सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

सहानालाई महाकालीको विष

शनिबार, ०६ मङ्सिर २०७७, १० : ३०
शनिबार, ०६ मङ्सिर २०७७

२०४७ साल वैशाख ३ गते नेपालमा अन्तरिम सरकार बन्यो । त्यस सरकारको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई थिए । साथै मर्यादाक्रममा दोस्रो व्यक्तिका रूपमा सहाना प्रधान मन्त्री बनेकी थिइन् । भट्टराई प्रधानमन्त्री भएपछि उनलाई भ्रमणका लागि भारत सरकारले निम्तो दिएको थियो । उनको नेतृत्वमा भारतको भ्रमणमा तत्कालीन नेपालका सर्वमान्य नेता गणेशमान सिंहको ढिपीले सहाना प्रधान पनि सम्मिलित थिइन् । किनभने भट्टराई जथाभावी बोल्ने गर्थे । आवेशमा आएर भट्टराईले राष्ट्रियतामाथि खतरा पर्ने कुरा पनि बोल्लान भनेर नै गणेशमान सिंहले सहाना प्रधानलाई भट्टराईको करेली समाउन भारत पठाएका थिए । गणेशमान सिंहको सहाना प्रधान अति विश्वासिलो पात्र थिइन् । यसबारे सिंहले भनेका पनि थिए– ‘सहाना प्रधानबाट कहिले पनि र कसैले पनि विश्वासघात बेहोर्नु पर्दैन ।’

सहाना प्रधानले जतिसुकै थुनछेक गर्न खोजे पनि भट्टराईले आफ्नो इच्छा पु¥याईकन छाडेका थिए । भनौँ, भारतमा पुगेपछि सबैभन्दा पहिला उनले एउटा डरलाग्दो वाणी ओकलेका थिए । अथवा ‘नेपालका नदी नेपाल र भारतको साझा नदी’ भनेर बोलेका थिए । त्यस बोलीउपर सहाना प्रधानको एक प्रतिशत पनि समर्थन थिएन । दुवै देशको विज्ञप्तिमा पनि त्यही कुरा दोहोरिएको थियो । त्यस विज्ञप्तिउपर सहानाले भट्टराईलाई ‘नराम्रो काम गर्नुभयो’ भनेर असहमति जनाएकी थिइन् । तर भारतीय नेताहरूका चलाखीले सहानाले थाहा पाउँदानपाउँदै ‘नेपालका नदी साझा नदी’ भनेर साझा विज्ञप्तिसमेत प्रकाशित भइसकेको थियो । यसै प्रसङ्गमा देशभक्त राजनेता नारायणमान बिजुक्छेँ ‘रोहित’लाई त्यति बेलै सहानाले भनेकी थिइन्– ‘भट्टराई र उनका भारतीय समकक्षीमाझ हुने वार्तामा मलाई पनि समावेश गराउने भनिएको थियो तर गराइएन । अनि त्यस वार्तामा म जान खोज्दा सुरक्षा गार्डले मलाई छिर्न दिएन । अन्ततः नेपालका नदीनाला साझा नदीमा परिणत गराउन भट्टराई सफल नै भए ।’

सहानाले महाकाली सन्धिमा एमालेलाई पनि सघाउन चाहिनन् । त्यति मात्र होइन उनी त्यस सन्धिलाई विफल पार्न एकोहोरिएकी थिइन् तर सफल भइनन् । त्यस काण्डमा उनको कृत्यउपर चित्त नबुझेर नेकपा (एमाले)ले उनीसँग स्पष्टीकरण मागेको थियो । २०५२ साल पुस ३ गतेको पत्रमा उनलाई लेखिएको थियो– ‘पार्टी केन्द्रीय कमिटीको २९औँ बैठकले महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धिलाई संसद्को दशौँ अधिवेशनमा पक्षमा मतदान गरी पारित गराउने निणर्य गरेको थियो । सो निणर्यलाई पार्टीको ह्विपको रूपमा संसदीय दलको बैठकमा जानकारी गराइएको थियो ।’

‘पार्टीको सर्वोच्च एवं नीतिनिर्माण गर्ने संस्थाको सदस्य रहनुभएकी तपाईं, पार्टी निणर्य र संसदीय ह्विपप्रति विरोध जाहेर गर्दै मतदानमा अनुपस्थित रहनाले पार्टीको प्रतिष्ठामा आँच पु¥याउने काम भएको छ ।’ तपाईंबाट भएको कामले जनवादी केन्द्रीयताको हाम्रो पार्टीको सङ्गठनात्मक सिद्धान्तमा आघात पु-याएको छ । तपाईंबाट भएको गल्ती पार्टीको अनुशासन र संसदीय परम्परा दुवै हिसाबले गम्भीर छ ।’

महाकाली नदी भारतसँग सम्झौता भएपछि असह्य भएर एमालेका तत्कालीन नेता तथा मन्त्री देवीप्रसाद ओझाले ‘सामूहिक आवाज’ नामक सहाना प्रधान विशेषाङ्क (२०७३) मा लेखेका थिए– ‘महाकाली नदीको विकाससँग सम्बन्धित सम्झौता जो काँग्रेस नेता शेरबहादुर देउवाले नेतृत्व गरेको नेपाल सरकार र भारत सरकारबीच भयो, जसको संसद्को दुईतिहाइबाट अनुमोदन प्रक्रियामा नेकपा एमाले केन्द्रीय समितिको बैठकले बहुमतले नाटकीय ढङ्गबाट जब निणर्य ग¥यो तब त्यसले नेकपा एमालेभित्र ठूलो अन्तद्र्वन्द्व सिर्जना ग¥यो । यो सम्झौताको पक्ष र विपक्षमा पार्टी शिरदेखि तिरसम्म नराम्रो ढङ्गले फस्यो । यही विषय नेकपा एमालेको नेपालगञ्जमा ०५४ मा सम्पन्न छैटौँ महाधिवेशनको केन्द्रीय मुद्दा बन्न पुग्यो । क. सहाना प्रधान, क. वामदेव गौतम, क. सीपी मैनाली, क. आरके मैनाली लगायत नेताहरू जसमा म पनि पर्थें, महाकाली सम्झौता राष्ट्रिय हितमा छैन भन्ने हाम्रो उचित निष्कर्ष थियो ।

ओझाले महाकाली सम्झौताबारे आफ्नो दुखेको मन फेरि खोले– ‘क. केपी वली लगायतका नेताहरू महाकाली सम्झौता जस्तो ऐतिहासिक र नेपाली जनताले युगौँयुगसम्म स्मरण गर्दै नेपाल र नेपालीलाई समृद्धिको शिखरमा पु-याउने सन्धि अबउप्रान्त कहिल्यै हुँदैन भन्ने पक्षमा विराट् एवम् प्रबल शक्तिका साथ उभिनुभयो । यसमा पनि केपी शर्मा वली त ‘त्यो सम्झौता नेपालको सन्दर्भमा सगरमाथाभन्दा अग्लो र प्रशान्त महासागरभन्दा ठूलो महत्त्वको राख्छ,’ भन्दै कड्किनु हुन्थ्यो । उहाँहरूले हामी महाकाली सम्झौताको विपक्षमा सोच्ने र बोल्नेलाई अठारौँ शताब्दीको कट्टर पण्डितले जुत्ता सिउने सार्की दाइ, हँसिया बनाउने कामी दाइ, भोटो सिउने दमाईं दाइलाई गरेको अछुत व्यवहार जस्तै व्यवहार गर्नुभयो ।’

सहानाले महाकाली सम्झौताको खरो विरोध गरेकी थिइन् । सहानागायत महाकाली सम्झौताको विरोध गर्ने सांसदहरू वामदेव गौतम, चन्द्रप्रकाश मैनाली, राधाकृष्ण मैनाली, पद्मरत्न तुलाधर, हिरण्यलाल श्रेष्ठ, देवीप्रसाद ओझालाई नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको थियो । वास्तवमा त्यसै सम्झौताका कारण नेपाल कम्युनिस्ट पार्टी (एमाले) नै पनि टुक्रिएको थियो ।  

महाकाली सन्धिकै कारण सहाना प्रधानको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी (माले) गठन भएको थियो । अनि त्यस दलको महासचिव चाहिँ वामदेव गौतम भए । वामदेव गौतम पनि कट्टर देशभक्त भएका कारण सहाना प्रधानसँग वामदेव गौतमको आत्मीयता गाँसिएको थियो । वामदेव गौतम सहाना प्रधानप्रति अति नै श्रद्धा राख्थे । कतिसम्म भने उनले सहाना प्रधानलाई आमाकै व्यवहार गर्थे र सहाना प्रधानले पनि वामदेव गौतमलाई पुत्रवत् व्यवहार गर्थिन् । उनीहरूको नेतृत्वमा माले चार वर्षसम्म सञ्चालित थियो ।

सहानाले महाकाली सम्झौतालाई मान्यता नदिए सँगसँगै उनको राजनीतिक जीवन धराशायी पार्न धमिरा प्रवेश गराइएकोे थियो । त्यति मात्र होइन उनी कृष्णप्रसाद भट्टराईसँग भारत जाँदा भट्टराईले नेपालका खोलानाला साझा भनेका बेला सहाना प्रधान त्यस कुराको विपरीत गएका कारण भारतको उनी आँखी भएकी थिइन् । त्यसैले त्यसपछि उनलाई राजनीतिमा असफल पार्ने खेलको सुरुवात भएको थियो । उनको राजनीतिलाई धराशायी पार्ने कस्तोसम्म रचना भयो भने राजतन्त्रको समाप्तिपछि राष्ट्र प्रमुखका निम्ति त्यतिखेरको जल्दोबल्दो माओवादीका सर्वोच्च नेता प्रचण्डले उनको नाउँ पनि प्रस्तावित गरेका थिए । तर उनलाई त्यस्तो सिंहासनमा बस्न आफ्नै दलले नै योग्य देखाएन । त्यसको प्रमुख कारण के थियो भने उनले जहिलेसुकै पनि नेपालकै हितको मात्र काम गर्थिन् ।

कमलप्रसाद कोइरालाका अनुसार महाकाली सन्धिको नतिजापछि सहाना प्रधानहरूलाई राजनीतिमा स्वदेश तथा विदेशबाट अनेक छेकाबार भइ नै रह्यो । २०५६ सालको निर्वाचनअघि भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयीले नै भनेको थिए– ‘नेपाल में भारत विरोधियों का पत्ता साफ होगा ।’ अनि त्यतिखेरको प्रतिनिधि सभाको निर्वाचनमा सहानाले अध्यक्षता गरेको नेपाल कम्युनिस्ट पार्टीको भोटको परिणाम पनि शून्यका मुनि शून्य नै आएको थियो ।

सहाना प्रधानका लागि निर्वाचन, माननीय र मन्त्री ठूलो विषय थिएन । उनका लागि राष्ट्रिय स्वाभिमान ठूलो कुरा थियो । त्यसैले बाँचुन्जेल उनले राष्ट्रियतामा आँच आउने कुनै पनि विषयमा कसैसँग सम्झौता गरिनन् । त्यसैले नेपालवादीहरूले उनको व्यक्तित्वका बारे प्रकाश पनि पारे । यसै प्रसङ्गमा नारायणमान बिजुक्छेँ ‘रोहित’ले भने– ‘सहाना प्रधान राष्ट्रियताका प्रेमी थिइन् । उनी नेपालको हकहित र मर्यादाका लागि सधैँ चनाखो थिइन् । भारतीय थिचोमिचोको उनी घोर निन्दा गर्थिन् । अरू नेताले विदेशीलाई गुहारेर छोराछोरी विदेशमा राखेर पढाएझैँ पुष्पलाल र सहाना प्रधानले त्यसरी आफ्ना छोराछोरी विदेशमा पढाएका थिएनन् । राष्ट्रियताका दृष्टिकोणले उनीहरू स्वाभिमानी थिए ।’       

महाकाली नदीका सन्दर्भमा सहानाको सिद्धान्तले जित्न सकेन । त्यसपछिका दिनमा उनलाई एमालेको कम्युनिस्ट राजनीतिप्रति नै वितृष्णा भएको थियो । त्यही कारणले एमाले पार्टीले पनि फोरिनु परेको थियो । अनि महाकाली सम्झौता नै उनको राजनीतिक जीवनमा विषका रूपमा रूपान्तर गरिन थालेको उनैले समेत अनुभूत गर्दै जानुपरेको थियो । त्यही विषकै कारण उनको राजनीतिक मूल्यको अवसान गरिने किसिमको खेल उनैले टुलुटुलु हेर्न परिरह्यो । ती दृश्य र परिदृश्यबाट उनले समेत जीवनभरि त्याग, तपस्या र आराधनाबाट हुर्काएको कम्युनिस्ट राजनीतिक यात्राबाट नै उनको हृदयमा मरुन्जेलको ठेस    लागेको थियो । झन् पछिल्ला दिनहरूमा उनको मन, वचन र कर्म पनि सुस्ताउन थालिसकेको थियो । अनि स्वास्थ्यका कारणले पनि उनी दिनानुदिन शिथिल हुँदै जान थालेकी थिइन् । त्यसपछि उनी क्रमशः, क्रमशः र क्रमशः बिरामी भएर थला पनि पर्दै गइन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप