनै पहल नभएको बताइएको छ । विधान मस्यौदा समितिका सदस्य रामअशिष यादवले विधानको मस्यौदा पार्टी नेतृत्वपंक्तीलाई बुझाइसकिएको बताउँदै पार्टीले गर्ने निर्णय अनुसार नै संसदीय दलको नेता छनौट गर्नका लागि निर्वाचन प्रकृया अघि बढाइने बताए ।

यता स्रोतका अनुसार संसदीय दलका नेता छनौट गर्नका लागि बनाइएको विधान मस्यौदा समितिले तयार गरेको मस्यौदा पार्टी भित्रै पारित गराएर मात्रै बुझाउनु पर्ने भएपनि समितिका संयोजक मनिष सुमन एक्लै मस्यौदा बुझाएको जनाए ।

विधानलाई संसदीय दलको बैठकबाट पारित गराएर नेता चयनको प्रक्रिया सुरु हुनेछ । तर विधान पारित गराउनमै समस्या देखिएको छ । संसदीय दलका नेता बन्नका लागि आकांक्षीहरुको संख्या करिब आधा दर्जन छन् ।

संसदीय दलका नेता बन्नका लागि मुख्यमन्त्री लालबाब राउतसहित भौतिक विकास पूर्वाधार मन्त्री जितेन्द्र सोनल, प्रदेशसभाहरु सदस्य उपेन्द्र महतो, मनिष सुमन लगायतकले दावेदारी प्रस्तुत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप