शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अर्कालाई जलाउँछु भनेर जंगलमा लगाएको आगोले आफैँलाई जलाउँछ: सुरेन्द्र पाण्डे

शनिबार, ०६ मङ्सिर २०७७, २३ : २०
शनिबार, ०६ मङ्सिर २०७७

शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रमलाई नेकपाकै कार्यकर्ताले विथोल्ने प्रयास गरे । चितवनको राप्ती नगरपालिकामा भइरहेको बैठक कक्षमा पसेर एकाएक केही युवाहरुले नाराबाजी र होहल्ला गरे ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकट रहेका पाण्डे सहभागी कार्यक्रममा पार्टी अध्यक्ष केपी ओली समर्थक पक्षले त्यस्तो होहल्ला र नाराबाजी गरेको हो । पाण्डेकै भनाइमा त्यसरी होहल्ला गर्नेहरु केपी ओलीलाई ‘बा’ भन्ने र ढोग्नेहरु हुन् । जसमा मुख्यमन्त्री र मन्त्रीका आफन्तहरु रहेको पाण्डे बताउँछन् ।

उक्त घटनालाई नेता माधवकुमार नेपाल र झलनाथ खनालले शनिबारै विज्ञप्ति निकालेर भत्सर्ना गर्दै कारवाहीको माग गरेका छन् । घटनास्थल पाण्डेको निर्वाचन क्षेत्रमा पर्छ । रातोपाटीले नेता पाण्डेसँग कसरी त्यस्तो घटना हुनपुग्यो भन्नेबारे बुझ्न गरेको संवाद :

चितवनमा भएको घटना कस्तो हो,  किन त्यस्तो भयो ?

–चितवनको राप्ती नगरपालिकाको बैठक थियो । नेता सहभागी हुने भएपछि बैठकमा अलिकति पार्टीमा उठेका प्रश्नहरुको जवाफ दिनुपर्छ भन्ने कार्यकर्ताको भनाइ रह्यो । पार्टीमा उत्पन्न परिस्थिति, बैठकमा आएका दस्तावेजका कुराहरु र पार्टी फुट्छ भन्ने हल्ला चलेका बेलामा यस्तो जिज्ञासा उठ्नु स्वभाविक हो ।

त्यही भनेर म भन्दा अगाडि दुईजना केन्द्रीय सदस्य चितवनका इन्चार्ज र सहइन्चार्ज कृष्ण खनाल र ईश्वरी भट्टराइले बोल्नुभएको थियो । कार्यकर्ताहरुले पार्टीमा के भएको छ भन्ने जान्न चाहेको र तपाईंले बताइदिनुपर्यो भनेर मलाई उहाँहरुले भन्नुभयो । अर्को जिल्लाको सचिवालय सदस्यले पनि बोलिसक्नुभएको थियो ।

त्यसपछि मेयरले बोल्दा पनि पार्टीभित्र गुटको छनक देखियो । मेयरसँग आएका १० जनाजति मानिसहरु कार्यक्रम हलमा फटाफट भित्र छिरेका थिए । उनीहरु एकै ठाउँमा बसेका थिए । जब मेयरलाई आसन ग्रहणका लागि उद्घोषकले बोलाए, उनीहरुले तरर ताली पड्काए । अरुलाई बोलाउँदा भने उनीहरु सुनेका नसुन्यै गर्थे । त्यसले पनि केही छ भन्ने बुझ्न सकिन्थ्यो । त्यसपछि उनीहरु केही सल्लाह गरेर आएका हुन् भन्ने अरु मानिसहरुलाई अनुभूति पनि भैसकेको थियो । 

तपाईंले चाहिँ के बोल्नुभएको थियो त्यहाँ ?

–मैले बोल्न थालेँ । मैले पार्टीमा कार्यदल बन्यो । कार्यदलले सिफारिस गर्‍यो । त्यो सिफारिसमा हामीले पार्टीमा झगडाको कारणमध्ये एक कारण फाउन्डेसनहरु बने । ती फाउन्डेसनहरु पार्टी नेताका नाममा छन् । नेताका नाममा हुँदा विरोध गर्न पनि गाह्रो तर ती फाउण्डेसनहरु चाहिँ गुटबन्दी र झगडाका आधार बनेका छन् भनेर सहमतिका साथ जानुपर्छ र त्यसका सर्कुलहरु पनि जारी भएका छन् भन्दै थिएँ ।

त्यसैबेला तलबाट उठेर मदन भण्डारी फाउन्डेसन जिन्दावाद, जवज जिन्दावाद, राजनेता केपी ओली जिन्दावाद र घरीघरी पार्टी एकता जिन्दावाद भन्दै नारा लगाउन थाले ।

तपाईंको गृहजिल्ला, त्यसमाथि निर्वाचन क्षेत्र पनि हो । त्यही स्थानमा आएर त्यसरी कार्यक्रम विथोल्ने मानिसहरुलाई त चिन्नुहोला नि ?

–किन नचिन्नु ? चिन्छु । त्यसको अगुवाई गर्नेमध्येको एक जगन्नाथ थपलिया भन्नेको छोरो हो । जगन्नाथ थपलिया प्रदेश मुख्यमन्त्रीका सल्लाहकार हुन् । यसभन्दा अगाडि नेकपा एमालेको जिल्ला कमिटीका अध्यक्ष पनि हुन् जगन्नाथ, उनकै छोरा ।

ती मात्रै होइन उनका ससुरा प्रदेशका मन्त्री पनि छन् दावा लामा । यता जगन्नाथका छोरा, उता दावा लामाको ज्वाईंको अगुवाईमा घटना भएको हो । केपी कमरेडलाई भेट्दा ‘बा’ भनेर हातमा ढोग्छ, त्यो केटाले । अर्को दावाको छोरो र पीए । अर्को दावासँगै हिँड्ने केदार आचार्य । 

उनीहरु कार्यक्रम विथोल्न योजनावद्ध ढंगले आएका हुन् वा अपझर्ट त्यो अवस्था आइलाग्यो के भन्नुहुन्छ ? अथवा तपाईंमाथि आक्रमण प्रयास पनि भयो कि ?

–नाराबाजी गरे । आक्रमण त के गर्न सक्थे र ? मेरै गाउँ पनि हो त्यो । उनीहरुलाई यहाँ धेरै गर्‍यो भने हामी टिक्दैनौ भन्ने पनि थाहा छ । उनीहरुको त्यहाँ भाँजो हाल्ने उद्देश्य देखिन्छ ।

नेकपामा विवाद भइरहेका बेला यसरी पार्टीकै जिम्मेवार व्यक्तिका आफन्तहरुबाट भएको यो कस्तो संस्कार हो भन्ने लाग्छ ?

–यो राजनीतिक संस्कार होइन । यो गैराराजनीतिक कुरा हो । यस्ता कुराले न कुनै नेताको नाम माथि चढ्छ, न नेताको संरक्षण नै हुन्छ । त्यतिमात्रै होइन यसरी हुलहुज्जत गर्नेहरुले विचारकै संरक्षण पनि गर्न सक्दैनन् । मदन भण्डारीको विचार जसले बुझेकै छैन, हुलहुज्जत मात्र गर्छ अनि कसरी जोगाउँछ ? यसो गरेर मदन भण्डारीका विचार जोगिने प्रश्नै आउँदैन ।

मदनको विचार यी केटाहरुले बनाइदिएको विचार पनि होइन । मदनका समर्थक उनीहरुमात्रै हुँदा पनि होइनन् । सिंगो पार्टीले नै अपनाएको विचारबाट पोे मदन नेता भएका हुन् त । गैरराजनीतिक काम गर्ने जमातको नेता त होइनन् नि मदन भण्डारी । 

तपाईं बोल्दै गर्दा नाराबाजी भएपछि तपाईंले चाहिँ के गर्नुभयो त्यसबेला ?

–म त हेरेर बसेँ । हाँसेर बसे । अरु साथीहरुले चुप लाग्नुस् पनि भने । त्यसपछि उनीहरु बाहिर निस्के । अनि मैले मेरा कुरा सकेँ । त्यो त बैठक थियो, बैठकले आफ्नो प्रकृयाहरु अगाडि बढायो । मेरो भरतपुरमा अर्को कार्यक्रम भएकाले अबेला पनि भएको थियो र त्यतातिर निस्के । बैठक चाहिँ जारी नै थियो । 

घटनाका दोषीलाई कारवाही होला त ?

–तिनीहरु एक हिसाबले भन्दा बच्चै हुन् । जुन मान्छेलाई उचालेर त्यस्तो गैरराजनीतिक काम गरे, त्यो ज्यादै छोटो विचारको काम हो । यसले कुनै राजनीतिक जँघार तार्ने काम हुँदैन । यस्तो प्रवृत्ति जसले गर्दैछ, यसले उसैलाई नोक्सान हुने, अध्याँरो मार्ग र असफलतातिर लैजान्छ ।  यसले पार्टी वा तालाई कसैलाई पनि हित गर्दैन । त्यसकारण यस्ता प्रवृत्तिहरुलाई ठुलो रुपमा लिनु जरुरी छैन, त्यो पराजित हुनेछन् भन्ने ठान्छु । 

राजनीतिको आडमा यसरी अराजकता मौलाउनुको कारण के होला ?

–यस्ता प्रवृत्तिहरुलाई बोकेर तिमीहरु ठिक हौ भनेर उचाल्ने काम विगत केही समयदेखि हुँदै आएकोले नै यस्तो भएको हो । पार्टीमा यस्तो प्रवृत्ति जसले हुर्काउँछ, त्यसले उसैलाई पनि जोगाउँदैन । सबैलाई खान्छ ।

 राजनीतक पार्टीमा किन यस्तो विश्रृंखलता आउँछ ?

–पार्टीलाई पद्दति, संस्कार, आचरण, उद्देश्य र लक्ष्यभित्र दीक्षित गरेका कार्यकर्ताहरुलाई त्यही दिशामा प्रशिक्षित गर्ने, अगाडि लैजाने जिम्मेवारी हामी बोक्दैनौँ र गैरराजनीतिक बाटो अवलम्बन गर्छौँ भने समाजमा यस्ता प्रवृत्ति हुर्कदै जान्छन् । यस्तो प्रवृत्ति बढ्दै गयो र जंगलमा डढेलो लाग्यो भने त्यहाँका कुनै पनि रुख रहँदैनन् । 

नेकपारुपी जंगलमा डढेलो लाग्न थालेको हो ?

–अर्कालाई डढाउँछु भनेर जंगलमा लगाएको आगोले आफैलाई पनि सिध्याउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप