चलचित्रबाट नाम, व्यवसायबाट माम
नाम र पहिचान फिल्म क्षेत्रबाट भए पनि ‘माम’ भने अन्य क्षेत्रबाट जुटाउँदै आएका थुप्रै फिल्मकर्मी छन् नेपाली कलाक्षेत्रमा । कतिपय फिल्मकर्मी त यस्ता पनि छन् जो माम जुटाउने मात्र होइन, अन्य क्षेत्रबाट कमाएको पैसासमेत फिल्म क्षेत्रमा लगाउँदै आएका छन् ।
त्यस्तै व्यक्तिमा पर्दछन् दुर्गालाल प्रधान । उनको फिल्म क्षेत्रमा प्रदर्शक र वितरक गरी दुईथरी परिचय छ । नाम र पहिचानका लागि उनले फिल्म क्षेत्रका यी दुई विधामा हात हाले पनि मामका लागि भने कपडाको व्यवसाय गर्दै आएका छन् । ‘फिल्म क्षेत्रबाट नाम, ब्यवसायबाट माम’ उनले आफ्ना लागि भन्ने शब्द हुन् ।
घर नबनाएर चलचित्र हल
नेपाली फिल्म क्षेत्रमा प्रधानलाई ‘फिल्म प्रदर्शक’ का रुपमा सुरुवातमा चिनिन्थ्यो । २०५७/०५८ सालमा बनेपामा ‘शुभकामना हाइभिजन हल’ खोलेर फिल्म क्षेत्रमा उनले पहिलो पाइला टेकेका थिए । त्यतिबेला बागबजारमा उनको बुबाको एउटा पसल थियो । उनी बुबा र भाइसँगै त्यहीँ बस्थे । त्यो समय उनको बुबासँग तीस लाख रुपैयाँ थियो । बुबाले बनेपामा घर बनाउन लागेका थिए, जसका लागि नक्सासमेत बन्दै थियो ।
प्रधानको चाहना र रुची अर्कै थियो । स्कुल पढ्दादेखि नै घरबाट भागेर फिल्महरु हेर्ने, बागबजारस्थित पसलमा बस्दा पनि फिल्म हेर्न गइरहन्थे उनी । फिल्मप्रति उनको लगाव थियो ।
त्यतिबेला काठमाडौँ प्लाजामा समेत भिडियो हल थियो । त्यहाँ अंग्रेजी फिल्मसमेत चल्थ्यो । नयाँ फिल्म लाग्यो कि उनी हेर्न गइहाल्थे । सदा झै एकदिन उनी काठमाडौँ प्लाजामा फिल्म हेर्न पुगे । फिल्म हेर्दा हेर्दै उनको मनमा लाग्यो– बनेपामा हल बनाउन पाए त राम्रो हुन्थ्यो होला ।
त्यसपछि उनले पाटनको मामाघर जाँदा लगनखेलस्थित ललित हल पुगे । त्यहाँ दर्शकको भिडभाड देखेपछि बनेपामा हल निर्माण गर्ने उनको सोचमा झन् ऊर्जा भरियो । हलमै गएर उनले मेनेजरलाई प्रश्न गरे– हल बनाउन कति खर्च लाग्छ ?
मेनेजरबाट ३०/३५ लाखमा हल बन्छ भने जवाफ पाएपछि उनी घर फर्किए । परिवारका सदस्यसँग उनले हल बनाउने कुरा गरे । ‘हामी काठमाडौँ बस्ने हो, बनेपामा किन घर चाहियो ? पुर्ख्यौली घर बनेपाभन्दा दुई किलोमिटर पर छँदैछ’ भनेर परिवारका सदस्यहरुलाई सम्झाए । घरभन्दा हल बनाउन उचित हुने प्रस्ताव राखे । उनका बुबाले ‘फिल्म लाइनमा लागेर, हल बनाएर काम छैन’ भन्ने जवाफ दिए ।
तर पनि उनले हिम्मत हारेनन् । शनिबारको दिन लगनखेलको ललित हलमा उनले बुबालाई फिल्म देखाउन लगे । ‘हलमा भिड देखेर बुबा छक्क पर्नुभयो,’ उनले भने, ‘यसमा पो पैसा रहेछ । त्यो पनि क्यास ! भनेर बुबा हल बनाउन राजी हुनुभयो ।’ बुबाको अनुमतिपछि घरको नक्सा क्यान्सिल गरेर हलको नक्सा बनाउनतिर लागिएको उनले सुनाए ।
हल घाटामा
त्यो समय बनेपामा ‘मयुर’ नामको ठुलो हल थियो । ‘हामीसँग पैसा थोरै भएकाले हाइभिजन हल खोल्ने तयारी ग¥यौँ,’ प्रधानले भने, ‘नक्सा बनाउने मानिसले मयुर हलका अगाडि सानो हल के चल्छ होला र ! भने । घर बनाए मासिक रुपमा भाडाबापतको रकम नियमित आउने भन्दै कतिपयले हल बनाउन लागेकोमा हामीलाई गाली पनि गरे ।’ तर ती सबै कुरालाई नजरअन्दाज गर्दै आफूहरुले नेपाली फिल्ममात्र चलाउने भनेर ‘शुभकामना’ नाम राखेर हलको तयारी थालेको उनले सुनाए ।
त्यो समय काठमाडौँमा धेरै हाइभिजन हल थियो । उनले फेरि ती सबै हलको एक पटक निरीक्षण गरे । सबैमा दर्शक भरिभराउ देखिन्थ्यो । त्यसैले ढुक्क भएर चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालयलगायत विभिन्न संघसंस्थामा चक्कर लगाएर उनले चलचित्र घरका लागि अनुमति लिए । हलका लागि घर समेत तयार भयो ।
हलको लागि भवन बनाउँदा र अनुमतिको चक्करमा लाग्दा उनीसँग भएको ३० लाख रुपैयाँ सकियो । हल सञ्चालनका लागि विभिन्न प्राविधिक सामग्री किन्न अझै १०÷१५ लाख रुपैयाँ लाग्ने भयो । त्यसका लागि उनले ऋण लिए ।
‘त्यतिबेला हललाई ऋण नदिने रहेछ,’ उनले भने, ‘पसलका लागि भनेर ऋण निकालेर हल चलाएँ । नयाँ हल, त्यो पनि पर्दा सानो भएकोले हल एक वर्षसम्म घाटामा गयो ।’ एक वर्षपछि भने हलबाट राम्रो हुन थालेको उनको भनाइ छ ।
उनले हल खोल्दा सबै अचम्ममा परेका थिए । कपडा पसलेले कहाँबाट हल खोल्न पुग्यो भनेर धेरैले कुरा पनि काटे । आफन्त, चिनजानका सबैले एकवर्ष घाटामा रहँदा गाली गरेका थिए उनलाई । घर बनाएर भाडामै लगाइदिएको भए खुरुखुरु पैसा आउँथ्यो भनेर परिवारकै सदस्यले समेत उनलाई भन्थे । तर घर नबनाएर हल बनाएकोमा उनलाई अहिलेसम्म पनि पछुतो छैन । अहिले पनि उनलाई ठिकै गरिछु जस्तो लाग्छ ।
‘हलले गर्दा साथीभाई धेरै कमाइयो । फिल्मको कामले देश, विदेशसमेत घुम्न पाएँ । सबैले चिनेका छन्,’ दंग भएर उनले सुनाए, ‘पसलमात्र गरेको भए न कसैले चिन्थे, न त देश विदेशको यात्रा नै हुन्थ्यो ।’
यसरी भए चलचित्र वितरक
चलचित्र हल सञ्चालनमा आएपछि फिल्म लिने÷दिने गर्दागर्दै फिल्मकर्मीसँग उनको चिनजान बढ्दै गयो । निर्मातासँग सिधै फिल्म लिएर अरुलाई आफुले दिन पाए हुन्थ्यो भन्ने सोच उनमा पलायो । त्यसका लागि फिल्म वितरकको काम गर्ने सोच पलायो उनमा । वितरकको कामका लागि धेरै पैसा लाग्थ्यो । फिल्म लिनका लागि निर्माताले भनेको समयमा पैसा दिन सक्नुपथ्र्यो ।
फिल्म वितरण एक्लैले नसक्ने भएकोले पनौतीको विजय कर्माचार्य भन्ने साथीसँग मिलेर उनले निर्मातासँग ‘हाइभिजन राइट’ किने ।
समस्या फेरि पनि सकिएको रहेनछ । ‘फिल्म त लियौँ तर चलाउने तरिका थाहा थिएन,’ उनले भने, ‘त्यसैले पहिलो चरणमा काठमाडौँ वरिपरि आफै दौडिएर फिल्म चलायौँ ।’
त्यो समय काठमाडौँमा मात्र २० वटा हाइभिजन हल थियो भने काठमाडौँ बाहिर २८ वटा थिए । ‘त्यतिबेला माओवादी जनयुद्धका कारण उपत्यका बाहिरको यात्रा सहज थिएन । माओवादी र सुरक्षाकर्मी दुवैको लफडा झेल्नुपथ्र्यो,’ उनले भने, ‘तैपनि फिल्म किन्दाको लगानी काठमाडौँमा मात्र नउठ्ने भएकोले जोखिम मोलेरै देशभर पुग्यौँ ।’
देशको विभिन्न ठाउँ पुगेर उनले हाइभिजन हलमा फिल्म चलाउने चाँजोपाँजो मिलाए । अन्ततः उनी देशभरको हाइभिजन हलमा फिल्म चलाउने एक्लो वितरक बने । त्यसपछि वर्षमा जति फिल्म बन्थ्यो, वितरणको जिम्मा दिन उनीसँग आउन थाले ।
‘त्यो समय मैले फिल्म दिए हल चल्थ्यो, नदिए चल्दैन थियो,’ उनले ती दिनको स्मरण गर्दै सुनाए, ‘करिब ५÷६ वर्ष वितरणको क्षेत्रमा एकछत्र राज गरेँ ।’
अहिले उनी चलचित्र प्रदर्शकमात्र हुन्, त्यही ‘शुभकामना’ सिनेमा हलको । हाइभिजनको रुपमा सुरु गरेको उक्त हल अहिले पुनर्निर्माण गरेर आधुनिक बनाइसकेका छन् उनले । हिन्दी र नेपाली दुवै फिल्म चलाउने भनेर एक करोड रुपैयाँ लगानी गरेर उनले हल त निर्माण गरे तर कोरोनाको कारण कारोबार सुरु गर्न पाएनन् । हल निर्माण पनि उनले कपडा ब्यवसायको पैसाबाट गरेका थिए । अहिले पनि हलका स्टाफलाई पसलबाटै हुने कमाइबाट पारिश्रमिक लगायतका सुविधा दिँदै आएका छन् । फिल्म क्षेत्रमा आफू जोडिए पनि ती काम नामको लागिमात्र भएको र माम भने कपडा व्यवसायबाटै जुटेको उनले बताए ।
उनको व्यवसाय
कपडा व्यवसायमा उनी बुबाको माध्यमले होमिएका हुन् । उनको बुबाले २०४२ सालदेखि बागबजारमा कपडा पसल थालेका थिए । सो व्यवसाय अहिले पनि उनले धानेका छन् । फरक यतिमात्र हो, उनको बुबाले कपडा पसल चलाउँथे । उनले ‘टेलरिङ’समेत चलाएका छन् ।
कपडा पसलमा टेलर थप्नुको पछाडि पनि एउटा कारण छ । २०५२ तिर बागबजारमा ४ वटा नाम चलेको टेलर थियो । त्यो टेलरका कारण उनको कपडा पसलको ब्यवसाय शून्य भयो । त्यसैले पनि उनले उनीहरुसँग प्रतिस्पर्धा गर्न ‘स्ट्यान्डर टेलर’ नाम राखेर टेलरिङको काम पनि सुरु गरे ।
एउटाबाट सुरु भएको टेलरिङलाई अहिले तीनवटा बनाएका छन् उनले । पछिल्लो समय कोरोना महामारीले गर्दा उनको हलमात्र हैन, पसलको व्यवसायसमेत चौपट भएको छ । पसलको आम्दानीबाट फिल्म हलको समेत खर्च धान्दै आएका उनी अहिले तनावमा छन् । त्यसैले पनि स्टक पनि क्लियर हुने र आफुलाई पनि केही सहज हुने भन्दै उनले ११ हजार पर्ने सुटलाई ६ हजारमै ‘अफर’ दिएका छन् । आफैले कपडा छानेर होस् वा रेडिमेड, सबैमा उनले यस्तो अफर ल्याएका हुन् ।
‘कोट–पाइन्ट–सर्ट, दौरा–सुरुवाल, टोपीलगायत पुरुषका सम्पूर्ण पहिरनमा अहिले अफर ल्याएका छौँ,’ उनले भने, ‘कोरोनाले ग्राहक तथा व्यवसायी सबैको अवस्था उस्तै भएकोले सबैको राहतका लागि अफर ल्याएका हौँ ।’ अफरले ग्राहकलाई पनि राहत मिल्ने र आफ्नो पनि केही समस्या समाधान हुने उनको अपेक्षा छ ।
अब फिल्म बनाउँछु
फिल्म प्रदर्शक र वितरणको काम गरिसकेका उनले अझै फिल्म क्षेत्रमा केही गर्ने रहर पालेका छन् । अब फिल्म निर्माण गर्ने इच्छा रहेको उनले सुनाए । त्यसका लागि उनले तयारी पनि थालेका थिए तर कोरोना महामारीले गर्दा रोकियो ।
फिल्म निर्माण उनको बुबाको पनि इच्छा थियो । त्यसका लागि २०६१÷०६२ तिर निर्देशक राजुध्वज रानालाई एक महिना हलमै राखेर सबै खर्च ब्यहोरेर कथासमेत लेख्न लगाएका थिए । तर त्यतिबेला फिल्म निर्माण अगाडि बढ्न सकेन ।
‘फिल्म निर्माण मेरो बुबाको पनि सपना थियो । कोरोनाको कहर सकिएपछि हल र पसल पनि राम्रो चल्छ होला । त्यसपछि फिल्म बनाउँछु,’ उनले आफ्नो योजना सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु
-
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना