आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पतिको सपना पूरा गर्न केबीसी पुगेकी मोहिता बनिन् करोडपति

बुधबार, ०३ मङ्सिर २०७७, १५ : ३८
बुधबार, ०३ मङ्सिर २०७७

हिमाचल प्रदेशको कांगडा निवासी आईपीएस अधिकारी मोहिता शर्मा चर्चित टेलिभिजन शो ‘कौन बनेगा करोडपति ?’ (केबीसी) को १२ औँ सिजनको दोस्रो करोडपति बनेकी छन् । केही दिनअघि झारखन्डकी नाजिया नसीम यस सिजनको पहिलो करोडपति बनेकी थिइन् । ३० वर्षीया मोहिताका अनुसार केबीसीमा आउनु आफ्नो इच्छाभन्दा पनि पतिको सपना थियो ।

मोहिता शर्माको पोस्टिङ अहिले जम्मू–कश्मीरमा छ । उनी साम्बामा एएसपी पदमा कार्यरत छिन् । उनको जिम्मेवारी जम्मू–कश्मीरको यस क्षेत्रको शान्ति व्यवस्था कायम राख्नु हो ।

बीबीसी हिन्दीसँग कुराकानी गर्दै शर्माले भनिन्, ‘केबीसी आउनु मेरो लागि सकसपूर्ण रह्यो । यूपीएससीको परीक्षा दिनु मेरो सपना थियो जसलाई म पूरा गर्न चाहन्थे । यो सपना पूरा गर्नका लागि मलाई ५ वर्ष लाग्यो । चार वर्ष असफल भएपछि पाँचौ पटकको प्रयासपछि परीक्षा पास गर्न सकेँ ।’

मोहिताका अनुसार वास्तवमा उनको पति केबीसीमा आउन चाहन्थे । उनी पछिल्लो २० वर्षदेखि यसको प्रयास गरिरहेका थिए । उनी भन्छन्, ‘मेरो पतिको सपना केबीसीमा भाग लिने थियो । यसका लागि उनले २० वर्षदेखि प्रयास गरिरहेका थिए । यसपटक उनले मलाई तिमी मोबाइलबाट प्रयास गर भने । मैले प्रयास गरेँ र केबीसीको यात्रा शुरु भयो ।’

मोहिताका पति रुषल गर्ग इन्डियन फरेस्ट सर्भिसका अधिकारी हुन् । उनीहरुको विवाह एक वर्षअघि भएको थियो । ‘हाम्रो विवाह ३० अक्टुबर २०१९ मा भएको थियो । विवाहपछि हाम्रो पदस्थापन अलग–अलग ठाउँमा भयो । म मणिपुरमा थिए भने उनी जम्मू–कश्मीरमा लकडाउनमा हाम्रो विवाहको वर्षगाँठको महिनामा केबीसीको एपिसोड चलिरहेको थियो । लकडाउनको कारण हामीलाई सँगै बस्ने मौका मिल्यो । हामी दुवै जना केबीसी टिभीमा हेरेर सही जवाफ दिने प्रयास गर्थ्यौँ । पछि मलाई फेरि मणिपुर जान पर्यो । तर, भगवानको दयाको कारण मेरो सरुवा जम्मूमा भयो र हामी फेरि सँगै भयौँ ।’

केबीसीको खेलमा एक करोडको प्रश्नमा मोहितासँग दुई लाइफलाइन बाँकी थियो । उनी भन्छिन्, ‘जब एक करोडको धनराशीका लागि म खेल्दै थिएँ, मसँग दुईवटा लाइफलाइन थियो । पहिलो फ्लिप द क्वेश्चन र दोस्रो एक्सपर्ट एडभाइस । म सोचिरहेको थिएँ, फ्लिप वाला लाइफलाइनको प्रयोग अहिले र एक्सपर्ट एडभाइस सात करोडको प्रश्नमा प्रयोग गर्छु । तर, अमिताभ बच्चनजीले मलाई ७ करोडको प्रश्नमा कुनै पनि लाइफलाइन प्रयोग गर्न नपाइने बताए । त्यही भएर मैले एक करोडको प्रश्नमा एक्सपर्ट एडभाइसको लाइफलाइन प्रयोग गरेँ किनभने उनीहरुको सुझाव प्रायः सही हुन्थ्यो । मसँग पनि त्यस्तै भयो ।’

एक करोड जितेको खुसी भए पनि अमिताभ बच्चनसँग हात मिलाउन नपाएकोमा मोहितालाई दुःख छ । ‘यसपटक कोरोनाको कारण केबीसीको माहौल फरक थियो । पहिले सबै प्रतियोगी शोमा आउने बित्तिकै बच्चन साहबले हात मिलाएर अँगालो हाल्थे । तर, यसपटक हामी आउनुभन्दा अघि नै हामीलाई सिटमा राखिन्थ्यो ।क्यामरा हामीतिर आएपछि मात्रै अमिताभ जीलाई नमस्कार गर्नुथियो । उनलाई भेट्न, हात मिलाउन सम्भव नै थिएन । यसले थोरै निराश त बनायो तर यति गर्न जरुरी पनि थियो ।’

मेरा आमा–बुवाले मेरो जोशलाई कहिले पनि निभ्न दिनुभएनः

कार्यक्रमभरी मोहिता शर्मा निकै आत्मविश्वासी देखिइन् । आफ्नो स्वभावबारे उनी भन्छिन्, ‘मलाई निकै छिटो हार मान्न मन लाग्दैन त्यसैले मैले सधैं सकारात्मक सोच राख्दै आएकी छु । जबसम्म सबै ढोका बन्द भइसके जस्तो लाग्दैन तबसम्म कोसिस गरिरहन्छु । म आफ्ना आमा–बुवाको एक्ली सन्तान हुँ र आज जे जस्तो छु उहाँकै कारणले छु । जब मैले चार पटक कोसिस गरेपछि पनि यूपीएससीको परीक्षा पास गर्न सकिनँ तब म भित्रैबाट टुटिसकेकी थिएँ तर मेरो आमा–बुवाले हार मान्नुभएन, न त मलाई नै हार मान्न दिनुभयो ।’

उनी भन्छिन्, ‘उहाँहरुले सधैं मेरा लागि पत्रिकाको एडिटोरियलको कटिङ गरेर दिनुहुन्थ्यो । उहाँहरुले ‘यति नजिक आइसक्यौ एकपटक पुनः प्रयास गर्न’ भन्नुहुन्थ्यो । यो देखेर ‘मेरा आमा बुवाले यति मिहिनेत गरिरहनुभएको छ भने मैले किन नगर्ने ?’ भन्ने लाग्थ्यो । यो सोचेर नै मलाई जोश आउँथ्यो र आजसम्म उहाँहरुले कहिले पनि मेरो यो जोश निभ्न दिनुभएन । केबीसीको जीतमा पनि उहाँहरु निकै खुसी हुनुहुन्छ । मेरो पूरा परिवार, मेरा सासू–ससुरा पनि निकै खुसी हुनुहुन्छ । हामीले अहिलेसम्म पनि बधाई पाइरहेका छौं ।’

‘अन पेपर कडा छु’

कार्यक्रमका बेला अमिताभ बच्चनले भनेका थिए, ‘मेरो अगाडि बसिरहेकी आइपीएस अधिकारी हुन् तर मलाई उनीसँग खासै डर लागेको छैन ।’

अमिताभले उनलाई ‘के ड्युटीमा हुँदा पनि तपाईं यस्तै नरम हुनुहुन्छ ?’ भनेर सोधेको प्रश्नमा मोहिताले भनिन्, ‘अन पेपर म कडा छु । जहाँ नियमको कुरा आउँछ तब म सम्झौता गर्न सक्दिनँ । तर मैले ‘म्याचो’ तरिका कहिले पनि अपनाइनँ न नै कहिले अपनाउनेछु । आजसम्म कोहीमाथि हात उठाएको छैन न नै कसैसँग ठूलो स्वरले बोलेकी छु । सरकारले जुन कानून बनाएको छ, त्यहि हिसाबले काम गर्छु ।’

मोहिता सबै महिलालाई आफ्नो सपनामा विश्वास राख्न सन्देश दिँदै भन्छिन्, ‘तपाईंले जुनसुकै स्थान हासिल गर्नुभएको होस् तर आफ्नो खुट्टा जमिनमा नै राख्नुहोस् त्यसपछि जति उडान भर्नु छ भर्नुहोस् ।’

 

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप