शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–प्रचण्ड मिलाउन दौडधुप गर्ने नेता भन्छन्–अवस्था अझै सकारात्मक छैन

‘नेकपा विवादमा ओलीले नै निकास दिनुपर्छ’
सोमबार, ०८ मङ्सिर २०७७, १२ : २६
सोमबार, ०८ मङ्सिर २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’  बीचको विवाद मिलाउन दुवैतर्फका दोस्रो तहका नेताहरुले दौडधुप तीव्र बनाएका छन् ।  सोमबार बिहान मात्रै स्थायी समिति सदस्य हरिबोल गजुरेल र टोपबहादुर रायमाझीले अध्यक्ष प्रचण्डलाई खुमलटारमा भेटेर सहमतिका लागि आग्रह गरेका छन् । 

यस्तै ओलीलाई पनि दोस्रो तहका नेताहरुले बारम्बार भेटेर सहमतिका लागि दवाव दिँदै आएका छन् । ‘कमिकमजोरीलाई औँल्याउदै पार्टी एकतालाई जोगाउनु नै अहिलेको आवश्यकता हो । त्यसका लागि सहमतिको विकल्प छैन’, प्रचण्ड र ओलीलाई भेट्न पुगेका एक नेताले भने, ‘त्यसका लागि हाम्रो तर्फबाट प्रयास जारी छ । हामीले ओली र प्रचण्ड दुवैलाई यही कुरा भन्दै आएका छौँ ।’ 

उनले आफूहरुसँगको भेटमा दुवै नेता पार्टी एकता कायम राख्ने विषयको विपक्षमा नदेखिएपनि सहज र सकारात्मक अवस्था नरहेको प्रतिक्रिया दिए । ‘दुवैतिरको अहिलेसम्मको अवस्था बुझ्दा अवस्था सहज त छैन । तरपनि पार्टी एकताको डोरो चुडिसकिएको पनि होइन ।’

आइतबार ओली पक्षका स्थायी समिति सदस्यहरु शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली तथा प्रचण्ड पक्षका जनार्दन शर्मा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल देवेन्द्र पौडेल र चक्रपाणि खनालबीच दुई नेतालाई मिलाउन करिव २ घण्टा छलफल भएको छ । सहमतिका लागि छलफल र संवाद गरेको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । 

छलफलमा सहभागी अर्का एक नेताका अनुसार गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकका निर्णयहरुको कार्यान्वयन नभएकैले समस्या बल्झिएको निष्कर्ष निकालिएको छ । 
‘हामीले केहीदिनयता प्रायः ओली र प्रचण्ड दुवैलाई भेटेका छौँ । त्यसपछि दुवै पक्षका दोस्रो तहका नेताहरुबीच पनि निरन्तर छलफल र संवाद भइरहेको छ’, छलफलमा सहभागी ती स्थायी समिति सदस्यले भने,‘पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत रहेकाले ओलीजी अलि बढी गम्भीर हुन जरुरी छ । निकास ओलीजीले नै दिनुपर्छ त्यसो भएमा तत्कालको संकट पनि टर्छ ।’

नेताहरुका अनुसार दोस्रो पक्षका नेताहरुको बीचमा भएको छलफलमा ओली पक्षका नेताहरु समेत कार्यदल र स्थायी समितिका निर्णय कार्यान्वयन नहुँदा समस्या आएकोमा सहमत देखिएका छन् । 
‘कार्यदल र स्थायी समितिको निर्णयले महाधिवेसनसम्म जानेगरी मार्ग प्रशस्त गरेको हो । त्यसमा गरिएको कार्यविभाजन कार्यन्वयन नहुँदा यो समस्या आएको हो । यो कार्यान्वयन गर्ने ठाउँमा केपी ओली नै हुनुहुन्छ । त्यसकारण

उहाँले पार्टी एकतालाई जोगाउने र निकास दिने काम गर्नुपर्छ भनेर हामीले भनेको छौँ । हाम्रो भनाइमा शंकरजी र विष्णुजी पनि सहमत हुनुभएपनि ओलीसँग छलफल गर्ने बताउनुभएको छ’, ती नेताको भनाइ छ । 
मध्यमार्गी भूमिका निभाइरहेका ती नेताले प्रचण्डका पनि केही कमजोरी रहेको भन्दै त्यसमा महशुस गर्नुपर्ने तथा निर्णयहरु कार्यान्वयन गर्ने ठाउँमा ओली नै भएकाले निकास पनि उहाँले नै दिनुपर्छ भनेर सुझाव दिएको बताए । गत

गत मंसिर ३ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिनुपर्ने ओली पक्षको अडान छ । तर, प्रचण्ड पक्ष भने उक्त प्रस्ताव कुनै हालतमा फिर्ता नगर्ने अडान रहेको छ । 
ओली पक्षले उक्त प्रस्तावलाई आरोपपत्रको संज्ञा दिँदै त्यसको एकएक जवाफ दिने तयारीमा लागेको छ । आगामी मंसिर १३ गते बस्ने सचिवालय बैठकमा ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिने तयारी गरिरहेका छन् । 

यही बेलामा मध्यमार्गी नेताहरुले ओलीको प्रस्ताव पेश भएपछि दुवैका प्रस्तावलाई एकीकृत गरेर अघि बढाउने गरी समेत गृहकार्य भइरहेको जनाएका छन् । यदि त्यसमा सहमति नजुटे दुवै प्रस्ताव स्थायी समिति र केन्द्रीय समितिमा लगेर टुंग्याउने अन्तिम विकल्प रहेको नेताहरुको भनाइ छ । 

यसअघि शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका नेकपा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले एकताको डोरो चुडिनसकेको प्रतिक्रिया दिएका थिए । 

त्यसपछि ओलीसँग समेत संवाद गरेका नेम्वाङले रातोपाटीसँग भने, ‘पार्टी एकता भंग हुन नदिन प्रयास जारी छ । तर, यसैमा सहमति हुन्छ भन्नेमा निश्चित भइसकेको छैन’, रातोपाटीसँग नेम्वाङले भने, ‘केही तत्वहरु छन् जो स्थितिलाई सपार्न भन्दा विर्गान नै लागिरहेका छन् । मैले दुवै नेताहरुलाई यो बुझ्नुुस है भनेर भन्ने गरेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप