शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना कहरले फेरियो व्यवसाय

बुधबार, ०३ मङ्सिर २०७७, १६ : ०३
बुधबार, ०३ मङ्सिर २०७७

-शेरबहादुर सिंह
महेन्द्रनगर ।  दुई दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्तनगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा खटिएका छन् । कोरोना कहरमा बितेका आठ महिनासम्म टेन्ट हाउसको व्यापार सुनसान बनेपछि उनले व्यवसाय परिवर्तन गरेर जीविकोपार्जन गर्ने योजनाअनरुप कागतीखेती, कुखुरा र बाख्रापालनमा लागेको बताए ।

“टेन्ट भाडामा दिएर वार्षिक अठारदेखि रु २० लाखसम्मको कारोवार हुन्थ्यो”, सञ्चालक जोशीले भने, “टेन्टका कर्मचारी पाल्न र जीविका चलाउन पनि अन्य व्यवसाय गर्नुको विकल्प भएन ।” उनले बिहेको मौसम आए पनि टेन्ट भाडाको कुनै व्यापार नरहेको बताए ।

विसं २०५६ देखि महेन्द्रनगरमा टेन्ट हाउस सञ्चालन गर्दै आएका जोशीले आफूले यस्तो महाकष्टको सामना गर्नुपर्छ भनेर कल्पनासमेत नगरेको बताए । “टेन्ट भाडामा नगएको आठ महिना भो”, उनले भने, “अन्यत्रको व्यापारले सघाउ पुग्ने आशा छ ।” जोशीले दश वर्षका लागि वार्षिक रु ८५ हजार भाडा तिर्ने गरी तीन बिघा जमिन भाडामा लिएको बताए ।

कोरोना सङ्क्रमण बढिरहेकाले पुरानै अवस्थामा फर्किन समय लाग्ने देखेपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका प्रकाश जोशी पनि भैँसीपालनको तयारीमा जुटेका छन् । गुलरीयामा मालिकाअर्जुन टेन्ट हाउस सञ्चालन गर्दै आएका जोशीले कोरोनामा व्यापार नहुँदा बैंक किस्ता तिर्न पनि गाह्रो भइरहेको बताए । “वैकल्पिकका रुपमा यहाँ भैंसीपालन शुरु गरेका छु”, उनले भने, “तीनवटा भैँसी, एउटा पाडो र एउटा गाईपालनबाट व्यवसाय शुरु गरेँ ।” उनले कृषिलाई विकल्पका रुपमा मात्रै नभएर व्यावसायिक रुपमा अघि बढाउँदै लैजाने योजनामा रहेको जानकारी दिए ।

त्यसैगरी कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किने पनि अधिकांश कृषि, व्यापार र व्यवसायमा लागिरहेका छन् । एघार वर्ष दुबईमा काम गरेर कोरोना कहरबाट घर फर्किएका यहाँको शुक्लाफाँटा नगरपालिका–१ का पदम सिंहले पनि माछापालन, कुखुरा र बाख्रापालनको थालनी गरेका छन् । “कोरोना कहरमा कम्पनी नै बन्द भए पनि यहाँ आएर आयमूलक व्यवसायमा लाग्न बडिमालिका पशुपक्षी, मत्स्य विकास फार्म दर्ता गरेर अघि बढेको छु”, सिंहले भने, “यसका लागि बैंकबाट ऋण लिइरहेको छु ।” उनले उक्त व्यवसायका लागि शुरुआतमा रु २० लाख बढी लगानी भएको बताए । शुक्लाफाँटा–२ मा उनले एघार कठ्ठामा उक्त व्यवसाय सञ्चालन गरिरहेका छन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंहले पछिल्लो समय कृषि र पशुपक्षी व्यवसाय गर्ने युवा उद्यमीको सङ्ख्या बढिरहेको बताए । “कोरोनाले गर्दा अहिले स्थानीयस्तरमै केही गरौं भन्ने भावना देखिएको छ”, सिंहले भने, “मन्त्रालयबाट पनि आयमूलक कृषि व्यवसायमा लाग्ने युवालाई सम्बोधन गर्नु भन्ने स्पष्ट निर्देशन छ ।”

उनले कोरोना प्रभावित युवालाई स्वरोजगार बनाउन प्रदेश सरकारले लिएको आवेदनमा कृषितर्फ मात्रै यहाँ एक हजार २०० भन्दा बढी युवाले आवेदन भरेको बताए । “यहाँ पशुपक्षीतर्फ अझ बढी युवा आकर्षित भएको आवेदनबाट देखिएको छ ।” उनले भने, “अहिले पनि कोरोना प्रभावित भएर आएका १५ जना युवालाई दातृ निकायको सहयोगमा च्याउखेती तालीम दिइरहेका छौँ ।”

स्वदेशमा रोजगारी नभएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भारत जानेको सङ्ख्या तिहारपछि झन् बढिरहेको छ । प्रदेश सरकारले नौ हजार जनालाई कृषितर्फ स्वरोजगार बनाउने लक्ष्यसहित लिएको आवेदनमा ८२ हजार बढीले आवेदन दिएका छन् । 

कञ्चनपुरको डोकेबजार नाका हुँदै आज बिहान ३०० जना भारत गएको डोकेबजार प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भुपाल थापाले जानकारी दिए । “यो नाकाबाट बिहान ७ देखि बेलुकी ६ बजेसम्मलाई आवतजावत गर्न दिइएको छ”, उनले भने, “तिहार आसपासको समयमा दैनिक २५० देखि ४०० सम्म नेपाली रोजगारीका लागि भारत गएको देखिन्छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप