शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीज्यू, फेरि पनि खुला ठाउँमै ‘तमासा’ !

भोकाहरुको ‘व्यवस्थापन’ धुँवाधुलोमै, तस्विरमा हेर्नुहोस्
बिहीबार, ०४ मङ्सिर २०७७, १९ : ०९
बिहीबार, ०४ मङ्सिर २०७७

‘यो बाटामा तमासा देखाउने कुरा हो कि खुवाउने कुरा हो ?,’ गत २२ कात्तिकमा एपीवान टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रश्न गरेका थिए ।

‘महानगरपालिकाले भनेको त्यो त हेल्दी ठाउँ छैन, हावा चलेको छ, धुलो उडेको छ, पानी परेको छ । के त्यो भन्नु नराम्रो हो ? महानगरले यो खुला ठाउँमा खाना खुवाउने होइन, सुरक्षित ठाउँमा क्याटरिङ जस्तो ठाउँको बन्दोबस्त गरिदिन्छु भन्यो । जसलाई खुवाउन मन लाग्छ खुवाउनु होस्  । त्यो भन्दा महानगरले दाताहरुले खुवाएको रिस ग-यो भन्ने ? त्यसलाई व्यवस्थित गरेर उपयुक्त ठाउँमा स्वास्थकर ढंगले गरौँ भन्दा विरोध किन ?,’ उनको भनाइ थियो ।

प्रम ओलीले त्यस सम्बन्धमा महानगर र  निःशुल्क खाना अभियान सञ्चालन गरेकाहरुको बीचमा सम्झौता भइसकेको पनि जानकारी दिएका थिए । ‘सम्झौता अनुसार महानगरले प्रबन्ध गरेको उपयुक्त ठाउँमा खाना खुवाउने भनिएको छ । त्यसमा महानगरको गल्ती के भयो ? खुला सडकमा धुलो भएको ठाउँमा खुवाउनुभन्दा क्याटरिङ भएको हालमा खुवाउँदा के नोक्सान हुन्छ ? यसमा विरोध गर्नु पर्ने ठाउँ कहाँ छ ? सहरमा राम्रो देखिएन भन्ने कुरा सही होइन र ? के दुनियाँलाई कही ठाउँ नपाएर यस्तो ठाउँमा खाना खाने देश हो भन्ने नै प्रचार गर्नुप-यो ?,’ प्रधानमन्त्री ओलीले आक्रोशित हुँदै प्रश्न गरेका थिए ।

प्रधानमन्त्री ओलीले अन्तरवार्तामा ठूला–ठूला दाबी गरे पनि काठमाडौँ महानगरपालिकाले खुलामञ्चस्थित बसपार्कमा खाना खानेहरुलाई नाम मात्रको व्यवस्थापन गरेको छ । क्याटरिङमा खाने व्यवस्था गर्ने दाबी गरिए पनि उनीहरुलाई बसपार्कको खुला आकाशमुनीबाट प्रसूतिगृह नजिकै खुला आकाशमुनी नै स्थानान्तरण गरिएको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामा लागि ११ चैतमा जारी लकडाउनपछि रोजगारी गुमाएर दैनिक छाक टार्नै मुस्किल परेका व्यक्ति र परिवारलाई बसपार्कको खुला आकाशमुनी निःशुल्क खाना वितरण गरिँदै आएको थियो । तर कात्तिक तेस्रो साता काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले खुला ठाउँमा मानिसलाई लाइन लगाएर खाना खुवाउँदा मुलुककै बेइज्जती हुने भन्दै त्यसलाई रोक्ने र व्यवस्थित गर्ने बताएका थिए ।

गत २१ कात्तिकमा महानगरपालिका र निःशुल्क खाना अभियान सञ्चालन गरिरहेका संघसंस्थाबीच खुला ठाउँमा खाना वितरण बन्द गर्ने र महानगरकै समन्वयमा व्यवस्थितरूपमा २ मंसिरबाट खाना खुवाउने सहमति भएको थियो  ।

तर, मंसिर २ मा महानगरले उपयुक्त ठाउँ फेला नपारेको खाना अभियान सञ्चालन गरिरहेका संघसंस्थानलाई जानकारी दियो । त्यसपछि बुधबार बिहान पनि स्वयंसेवीले खुलामञ्चमै खाना खुवाएका थिए । त्यही बीचमा प्रहरी र नगर प्रहरी आएर खाना खाइरहेका सर्वसाधारणलाई ट्रकमा उठाएर थापाथलीस्थित प्रसूति गृहको पछाडिको खुला ठाउँमा लगेर राखिदिको थियो । स्वयंसेवीले उनीहरूलाई त्यहीँ खाना खुवाए । अबदेखि त्यहीँ खुला आकाशमुनी खाना खुवाउन महानगरले भनेको छ ।

निःशुल्क खाना अभियान लाइन्स कलबका अभियन्ता इन्द्र कार्कीले बसपार्कभन्दा थापाथलीको ठाउँलाई थप व्यवस्थित गर्ने प्रयास गरिएको बताए । खुला आकाशमुनी भएकाले पानी गर्दा आफूहरुले त्रिपालको व्यवस्था गरिएको कार्कीले जानकारी दिए । उनले भने, ‘तर, शौचालय छैन, घाम लाग्दा ओत लाग्ने ठाउँ छैन । यसको वैकल्पिक व्यवस्था हुनैपर्छ ।’ अहिले त्यहाँ खाना खान आउनेहरु ९० प्रतिशत रत्नपार्कका मान्छे रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप