शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण तयारी

शुक्रबार, ०५ मङ्सिर २०७७, १३ : ४१
शुक्रबार, ०५ मङ्सिर २०७७

झापा । झापाको कनकाई नगरपालिकामा रहेका भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्ने तयारी भएको छ ।  प्रदेश नं १ अन्तर्गत झापाको कनकाई नगरपालिका र उदयपुरको बेलका नगरपालिकासँग भूमिसम्बन्धी समस्या समाधान आयोगले गरेको सम्झौतानुसार भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरणको तयारी भएको हो ।

उम्मेदवारले निर्वाचनका समयमा भूमिहीनलाई लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाएका थिए । आयोगले देशभर १४  स्थानीय तहमा लालपुर्जा वितरणका लागि गत कात्तिक १४ गते सम्झौता गरेको थियो । सात प्रदेशका  ती स्थानीय तहमा पहिलो चरणमा लालपुर्जा वितरण गर्ने गरी आयोगले काम थालेको हो । सोहीबमोजिम कनकाई नगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाएको छ । लालपुर्जा वितरणमा खटिने कर्मचारीलाई तालीमसमेत दिइसकिएको छ ।

भूमिहीनलाई भूमि र आवासविहीनलाई आवास दिने नेकपा सरकारको घोषणानुरुप देशभर पहिलो चरणको काम थालिएको छ । झापा क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बू तथा आयोगका सदस्य गोपाल गुरागाईँ र प्रतिनिधि जगतबहादुर देउजाले नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई सक्कल आवेदन फाराम हस्तान्तरण गरेका छन् ।

आयोग गठन र लालपुर्जा वितरणको कामलाई गति दिन केन्द्रीय तहबाट भूमिका निर्वाह गरेका सांसद् लिम्बूले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि आएको आवेदन फाराम नगरपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिए । सांसद् लिम्बूका अनुसार नेकपाले निर्वाचनमा गरेको प्रतिबद्धतानुसार लालपुर्जा वितरणको काम अघि बढाइएको हो ।

उनले यही मङ्सिर १४ गते नगरपालिकाले सूचना जारी गर्ने र २०७८ असार मसान्तभित्र भूमिहीनलाई र असोजभित्र अव्यस्थित बसोवास गर्नेलाई लालपुर्जा वितरण गरिने जानकारी दिए । अधिकतम ३० कठ्ठासम्मको लालपुर्जा दिइने सांसद साँवाको भनाइ छ ।

साँवाले पहिलो चरणमा १४ पालिकाको काम सकेर २०७८ मङ्सिरभित्र थप एक सय पालिकामा सोही कामको सम्झौता हुने जानकारी दिए । झापाका शिवसताक्षी र झापा गाउँपालिकासहित आठ पालिकामा लालपुर्जाको काम गरिने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप