केन्द्रीय संस्करण
अन्तरवार्ता

‘व्यावसायिक क्षेत्रमा मेरो त्याग र योगदानका कारण चुनाव जित्छु’

व्यवसायी अञ्जनकुमार श्रेष्ठसँग चुनावी वार्ता

person explore access_timeमंसिर ६, २०७७ chat_bubble_outline0

यतिखेर नेपाल उद्योग वाणिज्य महासङ्घ चुनावमय भएको छ । महासङ्घको ५४औँ साधारण सभा र सो साभामार्फत बन्ने नयाँ कार्यसमितिलाई लिएर अहिले व्यवसायीबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ । चुनावी मत आफ्नो पक्षमा पार्न व्यवसायीबीच निकै दौडधुप चलिरहेको छ । त्यसो त यो दौडधुप अहिले राजधानी केन्द्रित मात्र नभएर सिङ्गो मुलुकभित्र नै चलेको छ । विशेषतः चुनावी प्रतिस्पर्धामा दुई प्यानल आमन्नेसामन्ने भएकाले पनि  यो प्रतिस्पर्धा निकै रोचक देखिन्छ । एकातिरको प्यानलको नेतृत्व व्यवसायी चन्द्रप्रसाद ढकालले गरिरहेका छन् भने अर्कोतर्फको नेतृत्व किशोर प्रधानले गरेका छन् । यी दुवै पक्ष चुनाव अगावै आ-आफ्नो पक्षको जितको सुनिश्चितताको दाबी गरिरहेका छन् । यद्यपि महासङ्घको चुनाव भने आगामी मङ्सिर १३ गतेलाई तोकिएको छ । यही चुनावी प्रतिस्पर्धाका एक प्रत्यासी उम्मेदवार हुन् व्यवसायी अञ्जनकुमार श्रेष्ठ । श्रेष्ठले प्रधान समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिएका छन् । श्रेष्ठ अहिले आफ्नो चुनावी एजेन्डासहित चुनावको तीव्र प्रचार प्रसारमा छन् । यसै अवसरमा महासङ्घमा उनको उम्मेदवारी, सम्भावना र चुनौतीका बारेमा हामीले केही बुझ्ने कोसिस गरेका छौँ । हेरौँ उनै व्यवसायी श्रेष्ठसँग गरिएको यो सङ्क्षिप्त चुनावी वार्ताः


चुनावी माहोल कस्तो बन्दैछ । कतिको उत्साहित हुनुहुन्छ ?
चुनावी सरगर्मी बढ्दैछ । आपसी भेटघाट, शुभकामना आदान प्रदान तथा चुनावी प्रचार प्रसार हुँदैछ । पहिले जस्तो त छैन तैपनि स्वास्थ्य सुरक्षाका प्रोटोकल पालना गर्दै सामाजिक दूरी कायम गर्दै थोरथोरै समूहमा रहेर गृहकार्यहरु गरि नै रहेका छौँ । विशेषतः कोभिडका कारण भौतिक रूपमा भन्दा पनि हामीले अभौतिक रूपमै डिजिटलमार्फत आपसी भेटघाटलाई तीव्रता दिइरहेका छौँ । 

जहाँसम्म उत्साहित हुने कुरा छ, उत्साहित नहुने त कुरै भएन । हाम्रो सिङ्गो टिम उत्साहित छ । म उत्साहित छु । किनकि विगत १६ वर्षदेखि म उद्योग वाणिज्य सङ्घमा आवद हुँदैआएको छु । १६ वर्षे संलग्नतामा १२ वर्ष त मैले महासङ्घका विभिन्न कार्यसमितमा रहेर काम गरिसकेको छु । उद्योग समितिको सभापति भएर, त्योभन्दा अघि दुई कार्यकाल राजस्व समितिको सहसभापति भएर र करिब ९ वर्ष रोजगारदात परिषदमा सदस्य भएर काम गरिसकेको छु । यी सबै अनुभवका अधारमा फेरि पनि काम गर्ने अवसर पाउँदै गर्दा उत्साहित नहुने त कुरै हुन्न । त्यसैले यसपटक पूर्ण विश्वासका साथ उत्साहित हुँदै वस्तुगत सङ्घतर्फको उपाध्यमा आफ्नो उम्मेदवारी दिएको हुँ ।

बलियो प्रतिस्पर्धीका अगाडि आफ्नो जित हुनेमा कतिको विश्वस्त हुनुहुन्छ ?
निर्वाचन भनेको प्रतिस्पर्धा नै हो, प्रतियोगिता नै हो । निर्वाचनमा आइसकेपछि दुईवटाले जित्दैन । जित्ने भनेको एउटाले नै हो । म अर्को पक्षले के गरिरहेको छ, के हुँदैछ भन्नेतर्फ जादिनँ । तर म के कुरामा विश्वस्त छु भने मेरो ३० वर्षको व्यावसायिक अनुभव, १५ वर्षसम्मको महासङ्घमा रहेर पु¥याएको योगदान र सिङ्गो निजी व्यावसायिक क्षेत्रको उत्थानका लागि गरेको त्यागका कारण मलाई सबैको साथ र सपोर्ट रहनेछ । व्यवसायी साथीहरुबाट मैले सोही खालको आस्वासन समेत पाइरहेको छु । 

जुन अनुभव र सफलताको कुरा छ, मैले आफ्नो निजी कम्पनीलाई समेत अहिलेको यो उचाइसम्म पु-याएको छु । हाम्रो पारिवारिक व्यवसाय लक्ष्मी ग्रुप जुन छ यसलाई अहिलेको स्थानसम्म ल्याइपु¥याउन मेरो ठूलो योगदान छ । अहिले हामी राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत सफल छौँ । यसले पनि मेरो सफलतालाई प्रतिनिधित्व गर्छ । यसको अतिरिक्त निजी व्यावसायिक क्षेत्रको वृद्धि, विकाससँगै सिङ्गो राष्ट्रकै अर्थतन्त्र सुधारको जुन लक्ष्य तथा उद्देश्य मैले बोकेको छु यसले गर्दा पनि मलाई व्यवसायी साथीहरुले साथ दिने छन् । त्यसमाथि पनि मैले महासङ्घमा करिब १२ वर्ष काम गर्ने ठाउँमै रहेर आफ्नो नेतृत्व क्षमता देखाइसकेको छु । यसले पनि मेरो जित सुनिश्चित छ । उत्साहित छु ।

महासङ्घको निर्वाचन समितिले जारी गरेको भोटर सङ्ख्याअनुसार वस्तुगततर्फ १०१ भोट छन् । यसमा तपाईंको पक्षमा कति होलान् ? 
अहिले नै यति उति भोट नभनौँ तर कम्फर्म जोनमा जित्नेमा म ढुक्क छु । भोटर साथीहरुको अङ्कगणितको हिसाबले पनि मेरो जित सुनिश्चित छ । बहुमत नै नआए पनि सहज भोटान्तरले मेरो जित हुनेमा निश्चित छु । त्यसो त मेरो मात्र होइन, हाम्रो होल टिमकै जित म देख्दै छु । वस्तुगत सङ्घतर्फ रहेका १४ जना साथीहरु नै जितको नजिक हुनुहुन्छ । किनकि हामीसँग कस्तो टिम छ भने एकसे एक अनुभवी र क्रियाशील र जुझारु युवा टिम छ । उहाँहरुमा भएको त्यो जोस, जागर र अनुभवले सबै व्यवसायी साथीले मन पराउनु हुने र भोट गर्नु हुनेमा हामी विश्वस्त छौँ । 

नेतृत्व चयनका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिरहँदा तपाईंको रोजाइ प्रधान प्यानल नै किन प-यो ? 
अघिसम्म मैले वस्तुगत सङ्घतर्फको कुरा गर्दै थिएँ । अब म पूरै हाम्रो टिमको कुरा गर्छु । हाम्रो टिममा किशोर प्रधान दाइ जस्ता निकै अनुभवी व्यक्तित्व हुनुहुन्छ । उहाँसँग व्यावसायिक क्षेत्रको झण्डै २८ वर्षको अनुभव छ । त्यस्तै उहाँ निकै जुझारु र सशक्त व्यक्तित्वसमेत हुनुहुन्छ । जसले गर्दा उहाँको नेतृत्वमा हामीलाई काम गर्न कुनै समस्या छैन । 

त्यस्तै हाम्रो टिममा अर्का त्यस्तै व्यक्तित्व दिनेश दाइ (दिनेश श्रेष्ठ) हुनुहुन्छ । उहाँ पनि निकै अनुभवी र कुशल नेतृत्वकर्ता हुनुहुन्छ । एक हिसाबले भन्ने हो भने उहाँलाई निजी क्षेत्रको ज्ञाता नै मान्नुपर्छ । उहाँसँग कर, राजस्व, उद्योग व्यवसाय सञ्चालनसम्बन्धी ऐन, नियमको अथाहा ज्ञान छ । यो विषयमा मैले पनि उहाँसँगै सिकेको हुँ । यसअघि उद्योग सङ्घको सहसभापति हुँदा यस विषयमा मैले दिने दाइसँगै सिकेको हुँ । जतिबेला उहाँ उद्योग सङ्घको सभापति हुनुहुन्थ्यो । त्यतिखेर मैले उहाँसँग धेरै कुरा सिके र सिक्दै आए । अहिले म पनि आफ्नो क्षेत्रमा अघि बढ्दैछु । भनेपछि दिनेश दाइसँग यस खालको अनुभव र ज्ञान छ । 

त्यस्तै हाम्रो टिमबाट एसोसिएट तर्फबाट उपाध्यक्षमा उठ्दै गरेका व्यवसायी सौरभ ज्योति उहाँ पनि उत्तिकै सफल, अनुभवी र जुझारु हुनुहुन्छ । यो हिसाबले हाम्रो पूर्ण टिम नै अत्यन्त सशक्त र सक्षम छ । हाम्रो टिम महासङ्घका लागि बर्निङ (ज्वालन्त) टिम हो । एक जना मात्र होइन हाम्रो टिममा रहेका चारै जना सशक्त र अनुभवी छौँ । यही सशक्तता र अनुभवी टिम भएकाले नै भावि महासङ्घका अध्यक्ष शेखर गोल्छा जीले समेत हाम्रो टिमलाई चाहनु भएको छ । त्यसैले पनि मैले यही टिमलाई रोजेँ । 

राजनीतिज्ञहरुलाई मिल्नुपर्छ भन्नुहुन्छ तर तपाईंहरु बीचमै किन राजनीति भइरहेको छ ?
यो कुनै कुर्सीको लडाइँ होइन । हामी सबैको लक्ष्य, उद्देश्य र चाहना एउटै हो । हामीबीच कुनै खालको तिक्तता छैन । मात्र अहिले हामी चुनावी प्रतिस्पर्धामा गएका हौँ । मानौँ अहिले हामीले फ्रेन्ड्ली म्याच खेलिरहेका छौँ । फुटबलमा दुईवटा टिम हुन्छ । दुई टिमबीच प्रतिस्पर्धा त हुन्छ नै । दुईवटै टिमले सकेसम्म आफूले म्याच जित्ने प्रयास गर्छ । अहिले भएको यति हो । तर दुई टिमबीच आपसमा समस्या झैझगडा र मनमुटाव भन्ने हुँदैन । हामीले स्कुलमा एउटै क्लासका साथी मिलेर फुटबल खेल्थ्यौँ । खेलुन्जेल एकखालको माहोल हुन्थ्यो र खेलिसकेपछि अर्कै । पहिलेझैँ एक्कै ठाउँमा आउँथ्यौँ । हो, अहिले हाम्रो चुनावी प्रतिस्पर्धा पनि त्यस्तै हो । हामीबीचको प्रतिस्पर्धा भनेको चुनावको दिन अर्थात् चुनावी नतिजा नआउन्जेल मात्र हो । त्यसपछि हामी सबै एकै ठाउँमा हुन्छौँ । म त भन्छु हामीबीचको प्रतिस्पर्धा मङ्सिर १३ गतेसम्मका लागि मात्र हो । त्यसपछि त हामी सबै एकै ठाउँमा आउँछौँ र समान उद्देश्य निजी क्षेत्रको सुधार र राष्ट्रको समुन्नतको पक्षमा लाग्नेछौँ नकि राजनीतिका लागि । नेपाल उद्योग वाणिज्य महासङ्घको स्थापनाको परिकल्पना नै विशुद्ध निजी व्यावसायिक क्षेत्रका लागि भनेर गरिएको छ । त्यसैले हामी लाग्ने भनेको व्यवसायिक सुधार तथा आर्थिक, सामाजिक सुधारकै पक्षमा हो ।

अहिले स्पष्ट रूपमा देखिनेगरी नै महासङ्घको संस्थापन पक्षले तपाईंहरुलाई दिएको समर्थनलाई चाहिँ के भन्नु हुन्छ नि ?
यो विषयमा शेखरजीले यसअघि नै प्रस्ट भनिसक्नु भएको छ । मलाई काम गर्न मेरो आफ्नै टिम चाहिन्छ । त्यस कारण उहाँले आफ्नो कार्यकाल सफल बनाउनका लागि आफूले रोजेको टिम लान लाग्नु भएको हो । यसमा कुनै दुई मत छैन । यो स्वाभाविक पनि हो । 

किनकि कुनै पनि नेतृत्वकर्ताले अर्को पक्षका मान्छेलाई सँगै लैजान चाहँदैन र यसले काममा सपोर्ट पनि मिल्दैन । गर्ने यही नै हो । अहिले शेखरजीले पनि किशोर प्रधानको टिमसँग सहज देख्नु भयो र यो टिमसँग काम गर्न सकिन्छ भन्ने लाग्यो होला र उहाँले खुलेर नै यो टिमलाई सपोर्ट गर्नुभयो । 

भलै यस्तो अवस्था आउने पनि थिएन होला । तर बीचमा उहाँलाई जुन खालको असहयोग गर्ने र उल्टै लखेट्ने काम गरियो, यसले गर्दा पनि उहाँ अर्को टिमसँग त्यति सन्तुष्ट हुनुहुन्न ।
विगतमा उहाँलाई नेतृत्वमा पुग्नबाट वञ्चित गर्ने खेलसम्म भए । विधान संशोधन गरेर उहाँलाई अध्यक्ष हुनबाट रोक्ने कोसिस भए । योसँग जुध्न उहाँले करिब तीन वर्ष निकै कष्ट र सङ्घर्षपूर्ण समय विताउनु प¥यो । यसले पनि उनलाई आफ्नो पक्ष खोज्न बाध्य पारेको हो । यस विषयमा त्यति धेरै जान चाहँदिनँ । यत्ति हो, विगतमा उहाँलाई जसले साथ दिए अहिले उनीहरु उहाँले साथ दिँदै हुनुहुन्छ र विगतमा साथ नदिनेहरुलाई अहिले उहाँले दिनु भएन । 
त्यसो त उहाँले महासङ्घमा आफ्नो १० वर्षे कार्ययोजना सहितको व्यावसायिक क्षेत्र सुधारको परिकल्पना प्रस्तुत गर्नुभएको छ । जुन पहिलो बैठबाटै पास गर्ने उहाँको योजना छ । यसका लागि पनि उहाँलाई साथ सपोर्ट गर्ने टिम चाहिएको छ । यसका लागि पनि सहजताका हिसाबले उहाँले प्रधान समूहलाई नै रोज्न खोज्नु भएको हो ।

तपाईंले चुनाव जित्नु भयो भने महासङ्घ र सिङ्गो निजी क्षेत्रले के अपेक्षा गर्ने ? 
महासङ्घको एउटै उद्देश्य भनेकै निजी क्षेत्रलाई सबल सक्षम र सशक्त बनाउने र राष्ट्रको अर्थतन्त्र माथि उठाउने हो । मेरो मुख्य लक्ष्य पनि यही रहनेछ । ७० प्रतिशत माथिको राष्ट्रिय उत्पादन (जीडीपी)को योगदान बोकेको निजी क्षेत्रको सबलीकरण र सशक्तीकरण गर्दै मुलुकको अर्थतन्त्र सुधार गर्नेमा ध्यान केन्द्रित रहनेछ । त्यसमा कसरी र के गरी गर्ने भन्ने रहन्छ । यसका लागि मैले आफ्नो स्पष्ट कार्ययोजना खाकासमेत बनाएको छु । 
मूलतः कोभिड–१९ का कारण खस्किएको हाम्रो अर्थतन्त्रलाई माथि उठाउनुपर्ने चुनौती अहिले हामीसामु छ । मुलुकको उत्पादन छैन, आयातको तुलनामा निर्यात अत्यन्तै नाजुकको अवस्थामा छ । बर्सेनि खर्बौंको व्यापार घाटा छ । मुलुकभित्र रोजगारी छैन । शिक्षा, स्वास्थ्यमा समान पहुँच छैन । यी सबै कुरालाई ध्यानमा राख्दै सरकारीको विकल्प निजीको विकासका माध्यमबाट पर्याप्त रोजगारी सिर्जना गर्नुपर्नेछ । उत्पादन बढाई मुलुकको जीडीपी बढाउनु पर्नेछ । कोरोनाका कारण खस्किएको निजी व्यावसायिक क्षेत्रको उत्थान गर्नुपर्नेछ । 

यसका लागि मैले निम्न लिखित योजना बनाएको छुः 
–अहिलेको सदर ७.५ प्रतिशतको आर्थिक वृद्धिदरलाई कम्तीमा १० प्रतिशत पु¥याउने । यसका लागि निजी क्षेत्रको सबलीकरण, सक्षम र सफलमा जोड दिने । जबकि कोभिड पूर्व निजी क्षेत्रको योगदान ७०.५ प्रतिशत रहेको थियो । हाल कोभिडका कारण करिब २ प्रतिशतमा खुम्चिन पुगेको मुलुकको आर्थिक वृद्धिलाई निजी क्षेत्रको विकाससँगै क्रमशः माथि उठाउँदै लैजाने योजना रहेको छ । 
–कलेक्टिभ ट्रेडमार्कलाई जोड दिने : पछिल्लो समय विश्व बजारमा कलेक्टिभ ट्रेडमार्कको मान्यताको विकास भइरहेको छ । नेपालमा समेत आजभोलि यसको प्रयास भएको देखिन्छ । भलै नीतिगत समस्याका कारण यसमा बारम्बार विवाद आइरहेका हुन्छन् । कलेक्टिभ ट्रेडमार्कको मान्यतामा जान सकियो भने नेपाललाई फाइदा पुग्नेछ । त्यसैले मेरो योजनामा यो पनि परेको छ । 

–ट्रेड डिफिसेन्सी : अहिले हाम्रो प्रमुख समस्या ट्रेड डिफिसेन्सीको हो अर्थात् असमान व्यापार घाटा । अब यसको सुधामा ध्यान दिन अत्यावश्यक छ । कोभिडका कारण आयात कम भई व्यापार घाटा केही कम जस्तो देखिए पनि अहिले पनि हाम्रो आयात÷निर्यातको अवस्था १ः१४ को हारहारीमा छ । यसलाई कम गर्नु प्रमुख उद्देश्य रहनेछ ।

–इन्फ्रास्टक्चर : पूर्वाधारको कुरा गर्नुपर्दा तुलनात्मक रूपमा पहिलेभन्दा केही सुधारका प्रयास भएका छन् तर अझै प्रयाप्त छैनन् । अहिले पनि विकास खर्च ६०–७० प्रतिशतभन्दा माथि जान सकेको छैन । यसले पनि विकासमा बाधा अड्चन ल्याइरहेको छ । यसमा सुधारको खाँचो छ ।

–कस्ट अफ ट्रान्र्पोटेसन : मध्य पहाडी रेलमार्गको स्ट्रेन्थ लाइन पूर्व–पश्चिम राजमार्ग जस्तै गरी तानिने हो भने लागत पनि कम आउँछ र मुलुकले विकासमा काँचुली पनि फेर्छ । दुवै रेलमार्गको दायाँबाँयाबाट ट्रम्प रोड बनाइयो भने नेपाललाई एसिसिवियल कन्ट्री बनाउन सकिन्छ । 

–रोजगारी : हामीले मुलुकको जीडीपी १० प्रतिशत पु¥याउनका लागि प्रयाप्त रोजगारीका अवसरहरु खोज्नुपर्छ । त्यसका लागि धेरै उद्योग धन्दा कलकारखानाको विकास गर्नुपर्छ । यसका लागि लगानीको वातावरण बनाउनु पर्नेछ । 

–पोलिसी इनफ्रिजमेन्ट : विश्व व्यापार सङ्गठन (डब्लूएचओ) मा प्रवेश गरिसकेको मुलुक अझै हामी ५० वर्ष पुराना नीति नियम तथा व्यावसायिक रणनीति बोकेर बसिरहेका छौँ । अब यसलाई समयसापेक्षा परिवर्तन परिमार्जन गर्नुपर्नेछ । यसका लागि महासङ्घले विशेष भूमिका खेल्नुपर्छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.