शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्र बैंकले स्वीकृत गर्‍यो ५८ अर्बको पुनरकर्जा

शुक्रबार, ०५ मङ्सिर २०७७, १६ : १५
शुक्रबार, ०५ मङ्सिर २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५८ अर्ब रुपैंया बराबरको पुनरकर्जा प्रवाहको लागि स्वीकृति दिएकोे छ । पुनरकर्जा कार्यविधि बमोजिम एकमुष्ठ रुपमा वितरण गरिने कर्जा र ग्राहक मूल्याँकन बमोजिम प्रवाह हुने कर्जा समेत गरी सो बराबरको कर्जा स्वीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकले असोज मसान्तसम्मको समय दिएर पुनरकर्जाका लागि आवेदन दिन आह्वान गरेको थियो । सोबमोजिम कूल १ सय ४ अर्ब रुपैंया बराबरको पुनकर्जाको लागि आवेदन परेको थियो । पुनरकर्जाको लागि आवेदन परेको कुल रकममध्ये ६२ अर्ब रुपैंयाँ एकमुष्ठ रुपमा प्रदान गरिने कर्जा अन्तर्गत आवेदन परेको थियो भने बाँकी ४२ अर्ब रुपैंया भने ग्राहक मूल्याँकनका आधारमा दिइने कर्जा अन्तर्गत आवेदन परेको थियो । 

एकमुष्ठ रुपमा प्रदान गरिने कर्जाका लागि बैंक तथा वित्तिय संस्थामार्फत् आवेदन गरेका ६२ अर्ब कर्जामध्ये ५० अर्बको कर्जा स्वीकृत गरिसकेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । ग्राहक मूल्याँकनका आधारमा दिइने कर्जामा भने ४२ अर्बको आवेदन परेकोमा हालसम्म ८ अर्बको कर्जालाई मात्रै स्वीकृत गरेको भट्टको भनाई छ । 

यो तथ्याँकअनुसार एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाको लागि आवेदन दिइएकोमध्ये ८० प्रतिशत ऋण स्वीकृत भएको छ । ग्राहक मूल्याँकनका आधारमा दिइने कर्जामा भने प्राप्त भएको आवेदन रकमको २० प्रतिशत कर्जा मात्रै स्वीकृत भएको छ ।

कर्जा प्रवाह सुरु

नेपाल राष्ट्र बैंकले कर्जा स्वीकृत गरेसँगै बैंक तथा वित्तीय संस्थालाई त्यस्तो कर्जा प्रवाह गर्ने बाटो खुलिसकेको छ । बैंकहरुले त्यसरी स्वीकृत भएको कर्जाअनुसार ग्राहकको ब्याजदर पुनरकर्जा कार्यविधि अनुसार कायम गरिसकेका छन् । विद्यमान ग्राहकले मात्रै पुनरकर्जामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएका कारण बैंक तथा वित्तीय संस्थामा कायम रहेको ऋणीले मात्रै पुनरकर्जाका लागि सहभागिता जनाउन पाएका छन् । पुनरकर्जा प्राप्त भएपछि बैंकहरुको लगानी गर्ने क्षमता थप बढ्ने भएको छ । 

पुनरकर्जा कार्यविधि बमोजिम साधारण पुनरकर्जा तथा घरेलु तथा साना उद्योग पुनरकर्जाको लागि ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइएको छ । निर्यातजन्य उद्योगका लागि दिइने विशेष पुनरकर्जाको ब्याजदर भने ३ प्रतिशत तोकिएको छ । ५ प्रतिशतको पुनरकर्जामा राष्ट्र बैंकले बैंकहरुसँग ३ प्रतिशत ब्याज लिन्छ । ३ प्रतिशतमा प्रवाह हुन विशेष पुनरकर्जाका लागि भने १ प्रतिशत ब्याजदरमै ऋण लिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकसँग हाल करिब ४२ अर्बको पुनरकर्जा कोष छ । यो कोषको सुरक्षणमा ५ गुणासम्म कर्जा प्रवाह गर्नसक्ने कार्यविधिमा उल्लेख छ । सोही कार्यविधि अनुसार ५८ अर्ब रुपैंयाको पुनरकर्जा प्रवाह गरिएको हो । अरु ऋण पनि प्रक्रिया पुर्याएर स्वीकृत गर्दै जाने राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप