बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जीवा लामिछानेको नयाँ पुस्तक ‘देश देशावर’ सार्वजनिक

बिहीबार, ०४ मङ्सिर २०७७, १३ : १५
बिहीबार, ०४ मङ्सिर २०७७

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष एवम् उद्यमी जीवा लामिछानेको नियात्रासङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो– देश देशावर, जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ । विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत बिहीबार पुस्तक सार्वजनिक गरिएको हो । 

लामिछानेले नितान्त नौलो क्षेत्रमा गएर नौलो विषय टिपेर मिहिनेत साथ यो कृति लेखेको लेखक खगेन्द्र संग्रौलाले बताए । ‘यो कति अति सजिलो ढंगले लेखिएको छ । सामान्य मान्छेले यसलाई सजिलोसँग बुझ्छ, यो कृति पढ्दा उसले नयाँ भूगोल पढ्छ,’ उनले भने, ‘नयाँ संस्कृति पढ्छ, नयाँ मान्छे भेट्छ, नयाँ रमाइलो भेट्छ ।’ 

संसारमा नेपालीहरू कहाँकहाँ पुगेका छन्, उनीहरू कुन अवस्थामा कसरी बसेका छन्, त्यो चिज थाहा पाउनमा लामिछानेको ठूलो चाख रहेको संग्रौलाले बताए । ‘कुनै देशको कुनाकानीमा नेपालीले सानो उद्यम गरेको छ भने त्यो देखेर उहाँ अत्यन्त प्रसन्न हुनुहुन्छ, हरेक नेपालीको प्रगतिलाई उहाँले आफ्नो र देशको प्रगति ठान्नुहुन्छ,’ उनले भने, ‘समयसमयमा उहाँ कुनै नयाँ ठाउँमा जानुहुन्छ, त्यसबारेको जानकारी टपक्क टिपेर सजिलो किसिमले लेखिदिनुहुन्छ ।’ 

उद्योग व्यवसायमा विशेष रुचि राख्ने लामिछानेको यो कृति विषयको नवीनता, क्षेत्रको नवीनाता र पहुँचको नवीनताका दृष्टिबाट उदाहरणीय रहेको उनले बताए । ‘कोरोनाले तनावग्रस्त भएको मानिसलाई आनन्द प्रदान गर्न यो कृति सक्षम छ,’ संग्रौलाले भने ।  

शब्दले संसार घुमाउने किताब ‘देश देशावर’ रहेको लेखक अमर न्यौपानेले बताए । यसले विशेषगरी अफ्रिकी चार देशको युद्ध र शान्ति, विनाश र विकासको कथा पनि भन्ने उनको भनाइ छ । 
जसले एउटै पुस्तक पढेर संसारका धेरै ठाउँबारे जानकारी राख्न चाहन्छ, उसका लागि पु्स्तक उपयोगी हुन सक्ने लेखक लामिछानेले बताए । ‘यो पुस्तकमा तपाईंले ठूलो ‘लिटरेरी भ्यालु’ खोज्नुभयो भने त्यो पाउनुहुन्न,’ उनले भने, ‘तर एउटै पुस्तकबाट संसारका विभिन्न देश एवम् ठाउँबारे जान्न, त्यहाँको रहनसहन बुझ्न र भौगोलिक अवस्थाबारे जानकारी दिन भने पक्कै काम लाग्नेछ ।’ 

डायरी लेख्ने बानी अनि केही रहर र केही लहडले जन्मिएको पहिलो पुस्तकबाट पाएको मायाले आफूलाई पुलकित बनाएको र लेखिरहने ऊर्जा थपिएको उनको भनाइ छ ।  
किताबले भ्रमणको हुटहुटी जगाउने र पाठकलाई घुम्न प्रेरित गर्ने फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप