मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘समस्या मेरी श्रीमतीमा होइन, ममा छ र अब उपचार गराइरहेको छु’

बुधबार, ०३ मङ्सिर २०७७, ०८ : ४७
बुधबार, ०३ मङ्सिर २०७७

‘मेरी श्रीमतीमा कुनै कमी छैन, डाक्टरले मेरो परीक्षण गरेपछि थाहा भयो कि कमी ममा नै छ । म इजोस्पर्मिया नामको रोगको शिकार हुँ ।’

अताउल्लाह (परिवर्तित नाम) को विवाह दुई वर्ष अघि भएको थियो तर उनकी श्रीमती गर्भवती हुन सकिरहेकी छैनन् ।

उनले सुरुको दुई वर्षसम्म आफ्नी श्रीमतीको उपचार गराए किनभने उनलाई सामान्य संक्रमण थियो तर गर्भवती नै हुन नसक्ने गरी कुनै पनि समस्या थिएन ।

अन्त्यमा अताउल्लाहले डाक्टरको सुझावमा आफ्नो परीक्षण गराए । रिपोर्ट आएपछि थाहा भयो कि अताउल्लाह एजोस्पर्मियाका शिकार छन् । एजोस्पर्मिया त्यो अवस्था हो जसको वीर्यमा शुक्रकिट हुँदैन र यसको उपचार नगरी पिता बन्न असम्भव छ ।

अताउल्लाह पाकिस्तानको कबायली इलाकामा बस्छन् ।

कबायली संस्कृतिभन्दा विपरितः

अताउल्लाहका अनुसार जब उनको स्वास्थ्य परीक्षणको नतिजा आयो तब उनले कबायली संस्कृतिभन्दा विपरित आफ्नी श्रीमतीलाई कमजोरी आफैंमा भएको र आफूले उपचार गराइरहेको जानकारी दिए ।

अताउल्लाह पेशावरस्थित एक मेडिकल संस्थाको इन्फर्टिलिटी विभागमा आफ्नो उपचार गराइरहेका छन् ।

उनले भने, ‘मलाई अन्य कुनै यौनरोग छैन । शुक्रकिटको कमी मात्रै हो । मलाई आफ्ना उपचार गराउन कुनै हिच्किचाहट छैन न नै मैले यसलाई आफ्नो अहंकारको मुद्दा बनाएँ । यदि कुनै समस्या
 छ भने त्यसलाई उपचारमार्फत् समाधान गर्न सकिन्छ ।’

पाकिस्तानका थुप्रै स्थानका पर्खालमा पुरुषहरुमा हुने बाँझोपनाको उपचारका लागि विज्ञापन देखिने गर्छ तर तपाईंले कहिले सोच्नुभएको छ ? अन्य रोगबारे त यसप्रकारको कुनै विज्ञापन देखिँदैन ।

स्वास्थ्य विशेषज्ञका अनुसार यसको सबैभन्दा ठूलो समस्या भनेको यस्तो रोगको उपचार सरकारी अस्पतालमा हुँदैन र सस्तो उपचारको प्रलोभन देखाएर स्वास्थ्य संस्थाले कम पढे लेखेका सर्वसाधारणको निर्दोषपनको फाइदा उठाउँछन् ।

सामाजिक समस्याः

यसबाहेक पाकिस्तानमा पिता बन्न असमर्थ पुरुषहरुको उपचार गराउनुलाई एक सामाजिक समस्या मानिन्छ त्यसैले पुरुषहरु कि त उपचार गराउनै लजाउँछन् वा यसलाई आफ्नो अहंकारसँग जोडेर हेर्ने गर्छन् ।

स्वास्थ्य विशेषज्ञले जब बीबीसीसँग कुरा गरे तब लगभग सबैको भनाई यो थियो कि पुरुषले आफ्नी श्रीमतीको त वर्षौंसम्म उपचार गराउँछन् तर आफ्नो परीक्षण भने गराउँदैनन् ।

पाकिस्तानमा अब पहिलो पटक पेशावरको हयातआबाद मेडिकल कम्प्लेक्समा सन्तान उत्पादन गर्न असक्षम र यौनरोगसम्बन्धि काम गरेको छ र यसका लागि विशेषज्ञ डाक्टरलाई नियुक्त गरिएको छ ।

पाकिस्तानमा यस्तो प्रकारको विशेषज्ञको कमी छ । यो विभागमा कार्यरत डाक्टर मीर आबिद जानले भने, ‘साधारणतया सन्तान पैदा गर्ने अक्षमता र यौनरोगको सम्बन्ध युरोलोजीसँग हुन्छ र यसका लागि उच्च शिक्षा हाँसिल गर्न आवश्यक छ र पाकिस्तानमा यतिबेला यस्ता डाक्टरको निकै कमी छ ।’

उनका अनुसार नीति स्तरमा केही अस्पताल छन् जसले यस प्रकारको उपचार गर्छन् तर सरकारी स्तरमा पहिलो पटक मर्तबा पेशावरको सरकारी अस्पतालमा यसको उपचार सुरु गरिएको छ ।

सन्तान जन्माउन नसक्नु अहंकारको मसला किन हो ?

डाक्टर मिर आबिदका अनुसार उनलाई भेट्न यस्ता पुरुषहरु आउँछन् जसमध्ये ९० प्रतिशत यस्ता हुन्छन् जो वर्षौंसम्म सुरुमा आफ्नी श्रीमतीको उपचार गराउन जोड दिन्छन् ।

उनका अनुसार यस्ता केही पुरुष पनि थिए जसले आफूमा भएको कमजोरी नबुझिकनै सन्तान जन्माउनका लागि दुई वा तीन विवाह गरिसकेका थिए ।

यौनरोग र सन्तान उत्पादन गर्न नसक्ने समस्या कति ठूलो हो ?

जानकारका अनुसार संसारभरी औसतमा १५ प्रतिशत जोडी सन्तान उत्पादन गर्न असमर्थ छन् तर पाकिस्तानमा यसको समस्या बढी नै छ । डाक्टर आबिदका अनुसार यौनरोग थुप्रै कारणले हुनसक्छ जसमा मानसिक स्थिती पनि रहन्छ ।

उनी भन्छन्, ‘कम उमेरका मानिसहरु पनि यसको शिकार हुनसक्छन् र ४० भन्दा माथिका ५० प्रतिशतभन्दा बढि मानिसहरु विभिन्न प्रकारको यौनरोगका शिकार हुन्छन् र कुनै न कुनै कारणले शारीरिक सम्बन्ध स्थापित गर्न पाउँदैनन् ।’

उनका अनुसार पाकिस्तानमा यो समस्या थप गम्भीर भइसकेको छ किनभने यहाँ यौन शिक्षा छैन र यहाँ डाक्टरको उपचारको कुनै आधारभूत सुविधा छैनन् ।

डाक्टर आबिदका अनुसार पाकिस्तानमा कामोत्तेजक औषधीा प्रतिबन्ध छ किनभने सरकारका अनुसार यी औषधीलाई गलत उद्देश्यका लागि प्रयोग गर्ने सम्भावना छ र अर्को कुरा यो पनि हो कि समाजमा पनि यी औषधीलाई राम्रो नजरले हेरिँदैन ।

तर यो समस्याको हल होइन । उनी भन्छन्, ‘यस्ता औषधी व्यावसायिक डाक्टरको सल्लाहमा बिरामीलाई दिन सकिन्छ । यदि गलत प्रयोगको कुरा आउँछ भने पाकिस्तानमा यस्ता थुप्रै औषधी छन् जसको गलत प्रयोग हुनसक्छ तर यसलाई रोक्न र यसको खरिद बिक्रिलाई नियमित गर्नका लागि आवश्यक कदम उठाउन आवश्यक छ ।’

के सन्तान उत्पादन गर्न नसकेका पुरुष उपचारका लागि आउँछन् ?

साधारणतया धेरैजसो पुरुष सन्तान पैदा गर्न नसक्ने आफ्नो समस्याको उपचारका लागि तयार हुँदैन भन्ने मान्यता राखिन्छ । डाक्टर आबिदका अनुसार ९० प्रतिशत पुरुष यस्ता हुन्छन् जो वर्षौंसम्म आफ्नी श्रीमतीको उपचार गराउँछन् तर आफ्नो पनि परीक्षण गर्न पर्छ कि भनेर एकपटक पनि सोच्दैनन् ।

उनी भन्छन्, ‘अब स्थिती फेरिएको छ किनभने केही यस्ता युवक देखिएका छन् जो विवाह अघि नै आफ्नो परीक्षण गराउँछन् । विवाह अघि नै परीक्षण गरे विवाह पछि कुनै समस्या नहोस् भन्ने उनीहरुको चाहना हुन्छ ।’

उनी भन्छन्, ‘अब यस्तो परिवार पनि भेटिन थालेका छन् जहाँ विवाह अघि नै दुबै महिला पुरुषले आफ्नो परीक्षण गराउनुपर्ने मान्यता राख्छन् । यसो गरेर विवाहपछि कुनै प्रकारको समस्या नदेखियोस् भन्ने उनीहरुको चाहना देखिएको छ ।’

डाक्टर आबिद भन्छन्, ‘जो पुरुष आफ्नो परीक्षण गराउनका लागि तयार हुँदैनन्, उनीहरुका श्रीमतीलाई श्रीमानलाई राजी गराउन आग्रह गरिन्छ ।’

उनका अनुसार अन्य देशमा कपल थेरापिस्ट हुन्छन् जसले महिला–पुरुष दुबैलाई गाइड गर्छन् र उनीहरुले रोग र उपचारबारे सबै जानकारी पनि प्रदान गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप