बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कारोबार रेकर्डले ब्रोकरहरु मालामाल, कमिसन घटाउन दवाव बढ्यो

बिहीबार, ०४ मङ्सिर २०७७, १८ : १५
बिहीबार, ०४ मङ्सिर २०७७

काठमाडौं । शेयर बजारमा बिहीबार इतिहासकै सबैभन्दा बढी कारोबार भयो । करिब ९ महिना अघिको ४ अर्ब ८४ करोडलाई ब्रेक गर्दै नेप्सेले एकैदिन ६ अर्ब ११ करोडको कारोबारको रेकर्ड निर्माण गरेको हो । शेयर बजारसँगै नेप्से परिसूचकमा पनि ३५ अंक भन्दा बढीको सुधार भयो ।

बजारको कारोबार रकमसँग लगानीकर्ताको प्रत्यक्ष सरोकार हुँदैन, जसरी नेप्से परिसूचकसँग हुन्छ । कारोबार धेरै भए पनि बजारको उतारचढाव र खरिद बिक्रीको निर्णयको आधारमा सम्पत्तिको मूल्य घटबढ हुने भएकोले यसको प्रत्यक्ष प्रभाव नदेखिने गरेको हो । यद्यपि बढ्दो बजारमा उच्च कारोबारले बजार अझै बढ्नसक्ने संकेत भने गर्छ ।  तर, ब्रोकरहरुका लागि भने कारोबार रकम मुख्य सरोकारको विषय हुन्छ । नेपाल धितोपत्र बोर्डले तोकिदिएको कसिमसनमा काम गर्नुपर्ने भएकोले कारोबार धेरै हुँदा कमाई पनि बढी हुन्छ । यसअर्थमा समग्र ब्रोकरहरुको बिहीबारको कमाई अहिलेसम्मकै उच्च भएको छ । तर, उच्च कारोबारको रेकर्डसँगै ब्रोकर कमिसन घटाउने आवाज सशक्त हुन थालेको छ । 

हाल धितोपत्र बोर्डले कारोबार रकमको आधारमा कमिसन मूल्य निर्धारण हुने व्यवस्था गरेको छ । जसअनुसार एउटै कारोबारमा ५० हजारभन्दा कम कारोबार भएमा ०.६० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैंयासम्म कारोबार भएका ०.५५ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको लागि ०.५० प्रतिशत, २० लाखदेखि १ करोडसम्मको लागि ०.४५ प्रतिशत तथा सोभन्दा बढी कारोबारका लागि ०.४० शुल्क लिन पाउने व्यवस्था गरिएको छ । 

बजारमा सामान्यतया मध्यम कारोबार बढी हुने गर्छ । त्यसमाथि एउटै व्यक्तिले अर्डर गरेको शेयर फरक फरक व्यक्तिबाट किनियो भने पनि त्यसलाई छुट्छा टुट्टै कारोबारको रुपमा फ्लोरसिटमा देखिने व्यवस्था छ । यही कारण अधिकांश कारोबारमा उच्चतम बोनस रकम तिर्नुपर्ने बाध्यता लगानीकर्तालाई छ । यो हिसाबले औसत कमिसन रकम ०.५० प्रतिशत भन्दा बढी नै हुने गरेको ब्रोकरहरुको भनाई छ । यस्तो कमिसन किन्ने र बेच्ने दुबै पक्षले तिर्नुपर्ने भएकोले १ सय रुपैंया मूल्यको शेयर बेच्न करिब १ रुपैंया कमिसन तिर्नुपर्ने बाध्यता छ । 

बोर्ड तयार, प्रक्रियामा ढिलाई  

 ब्रोकरको कमिसन घट्नुपर्छ भन्ने आवाज अनलाइन कारोबार सुरु भएदेखि नै लगानीकर्ताले उठाएका हुन् । तर, अनलाइन कारोबार सुरु भएपछिको केही समय शेयर बजारमा परिसूचक र कारोबार समेत नकारात्मक हुँदा यो आवाज बलियो बन्न सकेन । तर, कारोबार बढ्दै जाँदा यो माग सम्बोधन हुने अवस्थामा पुगेको छ । 

शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल बजारमा अनलाइन कारोबार सुरु भएपछि ब्रोकरको सहभागिता घट्ने भएकोले त्यही बेलादेखि आफूहरु ब्रोकरको कमिसन घटाउने माग गर्दै आएको भन्दै बढ्दो कारोबारले यो मागलाई सशक्त बनाएको बताउँछन् । आफूहरुले गरेको मागअनुसार कमिसन घटाउन बोर्डले प्रक्रिया अघि बढाएको भएपनि त्यसमा ढिलाई भइरहेको उनको भनाई छ । 

‘हामीले त कातिकदेखि लागू हुनेगरी कमिसन घट्नुपर्छ भनेका हौं । त्यसको लागि बोर्डले अध्ययन पनि गरिसकेको छ । तर अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदनलाई एकपटक फेरि रिभ्यु गर्छौं भनेर उहाँहरुले भन्नुभएको छ’ अध्यक्ष अर्यालले भने, ‘हामी मंसिर महिनासम्म कुर्छौं, त्यो बेलासम्म पनि नभए दबाबका थप कार्यक्रम थाल्छौं ।’

उता ब्रोकरहरुले भने हचुवाको भरमा कुनै ब्रोकर कमिसन घटाउन नहुने पक्षमा छन् । बजारमा १५÷२० करोडको कारोबार भएर ब्रोकरहरु भाडा तिर्नसक्ने अवस्था नभएको दिनलाई समेत विचार गरेर मात्रै कमिसन समायोजन गर्नुपर्ने उनीहरुको तर्क छ । ब्रोकर एशोसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाट ब्रोकर घाटामा भएको अवस्थामा पनि लगानीकर्ताले कमिसन घटाउनुपर्छ भन्न नछोडेको भन्दै अहिले कारोबार बढ्यो भन्दैमा अध्ययनबिनै निर्णय गर्न नहुने आफूहरुको मत रहेको बताउँछन् । 

‘ब्रोकर कमिसन घट्न हुँदैन भन्ने पक्षमा हामी होइनौं । तर कमिसन घटाउँदा ब्रोकरको लागत, विगतमा व्यहोरेको घाटा र अन्तर्राष्ट्रिय बजारको कमिसनलाई पनि हेर्नुपर्छ । अहिले हाम्रो कमिसन दक्षिण एशियामै सबैभन्दा कम छ’ रानाभाट भन्छन् । 

नेपाल धितोपत्र बोर्डले पनि ब्रोकर कमिसन घटाउने गृहकार्य अघि बढाएको छ । तर कति घटाउने भन्नेमा अहिलेसम्म केही उल्लेख गरेको छैन । लगानीकर्ताहरुले भने अहिले ब्रोकर कमिसन अधिकतम ०.६० प्रतिशत रहेकोमा त्यसलाई घटाएर अधिकतम ०.२५ प्रतिशत कायम गर्नुपर्ने बताउँदै आएका छन् । शेयर लगानीकर्ता संघका अध्यक्ष अर्याल भन्छन्, ‘हाम्रो सामान्य अनुमान यो कमिसनमा ब्रोकर चल्न सक्छन् र लगानीकर्ताले समेत खुलेर कारोबार गर्न सक्छन् भन्ने हो । बोर्डले पनि अध्ययन गर्दै होला । तर निर्णय छिटोभन्दा छिटो हुनुपर्छ ।’

त्यसो त ब्रोकरहरुले लिने कमिसनमा नेप्से तथा धितोपत्र बोर्डले समेत निश्चित हिस्सा प्राप्त गर्ने भएकोले नेप्से र बोर्ड समेत कमिसन घटाउन उदासिन हुँदै आएको आरोप पनि विगतमा लगानीकर्ताहरुले लगाउँदै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप