शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देशको विकासमा सबै शक्ति एक भएर लाग्नुपर्छः मन्त्री यादव

बुधबार, ०३ मङ्सिर २०७७, २१ : ३७
बुधबार, ०३ मङ्सिर २०७७

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले सर्लाहीको लालबन्दीस्थित इमरजेन्सी सेल्टर भवनको आज शिलान्यास गरेको छन् । शहरी विकास तथा भवन निर्माण कार्यक्रमअन्तर्गत रु दुई करोड ५० लाखको लागतमा निर्माण हुन लागेको सो भवनमा करिब २५० जनासम्म अटाउन सक्ने क्षमता हुने बताइएको छ । दैवी प्रकोप तथा विपत्तिको समयमा मानवीय सङ्कट सिर्जना नहोस् भन्नका लागि इमरजेन्सी सेल्टर भवनको निर्माण हुन लागेको हो । चालू आर्थिक वर्षमै निर्माण सम्पन्न गर्नेगरी जय धनञ्जय रवीन जेवी निर्माण कम्पनीले ठेक्का लिएको छ । 

सो अवसरमा मन्त्री यादवले देशको विकास निर्माणमा सबै राजनीतिक शक्ति एक भएर लागेमा मात्र नेपाली जनताले गाउँगाउँमा सिंहदरबार आएको महसुस गर्ने बताए ।

देश नै सङ्कटमा रहेको समयमा एक पार्टीले अर्को पार्टीलाई आरोप प्रत्यारोप लगाउनुको सट्टा देशको विकास र समृद्धिमा लाग्न तथा  सङ्कटबाट देशलाई बचाउन सबै राजनीतिक शक्तिलाई आग्रह गर्दै उहाँले जिल्लामा सघन उपचार कक्ष र पिसिआर मेसिन जडान गर्नका लागि आफूले सक्दो सहयोग र पहल गर्ने बताए ।

लालबन्दी नगरपालिका– १० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठले भवन निर्माणका लागि प्रशान्त आचार्य, कृष्ण दाहाल, गोविन्द महत, सूर्यनारायण श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, लालबहादुर गोले र दिलकुमारी पाख्रिङ गरी सात जनाले चार कट्ठा पाँच धुर जग्गा सहयोग गरेको जानकारी दिए ।
    
कार्यक्रममा प्रदेशसभा सदस्य बेची लुगेंली, डिल्ली उप्रेती, हरि उप्रेती, नेकपा सर्लाहीका इञ्चार्ज तथा केन्द्रीय सदस्य डाचाराज वाग्ले, केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकी, पूर्वराज्यमन्त्री शम्भुलाल श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

त्यस्तै शहरी विकास तथा भवन निर्माण कार्यक्रमले लालबन्दी नगरपालिका ४, ८ र १० का साथै हरिवन नगरपालिका– १ मा इमरजेन्सी सेल्टर भवन तथा सुख ज्येष्ठ नागरिक आवासको निर्माण गर्ने भएको छ । 

लालबन्दी नगरपालिका– ८ मा छ करोडको लागतमा र वडा नम्बर ४ मा  रु पाँच करोडको लागतमा यस्ता भवन निर्माण हुने भएका छन् भने हरिवन नगरपालिका– १ मा रु दुई करोड ५० लाखको लागतमा भवन निर्माण हुन लागेको नेकपा सर्लाहीका इञ्चार्ज तथा केन्द्रीय सदस्य वाग्लेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप