बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघको निर्वाचन समितिभित्रै विवाद : संयोजकको निर्णयमा सदस्यको 'नोट अफ डिसेन्ट'

शनिबार, ०६ मङ्सिर २०७७, २१ : ४६
शनिबार, ०६ मङ्सिर २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिभित्रै अन्तरविरोध देखिएको छ । ५४ औं वार्षिक साधारणसभासँगै हुन गइरहेको महाधिवेशनमा निर्वाचन गराउन गठन भएको समितिभित्रै विवाद देखिएको हो । 

समितिका संयोजक उपेन्द्रकेशरी न्यौपाने मताधिकार र उम्मेदवारीको सम्बन्धमा एकलौटी निर्णय गरेको भन्दै अर्का सदस्य रकणकुमार कर्णले नोट अफ डिसेन्ट लेखेपछि समितिभित्रको विवाद बाहिर आएको हो । महासंघको निर्वाचन समितिमा ३ जनाको प्रतिनिधित्व छ । समितिको संयोजकमा उपेन्द्रकेशरी न्यौपाने छन् । सदस्यहरुमा भने लिलामणि पौडेल र रमणकुमार कर्ण रहेका छन् । 

निर्वाचन समितिमा वर्दिबास उद्योग वाणिज्य संघले पाएको मताधिकार, रामेछाप उद्योग वाणिज्य संघबाट प्रतिविधित्व गर्ने राजकुमार न्यौपानेको उम्मेदवारी र औषधि उद्योग संघका तर्फबाट २ जनाको उम्मेदवारी स्वीकृत गरेको सम्बन्धमा विवाद भएको हो । 
महासंघको विधान अनुसार महासंघको साधारणसभामा पहिलोपटक प्रतिनिधित्व गर्ने सदस्यले मतदान गर्न पाउँदैन ।

 तर निर्वाचन समितिका संयोजक न्यौपानेले महासंघको साधारणसभामा पहिलोपटक प्रतिनिधित्व गर्न लागेको बर्दिबास उद्योग वाणिज्य संघलाई मतदान गर्ने अधिकार दिनेगरी निर्णय गरेको आरोप लगाइएको छ । 

जबकी महासंघको साधारणसभामा पहिलोपटक सहभागिता जनाएका कन्काई उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, अत्तरिया उद्योग वाणिज्य संघ लगायतलाई भने मतदानको अधिकार दिइएको छैन । 

उता, बागमती प्रदेशको तर्फबाट महासंघको कार्यकारिणी समितिमा उम्मेदवारी दिएका राजकुमार न्यौपानेको उम्मेदवारी स्वीकृत गरेको सम्बन्धमा निर्वाचन समितिका सदस्य कर्णले नोट अफ डिसेन्ट लेखेका छन् । न्यौपाने यसअघि उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष थिए । 

उनी केही समय अघि मात्रै रामेछाप उद्योग वाणिज्य संघका गएका हुन् । महासंघको विधानमा कार्यकारिणी समितिको उम्मेदवार आफूले प्रतिनिधित्व गर्ने संघमा १ कार्यकाल पूरा गरेको हुनुपर्ने व्यवस्था छ । तर रामेछाप उद्योग वाणिज्य संघमा गएर एक कार्यकाल पूरा नगरेका न्यौपानेको उम्मेदवारी स्वीकृत गरेर विधानको व्यवस्थालाई लत्याएको आरोप निर्वाचन समितिका संयोजक न्यौपानेमाथि लगाइएको छ । 


त्यस्तै, औषधि उत्पादक संघका तर्फबाट दुईजना उम्मेदवारी परेको सम्बन्धमा समेत कर्णले नोट अफ डिसेन्ट लेखेका छन् ।  वस्तुगत तर्फका उपाध्यक्षमा उम्मेदवारी दिएका उमेशलाल श्रेष्ठ र कार्यकारिणी समितिको सदस्यमा उम्मेदवारी दिएका दीपकप्रसाद दाहाल समेत दुई जनालाई औषधी उत्पादक संघबाट कर्णले फरक मत राखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप