बौद्धिक नेतृत्वको अभाव र शासकीय दलको असफलता
वर्तमान अन्तर्राष्ट्रिय स्थिति नियमित परिवर्तन, अनिश्चितता र असुरक्षाको अवस्थामा छ। विश्वका धेरैजसो मुलुकहरू पारस्परिक द्वन्द्वका अतिरिक्त कोभिड महामारी र जलवायु परिवर्तन संकटमा छन्। कोभिडलाई विश्वव्यापी महामारीको रूपमा घोषित गरिएको छ, तर महामारीको सामना गर्न विश्वव्यापी सामूहिक नेतृत्व छैन र पहल पनि छैन। भारत र चीन सीमा समस्यामा व्यस्त छन्। नेपाल नाजुक स्थितिमा छ किनभने समाजको परम्परागत संरचना भत्किएको छ, तर नयाँ प्रणाली अझै पूर्ण रूपमा स्थापना भएको छैन। यस्तै संकटको समयमा बौद्धिकहरूको भूमिका महत्वपूर्ण हुन्छ र हुनुपर्छ, किनभने परिवर्तन र चुनौतिहरूलाई सामना गर्न बौद्धिक बिचारहरूको आवश्यकता पर्छ। यस सन्दर्भमा नेपालका कानूनविद्, कूटनीतिज्ञ र राजनीतिक नेतृत्व वर्गले अपेक्षित सामूहिक काम गरिरहेका छन् वा छैनन्, यदि छैनन् भने कसले तिनीहरूलाई रोकिरहेको छ? विशेष गरी नेपालको आन्तरिक एकता, सामाजिक न्यायका साथै चीन, भारत, युरोप वा अमेरिकासँगको सम्बन्धबारेमा अनि कालापानी, लिपुलेख र लिम्पियाधुरामा भारतीय सैन्य उपस्थिति जस्ता प्रश्नहरू सामाजिक अनुसन्धानका लागि महत्वपूर्ण छन्।
बौद्धिकहरू समान हुन सक्दैनन्, केही बौद्धिक प्रगतिशील विचारधाराका हुनसक्छन् भने केही परम्परागत हुनसक्छन् र केही प्रगती बिरोधी पनि हुनसक्छन्। कुनै बौद्धिकहरू विकास गर्न चाहन्छन् भने कुनै बौद्धिक विध्वंस गर्छन्, त्यसकारण बौद्धिकहरू कुन पक्षमा उभिन्छन् भन्ने महत्त्वपूर्ण प्रश्न हो। जसरी एक राम्रो गीतका लागि शब्दहरू, गायकको आवाज र वाद्ययन्त्रहरूको ध्वनि समन्वय आवश्यक हुन्छ, त्यस्तै दिगो समाज निर्माणको लागि बौद्धिकहरूको सामूहिक सोच महत्त्वपूर्ण हुनसक्छ। व्यक्तिगत रूपमा कसरी एक बौद्धिक स्वतन्त्र रूपमा सोच्ने र समाजको सदस्यको रूपमा चिन्तित छ र उसले नैतिक मुद्दाहरूलाई कसरी उठाइरहेको छ भन्ने आधारमा बौद्धिकको लेखाजोखा हुनुपर्छ। वर्तमान नेपालका बौद्धिकहरू कहाँ र केका लागि उभिएका छन्, यो प्रश्न पनि समसामयिक छलफलको विषय हुनुपर्छ।
आधुनिक नेपालको बौद्धिकद्वन्द्व प्रजातन्त्रको सुरूवातसँगै शुरू भयो। विश्वेश्वरप्रसाद कोइराला र योगी नरहरिनाथलाई तत्कालिन नेपालको प्रतिनिधि बौद्धिकको उदाहरणको रूपमा लिन सकिन्छ, विशेष गरी दुबैका प्रकाशित पुस्तक, लेख र विचारका आधारमा। यी दुवैका फरक-फरक अडान थिए तर उनीहरूसँग नेपाली दृष्टिकोण थियो। कोइरालाले नेपालको विकासको लागि बौद्धिक, लोकतान्त्रिक र प्रगतिशिल समाधान खोजे, योगीले बहुदलीय लोकतन्त्रविरूद्ध परम्परागत समाधानको। योगीले कोइरालाको विचारलाई नष्ट गर्न कडा परिश्रम गरे र केही हदसम्म सफल भए। कोइराला-योगीको समयदेखि हालसम्म नेपाल अस्थिरतामा गुज्रिरहेको छ। आन्तरिक र बाह्य समस्याहरू छन् तर अझै सही बौद्धिक समाधानको अभाव छ। त्यसकारण नेपालको बौद्धिक वर्ग नै छलफलको विषय हुनु आवश्यक छ, विशेष गरी अन्तर्राष्ट्रिय कानून, राजनीति र कूटनीति क्षेत्रका बौद्धिकवर्गका बारेमा।
एक पुरानो भनाइ छ, जहाँ ज्ञान विरोधी नेतृत्व सत्तामा छ त्यहाँ अन्धकार हुन्छ र त्यस्तो नेतृत्वका नेताहरूले ज्ञानविरोधी अभिव्यक्ति दिन्छन्। जहाँ शक्तिमा बौद्धिक नेतृत्व छ त्यहाँ समस्या समाधानका उपायहरू पहिल्याउन सजिलो हुन्छ। उदाहरणका लागि नेपाल र चीनले सागरमाथाको सीमा निर्धारण गर्दा अन्तर्राष्ट्रिय कानून, राजनीति र कूटनीतिको बौद्धिकरुपमा प्रयोग गरेका थिए। नेपालका तत्कालीन प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ नेता माओलाई राजनीति र कूटनीतिका उपयोगी उदाहरण मान्न सकिन्छ। नेपालको उदारवादी नेता कोइरालाले चीनको तत्कालीन कम्युनिष्ट पार्टीको सबैभन्दा शक्तिशाली नेतासँग वार्ता गरेर सीमा सम्झौता गर्नु कुनै सजिलो काम थिएन। त्यसकारण त्यो एक ऐतिहासिक उदाहरणको रूपमा लिन सकिन्छ।
कानूनविद्, राजनीतिज्ञ र कूटनीतिज्ञहरूले विभिन्न मुद्दाहरूका बारेमा फरक-फरक भाषा वा शब्दहरू प्रयोग गर्नुका साथै फरक-फरक विषयमा जोड दिन्छन्। कानूनविद्हरूले कानूनी सिद्धान्त, नियम र मान्यतामा आधारित आफ्ना तर्कहरू बनाउँछन् भने राजनीतिज्ञहरूले आफ्नो मुलुकको आन्तरिक र विदेशनीति बारेमा योजना बनाउँछन् र नेतृत्व दिन्छन्। कूटनीतिज्ञहरूले राजनीतिक नेतृत्वको लागि सारथीको भूमिका खेल्छन्। यस सन्दर्भमा ऋषिकेश शाह र यदुनाथ खनाललाई उदाहरणको रुपमा लिन सकिन्छ। राजनीतिक नेताहरूलाई सक्षम सारथी चाहिन्छ किनभने अन्तर्राष्ट्रिय राजनीति एक शक्तिको खेल हो र सबै मुलुकहरू बराबरी मित्र हुन सक्दैनन्। राजनीतिक नेतृत्वले अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न महत्वपूर्ण भूमिका खेल्छ भने कानूनविद्हरूले अन्तर्राष्ट्रिय नियम र कानूनहरू बुझाउन मद्दत गर्छन्।
अहिलेको नेपालको सबैभन्दा ठूलो समस्या भनेको बौद्धिक इमान्दारिता र दृष्टिकोण हो। उदाहरणको लागी नेपालको विदेश मामिलामा प्रकाशित लेख र पुस्तक पढ्दा धेरै नेपाली लेखकहरूले नेपाललाई भित्रबाट नभई विदेशी दृष्टिकोणबाट लेख्छन्, उनीहरू नयाँ दिल्ली र बेइजिङ्बाट काठमाडौं हेर्छन्। नेपाल-भारत सम्बन्धमा भारतीय प्राध्यापक एसडी मुनि, पूर्व जनरल जीडी बक्सी, पूर्व राजदूत राकेश सूद, रंजीत राय र श्याम शरणको नेपाली सञ्चारमाध्यममा दबदबा छ, तर नेपाली बौद्धिकहरूको भारतीय सञ्चारमाध्यममा खास उपस्थिति छैन। साथै अन्य कुनै मुलुक र महादेशमा समेत।
केही नेपाली वाम्पन्थी बुद्धिजीवीहरूले एन्टोनियो ग्राम्सीलाई उद्धृत त गर्छन् तर उनको ”भूगोलले परिप्रेक्ष्य दिन्छ र इतिहासले ज्ञान दिन्छ” भन्ने उनको मूल सन्देशलाई नै वेवास्ता गर्छन्। संस्कृति रक्षाका लागि संवेदनशील हुनुपर्छ भनी केही नेपाली बुद्धिजीवीहरू एडवर्ड सइदलाई उद्धृत गर्छन् तर उनीहरू आफ्नै नगरिकलाई वर्गीकरण गर्छन् र हाम्रो संस्कृति संसारको एक नम्बर हो भन्ने विश्वास गर्छन्। केहि उदारबादी नेपाली बौद्धिकहरू शमूएल पी हन्टिंग्टन र फ्रान्सिस फुकुयामा जस्ता 'सांस्कृतिक युद्ध' र 'वैचारिक अन्त' जस्ता विनाशकारी बिचारलाई महत्व दिन्छन्।
साधारणतया नेपालको राजनीतिक, कूटनीतिक र कानूनी क्षेत्रमा दुई किसिमका बौद्धिक वर्ग देखिन्छन्, एक किसिमका बौद्धिकले नेपालको सुरक्षाको सट्टा चीनको सुरक्षाको बारेमा बढी चासो राख्ने र अर्कोले भारतसँगको सुरक्षाप्रति। नेपालको आन्तरिक राजनीतिमा विदेशी तत्वहरूले भूमिका खेल्छन् भन्नेमा कुनै शंका छैन तर यहाँ यस्ता बुद्धिजीवीहरू पनि छन् जो षडयन्त्रका सिद्धान्तहरूमा निर्भर छन् र हरेक राजनीतिक घटनाहरू यूरोप र अमेरिकाको उत्पादन हुन् भन्नेमा विश्वास गर्छन्। हुन त यस्तो षडयन्त्रकारी विचारको रोग अमेरिकामा पनि छ, जसले रूस र चीनलाई दोष दिइरहन्छन् अनि रूस र चीनमा पनि छ, उनीहरु अमेरिका र युरोपलाई दोष दिइरहन्छन्।
नेपालमा षडयन्त्रका विचारहरू प्रा:यजसो टेलिभिजन अन्तरवार्ता र लेखहरूमा व्यक्त गरिएको देखिन्छ। नेपालमा उदारवादी र वामपन्थी विचारधाराका बौद्धिकहरू आत्मालोचनामा चासो देखाउँदैनन्। केही छद्म वामपन्थी बौद्धिकहरू आवश्यकताअनुसार कहिले धार्मिक त कहिले धर्म निरपेक्ष हुने गर्छन् र समाजवादको नाउँमा पूंजीवादी अर्थव्यवस्था सञ्चालन गर्न सहयोग गर्छन्। अझै अर्को बौद्धिक समूह छ, जसले जातिवाद र मानवशास्त्रबीचमा स्पष्ट भिन्नता देख्दैन, उदाहरणको लागि डोरबहादुर बिष्टको पुस्तक 'द पीपुल अफ नेपाल'। उनीहरूमध्ये धेरैले धर्म र संस्कृतिमा फरक छुट्याउन सक्दैनन् र पहिचान र प्रतिनिधित्वको बारेमा असफल छलफल गर्छन्।
नेपालका रूढीवादी बौद्धिकले जातीय प्रणालीको पदानुक्रमलाई जायज ठान्छन्। एक्काइसौं शताब्दीमा योभन्दा अमानवीय बिचार के हुनसक्छ? एक अर्को प्रकारका बौद्धिक पनि छन्, जो मानव समुदायलाई एकअर्काविरूद्ध लडाउन चाहन्छन्, उदाहरणको लागि 'गोर्खा'विरुद्ध 'मधेश'। नेपालमा अर्काथरका बुद्धिजीवी पनि छन्, जसले वर्तमान समयलाई 'वैश्ययुग' भनी नश्लवादलाई प्रोत्साहित गर्दै नेपाली समाजका विभिन्न समुदायको अपमान गरिरहेका छन्। परम्परावादी बुद्धिजीवीहरूले ऐतिहासिक अन्यायलाई स्वीकार गर्दैनन्। नेपालको वर्तमान संविधानले नागरिकलाई जातिको पदानुक्रममा वर्गीकृत गरेको छ। यो संवैधानिकताको आधारभूत सिद्धान्त विरूद्ध छ। यो बौद्धिक वर्गको सबैभन्दा ठूलो अज्ञानताको प्रतिविम्व हो। जातीय आधारमा मानवलाई वर्गीकृत गर्ने कुप्रथालाई पुनःजीवित गर्नु मानववादविरूद्ध हुन्छ।
एक सभ्य र दिगो समाज निर्माणको लागि बौद्धिकहरूको व्यक्तिगत र सामूहिक ज्ञान, कौशल, दृष्टिकोण, चरित्र र ईमान्दारिता वृहत छलफलको विषय हुनुपर्छ। केही अपवादबाहेक धेरैजसो बुद्धिजीवीहरू शक्तिको नजिक पुग्न इच्छुक देखिन्छन्, जो विश्वव्यापी समस्या हो। विश्व परिस्थितिको उतारचढावहरूसँग नेपालले आफ्नो पक्षमा कसरी अनुकूल परिस्थिति श्रृजना गर्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको छैन। कम्युनिष्ट बुद्धिजीवीहरू समाजवादको सपनासँग बाँचिरहेका छन् भने गैरकम्युनिष्टहरू उदार अर्थतन्त्रको दुःस्वप्नबाट गुज्रिरहेका छन्। नेपाली बुद्धिजीवीहरू चिनियाँ र भारतीय परियोजनाहरूको पक्षमा र विपक्षमा उभिन्छन् तर नेपालको हीत कसरी हुन्छ भनेर गम्भीर छलफल गर्दैनन्।
नेपालको राजनीतिक वर्ग भारतसँगको सीमा सवालमा एकजुट भएको थियो तर भारतको सैनिक नियन्त्रणबाट आफ्नो क्षेत्र फिर्ता लिनको लागि कुनै रणनीति फेला पारेको छैन। दुई छिमेकी चीन र भारतलाई सन्तुलनमा राख्न पनि नेपालसँग स्पष्ट रणनीति र अनुभवी कूटनीतिज्ञको अभाव छ। भारतीय नाकाबन्दी र नेपालको भूभागमा भारतीय सैन्य नियन्त्रणको बारेमा नेपालका प्रख्यात कानूनविद्हरूले कानूनी सल्लाहको सट्टा लोकप्रिय राजनीतिक सल्लाह दिए। उनीहरूले समुद्री कानूनको लागि अन्तर्राष्ट्रिय न्यायाधिकरण एक अवसर हुनसक्छ भनेर सल्लाह दिनुको सट्टा अन्तर्राष्ट्रिय अदालत जाने सल्लाह दिए। नेपालको भूभाग भारतीय सैन्य नियन्त्रणको विरुद्ध राष्ट्र संघीय कानूनी मामिला कार्यालयलाई सोध्नुको सट्टा अन्तर्राष्ट्रिय अदालतको प्रचार गरे। नेपालका शासकहरूले भारतले गरेको अन्यायविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा छलफल गर्ने साहस नै गर्दैनन्। नेपालका वर्तमान शासकहरूसँग अन्तर्राष्ट्रिय कानून वा कूटनीति प्रयोग गर्दै मुलुकलाई संकटबाट निकाश दिने कुनै क्षमता छैन। त्यसैले लगभग दुईतिहाई बहुमत भएको सत्ताधारी दल मुलुक त के आफ्नै दलसमेत सञ्चालन गर्न सकिरहेको छैन।
(प्रा. डा. मल्ल, कार्लस्टाड विश्वविद्यालय, कार्लस्टाड, स्वीडेनका अतिथि प्राध्यापक हुन् l)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै