शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फाइजरको खोपले सुरक्षा मापदण्ड भेट्टायो : कोरोनाविरुद्ध ९५ प्रतिशत प्रभावकारी !

केही दिनमा आपत्कालिन प्रयोगका लागि आवेदन दिने
बुधबार, ०३ मङ्सिर २०७७, १८ : ५५
बुधबार, ०३ मङ्सिर २०७७


अमेरिकी औषधि निर्माता कम्पनी फाइजरले निर्माण गरिरहेको कोरोनाभाइरसविरुद्धको सम्भावित खोपको तेस्रो चरणको परीक्षणको अन्तिम मूल्याङ्कनमा उक्त खोप वृद्धहरुमा समेत भाइरसको संक्रमण रोक्न ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको कम्पनीले बुधबार बताएको छ ।

कम्पनीले परीक्षणमा सहभागी १७० जनामा स्वयम्सेवकमा कोरोनाभाइरसको संक्रमण देखिएको जनाएको छ । त्यसमध्ये १६२ जना संक्रमितलाई प्लसेवो वा सलाइन दिइएको थियो भने ८ जनालाई वास्तविक खोप दिइएको थियो । यसले खोप ९५ प्रतिशत प्रभावकारी पाइएको फाइजर कम्पनीले जनाएको छ ।

कम्पनीले शुरुमा खोप ९० प्रतिशत प्रभावकारी रहेको बताएको थियो । जसलाई स्वास्थ्य अधिकारीहरुले खुसी व्यक्त गरेका थिए । ‘खोपको प्रभावकारिता हरेक उमेर र जातिमा समान देखिएको छ । ६५ वर्षभन्दा माथिकामा पनि यसको प्रभावकारिता ९४ प्रतिशतभन्दा बढी रहेको छ,’ फाइजर र जर्मन पार्टनर बायोएनटेकले संयुक्त विज्ञप्तिमा जनाएको छ ।

‘परीक्षणका दौरान १० जनामा कोभिड–१९ को गम्भीर लक्षण देखिएको थियो जसमध्ये ९ जना सलाइन प्रयोग गरिएका थिए भने एक जना बीएनटी१६२बी२ खोप लगाएका समूहका थिए,’ विज्ञप्तिमा भनिएको छ । बीएनटी१६२बी२ खोपका लागि दिइएको प्रयोगात्मक नाम हो ।

पहिलो डोज खोप दिइएका २ प्रतिशत र दोस्रो डोज दिइएका ३.७ प्रतिशतमा सामान्य साइड इफेक्ट देखिएको र धेरै उमेरमा भएकामा कम र हल्का साइड इफेक्ट देखिएको बताए ।

एक स्वतन्त्र समूहले पनि कम्पनीको परीक्षण र साइड इफेक्टलाई अध्ययन गरिरहेको छ । हालसम्म खोपबारे कुनै गम्भीर सुरक्षा चासो नपाइएको कम्पनीले जनाएको छ ।

पछिल्लो नतिजा प्राप्त भएपछि फाइजरले खोपको आपत्कालिन प्रयोगका लागि अमेरिकी फूड एन्ड ड्रग एडमिनिस्ट्रेसनसँग केही दिनभित्र अनुमति लिने जनाएको छ । आफूले प्राप्त गरेको तथ्यांकलाई विश्वभरका नियामक निकायहरुलाई पनि प्रदान गरिने कम्पनीले जनाएको छ । फाइजरले यो तथ्यांकलाई वैज्ञानिक जर्नलमा पनि प्रकाशित गर्ने योजना रहेको जानकारी दिएको छ ।

बायोएनटेकका सहसंस्थापक तथा कार्यकारी अध्यक्ष डा. उगुर साहिनले खोपले प्रदानले तीव्र गतिको सुरुक्षा अहिलेको महामारी रोक्नलाई महत्त्वपूर्ण औजार बन्ने विश्वास व्यक्त गरे ।

तेस्रो चरणको क्लिनिकल परीक्षण गत जुलाइ २७ मा सुरु भएको थियो । फाइजरका अनुसार ४३ हजार ६६१ जनाले यसका लागि आवेदन दिएकोमा ४१ हजार १३५ जनाले खोप वा प्लेसेबोको दोस्रो डोज प्राप्त गरेका थिए । यता, एफडीएले दोस्रो डोज लिएका खोप लिएका स्वयम्सेवकको कम्तिमा दुई महिनाको तथ्यांक माग गरेको छ ।

कम्पनीले स्वयम्सेवकहरुमा विविधता ल्याउने प्रयास समेत गरिएको जनाएको छ । यसमा ४२ प्रतिशत विश्वभरका सहभागी र ३० प्रतिशत अमेरिकाका सहभागी रहेको र उनीहरुको जातीय विविधता रहेको बताइएको छ । अमेरिका, जर्मनी, टर्की, दक्षिण अफ्रिका, ब्राजिल र अर्जेन्टिनाका १५० क्लिनिकल ट्रायस साइटमा यसको परीक्षण गरिएको थियो  । आगामी दुई वर्षसम्म यसको प्रभावकारिता र सुरक्षाबारे तथ्यांक लिइने कम्पनीले जनाएको छ ।

कम्पनीले २०२० सम्म खोपको ५ करोड डोज र सन् २०२१ सम्ममा १.३ अर्ब डोज उत्पादन गर्न सकिने बताएको छ । कम्पनीको अमेरिकामा सेन्ट लुइस, कालामाजु, मिसिगन, मासाचुसेट्स र एन्ड्रोभरमा उत्पादन युनिट र थप एक बेल्जियमको पुर्समा रहेको छ । 

यद्यपि, धेरै राज्यले फाइजरको खोपको संवदेनशीलतामा चासो व्यक्त गरेका छन् । कम्पनीले उत्पादन गरेको खोप माइनस ७५ डिग्री सेल्सियसमा राख्नुपर्छ जुन सामान्यरुपमा उपलब्ध फ्रिजरको क्षमताभन्दा धेरै माथि हो । तर, कम्पनीले उपलब्ध गराउने प्याकेजिङले यसमा सहयोग गर्ने बताएको छ ।
 

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप