बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाभित्रको कलहलाई कुन रुपमा हेरिरहेको छ काँग्रेसले ?

सरकारका काम कारबाहीले काँग्रेस नेतृत्वलाई राहत !
बुधबार, ०३ मङ्सिर २०७७, ०८ : १५
बुधबार, ०३ मङ्सिर २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक कलहबाट गुज्रिरहेको छ । २०७४ सालको चुनावमा गठबन्धन गरेका तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएसँगै संसदमा सत्तारुढ दलको हिस्सा झण्डै दुई तिहाइ छ । तर सरकारका काम कारबाहीले त्यो जनमतको साख जोगाउन नसकेको टिप्पणी सत्तारुढ दलभित्रै भइरहेको छ ।

आन्तरिक शक्ति संघर्षका कारण पार्टी एकता मजबुत हुनै सकेन, जसले जनताका आकांक्षालाई सम्बोधन गर्न सकोस् । आन्तरिक कलहमा फसेको सरकारले पनि सत्ता टिकाइरहनभन्दा बढी जनताका लागि उदाहरणीय काम गर्न नसकेको टिप्पणी भइरहेको छ ।

समस्या यतिमा मात्र सीमित छैन, संसदमा सानो आकारमा खुम्चिएको प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्न नसकेको गुनासो पनि व्याप्त छ । कतिपयले त काँग्रेसकै लाचारी र कमजोरीका कारण पनि सरकारले देश र जनताको समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गरिरहन आवश्यक नदेखेको टिप्पणी पनि गरिरहेका छन् ।

काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखक अहिले नेकपाभित्रको कलह, सरकारका असफलता वा प्रमुख प्रतिपक्षी दलका कमजोरीमा रमाउनेहरुले आफूलाई ‘परिवर्तनकारी शक्ति’ भन्न नमिल्ने तर्क गर्छन् । सत्तारुढ दलभित्र कलह व्याप्त रहेको, सरकार असफल हुँदै गएको र प्रमुख प्रतिपक्षले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भनेर नै अहिले यो व्यवस्था र २०६२/०६३ को राजनीतिक परिवर्तनमाथि प्रहार गर्न खोज्नेहरु चनाखो हुन थालेको उनको भनाइ छ ।

‘सरकारसँग पनि निराश हुने, प्रतिपक्षले पनि आशा दिन सकेन भने यो पद्धति, संविधानकै खिलापमा जनताको निराशा जान सक्ने खतरा पनि छ,’ उनले भने, ‘त्यसैले पनि हामी नेकपाभित्रको कलहमा रमाउने वा हामीभित्रको कलहमा उहाँहरु रमाउने भन्ने कुरा अन्ततः यो व्यवस्थाविरुद्ध लागिरहेका शक्तिहरुलाई प्रोत्साहित गर्ने कुरामात्र हुन्छ ।’

मुख्य राजनीतिक दलहरुको असफलताले मुलुक नराम्रो अवस्थामा जाने खतरा रहने लेखक बताउँछन् । उनले भने, ‘उहाँहरु (सत्तारुढ दल) को द्वन्द्व उहाँहरुले मिलाउने हो, हामीले आफ्नो पार्टीभित्र सहमति तयार पार्ने र सहमतिमा अघि बढ्नुपर्छ भन्ने हाम्रो जोड हो ।’ व्यक्तिगत रुपमा आफू त्यसका निम्ति लागिरहेको उनले बताए ।

तर काँग्रेसकै केन्द्रीय सदस्य गुरुराज घिमिरे भने फरक तर्क गर्छन् । प्रमुख प्रतिपक्ष भएका नाताले सरकारका कमी–कमजोरीलाई केलाएर जनतामा लैजाने भूमिका आफ्नो पार्टीको रहेको तर्क गर्दै उनले सत्तारुढ दलभित्रको कलह साम्य होस्, सरकारल प्रभावकारी रुपमा काम गरोस् भनेर प्रमुख प्रतिपक्षले देवी–देउरालीमा भाकल गर्ने प्रसङ्ग नै नआउने प्रस्ट पारे ।

‘नेकपा बलियो होस्, एकतावद्ध होस्, उनीहरुको मेलमिलाप होस् भनेर हामी कहीँ प्रार्थना गर्दैनौँ,’ उनले भने, ‘उनीहरु पनि काँग्रेस बलियो होस्, काँग्रेसभित्र मेलमिलाप होस् भनेर धुप हालेर, देवी–देउराली भाकेर प्रार्थना गर्दैनन् ।’

काँग्रेसका अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल सत्तारुढ दलभित्रको किचलो र सरकारका काम कारवाहीले गर्दा जनताले ‘यही हो लोकतन्त्र ?’ भनेर प्रश्न गर्न थालेको बताउँछन् । संसदमा यति बलियो सरकार रहे पनि सरकारका काम कारवाहीले त्यसअनरुप प्रतिफल दिन नसकेका कारण जनतामा यो पद्धतिप्रति कै विश्वास हट्ने हो कि भन्ने चिन्ता उनले व्यक्त गरे ।

काँग्रेस नेता लेखक सत्तारुढ दलभित्र देखिएको विवाद, कलहको सम्बन्ध देश र जनताको सवालसँग रत्तिभर नजोडिएको टिप्पणी गर्छन् । ‘नेकपाभित्र देखिएको कलह कुनै सैद्धान्तिक वा नीतिगत कुरा होइन,’ उनले भने, ‘पद, पोजिसन, सत्ताको झगडा हो त्यो ।’

दुईवटा कम्युनिस्ट पार्टी मिलेर मुलुकको विकास गर्ने, स्थिरता दिने, समृद्धितिर लैजाने प्रतिवद्धता जनाउँदै जनमत प्राप्त गरे पनि अहिले त्यसको घोर अपमान भइरहेको उनको भनाइ छ । ‘जनता निराश भएको अवस्था छ,’ उनले भने, ‘उहाँहरुले गरेका बाचा कुनै पनि पूरा भएको छैन, आफ्नै दलभित्रको झगडामा व्यस्त हुनुहुन्छ ।’

तर काँग्रेसले सत्तारुढ दलभित्रको झगडालाई अवसरका रुपमा लिन नहुने उनले बताए । ‘हामी पनि आन्तरिक विवादमै छौँ । हाम्रो अवस्था बहुत राम्रो भएर हामी उहाँहरुको झगडा हेरेर रमाउने अवस्था पनि छैन ।’

प्रमुख दलहरु यसरी आन्तरिक विवादमा फस्ने र जनताका समस्यालाई सम्बोधन गर्न नसक्ने हो भने यो व्यवस्थाप्रति जनतामा घोर निराशा आउन सक्ने चेतावनी उनले दिए ।

तर केन्द्रीय सदस्य घिमिरे भने सत्तारुढ दलभित्रको कलहमा स्वाभाविक रुपमा प्रमुख प्रतिपक्षलाई चासो हुने बताउँछन् । ‘सत्तारुढ दलभित्र के भइरहेको छ भन्नेबारे प्रतिपक्षमा रहेको दलमा चासो हुनु स्वाभाविक हो, किनकि राजनीतिक जोड घटाउमा पनि त्यसले प्रभाव पारिरहेको हुन्छ,’ उनले भने, ‘भोलिको चुनावमा नेकपाभित्रको विग्रह र एकताले आ–आफ्नै खालको प्रभाव पार्दछ । नेकपामा मेलमिलाप भयो भने काँग्रेसको राजनीतिमा एक खालको प्रभाव पर्छ भने नेकपाभित्र विग्रह बढ्यो भने त्यसले अर्को खालको प्रभाव पार्दछ । त्यसैले सत्तारुढ दलभित्रको कलह हाम्रोलागि चासोकै कुरा हुन्छ ।’

घिमिरेले पनि अर्का नेता लेखकले झैँ नेकपाभित्रको विवाद वैयक्तिक स्वार्थ र शक्तिको बाँडफाँटमै केन्द्रित रहेको बताए । ‘नीतिगत विवाद, सैद्धान्तिक बहस केही पनि देखिदैन,’ उनले भने, ‘शक्ति संघर्षमात्र देखिन्छ ।’

अर्का नेता पौडेल जनताका लागि ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेजस्तै अहिलेको सरकारले निराशा थपिदिएको बताउँछन् । ‘उहाँहरुले सत्ता चलाइरहेको प्रवृत्ति, कार्यशैली हेर्दा हिजोको राजतन्त्र र आजको नेकपातन्त्रमा के फरक छ ?,’ उनले भने, ‘फेरि मैले काँग्रेससँग तुलना गर्नुस् भनेको होइन, काँग्रेसको योभन्दा राम्रो थियो भनेको पनि होइन । तर मानिसले नेकपाप्रति अपेक्षा गरेका थिए नि, अब केही गर्छ भन्ने त थियो नि ! तर उहाँहरुले त्यहाँ पुग्नका लागि बोलिदिएको जस्तोमात्र भयो ।’

प्रगतिशील कुरा गर्नेहरु भएका कारणले, झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेका कारणले जनताले नेकपाप्रति धेरै अपेक्षा गरेका भए पनि सरकारले ती तमाम अपेक्षालाई बेवास्ता गरेको उनले बताए ।

केन्द्रीय सदस्य लेखक सरकारको असफलतालाई व्यवस्थाकै असफलतातिर जानबाट रोक्न प्रमुख प्रतिपक्षी दलले भूमिका निर्वाह गर्नुपर्ने खाँचो औंल्याउँछन् । उनले काँग्रेसभित्रको विवादलाई साम्य पारेर जनतामा आशा जगाउनुपर्नेमा जोड दिए ।

‘हामीले आफ्नो आन्तरिक विवाद समाप्त गरेर जनतालाई आशा दिन सक्ने क्षमता विकास गर्न जरुरी छ,’ उनले भने, ‘यसो भयो भनेमात्र जनताले हामीमाथि विश्वास गर्न सक्छन् ।’

अर्का केन्द्रीय सदस्य घिमिरे पनि अर्काको घरझगडामा ध्यान दिनुभन्दा बढी आफ्नै पौरखबाट आफ्नो घर बनाउनतिर काँग्रेसले ध्यान दिनुपर्ने बताउँछन् । त्यसका लागि आफ्नो पार्टीभित्र पनि सबै एक ढिक्का हुन जरुरी रहेको उनको भनाइ छ ।

केन्द्रीय सदस्य प्रदीप पौडेलको तर्क भने भिन्न छ । सत्तारुढ दलभित्रको किचलो र सरकारको स्वेच्छाचारिताका कारण प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि आफूलाई सच्याउनैपर्ने अवस्थाबाट उन्मुक्ति पाइरहेको उनको भनाइ छ ।

चुनावमा पराजयसँगै काँग्रेसको नेतृत्वप्रति पार्टीभित्र ठुलो असन्तुष्टि रहेको उनले स्मरण गराए । ‘राम्रो मान्छेलाई टिकट दिएन, राम्रो नीति बनाउन सकेन, गुटबन्दी ग¥यो भनेर नेतृत्वको आलोचना भयो,’ उनले भने, ‘तर यत्रो बहुमतको सरकारले पनि केही गर्न सकेन । त्यसपछि काँग्रेसले पनि आफूलाई सच्याउन जरुरी महसुस गरेन ।’

सरकारले चाहेको भए अहिलेसम्म धेरै काम भइसक्ने उनको भनाइ छ । ‘अहिले कोरोनाका कारण काम गर्न सकेन भन्ने हो भने पनि दुई वर्ष त आरामले काम गर्न सक्थ्यो,’ उनले भने, ‘दुई वर्षमा कुनै पनि काम पूरा हुन सक्दैनथ्यो होला तर धेरै काम सुरु गर्न त सक्थ्यो नि । काम नै केही गर्न सकेन । पार्टीको किचलोमै समय बित्यो ।’

समग्रमा सरकारले यो व्यवस्थामाथि नै दाग लगाउने काम गरेको उनको आरोप छ । ‘चीनको ऊहानमा पहिलो कोरोना संक्रमित भेटिदा उहाँहरु सभामुख कसलाई बनाउने भन्नेबारे विवाद गर्दै हुनुहुन्थ्यो, नेपालमै पहिलो संक्रमित भेटिएपछि उहाँहरु वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने कि नलैजाने भनेर झगडा गरिरहनुभएको थियो,’ उनले भने, ‘युरोप, अमेरिका कोरोनामय भइसकेको अवस्थामा हाम्रा पर्यटनमन्त्रीले नेपाल कोरोनामुक्त देश हो, भ्रमण गर्न आउनुस् भनेर निम्तो गरिरहनुभएको थियो ।’

नेकपाका शीर्ष नेताहरुले आफूलाई लामो संघर्ष गरेर आएको बताउने गरे पनि उनीहरुकै पछिल्लो हालत र पार्टीको यो अवस्थाले अब कसबाट आश गर्ने भन्नेखालको प्रश्न जनतामा उब्जिएको पौडेल बताउँछन् ।

पौडेलका अनुसार सरकारले आफ्नो स्वार्थ पूर्ति गर्नका लागि देशलाई प्रयोग गर्न खोजिरहेको थियो, त्यसमा प्रतिपक्ष पनि प्रयोग भएकोजस्तो देखियो । वाइडबडी, सेक्युरिटी प्रिन्टिङ प्रेस, स्वास्थ्य सामग्री खरिदमा अनियमितता, कोरोना रोकथाम तथा नियन्त्रणजस्ता धेरै कुरामा सरकारको कमी कमजोरी देखिएको उनले बताए । ‘मुद्दा धेरै उठाइयो तर सरकारलाई जबर्जस्त घेराउ गर्न नसकेकै हो,’ उनले भने, ‘यसले गर्दा शक्तिबाट काँग्रेस कहिल्यै टाढा बस्न चाहँदैन भन्नेजस्तो देखियो ।’

उनका अनुसार काँग्रेस आक्रामक भएर आएको भए पनि यो ‘अहंकारी’ सरकार ट्रयाकमा आउँछ भन्ने त थिएन तर काँग्रेसमाथि यतिधेरै टिका–टिप्पणी हुने अवस्था आउँदैनथ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप