केन्द्रीय संस्करण
शिक्षा

कोरोना संक्रमणबीच विश्वविद्यालयको परीक्षा कति उचित ?

३ घण्टाको परीक्षा लिन ठूलो ‘इस्यू’ नबनाऔँ : जनस्वास्वस्थ्यविद्

person explore access_timeमंसिर ५, २०७७ chat_bubble_outline0

 

यतिबेला काठमाडौँ उपत्यका कोरोना संक्रमणको हटस्पट बनेको छ । प्रत्येक दिन देशभर भटिएका कोरोना संक्रमित मध्ये ५० प्रतिशतभन्दा धेरै काठमाडौँ उपत्यकामा र्न भेटिने गरेका छन् । मंसिर ३ गतेको आँकडा अनुसार देशभर कूल २८ हजार ८ सय ७८ कूल संक्रमित रहेका बेला उपत्यकामा मात्रै १५ हजार ६ सय ९० सक्रिय संक्रमित रहेका छन् ।

उपत्यकामा संक्रमण समुदायस्तरमा फैलिएर रोक्न सक्ने स्थिति नभएपछि काठमाडौँका नगरप्रमुखहरुले सरकारलाई पुनः लकडाउन सुरु गर्न सुझाव दिएका छन् । अर्कोतिर जाडोयाममा संक्रमण झन् बढ्दै जाने भनेर जनस्वास्वास्थ्यविद्हरुले चिन्ता ब्यक्त गरेका छन् ।

यहि बेला त्रिभुवन विश्वविद्यालयले गत चैत महिनादेखि रोकिएका विभिन्न संकायका विभिन्न तहमा वार्षिक परीक्षाहरु सञ्चालन गर्न थालेको छ । आगामी पुस महिनाभित्र परीक्षा सक्नेगरी परीक्षाको कार्यतालिका प्रकाशन गरिरहेको छ । सरकारले त्रिविलाई स्वास्थ्य सावधानीका साथ परीक्षा लिन अनुमति दिएपछि परीक्षा सञ्चालन गर्न थालिएको हो । गत चैत ११ देखि कोरोना रोकथामका लागि जारी गरिएको लकडाउनका कारण विश्वविद्यालयका विभिन्न संकायको परीक्षाहरु रद्द भएको थियो ।

हालै कोभिड–१९ व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित काठमाडौँ उपत्यकाका नगरप्रमुखहरुले उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका विषयमा झन्डै ५ घण्टा लामो छलफल गरे । सो छलफलमा उपत्यकाका मेयरहरु संगठित भएको मेयर फोरमका सदस्यहरुले फेरि उपत्यकामा कम्तिमा २१ दिनसम्म लकडाउन गर्न र टोल टोलमा पुगेर कन्ट्रयाक टे«सिङ गर्न सुझाव दिएका थिए । साथै नाकाहरुमा पनि पहिलेभन्दा कडाइ गर्नुपर्ने उनीहरुको माग थियो । नगरप्रमुखहरुले दिएको सुझावलाई मन्त्रीहरुले सकारात्मक रुपमा लिएको उपत्यका मेयर फोरमका प्रवक्तासमेत रहेका मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले रातोपाटीलाई बताए । उपत्यकामा कोरोना संक्रमित मध्ये ९० प्रतिशतभन्दा बढी होम आइसोलेसनमा रहेको र उनीहरु घरमा नबसी बाहिर निस्कने गरेका कारण संक्रमण झन् फैलिरहेको उनले बताए ।  बढिरहेको संक्रमणको अवस्थामा न्यूनीकरणका लागि कडा खालको निषेधाज्ञा आवश्यक रहेको उनले बताए । उपत्यकामा फेरि लकडाउन गर्ने भन्नेबारेमा सरकारी तबरबाट हालसम्म कुनै सङ्केत गरिएको छैन ।

संक्रमणको जोखिम रहेका बेला त्रिभुवन विश्वविद्यालयले भने गत चैतयता रोकिएका विभिन्न संकाय र तहका वार्षिक परीक्षा सञ्चालनका लागि कार्यतालिका प्रकाशन गरिरहेको छ । बजार व्यवसाय, यातायात, होटल सबै सञ्चालन भएपछि परीक्षा पनि सञ्चालन गर्न सकिने त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले जानकारी दिए । जनस्वास्थ्य मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयले अनुमति दिएकोले सोही अनुसार दुरी कायम गर्दै, विद्यार्थीहरुलाई पायक पर्ने जिल्लामा समेत सेन्टर राखेर परीक्षा लिने उनले बताए । त्रिविले विद्यार्थीले अनलाइनबाट आफूलाई पायक पर्ने परीक्षा सेन्टर रोजेर परीक्षा दिन पाउने व्यवस्था गरेको उनले बताए । सामाजिक दुरी कायम गरेर परीक्षा लिँदा कक्षाकोठा र परीक्षा सेन्टर भने बढ्ने उनले बताए ।

विश्वद्यिालयले सामासजक दुरी कायम गरेर परीक्षा लिँदा कोरोनाको जोखिम नहुने जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनी बताउँछन् । उनले भने–‘एउटा बेञ्चको छेउमा एकजना, अर्को बेञ्चको भित्तापट्टी एकजना, फेरि अर्को बेञ्चको छेउतिर अर्को जना राखेर परीक्षा लिन सकिन्छ । यस्तै बीचमा एउटा–एउटा बेञ्च छोडेर पनि बिद्यार्थी राख्न सकिन्छ । यसका लागि परीक्षा सेन्टर र कक्षाकोठा बढी चाहिन्छ । एउटा कोठामा ३० जना राखेर परीक्षा लिन सकिन्थ्यो भने अब कि १५ जना वा १० जना राखेर गर्ने हो भने कक्षाकोठा थप गर्नुपर्ने हुन्छ । यसरी परीक्षा लिँदा संक्रमणको जोखिम हुँदैन ।’

यस्तै जनस्वास्वास्थ्यविद् डा. समीरमणि दीक्षितपनि मास्क लगाउने र दुरी कायम गर्ने हो स्कूल तथा कलेज सञ्चालनमा समस्या नरहेको बताउँछन् । उनले विश्वका विभिन्न देशमा मापदण्ड बनाएर शैक्षिक संस्था सञ्चालनमा रहेको बताउँदै मापदण्ड बनाएर पढाइ तथा परीक्षालाई अगाडी बढाउन सकिने उल्लेख गरे ।

जाडोयाम सुरु भइसकेकाले यो बेला कोरोना संक्रमण अवस्था कस्तो होला, उपत्यकामा कोरोना संक्रमण बढेको अवस्थामा त्रिविले वार्षिक परीक्षा सुरु गरेको सन्र्दभमा विभिन्न पक्षसँग कुराकानी गरेका छौं ।

कम्तिमा २१ दिन कडा लकडाउन गरौँ : मदनसुन्दर श्रेष्ठ, मेयर फोरमका प्रवक्ता 

सरकारसँग अस्ति हामीले गम्भीर रुपमा छलफल ग-यौं । उपत्यकामा लकडाउन गर्ने कुरामा उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सकारात्मक नै हुनुहुन्छ ।

पहिले गरेको लकडाउन उपलब्धीमुलक भएन जनतालाई थुन्ने जस्तो मात्र भयो । अहिले हामीले भनेको जनतालाई घरभित्र थुन्ने मात्र हैन कि नाकाहरु सिल गरेर लकडान गर्ने । टोल टोलमा समुदायस्तरमा गएर कन्ट्रयाक ट्रेसिङ गर्दै संक्रमितलाई आइसोलेसनमा राख्दै जाने । त्यसका लागि १४ देखि २१ दिन लाग्छ, त्यति समयभित्र उपत्यकाबाट कोरोना मुक्त गर्ने भन्ने हाम्रो प्रस्ताव छ ।

खोप नआएसम्म त कोरोना निर्मूल गर्न सकिँदैन । अहिले उपत्यकामा ५० प्रतिशतभन्दा बढी संक्रमित उपत्यकामा मै रहेका छन् । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ५ प्रतिशत नयाँ संक्रमित रहनुपर्नेमा हाम्रोमा २५ प्रतिशत भन्दा बढी रहेको छ, यो भयावहस्थिति हो । एकपटक लकडाउन गरेर घनीभूत रुपमा क्लिनअप गर्ने, नाकाहरुमा कडाइ गर्दै विस्तारै खोल्दै जानुपर्छ । अहिले यूरोपतिर पनि लकडाउन सुरु भएको छ । बेला–बेला लकडाउन गर्ने र खोल्ने कामलाई साइकलको चक्रको रुपमा अगाडि बढाउनुपर्छ ।

हामीले भनेको लकडाउन पहिला जस्तो महिनौ गर्ने भनेको हैनौँ । यो १४ दिनदेखि २१ दिनसम्मको हुन्छ । कोरोना संक्रमित पत्ता लगाएर १४ दिनसम्म आइसोलेनमा राखेपछि कोरोना फैलन त पाउदैन नी । परीक्षण गर्नका लागि १ हप्ता लगाउने र २१ दिनभित्रमा सम्भावित संक्रमित सबैको परीक्षण गर्ने भन्ने हाम्रो प्रस्ताव हो । त्यसपछि बिस्तारै यातायात खुकुलो बनाउदै जाने भन्ने हो । परीक्षा दिनेहरु, अत्यावश्यक कामका लागि हिँड्डुल गर्ने व्यवस्था सरकारले मिलाउनुपर्छ ।

हामीले ५ घण्टा गरेको छलफलमा स्वास्थ्यमन्त्री पनि हुनुहुन्थ्यो, हामीले उपत्यकाको नगरपालिकाको वडास्तरबाट रिर्पोटिङ ग¥यौँ । अहिले कोरोनाको बारेमा उपत्यकामा धेरै लापरवाही भयो त्यसले गर्दा जोखिम धेरै बढ्यो । अहिले शंका लाग्यो भने परीक्षणका लागि स्वाव दिएर आउने त्यसपछि अफिस जाने, बाहिरतिर घुमघाम गर्ने चलन बढेको छ । २४ देखि ४८ घण्टाभित्र रिपोर्ट पोजिटिभ आँउदा धेरैलाई सारिसकेको अवस्था छ ।

अहिले २० हजार संक्रमित छन् भने १ हजार जति मात्रै अस्पताल तथा अन्य आइसोलेसन सेन्टरमा छन् भने १९ हजार हाराहारी त आफ्नै घरमा बसेका छन् । हामीलाई आएको रिर्पोट अनुसार होम आइसोलेसनमा बसेका सबै संक्रमित आराम गरेका बसेका छैनन् धेरैजसो बाहिर निस्किएका छन्, मर्निङवाक गर्ने, बजारमा सामान किन्न जानेदेखि घुमघाम गर्ने गरेका छन् । यसले गर्दा थप अन्य व्यक्तिहरुमा पनि सरिरहेको छ । यसरी छोड्ने हो भने त उपत्यकामा अनियन्त्रित रुपमा कोरोना संक्रमण बढिरहने भयो ।

यो अवस्था रोक्नका लागि अलिकति कठोर कदम त अवश्यनै चाल्नुपर्ने हुन्छ त्यो भनेको निषेधाज्ञा र लकडाउन नै हो भन्ने बारेमा हामीले छलफल गरेका हौँ । मध्यपुर थिमि नगरपालिकाको कुरा गर्ने हो भने हामीले ३ तारे होटलको सुविधा दिनेगरी ६८ बेडको आइसोलेन सेन्टर सञ्चालन गरिरहेका छौँ । अहिले हाम्रोमा ५ सय ६२ जना एक्टिभ केश छ । आइसोलेसनमा २ जनामात्र बाँकी छन् ।

अहिले उपत्यकाको अवस्था हेर्दा ९० प्रतिशत घरमा रहेका छन् भने १० प्रतिशत मात्र आइसोलेसन सेन्टरमा रहेका छन् । अहिले अस्पतालहरुमा पनि ४० प्रतिशत आइसीयू बेड खाली रहेको छ तर बिरामीहरुले बेड पाइरहेका छैनन् भन्ने कुरा पनि आएको छ । यसको पनि समन्वय गर्नुपर्ने अवस्था छ ।

सबै क्षेत्र सञ्चालनमा आउने परीक्षा रोक्ने भन्ने कुरा हुँदैन : डा. शिवलाल भुसाल, त्रिवि शिक्षाध्यक्ष

अहिले कोरोना संक्रमणको अवस्था नरोकिएपनि हामीले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न लागिरहेका छौँ । बरु बिद्यार्थी जुन जिल्लामा छन् त्यहीको क्याम्पसमा समन्वय गरेर परीक्षा सञ्चालन गर्ने तयारी छ । परीक्षा सेन्टरहरु थप्ने र विद्यार्थीहरुलाई आफ्नै क्याम्पसमा जानुपर्ने बाध्यतालाई कम गरी तयारी गर्दैछौं । परीक्षा नियन्त्रण कार्यालयले आफूलाई परीक्षा दिन पायक पर्ने स्थान अनलाईनबाट भर्न विद्यार्थीहरुलाई अवसर दिइरहेको छ । विद्यार्थीले आफूले कुन स्थानबाट परीक्षा दिन लागेको हो त्यसबारे त्रिविलाई अगाडी नै जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।

केही विद्यार्थीलाई त्यस्तो अप्ठेरो पर्न सक्छ, सबैलाई पर्छ भन्ने होइन् । केही विद्यार्थीलाई जुम्लाबाट, केहीलाई नेपालगञ्जाबाट परीक्षा दिने व्यवस्था गरिरहेका छौँ ।

सबै होटल ब्यवसाय यातायात खुला भएको छ । विश्वविद्यालयमा परीक्षा दिन आउने विद्यार्थी भनेका परिपक्व व्यक्ति नै आउने हुन् । के गर्नुपर्छ के गर्नु हुँदैन भन्ने कुरामा विद्यार्थी आफै पनि सचेत छन् । अरु सबै खुला हुन पाउने तर परीक्षा लिन नपाउने भन्ने हुँदैन हामीले दुरी कायम गरेरै परीक्षा सञ्चालन गर्ने भनेका छौँ ।

यसका लागि स्वास्थ्य मापदण्ड पालना गर्ने र परीक्षा केन्द्रहरु थप गर्ने भनेका छौँ । हाम्रो कुरालाई विद्यार्थीहरुले पनि मानेका छन् । त्रिविको एक वर्ष नै गुम्ने अवस्था सिर्जना भएको छ । हामीले यसलाई सरल बनाएर लैजाँदैछौँ ।

हाम्रो सबै सङ्कायका विद्यार्थीले परीक्षा दिँदा ६ देखि ७ लाख हुन्छ तर अहिले त्यस्तो हुँदैन । हरेक सङ्कायका डीन कार्यालयका आफ्नै परीक्षा सेन्टरहरु हुन्छन्, कतिपय परीक्षा भइपनि रहेको छ । परीक्षा गर्दा सबै विद्यार्थी एकैदिन एउटै सेन्टरमा आउने पनि हैन नी ।

यदी लकडाउन गर्ने कुरा भयो भने त्यो हाम्रो बुताभित्रको कुरा रहेन, हामीलाई शिक्षा मन्त्रालयले नै परीक्षा लिन स्वीकृति दिएको छ ।

स्कूल क्याम्पस चलाउन सकिन्छ : डा.बाबुराम मरासिनी, जनस्वास्थ्यविद्

हिउँदमा चिसो बढ्ने क्रमसँगै संक्रमण झन् बढ्ने हुन्छ । अर्कोतिर जाडोयाममा सँगै मिलेर आगो ताप्ने काम हुन्छ त्यसले पनि एकजनालाई संक्रमण भएको भने अरुलाई पनि सर्ने जोखिम हुन्छ । जाडोमा सँगै सुत्ने, झ्यालढोकाहरु बन्द गर्ने भएका कारण संक्रमण छिटो सर्ने हुन सक्छ ।

अहिले त्रिविले परीक्षा सञ्चालन गर्न लागेको सन्र्दभमा भन्नुपर्दा एउटा ठूलो कोठामा सात आठ जना विद्यार्थी राखेर परीक्षा गर्न सकिन्छ । एउटा बेञ्चको छेउमा एकजना, अर्को बेञ्चको भित्तापट्टी एकजना, फेरि अर्को बेञ्चको छेउतिर अर्को जना राखेर परीक्षा लिन सकिन्छ । अर्को भनेको एउटा बेञ्च छोडेर अर्को बेञ्चमा बिद्यार्थी राख्नपनि सकिन्छ । यसका लागि परीक्षा सेन्टर र कक्षाकोठा बढी चाहिन्छ होला । एउटा कोठामा ३० जना राखेर परीक्षा लिन सकिन्थ्यो भने अब कि १५ जना वा १० जना राखेर गर्ने हो भने कक्षाकोठा थप गर्नुपर्ने भयो । परीक्षा निरीक्षकपनि अलि बढाउनु प¥यो त्यति त हो नी ।

सडक यातायात, बजार ब्यवसाय, काम धन्दा सबै चलेको छ भने विद्यार्थीले ३ घण्टा परीक्षा लिन त्यति ठूलो इस्यू बनाउनुपर्छ जस्तो मलाई लाग्दैन । स्कूलपनि यसरी नै चलाउन सकिन्छ । उदाहरणको लागि एउटा कक्षामा ४० जना विद्यार्थी छन् । बिहान ८ बजेदेखि १२ बजेसम्म १० जना बोलाउने, १२ देखि १ बजेसम्म खाली गर्ने, १ देखि ४ बजेसम्म अर्को समूहलाई बोलाउने । बाँकी रहेका २० जनालाई भोलिपल्ट बोलाउने, अरुलाई यहाँ पठाएको तिमीहरु अनलाइनबाट हेर भन्ने । शिक्षा मन्त्रालयमा कस्ता मान्छे छन् मैले बुझ्न सकेको छैन । यसरी अस्तिनै देखि विद्यालय चलाएको भए विद्यार्थीहरुको पढाइ पनि बिग्रिने थिएन । नर्सरीमा बच्चाहरुलाई त्यसरी पढाउन नसकिएला तर माथिल्लो कक्षाका विद्यार्थीलाई त यसरी दुरी कायम गर, हात नमिलाउ, यसरी बस भनेर सिकाएपछि मान्छन् । हात धुन लगाउने । ४ घण्टामात्र पढ्ने वातावरणमात्र बनाउँदा पनि उनीहरुले धेरै कुरा सिक्छन् । गाउँमा त विद्यार्थी नै धेरै हुँदैनन्, त्यहाँ संक्रमणको जोखिमपनि अत्यन्तै न्यून पनि छ । कतिपय बिद्यालमा शिक्षक पनि कम छन् । त्यस्तो ठाउँमा त अस्तिनैदेखिस्कूल चलाउन सकिन्थ्यो ।

मास्क लगाउने र दुरी कायम गर्ने हो भने विद्यालय क्याम्पस सञ्चालन गर्न समस्या छैन : डा. समीरमणि दीक्षित, जनस्वास्थ्यविद्

जाडोयाममा संक्रमण बढ्नेभन्दापनि हामीले गर्ने व्यवहारमा फरक पर्छ । ९ महिनाको अनुभवलाई हेर्दै मास्क लगाउने र दुरी कायम गरेर दैनीक व्यवहार सञ्चालन गर्ने हो भने जाडोयामले खासै फरक पार्दैन । अहिले अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायत यतिबेला जाडो हुने, अब गर्मीमा जाँदै गरेका दक्षिणी गोलार्दका विश्वका अन्य देश हेर्ने हो भने उनीहरुमा त्यसरी ह्वात्तै बढेको देखिएन् । कतिपय देशले नियन्त्रण नै गरे । यता ल्याटिन अमेरिकातिर हेर्ने हो भने जाडोमा त्यहाँ संक्रमण ह्वात्तै बढ्यो । जहाँ राज्य र नागरिकले हातेमालो गरेर मास्क र दुरी कायम गर्ने, भीडभाड नगर्ने हो भने खासै फरक पर्दैन । छातीको समस्या, दम, मुटुको समस्याले गर्दा बृद्धबृद्धा र जोखिम समूहमा रहेकाहरुलाई त्यसैपनि जाडो मौसम राम्रो मानिदैन् । यस्तो समस्या भएकालाई कोरोना लाग्यो भने कडा लक्षण देखाउन सक्छ । तर स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने आम नागरिकलाई यसले खासै असर पु-याउँदैन  ।

मास्क लगाउने र दुरी कायम गर्ने हो भने विद्यालय क्याम्पस सञ्चालन गर्न समस्या छैन  । अरु देशको उदाहरण हेर्ने हो भने स्कूल कलेज खोलेका कारण संक्रमण बढेको भन्ने कहिँपनि देखिएको छैन् । यूरोपमा, पाकिस्तानमा हेर्ने हो भने स्कूल कलेज खुला नै छ । विभिन्न देशहशरुले आफ्नो मापदण्ड निर्धारण गरेर कडा रुपमा कार्यान्वयन गरेर लग्यो भने स्कूल कलेजबाट संक्रमण फैलिदैन भन्ने कुरा विज्ञानले नै बोलिसक्यो ।

विश्वविद्यालयले परीक्षा लिँदा अलिकति हावा खेल्ने ठाउँमा वा ठूलो ठाउँमा दुरी कायम गरेर मास्क लगाएर गर्न सकिन्छ । त्यो अरु देशले पनि गरेका छन्, हामीले पनि गर्न नसकिने कुरा हैन । यसको मुख्य कुरा मापदण्ड पालना गर्न सक्नुहुन्छ कि हुँदैन भन्ने हो । यसका लागि सुरक्षा संयन्त्रको मद्दत लिएर पनि गर्नुपर्ने हुन्छ । मुख्य कुरा त मास्क लगाउनु र दुरी कायम गर्नु नै हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.