आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

शीतल निवासको दावी : ओली-प्रचण्डबीच नयाँ र उच्चस्तरको सहमति हुन्छ

योगेश भट्टराई भन्छन्- सर्वाधिक कठिन समय !
बुधबार, ०३ मङ्सिर २०७७, ०९ : १४
बुधबार, ०३ मङ्सिर २०७७

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलो चरमोत्कर्षमा पुगेको छ । गत शुक्रबारबाट सुरु भएको सचिवालय बैठकपछि उत्पन्न थप समस्याको समाधान बैठकबाटै खोजिनुपर्ने बहुमत नेताको जोड छ । तर, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षबाट बैठक सार्ने या बैठकमै सहभागी नहुने चेतावनी आएपछि विभिन्न शक्तिकेन्द्रहरु समेत नेकपाको विवाद मिलाउन सक्रिय भएका छन् । 
यसक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि चिनियाँ राजदूतसम्मको सक्रियता बढेको छ । 

गत शुक्रबबार बसेको नेकपा सचिवालय बैठकले सहमतिमै आज दिउँसो १ बजेका लागि अर्को बैठकको मिति तय गरेको थियो । तर, बैठकमा पेश भएको प्रस्ताव फिर्ता लिनुपर्ने अध्यक्ष ओली पक्षको अडान र प्रस्ताव फिर्ता नलिने प्रचण्डपक्षको अडानका बाबजुद आजका लागि बोलाइएको बैठक के हुन्छ ? भन्नेमा नेकपाका नेता कार्यकर्तामै अन्योल छाएको छ ।

पर्यटनमन्त्री समेत रहेका नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले बुधबार बिहानै ‘सर्वाधिक कठिन समय’, भनेर ट्वीट गरेका छन् । 

नेता भट्टराईले आफ्नो ट्वीटमा विषय र प्रसंग नखुलाएपनि ट्वीट नेकपाको आन्तरिक राजनीति लक्षित भएकोमा दुइमत छैन । 

आज बुधबार बस्ने भनिएको नेकपा सचिवालय बैठकअघि मंगलबार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा अध्यक्ष ओली  अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेकी छन् । त्यस्तै नेपालका लागि चिनियाँ राजदूत चिहोउ यान्छीले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई पनि मंगलबारै भेट गरेकी छन् । ती भेटवार्तामा राजदूत यान्छीले नेकपाभित्रको राजनीतिबारे चासो राखेकी थिइन् । 

उता राष्ट्रपति भण्डारीले दुवै नेतासँग भेटेर पार्टीभित्रको संकट समाधान दुई अध्यक्षको मिलनबाटै हुने सन्देश दिएको उच्च स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले त प्रचण्डसँगको भेटमा सचिवालयमा पेश भएको राजनीतिक प्रस्ताव फिर्ता लिन र ओलीसँग सहकार्य गरेर जान नै सन्देश दिएर पार्टी राजनीतिमा आफ्नो चाहाना कति छ भन्ने प्रस्ट संकेत नै गरिन् । 

उता नेकपाका दोस्रो तहका नोतहरुको दौडधुप पनि सोमबारदेखि नै जारी छ । खासगरी, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, हरिबोल गजुरेल, मणि थापा, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी लगायत नेताहरूले ओली र प्रचण्डसँग निरन्तर संवाद गरेका छन् । 

मंगलबार बालुवाटारमा ओलीपक्षका नेताहरुको दिनभर भएको छलफलले आजको बैठक केही दिन सार्न नेताहरुलाई सुझाव दिएको छ । मंगलबारै महासचिव विष्णु पौडेलले खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई भेटी बैठक स्थगित गरेर ओलीसँग संवादमा बस्न आग्रह गरेका थिए ।

यता बहुमत सचिवालय सदस्यहरु कुनै हालतमा बुधबारको बैठक रोक्न नहुने अडानमा छन् । पार्टीभित्रको विवाद पेचिलो बन्दै जाँदा वरिष्ठ नेता माधव नेपालले पनि छलफललाई तीव्र बनाएका छन् । उनले पनि मंगलबार आफू पक्षका नेताहरूसँग छलफल गरेका छन् । 

समझदारी निर्माणको प्रयास 
नेकपा उच्च स्रोतका अनुसार पार्टी एकता गरेका दुई नेताबीच नयाँ र उच्च समझदारीस्वरुप केही दिनयताका उच्चस्तरीय भेटघाट भएका हुन् । त्यसमा मध्यस्थकर्ताको भूमिका राष्ट्रपति भण्डारीले गरिरहेकी छन् । 
स्रोतका अनुसार राष्ट्रपति भण्डारी समेत पार्टी विभाजनको विपक्षमा रहेकाले यसलाई रोक्न उनले जस्तोसुकै पहल पनि गर्न तयार रहेको बुझिएको छ । ‘यस्तोबेलामा राष्ट्रपतिको भूमिका पनि समझदारी कायम गर्ने कुरामै रहन्छ । त्यही कारण परिस्थिति फरक र सकारात्मक दिशामा गइरहेको छ’, राष्ट्रपति निकट श्रोतको दावी छ ।

स्रोत भन्छ, ‘जसले वा जुन नेताहरुले पार्टी एकता गर्नुभयो उहाँहरुको बीचमा नयाँ र उच्चस्तरको समझदारी हुन्छ । अहिलेको परिस्थिति त्यता गइरहेको छ ।’ त्यो समझदारी के हो भन्ने उक्त स्रोतले नखुलाएपनि त्यो समझदारीले राष्ट्र, नेकपा, संविधान र गणतन्त्रका लागि पनि पोजेटिभ नतिजा ल्याउने दावी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप