शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना बीमा : एक साताभित्र भुक्तानी गर भनेकै दुई साता बित्यो, पैसा आएन !

बीमा रकम दिन कम्पनीहरुको आनाकानी
बिहीबार, ०४ मङ्सिर २०७७, १८ : ०४
बिहीबार, ०४ मङ्सिर २०७७

सरकारले कोरोना बीमा दाबी भुक्तानी सात दिनभित्र दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको दुइहप्ता बढी भयो । तर, सबै प्रक्रिया पुर्याउँदा पनि कोरोना बीमा दाबी भुक्तानी समयमै र सहजै नपाइएको गुनासो अझै कम भएको छैन ।

गत असोज १८ गते कोरोना पोजेटिभ देखिएपछि मिडियाकर्मी टुना भट्टले त्यसको ४ दिनपछि बीमा दाबी गरिन । सबै प्रक्रिया पुरा गरेपछि तिहार अगाडी भुक्तानी रकम पाइने आश्वासन उनलाई दिइयो । तर अहिलेसम्म पनि उनले दाबी भुक्तानी रकम पाउन सकेकी छैनन् । उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा जाँच गराएको रिपोर्ट सो बीमा कम्पनीमा पेश गरेकी छन् ।

धादिङकी कल्पना खड्काले दसैँ अगाडी दाबी गरेको कोरोना बीमा अझै पाएकी छैनन् । उनले ह्याम्स अस्पतालमा कोरोना जाँच गराएकी थिइन् । उनी मात्र होइन अर्का सुदर्शन शिवाकोटीले पनि सबै प्रक्रिया पुर्याएर दाबी मागेको एक साता बढी भयो तर अझै भुक्तानी पाउन सकेनन् ।

यी त भुक्तानी नपाएका प्रतिनीधि पात्र मात्र हुन् । कोरोना दाबी भुक्तानीमा समस्या भएको आम गुनासो हो  । दाबी भुक्तानी पाउन कठिन भएको भन्दै व्यापक गुनासो आएपछि अर्थमन्त्री विष्णु पौडेलले एक साताभित्र मापदण्ड पुगेको दाबी भुक्तानी सात दिनभित्र दिने व्यवस्था मिलाउँन नियामक बीमा समितिलाई निर्देशन नै दिनुपरेको थियो । सो लगतै बीमा समितिले बीमा कम्पनीको नाममा एक साताभित्र भुक्तानी दिन परिपत्र नै जारी गर्यो । यद्यपि एक साताभित्र भुक्तानी दिनु भनेको दुई साता बढी भइसक्दा सरकारको निर्देशन बीमा कमपनीले कार्यान्वयन गर्न सकेका छैनन् ।

तर  बीमा कम्पनीहरु यसको जवाफमा प्रस्तुत गरेको दस्तावेजमा समस्या हुँदा समयमै भुक्तानी हुन नसकेको बताउँछन् । यता, परिपत्र जारी गर्ने समिति केहीले गलत नियतले फ्रड रिपोर्ट बुझाएपछि त्यस्ता रिपोर्टको जाँचका लागि लागि स्वास्थ्य मन्त्रालयको अभिलेखालयमा पठाएको कारण वास्तविक पीडितलाई पनि ढिला हुन पुगेको समितिका सूचना अधिकारी निर्मल अधिकारी बताउँछन् ।

सरकारी अस्पतालमा जाँच गराएकाको हकमा भने सहज भुक्तानी भएको उनको दाबी छ । तर, माथिका प्रतिनिध पात्रले भने सरकारीमै जाँच गराएका हुन् ।अधिकारी भन्छन्, ‘अस्पतालमा जचाउँदा एउटा विवरण, दाबी गर्दा अर्को विवरण हुन्छ । नागरिकता अनुसारको विवरण नमिल्दा समस्या हुन्छ । विवरण नमिल्दा छानविनमा राखिदिन्छ ।’

तर बीमा समितकै अर्का एक उच्च अधिकारी ‘बीमा कम्पनीहरुले पोलिसी बेच्ने तर अहिले झुलाएर हुन्छ’ भन्दै कम्पनीप्रति आक्रोश पोख्छन् ।

हालसम्म ३१ करोड १३ लाख ५० हजार रुपैयाँ बीमा दाबी भुक्तानी भएको छ भने १ अर्ब ९१ करोड २० लाख ५० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी हुन बाँकी छ ।  हालसम्म कोरोना बीमाबाट ९८ करोड ४० लाख ६७ हजार रुपैयाँ प्रिमियम सङ्कलन भएको छ ।

कोरोना बीमा बापत एक अर्ब बीमा कम्पनीहरुले आफ्नो फण्डबाट ब्यहोर्छन् भने बाँकी एक अर्ब पुनर्बीमा कम्पनीले ब्यहोर्छन् । अर्को एक अर्बको आवश्यक परे बीमा कम्पनीहरुको महाविपत्ति कोषले ब्यहोर्छ । र, यसबाट पनि भुक्तानी दिन नपुगे बीमा समितिले अर्को एक अर्बसम्म ब्यहोर्छ र त्यसबाट पनि माथि गयो भने नेपाल सरकारले व्यहोर्ने सहमति सरकार, समिति र बीमा कम्पनीबीच छ  ।

ट्रयाकभन्दा बाहिर गएकाले समस्या आएको हो : समिति

मानौँ कसैले सरकारी अस्तपालमा वा निजी अस्पतालमा स्वाव जाँच गराएको छ तर सो अस्पतालले दुई दिनपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रिपोर्टिङ गरिदियो भने मिति नमिल्दा त्यसबाट पनि दाबी भुक्तानीमा समस्या आउने समितिका सूचना अधिकारी निर्मल अधिकारीको तर्क छ ।  ।

अर्कोकारण सरकारी भन्दा निजीमा किर्ते रिपोर्ट बनाउनेहरु बढेपछि त्यसको भेरीफाइको लागि स्वास्थ्य मन्त्रालयको अभिलेखालयमा पठाउने गरिएको छ । उनका अनुसार यसले पनि केही ढिला भएको हो । सरकारले सात दिनभित्र भनेपनि बीमाको समस्या ट्रयाक बाहिर गएकाले ट्रयाकमा ल्याउन समय लाग्ने उनको भनाइ छ । कतिपय अवस्थामा सर्वसाधारण पनि सचेत हुनुपर्ने देखिन्छ । उनी भन्छन, ‘के कारणले भुक्तानी पाउन ढिला भएको हो सम्बन्धित कम्पनीलाई सोध्नुपर्यो ।’

गत भदौ २८ सम्म बीमा गरेका बिमितले पुरानै मापदण्डअनुसार एकमुष्ट ५० हजार र एक लाख रुपैयाँ दाबी भुक्तानी पाउनेछन् । भदौ २९ यता कोरोना बीमा गरेकाले घरमै आइसोलेसनमा बसेको भए एकमुष्ट २५ हजार रुपैयाँ र अस्पताल गएको भए खर्चअनुसार बढीमा ७५ हजार रुपैयाँसम्म दाबी भुक्तानी पाउँछन् । भदौ २८ अघिका बिमितले  घरमै आइसोलेसनमा बसेको भए पोजिटिभ देखिएको पीसीआर रिपोर्टसहित स्थानीय तहको सिफारिस र अस्पतालमा उपचार गराएको भए डिस्चार्ज रिपोर्ट पनि पेस गर्नुपर्नेछ । भदौ २८ पछिको बिमितको हकमा पनि यहि प्रावधान लागु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप