केन्द्रीय संस्करण
चुनावी सरगर्मी

थप तातियो महासंघको चुनावी माहोल, यी ३ फ्याक्टरले पार्नसक्छ नतिजामा उथलपुथल

person explore access_timeमंसिर ६, २०७७ chat_bubble_outline0

काठमाडौं । कुनै अर्को भवितव्य आइपरेन भने आजको ठीक एक सातामा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व परिवर्तन भइसकेको हुनेछ । वर्तमान कार्यसमितिको पदावधि ९ महिनाअघि नै सकिए पनि कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण समयमा साधारणसभा हुन नसक्दा महासंघमा नेतृत्व परिवर्तनको ढोका समेत बन्द हुँदै आएको थियो । 

तेस्रो पटकको प्रयासमा मंसिर ११, १२ र १३ गतेका लागि साधारणसभा र नयाँ कार्यसमितिको निर्वाचनको मिति तोकिएको छ । उक्त मितिमा साधारणसभा र नयाँ कार्यसमितिको निर्वाचन भई नेतृत्व हस्तान्तरण सम्भावना बलियो बन्दै गएको छ । 

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेको महासंघमा अध्यक्ष समेत प्रत्यक्ष रुपमै निर्वाचित हुनुपर्नेगरी विधानलाई संशोधनको प्रयास असफल भएपछि अध्यक्षको लागि निर्वाचन हुनेछैन । हाल वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् । अरु ६४ पदका लागि निर्वाचन हुनेछ । जसमध्ये एकजना वरिष्ठ उपाध्यक्ष, जिल्ला तथा नगर, वस्तुगत तथा एशोसिएट्स समूहबाट १÷१ जना समेत गरी कुल ३ जना विषयगत उपाध्यक्षहरु तथा बाँकी ६० जना कार्यसमिति सदस्यका रहनेछन् । 


६० जना कार्यसमिति सदस्यहरुमध्ये जिल्ला÷नगर तर्फबाट १८ जना, वस्तुगत संघ समूहबाट १४ जना, एशोसिएट्स समूहबाट १९ जना, द्विराष्ट्रिय संघका तर्फबाट १ जना, संस्थापक सदस्यहरुबाट १ जना तथा प्रत्येक प्रदेशको तर्फबाट कार्यसमितिमा प्रतिनिधित्व गर्ने १/१ जना समेत गरी कुल ७ जना रहनेछन् । यी पदहरुका लागि कुल १ सय २७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । प्रदेश १ र द्विराष्ट्रिय समूहबाट प्रतिनिधित्व गर्ने १/१ जना समेत गरी २ कार्यसमिति सदस्यका लागि एकजनाको मात्रैउम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका छन् । महासंघमा उम्मेदवारी मनोनय दर्ताको अन्तिम समय बिहीबारसम्म रहेकोमा र सो अवधिमा सहमतिको प्रयास भएपनि त्यो सम्भव हुन सकेको थिएन । 



यस्तो छ चुनावी प्रक्रिया
महासंघमा निर्वाचित हुने ६४ जना सदस्यमध्ये वरिष्ठ उपाध्यक्षको लागि सबै समूहका प्रतिनिधिले मतदान गर्छन् । उपाध्यक्ष लगायत अरु पदका लागि भने सम्बन्धित समूहका प्रतिविधिले मात्रै मतदान गर्न पाउने व्यवस्था छ । 
महासंघ निर्वाचन समितिको तथ्यांक अनुसार हाल महासंघमा १ सय ७ वटा उद्योग वाणिज्य संघ, १०१ वटा वस्तुगत संघ, ९ सय २३ जना एशोसिएट्स सदस्य तथा संस्थापक तथा द्विराष्ट्रिय संघका तर्फबाट १२÷१२ जना समेत गरी कुल २४ वटा संस्थाका प्रतिनिधिको मताधिकार निश्चित भएको छ । वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरुको निर्वाचन प्रयोजनका लागि द्विराष्ट्रिय संघका सदस्यहरुलाई एशोसिएट्स समूह तथा संस्थापक सदस्यलाई जिल्ला, नगर समूहमा अन्तर्गत राख्ने व्यवस्था छ । यसो हुँदा आफ्नो समूहमा पकड भएका उम्मेदवारहरु नै सम्बन्धित समूहबाट विजयी हुने सम्भावना रहन्छ ।


निर्वाचित हुने कार्यसमितिका सदस्य मध्येबाट महासंघका विभिन्न परिषद्, विषयगत समिति तथा मञ्चमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुको तय गरिन्छ । सामान्यतया एशोसिएट्स उपाध्यक्ष रोजगारदाता परिषद्को संयोजक हुनेछन् । वस्तुगत उपाध्यक्ष वस्तुगत परिषद् तथा जिल्ला, नगरतर्फका उपाध्यक्ष उद्योग वाणिज्य परिषद्को संयोजक हुनेछन् । १७ वटा विषयगत समिति तथा ४ वटा मञ्चमा हुने प्रतिनिधित्व भने कार्यकारिणस् समितिले निर्धारण गरेबमोजिम हुनेछ । सो समितिले नै निर्वाचित सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष तोक्नेछ । उपाध्यक्षभन्दा माथिल्लो हैसियत रहने एक जना विशिष्ठ सदस्य र अन्य ५ जना कार्यकारिणी सदस्यको मनोनयन समेत नयाँ कार्यसमितिले गर्नेछ । निवर्तमान अध्यक्ष भने अध्यक्षपछिको वरियताको सदस्य स्वतः हुने व्यवस्था छ । 

कुन पक्ष बढी बलियो ? 
चैत २८ गतेका लागि पहिलोपटक साधारणसभाको मिति घोषणा हुँदैगर्दा महासंघभित्र ढकाल पक्ष निकै बलियो रहेको विश्लेषण गरिएको थियो । वर्तमान कार्यसमितिमा एशोसिएट्सतर्फ निर्विरोध निर्वाचित भएका ढकाललाई आफैंमा बलियो उम्मेदवार मानिन्छ । एशोसिएट्सतर्फको उपाध्यक्ष भएर पनि जिल्ला तथा नगरमा समेत उनको नेटवर्क राम्रो रहेको बताइन्छ । रातोपाटीसँगको अन्तवार्ताको क्रममा ढकालले आफ्नो व्यवसायिक नेटवर्कलाई नै आफ्नो जीतको मुख्य आधार रहेको बताएका थिए । 

तर, उनी बलियो भनिनुमा कारण त्यतिमात्रै चाहिँ थिएन । महासंघभित्रको अंकगणितका कारण यस्तो अवस्था देखिएको थियो । पहिलोपटक निर्वाचनको मिति तय हुँदा वर्तमान अध्यक्ष भवानी राणा ढकालको टीममा थिइन् । तर साधारणसभा स्थागित भएसँगै फेरिएको माहौलले उनलाई प्रधानको पक्षमा पुर्यायो । त्यसो त, वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई समर्थन गरे पनि भावी उपाध्यक्ष शेखर गोल्छा प्रधानको पक्षमा यसरी खुलेका थिएनन् । तर, भावी अध्यक्ष नै एउटा पक्षमा खुलेर लाग्दा त्यसको प्रभाव देखिएको छ ।

त्यसो त, यही बीचमा तटस्थ देखिएका केही प्रभावशाली व्यक्ति प्रधानको टीममा आएको बताइन्छ । यस्तो अवस्थामा चुनावी प्रतिस्पर्धामा रोचकता थपिएको छ । 

निर्वाचन नजिकिँदै गर्दा महासंघमा प्रतिनिधित्व गर्ने मतदाताले आफ्नो झुकाव देखाउने क्रमले तीव्रता पाएको छ । खासगरी जिल्ला, नगरतर्फबाट प्रतिनिधिहरु आफ्नो पक्षमा खुलेरै लागेको देखिन्छ । यद्यपि अहिले पनि दुवै समूहले जिल्ला, नगरमा आफ्नो बहुमत रहेको दाबी गर्छ छाडेका छैनन् । 

वस्तुगत संघभित्र जिल्ला नगरजस्तै अवस्था छैन । तर, यो समूहमा पनि एउटा समूहलाई समर्थन गर्ने घोषणा नौलो भने छैन । एशोसिएट्स सदस्य भने स्वतन्त्र हुने भएकोले उम्मेदवारबाहेक अरु खुलेर एउटा पक्षमा लागेको अवस्था छैन । तर, कुन सदस्यले कुन समूहलाई समर्थन गर्ला भन्ने अड्कलबाजी भने नहुने गरेको होइन ।  

निर्वाचन नतिजा प्रभावित गर्ने फ्याक्टर
पछिल्लो माहौललाई हेर्दा आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा कसले जित्छ भन्ने सहज अनुमान लगाउनसक्ने अवस्था नरहेको विश्लेषण महासंघभित्र हुने गरेको छ । निर्वाचन कसको पोल्टामा पर्छ भन्ने कुरालाई ३ वटा फ्याक्टरले असर गर्ने विश्लेषण गरिन्छ । 

१. प्यानलप्रतिको झुकाव 
निर्वाचनमा नतिजा कसको पक्षमा जान्छ भन्ने निर्धारण प्यानलप्रति मतदाताको झुकावको कारण निर्भर हुने विश्लेषण पछिल्लो समय हुन थालेको छ । कसैले यसलाई नमाने पनि उम्मेदवारको हिसाबले किशोर प्रधानभन्दा चन्द्र ढकाल बलियो रहेको विश्लेषण अहिले पनि महासंघभित्र हुने गरेको छ । तर प्रधानको नेतृत्वमा अहिले जुन टीम बनेको छ, त्यो भने ढकाल पक्षको लागि टाउको दुखाईको विषय बनेको छ । 
एशोसिएट्स उपाध्यक्षका उम्मेदवार सौरभ ज्योतिलाई रामचन्द्र सांघाई भन्दा बलियो उम्मेदवार मानिन्छ । सांघाईले हालसम्म महासंघको कुनै पनि समितिको नेतृत्व नलिएको र ज्योतिले बैंक तथा बीमा समितिको सभापति भएर काम गरेका कारण पनि उनलाई बढी बलियो मानिन्छ । 

उता वस्तुगततर्फका उम्मेदवारहरु अञ्जन श्रेष्ठ र किशोरलाल प्रधानबीच ‘नेक टू नेक’ प्रतिस्पर्धाको सम्भावना छ । दुवै उम्मेदवार महासंघमा लामो योगदान भएका उम्मेदवार मानिन्छन् । 
उता, काठमाडौं चेम्बरका अध्यक्ष दिनेश श्रेष्ठ र महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीबीचको प्रतिस्पर्धा समेत रोचक छ । दिनेश श्रेष्ठले पटकपटक चुनाव हारेका कारण उनलाई कमजोर उम्मेदवार मानिए पनि प्रदेश २ र बागमती प्रदेश अन्तर्गतको जिल्ला, नगर समूहमा गरेको होल्डका कारण उनलाई एउटा प्रतिस्पर्धी उम्मेदवारको रुपमा चित्रण गरिएको छ । त्यसो त तिवारीले पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्ला नगरलाई प्रभावमा राख्न सफल भएको बताइन्छ ।

यसरी प्रत्येक समूहमा प्रतिस्पर्धा रोचक हुँदैगर्दा वरिष्ठ उपाध्यक्षका लागि कसको पक्षमा बढी मत जान्छ भन्ने चाहिँ मतदाताहरु समूहप्रति कति झुकाव राख्छन् भन्ने विषयले निर्धारण हुने विश्लेषकहरु बताउँछन् । प्यानलसहितको निर्वाचन महासंघभित्रको परम्परा नभएका कारण प्यानलप्रतिको झुकाव नहुने सम्भावना पनि रहन्छ । यदि त्यसो भयो भने यसको लाभ चन्द्र ढकाललाई हुन्छ । तर, मतादातारुले प्यानलप्रति झुकाव राखेर मतदान गरे भने यसको लाभ किशोर प्रधानलाई हुन्छ । 

२. सरकारको भूमिका
उद्योगी व्यवसायीको निर्वाचनमा सरकारको प्रत्यक्ष भूमिका हुँदैन । तर, सरकारी हस्तक्षेपले नतिजा उल्ट्याउने हैसियत भने राख्न सक्छ । हाल सबैजसो सार्वजनिक संस्थानहरु महासंघमा एशोसिएट्स सदस्य छन् । नियमनकारी निकायबाट नियमित हुने सयौं एशोसिएट्स सदस्यहरुमा समेत सरकारी प्रभाव पर्न सक्छ । त्यतिमात्रै होइन, सरकारले कुनै कारणले एउटा पक्षलाई समर्थनको संकेत मात्रै गर्यो भने पनि सम्पूर्ण मतदातामा त्यसको मनोवैज्ञानिक प्रभाव पर्न सक्छ । 

यो निर्वाचनमा सरकारले कस्तो भूमिका खेल्छ भन्ने विषयले चुनावी नतिजालाई प्रभावित गर्न सक्छ । महासंघमा वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवार भएकामध्ये ढकाललाई सत्तारुढ दल निकट व्यक्ति मानिन्छ । प्रधान भने काँग्रेसनिकट हुन् । 

३. जातीय तथा क्षेत्रीय प्रभाव
नेपाल उद्योग वाणिज्य महासंघभित्रको राजनीति सुरुदेखि नै जातीयता र क्षेत्रीयतामा निर्भर हुँदै आयो । माडवारी समुदाय, नेवारी समुदाय लगायत नाममा यहाँभित्रको राजनीति केन्द्रित भएको पाइन्छ । पछिल्लो समय यसमा धेरै सुधार आए पनि जातीयता र क्षेत्रीयताको अवशेष अझै पनि बाँकी रहेको विश्लेषण हुने गरेको छ । 

अहिले प्रधान समूहभित्र मुख्य पदका सबै उम्मेदवारहरु नेवारी समुदायका छन् । किशोर प्रधान, सौरभ ज्योति, अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ चारैजना नेवारी समुदायबाट प्रतिनिधित्व गर्छन् । जबकी ढकाल पक्षले नेवार, माडबारी र अरु समुदायलाई पनि सन्तुलित रुपमा समेटेको छ । रामचन्द्र सांघाई माडबारी समुदायका व्यवसायी हुन् । उमेशलाल प्रधान नेवारी समुदायका हुन् भने गुणनिधि तिवारी तराई भेगको प्रतिनिधित्व गर्छन् भने ढकाल आफैं भने पहाडी भेगबाट प्रतिनिधित्व गर्छन् । महासंघको राजनीतिमा यो सेन्टिमेन्ट हाबी भयो भने यसको लाभ ढकालले उठाउन सक्छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.